निषेधाज्ञा खुकुलो हुँदा जनजीवन सामान्य बन्दै, कोरोना संक्रमितको संख्या पनि थपिदै

स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइ गरी सबै क्षेत्र खुल्ला गर्न व्यवसायीको माग

भञ्ज्याङ समाचारदाता/दमौली

गत वैशाख/जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड-१९ संक्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । संक्रमणदर केही कम हुँदा समयसिमा तोकेर व्यापार व्यवसाय तथा सार्वजनिक सवारीका सधान समेत सञ्चालन गर्ने गरी तनहुँमा निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । निषेधाज्ञालाई खुकुलो बनाउँदै तनहुँ प्रशासनले बिहान ०५ देखि साँझ ४ बजेसम्म व्यापार व्यवसाय खोल्न दिएको छ भने लामो तथा छोटोदूरीमा सञ्चालन हुने र्सार्वजनिक सवारी साधन बिहान ०६ देखि साँझ ०६ बजेसम्म सञ्चालन गर्न दिएपछि तनहुँका व्यापारी व्यवसायीहरुले केही सहज महशुस गरेका छन् ।

समयसिमा तोकेर व्यवसाय सञ्चालन गर्न दिनुभन्दा सबै क्षेत्रलाई अब निर्वाध रुपमा खुल्ला गर्नुपर्ने दमौली बजार इकाईका सभापति भुपाल आले बताउँछन् । उनले भने, ‘समयसिमा तोक्नु भन्दा स्वास्थ्य सुरक्षाका सामाग्रि प्रयोग तथा मापदण्ड पालनामा कर्डाई गरी सबै क्षेत्रलाई खुल्ला गर्दा भिडभाडजन्य गतिविधि पनि नहुँदा र कोरोना संक्रमणको जोखिम पनि कम हुन्छ ।’

‘सिमित समय तोकेर व्यवसाय खोल्दा भिडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने जोखिम बढेको छ’, व्यास-२ व्यापारी सम्शेर पुरी भन्छन्, ‘क्षणिक व्यवसाय खोल्दा मानिसहरुको उपस्थित हुने हुँदा भिडभाड बढ्छ तर सबै क्षेत्र खुल्ला गरियो भने भिड कम हुने हुँदा जोखिम कम हुन्छ र व्यवसाय सञ्चालन पनि सहज हुन्छ ।’

रोगले भन्दा पनि भोकले सताउने बेला आइसकेको हुँदा बन्दाबन्दीले थप समस्या निम्त्याउन थालेको हुँदा सबै सचेत बनि स्वास्थय सुरक्षाका सामाग्रि तथा मापदण्डहरु पालना गरी सबै क्षेत्र चलायमान बनाउनुको विकल्प नभएको व्यास-२ ग्रिनसिटीकी व्यवसायी सम्झना श्रेष्ठ बताउँछिन् ।

यस्तै, स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेर रेष्टुरेन्ट तथा खाजाघर बिहान ०५ देखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न दिइएको छ । स्वास्थ्य र सुरक्षाको पर्याप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत क्षमतासम्म पाहुना राख्न दिइएको छ । तर, होटल व्यवसायीले आफुहरु मारमा पर्दै आएको बताउन थालेका छन् ।

तनहुँमा तीन अरब रुपैयाँ बराबरको रकम लगानी भएको र करिब दुइ हजार पाँच सय बढीले प्रत्यक्ष रोजगारी पाएको होटल व्यवसाय क्षेत्र सरकारी निकायबाट उपेक्षामा परेको होटल व्यवसायी संघ तनहुँका अध्यक्ष दुर्गविलास भट्टराइ बताउँछन् । उनले भने, ‘सरकारले होटल व्यवसायलाई सहज र उचित राहतको व्यवस्थापन गर्न नसक्दा पलायन हुने अवस्थामा व्यवसायी पुगेका छन् । स्वास्थ्य सुरक्षाका मापण्ड पालना गरी होटल व्यवसाय सञ्चालन गर्ने अवस्था भएपनि त्यो वातावरण नबनाइदा व्यवसायीहरु मारमा पर्दै आएका छन् ।’

निषेधाज्ञा खुकुलो बनाउँदा जनजीवन सामान्यतर्फउन्मुख भइरहेको छ । तर, पछिल्ला तथ्याङ्कले तनहुँमा कोभिड-१९ को जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी बताउँछन् । ‘शुरुमा एक्कासिमाथि उठेर तल झरेको संक्रमणको ग्राफ पुनः उकालो लाग्न थालेको छ’, उनले भने, ‘वर्तमान परिस्थितिमा नागरिकले पनि सावधानी अपनाउनुपर्ने र राज्यले पनि भिडभाड हुने क्षेत्रमा बढी निगरानी गर्नुपर्ने अवस्था आएको छ । पछिल्लो समयमा भने संक्रमणदर बढ्दै गएकाले जोखिम बढ्न थालेको छ ।’

तनहुँमा मानिस सहभागी भएर गरिने सभासम्मेलन, विद्यालय, खेलकुद तथा चलचित्र हललगायत गतिविधि बाहेकका क्रियाकलाप खुला गर्न थालिएको छ । लामो तथा छोटो दुरीका सार्वजनिक यातायात पनि सञ्चालन हुन थालेका छन् । दोस्रो लहरको कोरोना संक्रमण समुदायस्तरमै फैलिएपनि गत चैत्र २३ गतेबाट जारी गरिएको निषेधाज्ञलाई केही खुकुलो बनाएपनि पूर्णरुपमा खुल्ला नगरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्य बताए ।

छिमेकी जिल्ला गोरखा र स्याङजामा डेल्टा भेरियन्ट सहितको कोरोना संक्रमण देखिएको हुँदा जिल्लामा थप सतर्कता र आवश्यक तयारी गरिएको छ । दमौली अस्पताल, जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आइसियू सहितको कोरोना अस्पताल र सबै स्थानीय पालिकाहरुमा अक्सिजन सहितको आइसोलेशन तयारी अवस्थामा राखिएको प्रजिअ आचार्यले बताए ।

जेठ अन्तिमबाट विस्तारै संक्रमण घटेपछि तनहुँमा निषेधाज्ञा खुकुलो बनाउँदा नागरिकहरुको चहलपहल र लापरवाही बढ्न थालेपछि अहिले दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार ३ हजार ९५८ जनामा संक्रमण पुष्टि भएकोमा ३ हजार ४८२ जना निको भएका छन् । संक्रमित मध्ये १७ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ भने ३६५ जना होम आइसोलेशनमा बसेका छन् । पहिलो लहरको कोरोना संक्रमणबाट २५ र दोश्रो लहरको कोरोना संक्रमणबाट ९४ गरी ११९ जनाको मृत्यु भएको छ । यस्तै, सोमबार मात्रै ७४ जनामा संक्रमण पुष्टि भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker