प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास, रणनीतिक सडक सञ्जाल शुभारम्भपछि तनहुँका स्थानीयमा खुशी
भञ्ज्याङ समाचारदाता (दमौली)
प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा एक/एक वटा सडकका दरले शिलान्यास गरिएको हो ।
प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरे । उनले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिए । उनका अनुसार ६२८ वटा सडक पुल (झोलुङ्गे) पुलबाहेक निर्माण भएका छन् ।
कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिए । यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्रयाकका सडक पनि निर्माणका क्रममा रहेको उनले जानकारी गराए । पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न थालिएको र प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण संघीय सरकारले गरिरहेको जानकारी गराए। समारोहमा सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यको समेत उपस्थिति रहेको थियो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा तनहुँमा दुइवटा रणनीतिक सडक आयोजना छनोट भएका छन् । तनहुँका दुइ रणनीतिक सडक योजना छनोट भएसँगै यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी मर्स्याङ्दी र तनहुँ क्षेत्र नं २ अन्तर्गत गाईघाट गल्याङ सडकखण्ड छनोट भएको छ ।
दुइ निर्वाचन क्षेत्र रहेको तनहुँमा छनोट भएका दुइ रणनीतिक सडक आयोजनाका लागि रु ४०/४० करोड बजेट विनियोजन हुने भएको छ । व्यास नगरपालिका-९ गजौडेका विजय आचार्यले मादी मर्स्याङ्दी मार्गलाई निर्वाचन क्षेत्र रणनीतिक योजनामा छनोट गरिएपछि खुशी व्यक्त गर्नुभएको छ । ‘वर्षौदेखिको हाम्रो सपना वर्तमान सरकारले पूरा गर्ने भएको छ, अब कामले पनि गति लिन अपेक्षा लिएका छौँ’, उनले बताए ।
व्यास र भानु नगरपालिकाको सीमाबाट शुरु हुने उक्त मार्ग गोरखाको पालुङटारसम्म जोडिनेछ । कूल ३२ किमी दूरीको उक्त सडकको १२ किमी दूरी कालोपत्र सम्पन्न भइसकेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उक्त सडक कालोपत्रपछि यस क्षेत्रका स्थानीयवासीको जीवनयापनमा सहजता आउने बताए ।
यसैगरी तनहुँ क्षेत्र नं २ अन्तर्गत तनहुँको गाईघाटबाट गल्याङसम्म जोड्ने सडक योजना छनोट गरिएको छ । तनहुँको देवघाटबाट शुरु हुने उक्त मार्ग ऋषिङ, घिरिङ, स्याङ्जाको चापाकोट हुँदै गल्याङसम्म पुग्नेछ । उक्त सडकको १७० किमी छ । हाल उक्त सडकको डिपिआर गर्ने काम शुरु भएको तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जानकारी दिए ।
हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकलाई छनोट गरी सरकारले एकैसाथ शुभारम्भ गरेको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डमा संघीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल/सिमानालाई जोड्ने, दुइ निर्वाचन क्षेत्रका प्रमुखस्थललाई जोड्नेजस्ता विषय समावेश गरिएको छ ।