तनहुँका स्थानीय पालिकाको बजेट करिब रु. ७ अरब ४३ करोड ५१ लाख : कुन पालिकाको कति ?
नारायण खड्का

स्थानीय तहहरुले विहीबार आगामी आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । यसपटक कोभिडको महामारीबाट नागरिकको जीवन उत्थान गर्ने, अर्थतन्त्रको शीघ्र पुनःउत्थानका गतिविधि सञ्चालन गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखेर तनहुँका स्थानीय तहले नीति, कार्यक्रम र बजेट बनाएका छन् ।
पाँच वर्षे कार्यकालका लागि निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि यो वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको थियो। संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षो नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। संघीय र प्रदेश सरकारले आगामी वर्षो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् ।
स्थानीय तहलाई संघीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजश्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् । संघीय र सबै प्रदेश सरकारले कोरोनाबाट सिर्जित समस्या समाधान गर्ने, स्वास्थ्य पूर्वाधार तयार गर्ने गरी नीति कार्यक्रम र बजेट ल्याएका छन् । तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ का लागि ७ अरब, ४३ करोड ५१ लाख ९४ हजार ५०० रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरेका छन् । जिल्लाका ६ गाउँपालिका र ४ नगरपालिका मध्ये भानु नगरपालिकाले बाहेक अन्य सबै पालिकाले आगामि आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
व्यास नगरपालिका
जिल्लाको व्यास नगरपालिकाले १ अरब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँ बराबरको अनुमानित राजश्व र व्यायको बजेट उपप्रमुख मिरा जोशीले ३५औं नगरसभामा पेश गरेकी छन् ।
नगरपालिकाले चालु आर्थिक वर्ष भन्दा आगामी वर्षा लागि रु २५ करोड बढीको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु एक अर्ब ५२ करोडको बजेट ल्याएको थियो। कूल बजेटमध्ये आर्थिक विकास तर्फरु दश करोड ११ लाख ९६ हजार, सामाजिक विकासतर्फरु ९३ करोड १७ लाख ७५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फरु चार करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फरु दुइ करोड ५४ लाख ६६ हजार विनियोजन गरिएको छ ।
कूल विनियोजित बजेटमध्ये चालुतर्फ रु एक अर्ब दुइ करोड ८७ लाख १२ हजार र पुँजीगततर्फरु ७५ करोड दुइ लाख विनियोजन गरिएको छ । उपप्रमुख जोशीका अनुसार कूल बजेटमध्ये आर्थिक विकासमा ५.६९, सामाजिक विकासमा ५२.३८, पूर्वाधार विकासमा २५.५१, वातावरण तथा विपद् व्यवस्थापनमा २.६२ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ१३.८० प्रतिशत विनियोजन गरिएको छ ।
उक्त बजेटमध्ये संघ सरकारबाट सशर्त अनुदान बापत ५६ करोड १७ लाख, संघ सरकारको सामाजिक सुरक्षा अनुदानबापत रु २१ करोड, आन्तरिक श्रोतको आयबाट रु २० करोड ५० लाख, संघ सरकारको वित्तीय समानिकरण अनुदान रु १९ करोड ७६ लाख, सञ्चित कोष अल्याबाट रु १५ करोड ३७ लाख १२ हजार, संघ सरकारको राजश्व बाँडफाँडबाट रु १२ करोड ९८ लाख ५१ हजार, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु १० करोड आम्दानी हुने अनुमान छ ।