तनहुँसुरमा पर्यटन सम्पदा तथा वातावरण मेला हुने

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाको वडा नं. ११ स्थित ऐतिहासिक पर्यटकीय स्थल ‘तनहुँसुरमा तनहुँसुर पर्यटन सम्पदा तथा वातावरण मेला’ गरिने भएको छ। विश्व सम्पदा दिवस, राष्ट्रिय वन्यजन्तु सप्ताह, चैते दशै र नयाँ वर्ष २०७८ को अवसरमा बैशाख ५ देखि ७ गतेसम्म पर्यटन सम्पदा तथा वातावरण मेला गर्न लागिएको हो ।

तनहुँसुर देवस्थल सामुदायिक होमस्टे तथा तनहुँसुर होमस्टेको आयोजनामा मेला गर्न लागिएको आइतबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । उक्त पर्यटन मेलाको व्यास नगरपालिका र भानु नगरपालिका संरक्षक रहेका छन भने ७ वटा वन उपभोक्ता समिति सहआयोजक रहेका छन । मेलाको प्रवर्द्धक पुरातत्व विभाग काठमाडौं र डिभिजन वन कार्यालय तनहुँ रहेका छन् भने मेला सफल बनाउन सम्पदा नेपाल, तनहुँसुर-दमौली सम्पर्क मञ्च, भानु शान्ति निकुञ्ज विकास समिति, शहिद धर्मोत्तर सन्तधर्म चन्द्रखड्ग प्रतिष्ठान लगायतका संघसंस्थाले सहयोग गर्ने आयोजकले जनाएको छ ।

समग्र तनहुँसुर क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक पुरातात्विक एवम् प्राकृतिक सम्पदाहरुको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको सम्पदा नेपालका अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङले जानकारी दिए । ‘तनहुँसुर क्षेत्रको संरक्षण, सम्वर्द्धन र विकास गर्दै तनहुँसुरलाई सुन्दर शान्त र सुरक्षित वातावरणमैत्री पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्नु पनि मेलाको उद्देश्य हो’ गुरुङले भने । बिकाससँगै वातावरण विनास बढेकाले पनि वातावरण संरक्षणका लागी स्थानीयलाई जागरुक बनाउन मेलाले सहयोग पुर्‍याउने गुरुङले विश्वास व्यक्त गरे ।

मेला अवधिमा तनहुँ कालिका र भगवतीपानी लगायतका धार्मिक एवं ऐतिहासिक स्थलहरुको अवलोकन र पुजा अर्चना, विविध सांस्कृति कार्यक्रम एवं होमस्टेको अनुभव, मुलपानीदेखि तनहुँसुर गढीसम्म तनहुँसुर इको ट्रेकको परिचयात्मक भ्रमण, पुरातात्विक सम्पदा र वन तथा वातावरण सम्बन्धी प्रदर्शनी, पुरातात्विक सम्पदाको महत्व एवं वातावरण संरक्षण विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम गरिने भएको छ ।

त्यस्तै मेलाको अर्को आकर्षण खाना महोत्सव हो जसमा स्थानीय समुदायले बनाएको अर्गानिक परिकारहरु सेल रोटी, तरुल, भ्याकुर, बटुकी गुन्द्रक, भट्ट, मकै, सिस्नोको सुप, सुकुटी, लोकल कुखुराको मासु, कोदो फापरको ढिँडोको स्वाद लिन पाइनेछ । साथै अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सेफद्धारा स्थानीय उत्पादनको अधिकत्तम प्रयोग गरी पकाएका विभिन्न प्रकारका खानाका स्टलहरु सञ्चालन गरिनेछ ।

त्यस्तै मेलामा खुल्ला फुटबल प्रतियोगिता, पर्यटन विकास तथा सँस्कृति संरक्षण सम्बन्धी अन्तरक्रिया, स्थानीय क्लब र विद्यालयका सांस्कृतिक प्रस्तुती, स्थानीय अर्गानिक तरकारी तथा अन्य कृषिजन्य उत्पादन विक्री वितरण र प्रदर्शनी, होमस्टे प्रवर्द्धनात्मक कार्यक्रम, देशका विभिन्न पुरातात्विक महत्वका ठाउँहरुको फोटो प्रदर्शनी र आदिवासी, जनजातीका भेषभुषा झाँकी तथा सँस्कृति झल्कने खालका कार्यक्रम गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

लामा स्वदेशी तथा विदेशी पर्यटक, उद्योगी व्यवसायी, कृषक, पत्रकार, साहित्यकार, विद्यार्थी एवं शिक्षक तथा खोजकर्ताहरुका साथै विभिन्न पेशामा आवद्ध ५० हजार व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ । उक्त तीन दिनमा एक हजार जनाले सांँस्कृतिक कार्यक्रम र क्याम्पर्साईटको अनुभव बटुल्ने पनि अपेक्षा गरिएको छ ।

तनहुँसुर दरबार परिसरमा बिहानको ११ बजेदेखि बेलुका ६ बजेसम्म विभिन्न अन्तरक्रिया, वक्तृत्वकला, सांस्कृतिक, साहित्यिक तथा पर्यटकीय कार्यक्रम सञ्चालन हुनेछ भने होमस्टे ९ बजे र क्याम्प साइटमा रातको १० बजेसम्म सञ्चालन हुनेछ । तनहुँसुर क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एव जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सुमदायलाई प्रोत्साहन गर्न मेला आयोजना गरिएको मेलाका संयोजक एंव व्यास ११का वडा अध्यक्ष निर बहादुर खड्काले जानकारी दिए । तनहुँसुर दरबार परिसरमा रहेका पुरातात्विक सम्पदासँगै वातावरण संरक्षण र प्रवर्द्धनमा पनि स्थानीयलाई सचेतना अभिवृद्धि गरी हाल सञ्चालनमा रहेका होमस्टेहरुमा पर्यटक आगमन बढाउन मेला आयोजना गरिएको खड्काले बताए ।

विविध कारणले विस्थापित भएकाहरुलाई तनहुँसुर फर्काउन विगतदेखि नै कार्यक्रम हुँदै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । तनहुँसुरको बिकासका लागि संघीय सरकारको सहयोगमा सडक कालोपत्रेको काम भइरहेको र त्यसका अलवा तनहुँसुरको प्रचार र प्रवर्द्धनका लागि पनि निरन्तर कार्यक्रम भइरहेको उनले बताए । लोकतान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको ऐतिहासिक ठाँउको महत्व स्थानीयले चिन्न नसक्दा तनहुँसुर ओझेलमा परेको न्यौपानेको भनाई छ ।

‘सम्पदा जगेर्ना गर्नका लागि आयोजित यो मेला अन्य ठाँउमा पनि लोपान्मुख सम्पदा संरक्षणका लागि प्रेरणा बन्न सक्नेछ’ न्यौपानेले बताए । सोही अवसरमा उपप्रमुख मिरा जोशीले पर्यटकीय क्षेत्रको बिकास हुन पहिला प्रचारप्रसार हुन आवश्यक भएकाले यो मेलाले तनहुँसुरलाई परिचित गराउन महत्वपुर्ण भूमिका खेल्ने बताइन् ।

तनहुँसुर-दमौली सम्पर्क मञ्चका अध्यक्ष वृषराज श्रेष्ठले प्रचार प्रसारको कमीले गर्विलो इतिहास बोकेर पनि तनहुँसुर पछि परेको बताए । मेला सम्पन्न गर्नका लागि विभिन्न १७ वटा उपसमिति बनाइ कार्य विभाजन गरी तयारी थालिएको प्रचारप्रसार समितिका संयोजक ध्रुवराज पण्डितले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker