आज साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन, के के छन बिधी ?

आज साउने संक्रान्ति अर्थात् आज नेपाली गाउँघरमा लुतो फाल्ने दिन । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउनको लागि भनेर परापूर्वकालदेखि नै यो संस्कार चलाउँदै आइएको बुढापाकाहरु बताउँछन् । यो एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्काेतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पती रक्षा गर्ने एउटा माध्यम पनि हो । तर हिजोआज लुतो फल्ने चलन कम भएसँगै यी वनस्पतिको संरक्षण पनि हुन नसकेको वरिष्ठ पत्रकार भैरव रिसाल बताउँछन् ।

साउन १ गते लुतो फालेपछि छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाउने शास्त्रीय विश्वास छ । पछिल्लो समय यो संस्कारमा कमी आइरहेको भए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा नै लुतो फाल्ने प्रचलन रहेको कोटभैरव मन्दिर संरक्षण एवं व्यवस्थापन समितिले जनाएको छ ।

वर्षको दुईवटा ठूला संक्रान्तिमध्ये साउने संक्रान्ति पनि एक हो । यही दिनदेखि अयन परिवर्तन भएर दक्षिणायन सुरु हुन्छ । देवताको उत्तरायणमा दिन र दक्षिणायनमा रात हुन्छ भन्ने मान्यता छ । पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल विवाह व्रतबन्ध आदि कार्यको लागि उत्तरायण राम्रो मानिन्छ भने हाम्रा महत्वपूर्ण चार्डहरु दक्षिणायनमा पर्ने गरेको बताउँछन् ।

लुतो फाल्ने विधि

साउने संक्रान्तिको दिन कतिपय ठाउँमा संक्रान्ति सुनाउन जाने चलन अहिले पनि देख्न सकिन्छ । संक्रान्ति सुन्ने र यस दिन स्नान गरेर दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ । लुतो फाल्ने दिन दिउँसोमा जंगलमा गएर विभिन्न प्रजातिका वनस्पतिहरु संकलन गर्ने गरिन्छ । ती संकलित वनस्पतिको साथमा यही दिन कन्दारक पूजा पनि गर्नुपर्ने शास्त्रीय मान्यता रहेको ढुंगेल बताउँछन् ।

लुतो फाल्ने कर्म श्रावण १ गते साँझ गरिन्छ । यस दिन भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति जम्मा गर्ने गरिन्छ ।

सूर्यास्तपछि दिनभर जम्मा पारेको वनस्पतिको साथमा कन्दारकको पूजा गरिन्छ । जसलाई लुते देउताको रुपमा पनि चिन्ने गरिन्छ । यी सबै चिजका अलावा बिमिरो अथवा निबुवालाई राखेर पनि कन्दारकको पूजा गर्ने गरिन्छ ।

संस्कृतमा यो पर्वलाई ‘लुत निक्षेपण’ पर्वको नामले चिनाउने गरिएको छ । यसको अर्थ लुतो फाल्ने नै हो । यो हिलोमा बेस्सरी काम गर्दा हुन सक्ने हिले खटिरा हटाउने उपाय हो भन्छन् बुढापाकाहरु । पूजा सकेपछि दियालो बालिन्छ । कुरिलो डाँठमा राखेर आगो बालिसकेपछि त्यो दाउरा आफैँ पड्किन सुरु हुन्छ । कुरिलोको डाँठलाई पाँचदेखि सातवटा मुठा बनाइएको हुन्छ । ती सबैलाई अगुल्टोको रुपमा प्रयोग गरिन्छ । दाउरालाई सबै दिशातिर फालिन्छ ।

कन्दारकको पूजाको समयमा घरमा कसैले ढिकी कुट्ने, कसैले नांग्लो ठटाउने वा शंख फुक्ने जस्ता काम गर्ने गरिन्छ । यसरी बाजा वा शंख फुक्दै पहिले मुठा बनाइएको अगुल्टोलाई अर्काे गाउँलेको नाम लिएर लुतो फाल्ने गरिन्छ । अर्काे गाउँलेले पनि यही विधिबाट नै आफ्नो सम्मुख गाउँलेको नाम लिएर लुतो फाल्ने गर्छन् ।

उबेलाको लुतो फाल्ने चलन

पहिले र अहिलेको लुतो फाल्ने चलन धेरै परिवर्तन भइसकेको बताउँछन् वरिष्ठ पत्रकार रिसाल । अहिले त यदाकदाबाहेक लुतो फाल्ने चलन नै हराइसकेको छ ।

उनी हिजो आज धसिङ्गरे लगायत वनस्पति लिन वनपाखा जाने चलन हराएकोमा दुःख मान्छन् । धसिंगलेसँगै नरकटका बोट, तितेपाती जस्ता वनस्पति जम्मा गर्ने, दाउराको साटो छवालीका मुठा बाल्ने चलन पनि पहिलेको भन्दा फरक रहेको रिसाल बताउँछन् । यसरी पहिले लुतो फाल्ने परम्पराका नाममा विविध वनस्पतिको संरक्षण गरिने परिपाटी हराएकोमा उनी दुःख मान्छन् ।

आफूहरु सानो छँदा अनन्तलिंगेश्वरको डाँडामा गएर थसिंगरे लगायतका वनस्पतिहरु ल्याएर विधिपूर्वक लुतो फालेको उनी सुनाउँछन् । त्यहाँ लुतो फाल्न चाहिने सबै वनस्पति पाइन्थे । उनी भन्छन् ‘साउने संक्रान्तिका दिन गाउँका हामी ८/१० जना किशोरहरू ती सामग्री लिन डाँडामा उक्लिन्थ्यौं ।’

ती सबै सामान ल्याएर लुते देवताको पूजा गर्ने गरिन्थ्यो । पूजापछि दाउराको स–साना टुक्रा जम्मा पारिन्थे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker