बेवारिसे बन्दै भिमादको ऐतिहासिक झोलुङ्गे पुल
झोलुङ्गे पुल संरक्षणका लागि अध्यन गर्ने विज्ञ नभेटिदा नगरपालिका र प्रदेशद्वारा विनियोजित बजेट फ्रिज

- राजकुमार आले (दुलेगौंडा)
करिब दुइ सय बर्षको इतिहास बोकेको तनहुँको भिमाद स्थित सेती नदीको झोलुङ्गे पुल बेवारिसे बनेको छ । दिनानुदिन पुल जीर्ण बन्दै गएको छ । पुरातात्विक हिसाबले महत्वपूर्ण मानिए पनि संरक्षणका लागि हालसम्म कुनै काम हुन सकेको छैन । वि.सं. १७७८ सालतिर जंगबहादुर राणा प्रधानमन्त्री रहेको बेला पुल निर्माण भएको शिलालेखमा उल्लेख गरिएको छ । अहिले पुलको लठ्ठा कमजोर हुँदै गएको छ । काठका फल्याकहरु कुहिएर नदीमा खस्न थालेका छन् । भिमाद नगरपालिका र म्यादे गाउँपालिका जोड्ने उक्त पुल विजोग अवस्थाको देखिन्छ ।
तनहुँकै शुक्लागण्डकी-१० स्थित मिनामखानीबाट निकालिएका फलाम र स्थानीय कालिगढबाट निर्माण गरिएकाले यस पुलले ऐतिहासिक महत्व र पहिचान बोकेको छ । तर संरक्षण हुन नसक्दा पुलको महत्व र आकर्षण भने घट्दै गएको छ । कमजोर बन्दै गएको लठ्ठा चुडियो भने शतकौँ इतिहास बोकेको पुलको अस्तित्व मेटिने त होइन भन्नेमा स्थानीय चिन्तित छन् ।
पुलको संरक्षण र मर्मत संभार शिर्षमा भिमाद नगरपालिका र गण्डकी प्रदेश सरकारले हरेक बर्षबजेट विनियोजन गर्दै आएको छ । तर काम हुन नसक्दा विनियोजित बजेट फ्रिज हुनेक्रम जारी छ । यस पुलसंग सम्बन्धित विज्ञता हाँसिल गरेको विज्ञ अभावका कारण बजेट छुट्याएर पनि काम गर्न नसकिएको भिमाद नगरपालिका नगरप्रमुख मेखबहादुर थापा बताउँछन् ।
‘आफुहरु निर्वाचित भएर आएको बर्षमा पुलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने गरी ३० लाख बजेट विनियोजन गरिएको थियो’, उनले भने ‘हामीले काम गर्न खोज्यौ तर पुलको लठ्ठा कहाँसम्म पुगेको छ भनेर पत्ता लगाउनै सकेनौँ । पुल माथिमाथि घर बनेको छ, हामीले पहिलो बर्ष भेउनै पाइएन, अनि बजेट फ्रिज भएर गयो ।’
‘दोस्रो बर्ष २० लाख बजेट विनियोजन गरियो’, नगरप्रमुख थापाले भने, ‘दोस्रो बर्ष पुरातात्विक महत्वको विषयमा धेरै ठाँउमा सम्पर्क गर्यौ, कुहिरोमा हराएको काग जस्तो भइयो, सम्बन्धित विज्ञता हाँसिल गरेको व्यक्ति तथा संस्था भेटाउन सकिएन । काम गर्न खोज्दा खोज्दै पनि अनुसन्धान गर्न नसक्दा काम हुन सकेको छैन ।’
‘हामी पुल मर्मत तथा संरक्षणका लागि विभिन्न ठाउँसम्म पुग्यौ तर पनि सकेनौ । देश सबैको हो, यदि यस पुलसंग सम्बन्धित विज्ञता हाँसिल गरेका व्यक्तिहरु छन् भने आउनुस्, हामीलाई सम्पर्क गराइदिनुहोस्, नगरपालिका समन्वय गर्न तयार छ’, नगरप्रमुख थापाले भने, ‘हामी जनप्रतिनिधि पनि यस विषयको विज्ञ भएनौँ, जथाभावी डोजर लगाउन पनि सकेनौ, म सबैसंग आहृवान गर्न चाहान्छु, यस विषयमा विज्ञता हाँसिल गरेको व्यक्ति पाइए, खबर गर्नुस् अझै बजेट थपेर भए पनि काम गर्न तयार छौँ ।’
ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक र धार्मिक सम्पदाहरुको संरक्षण तथा प्रवर्द्धनका कार्यलाई नगरपालिकाले निकै प्राथमिकता दिएको नगरप्रमुख थापा बताउँछन् । पुल मर्मत संभारको लागि विभिन्न प्रयासहरु गरिए पनि केहिले पुरातित्वक महत्वका बस्तुहरु जस्तो अवस्थामा छ, त्यस्तै राख्नुपर्छ भन्ने धारणाका कारण पनि यस बर्ष काम अगाडी नबढाइएको उनले बताए ।
गण्डकी प्रदेश सरकाले पनि उक्त पुल मर्मत तथा सम्भारका लागि गत बर्ष ११ लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि पुल संरक्षणकै लागि २० लाख रुपैया विनियोजन गरेको नगरपालिकाका सुचना अधिकारी ऋषिभक्त वाग्लेले बताए । पुलको लागि भनेर छुट्टएिको बजेट काम गर्न नसकेपछि त्यसै फ्रिज भएर गईरहेको उनले बताए । उनले भने ‘आजभोलि पुलको विषयमा विज्ञता हाँसिल गरेको विज्ञहरु धेरै नै हुनुहुन्छ, तर पुरानो पुलको विषयमा कसैले पनि हात हाल्न खोज्दा रहेनछन्, त्यसै समस्या भएको छ ।’
यता, पुलको संरक्षणमा निकै चासो व्यक्त गर्दै आएका ध्रुव श्रेष्ठले ऐतिहासिक पुलको संरक्षणको लागि पुरातात्विक विभागमा गएर विवरण पेश गर्दा मर्मत सम्भार र संरक्षणका गर्नुपर्ने स्टेट्मेन्ट ल्याउन नगरलाई आग्रह गरेको बताए । पुलको मर्मत सम्भार तथा संरक्षणको लागि गर्नु पर्ने कामको स्टिमेट तयार नहुँदा काम रोकिएको बताएका थिए । उनले पुल संरक्षण गर्न धेरै ठाउँ पुगेको बताए ।