त्यस्तै नगर विकास कोष ऋणबाट रु दश करोड, प्रदेश वित्तीय समानीकरण अनुदानबाट रु दुइ करोड ४४ लाख ७८, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु एक करोड ७४ लाख ७५ हजार, गाउँ नगर साझेदारी कोषबाट रु एक करोड ६५ लाख, संघ विशेष अनुदानबाट रु एक करोड ३७ लाख, प्रदेशको विशेष अनुदानबाट रु एक करोड, प्रदेशको र्सशर्त अनुदानबाट रु एक करोड आम्दानी हुने अनुमान छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म कूल यथार्थ आय रु एक अर्ब ३५ करोड ९७ लाख सात हजार छ सय २१ र व्यय रु एक अर्ब एक करोड २० लाख ६३ हजार एक सय ६८ रहेको जनाएको छ । यस अघि विसं २०७७ माघमा ३४ औं नगरसभाबाट पारित चालु आर्थिक वर्षो संशोधित आय संघ सरकारबाट प्राप्त अनुदान रु एक अरब छ करोड ९३ लाख ७३ हजार दुइ सय, गण्डकी प्रदेश सरकारबाट प्राप्त अनुदान रु तीन करोड ५३ लाख ८७ हजार, आन्तरिक श्रोतबाट प्राप्त रकम रु २० करोड ४७ लाख, अन्य आयबाट प्राप्त रकम रु दश करोड ६२ लाख ८१ हजार, लागत सहभागिताबाट र अघिल्लो वर्षो अल्या गरी रु १५ करोड ६९ लाख ७० हजार ८ सयको अनुमान गरेको थियो ।
नगर क्षेत्र भित्रको करको आधार फराकिलो पार्दै आन्तरिक राजश्व वृद्धि गर्न कर तथा गैरकर राजश्वको अधिकत्तम परिचालन गर्ने नीति लिइएको उपप्रमुख जोशीले बताउनुभयो । उहाँका अनुसार सेवा शुल्क र दस्तुरका दर, व्यवसाय कर, सम्पत्ति कर एवं भूमि कर, घर नक्सा पास दस्तुर, खानीजन्य ढुङ्गा, गिटी, बालुवा, ग्राभेल, रोडा, स्लेट ढुंगा, खरी, चुनढुङ्गा, ब्लक, इट्टा, कटिङढुङ्गा, कवाडी सामान र काठ आदिमा लिइने दस्तुर यथावत राखी करको दायरा फराकिलो पार्ने नीति अवलम्बन गरिएको छ।
शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिकाले १ अरब ६ करोड ८६ लाख २० हजार रुपैयाँ बराबरको अनुमानित राजश्व र व्यायको बजेट उपप्रमुख सविता रसाइलीले नवौ नगरसभामा पेश गरेकी छन् । नगरपालिकाले १२ वटै वडाका आवश्यकाता अनुसार ७० प्रतिशत समान आधारमा, १५ प्रतिशत भुगोल र १५ प्रतिशत जनसंख्याका आधारमा गरी १० करोड ८७ लाख रुपैयाँ बराबरको बजेटको नीति, कार्यक्रम बनाएका छन् ।
भिमाद नगरपालिका
भिमाद नगरपालिकाले आगामि आर्थिक वर्षा लागि ५८ करोड ५६ लाख ८ हजार रुपैयाँ बराबरको अनुमानित राजश्व र व्यायको बजेट नवौं नगरसभामा उपप्रमुख शारदा खनालले पेश गरेकी छन् ।जस अनुसार आर्थिक विकास क्षेत्रमा ३ करोड ४५ लाख ७७ हजार १३०, सामाजिक विकास तर्फ३० करोड १ लाख २० हजार ८७०, पूर्वाधार विकास तर्फ१६ करोड ३२ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ५७ लाख १० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ८ करोड २० लाख बजेट प्रस्ताव गरिएको छ । नगरपालिकाले प्रस्तावित बजेट मध्ये चालु तर्फ३७ करोड ४ लाख १० हजार ८७० अर्थात ६३.३ प्रतिशत र पूँजीगत तर्फ२१ करोड ५१ लाख ९७ हजार १३० अर्थात ३६.७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
भानु नगरपालिका
भानु नगरपालिकाले आन्तरिक विवादका कारण नवौं नगरसभा सञ्चालन गर्न सकेको छैन् । आगामि आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक नगरपनि नगरपालिकाले आन्तरिक रुपमा करिब ७५ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको स्रोतले जनाएको छ ।
देवघाट गाउँपालिका
देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ सालको लागि ४८ करोड ६९ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । बुधबार र बिहीबार भएको आठौं गाउँसभाबाट उक्त बजेट विनियोजन गरिएको हो । चालू खर्चतर्फ सशर्त बजेट १९ करोड सात लाख, संघीय समपुरक अनुदान एक करोड ९८ लाख, प्रसाशनीक खर्च, विभिन्न कार्यक्रम र अनिवार्य दायित्वका कार्यक्रमसमेत गरी चालूखर्च ११ करोड ७९ लाख ८५ हजार रुपैयाँ अनुमानित बजेट गाउँसभामा उपाध्यक्ष विमला थापामगरले पेश गरेकी छन् ।
