अव्यवस्थित तारका कारण दमौली बजार कुरुप बन्दै, दैनिक आगलागिका घटना
विद्यतुको पोल प्रयोग गरेबापत सेवा प्रदायकले तिर्दैनन् राजश्व

- नारायण खड्का/दमौली
अहिले प्रविधिको प्रयोग बढ्दो छ । घरघरमै सहज रुपमा प्रविधिको प्रयोग गरी सञ्चार तथा अन्य सेवा सुविधा उपभोग गर्नका लागि केवल तारको प्रयोग पनि बढ्दो छ । बजार क्षेत्रमा केवलको प्रयोग गरी इन्टरनेट, टेलिभिजन, टेलिफोन लगायतका सुविधा लिनेको संख्या बढ्दो छ । तर, यसको सहि रुपमा व्यवस्थापन गर्न नसक्दा यसबाट जोखिम पनि बढ्दै गएको छ । बजार क्षेत्रमा विद्युत र टेलिफोन विस्तारका लागि गाडिएका पोलमा विद्युत, इन्टरनेट, केवल टेलिभिजनका तार अव्यवस्थित रुपमा झुड्याउने क्रम बढेको छ । अव्यवस्थित रुपमा टांगिएका तारका कारण तनहुँको सदरमुकाम दमौली बजार क्षेत्र पनि कुरुप बन्दै गएको छ । तारका कारण कुरुप मात्र बनेको होइन पछिल्ला केहीदिन यता आगलागिका घटना समेत बढ्न थालेका छन् ।
मुख्य बजार क्षेत्रमा रहेका विद्युतका पोलमा अचानक ठूलो आगलागि हुँदा कतै घरघरमै त आगो सल्कने होइन भन्ने त्रास बढेको व्यास-२ का मनोज अधिकारी बताउँछन् । ‘विद्युत पोलमा अचानक ठूलो आगलागि हुँदा दमकलकै प्रयोग गरी नियन्त्रणमा लिनुपर्ने अवस्था आएको छ’, उनले भने, ‘गत शनिबार साँझ दमौलीको सफा सडकको विद्युत पोलमा भएको आगलागि दमकलको प्रयोग गरी आधाघण्ट पछि नियन्त्रणमा लिएको थियो ।’
शनिबार साँझ भएको उक्त आगलागिले तारहरु जलेका कारण टेलिफोन तथा विभिन्न इन्टरनेट प्रदायक कम्पनीका सेवा अवरुद्ध भएका छन् । अव्यवस्थित तारका कारण सहर कुरुप मात्रै छैन, जोखिमपूर्ण छ । देख्दै पट्यारलाग्दा तारको गुजुल्टो र अस्तव्यस्त तारका कारण दुर्घटना बढ्दै गएको र्सवसाधारण बताउँछन् । कतै पोल ढल्छ, तार चुडिन्छ, तर समयमै मर्मत हुँदैन । जसकारण उपभोक्ता मारमा परेका छन् । बिजुलीका पोलहरुमा यसैगरी तारको गुजुल्टो बेरिएको दृश्य अहिले सामान्य बन्दै गएका छन् । सम्बन्धित निकायले यसलाई व्यवस्थित बनाउन जिम्मेवार नबन्द बजार क्षेत्र कुरुप मात्र होइन आगलागिको जोखिम समेत बढाएको छ ।

बजार क्षेत्रमा विजुलीको तार, इन्टरनेटको तार, टेलिफोनको तार, केवल टिभीको तार छरपस्ट देखिन्छन् । कुन तार कुन कम्पनी र सेवा प्रदायकको हो सहजै छुट्याउन गाह्रो छ । पोलले थेग्न नसक्ने गरी तारको गुजुल्टो बनाइएका छन्। कहिलेकाँही तारको भार थेग्न नसकेर पोल ढल्छ । अनि, हप्तौसम्म बनाईदैन । पैदलयात्रु, सवारीसाधन, आसपासका बासिन्दालाई सास्तीसंगै जोखिम पनि बढ्दो छ ।
अव्यवस्थित तारका कारण सदरमुकाम संवेदनशिल बनेपनि सरोकारवाला निकायले चासो नदिँदा जोखिम बढेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र बताउँछ । बजार क्षेत्रमा विद्युतको कालोतार टांगिएपनि पोलसंगै घरघरमा वितरणका लागि जडान गरिने प्वाइन्टमा केही भाग नाङ्गो तार देखिने हुँदा त्यो स्थानमा चराचुरिङ्गि तथा अन्य केही कारणले हल्लिन जाँदा स्पार्क भई आगोको झिल्क निस्कने प्राधिकरणका इन्जिनियर राम बाबु चौधारी बताउँछन् ।
विद्युतको तारमा स्पार्क भई निस्कने आगोको झिल्कोले सहजै अन्य केवल तारहरुमा आगलागि हुने गरेको छ । यसरी आगलागि हुँदा प्राधिकरणले मात्र होइन सेवप्रदायक र उपभोक्ताले समेत क्षती व्यहोर्नुपर्ने भएकाले यस तर्फ स्थानीय पालिका तथा सम्बन्धित सेवाप्रदायक कम्पनी जिम्मेवार भई तारलाई व्यवस्थित गर्न ध्यान दिनुपर्ने इन्जिनियर चौधारी बताउँछन् ।
यस्तै, विद्युतको पोल प्रयोग गरी सेवा प्रवाह गर्ने इन्टरनेट कम्पनी तथा केवल टेलिभिजन सञ्चालकहरुले तोकिएको राजश्व समेत प्राधिकरणलाई बुझाएको पाइदैन । प्राधिकरणसंग ग्रामीण क्षेत्रमा पोलको प्रयोग गर्दा वार्षिक रुपमा ५० र नगरपालिका क्षेत्रमा १०० रुपैयाँ सेवा प्रदायकले राजश्व तिर्नुपर्ने गरी सम्झौता गरिएको छ । सम्झौता अनुसार नेपाल टेलिकम र एनसेलले बाहेक अन्य सेवाप्रदायकले बिगत ३/४ वर्षदेखि राजश्व नतिरेको प्राधिकरणको तनहुँ वितरण केन्द्रले बताएको छ ।
मुलुकमा समृद्धिको ठूलाठूला भाषणबाजी हुने गरेका छन् । पर्यटन मार्फत समृद्धिको नारा भजाइएको छ । तर, सहरको यो कुरुप दृश्यले सरकारी नारालाई खिल्ली उडाइरहेको छ । अन्डरग्राउण्ड तार विच्छ्याउन चर्चा चलेपनि त्यो हुन नसकेको र सेवा प्रदायक कम्पनीकै लापरवाहीका कारण बजार क्षेत्र कुरुप बन्नुका साथै आगलागिका घटना समेत बढ्दै गएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् ।
अव्यवस्थित तारका कारण सदरमुकाम संवेदनशिल बनेपछि अहिले व्यास नगरपालिकाले उपप्रमुख मिरा जोशीको संयोजकत्वमा एउटा समिति गठन गरी तार व्यवस्थापन गर्ने तयारी गरेको नगरप्रमुख न्यौपानेले बताए । विशेषगरी भुकम्प, आगालागी, हावाहुरी जस्ता प्राकृतिक विपतका समयमा अव्यवस्थित तारका कारण थप जोखिम निम्तिने खतरा बढेको छ । साँघुरिएको बजारक्षेत्रका सडकमा टाँगिएका होचा तारका कारण कतिबेला कहाँ धनजनको क्षति हुने हो भन्ने टुंगो छैन ।