यस्तै पूँजीगत खर्चतर्फ सशर्त अनुदान ८८ लाख, विषेश अनुदान दुइ करोड ४९ लाख, गाउँपालिकाको भवन निर्माण सिंच्याङ-सार्वाङ सडकलगायतका योजना कार्यक्रममा १२ करोड ४७ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताइन् । आर्थिक क्षेत्रतर्फभने कृषि, पशु, स्वास्थ्य, उद्योग, पर्यटन, सहकारी पूर्वाधार लगायतका विकासको लागि सात करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक क्षेत्रतर्फशिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ एवं पूर्णसरसफाइ कार्यक्रम कार्यान्वयन, धार्मिक, सांस्कृतिक, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद र मनोरञ्जन लगायतमा २१ करोड २१ लख ५० हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।
भौतिक पूर्वाधारको लागि १४ करोड ४५ लाख, वातावरण तथा विपद व्यवस्थापनको लागि एक करोड नौ लाख ५० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ संस्थागत क्षमता अभिवृद्धिको लागि दुइ करोड १९ लाख ७८ हजार र कोभिड-१९ व्यवस्थापन कोष, कोभिड भइपरी र पुँजीगत भैपरी गरी जम्मा एक करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । गाउँपालिकामा विकट क्षेत्र धेरै भएकोले विकासका योजनामा गाउँपालिकाले छुट्याएको बजेट अपुुग हुने हुँदा आवश्यक थप बजेटको लागि केन्द्र र प्रदेश सरकारसँग माग गर्ने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापामगरले बताए।
आँवुखैरेनी गाउँपालिका
आँवुखैरेनी गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष पुष्पदेवी श्रेष्ठले आगामि आर्थिक वर्षा लागि ६१ करोड ७० लाख ६१ हजार रुपैयाँ बराबरको अनुमानित राजश्व र व्यायको बजेट पेश गरेकी छन् । जस अन्तरगत चालुतर्फ ३० करोड ३७ लाख १८ हजार र पूँजीगत तर्फ २४ करोड ३३ लाख ४३ हजार रुपैयाँ र सामाजिक सुरक्षा तर्फ७ करोड रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरिएको छ ।गाउँपालिकाले आर्थिक विकास तर्फ५ करोड २७ लाख ४५ हजार, सामाजिक विकास तर्फ२१ करोड २३ लाख ९० हजार, पूर्वाधार विकास तर्फ१७ करोड ९ लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धीत तर्फ१ करोड २७ लाख ५० हजार, कार्यालय संचालन तथा प्रशासनिक तर्फ९ करोड ८२ लाख १६ हजार, सामाजिक सुरक्षा तर्फ७ करोड बजेट प्रस्ताव गरिएको छ ।
बन्दिपुर गाउँपालिका
बन्दिपुर गाउँपालिकाले ५१ करोड ३४ लाख १ हजार ५०० रुपैयाँ बराबरको अनुमानित राजश्व र व्यायको बजेट उपाध्यक्ष करुणा गुरुङले नवौं गाउँसभामा पेश गरेकी छन् । कुल बजेटको ५१ प्रतिशत चालु र ४९ प्रतिशत पूँजीगत बजेट अनुमान गरिएकोमा गाउँपालिकाले १२ करोड रुपैयाँ बराबरको सामाजिक सुरक्षा बजेट प्राप्त गर्ने अनुमान गरेको छ ।
म्याग्दे गाउँपालिका
म्याग्दे गाउँपालिको ६५ करोड ८२ लाख ६१ हजार रुपैयाँ बराबरको अनुमानित राजश्व र व्यायको बजेट नवौं गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले पेश गरेका छन् । जसमा चालु तर्फ३८ करोड ७ लाख १५ हजार रुपैयाँ, पुँजीगत तर्फ२७ करोड ७५ लाख ४६ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
घिरिङ गाउँपालिका
घिरिङ गाउँपालिकाले आगामि आर्थिक वर्षा लागि ४६ करोड ३४ लाख रुपैयाँ बराबरको अनुमानित राजश्व र व्यायको बजेट नवौं गाउँसभामा उपाध्यक्ष सरस्वती सिग्देलले पेश गरेकी छन् ।
ऋषिङ गाउँपालिका
ऋषिङ गाउँपालिकाले ५२ करोड २९ लाख ५३ हजार रुपैयाँ बराबरको अनुमानित राजश्व र व्यायको बजेट उपाध्यक्ष गिनुमाया थापाले नवौं गाउँसभामा पेश गरेकी छन् ।
तनहुँका स्थानीय पालिकाहरुले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कोरोना कहरले पुर्याएको असरलाई लक्षित गरी कृषि उत्पादन वृद्धि, बेरोजगार बनेका युवाहरुलाई घरगाउँमा स्वरोजगार बनाउने तथा स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।