बन्दिपुरको नाहालामा पशु सेवा केन्द्र सञ्चालन, कृषकहरुलाई सहज
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-१ नाहालामा पशु सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लगानीमा निर्माण गरिएको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उद्घाटन गरी केन्द्रको सेवा सञ्चालनमा ल्याएका हुन् ।
९८ लाख ६१ हजार ४४९ रुपैयाँको लागतमा गत चैत महिनामा निर्माण सम्पन्न गरिएको पशुसेवा केन्द्रको भवनको स्वामित्व गत साउन ९ गते गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो।
भवनको एक समारोहका बीच उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष थापाले यस भेगका पशुपालक कृषकलाई सहज रुपमा सेवा लिन सहयोग मिल्ने बताए । उनले भने, ‘गाउँपालिकाले पशुपालनलाई व्यावसायिक बनाउने कार्यक्रम प्राथमिकतामा राखेको र सोही कार्यक्रम अन्तर्गत यो केन्द्रपनि भएको हुँदा अब पशुपालक कृषकहरुले सहज रुपमा सेवा लिन पाउनुहुने छ ।’
यस्तै, भवन उद्घाट समारोहमा गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले परम्परागत रुपमा पशुपालन गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने लक्ष्य सहित गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको र यी कार्यक्रममा सहभागि कृषकलाई लाभ लिने आग्रह गरिन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ लगायतले अब यस क्षेत्रका पशुपालक कृषकहरुलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गरे । वडाध्यक्ष भानुभक्त पोख्रेलले भवन निर्माण सम्पन्न भएपछि अब यहाँ डाक्टर सहितको दरबन्दी खटाउने तयारी गरिएको बताए । प्रयोगशाला सहितको सेवा प्रवाह गरिने भएको हुँदा प्रयोगशालाका लागि आवश्यक उपकरण नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सहयोग गर्ने उनले बताए ।
भवन निर्माण सम्पन्नपछि गाउँपालिका भित्रका पशुपालक कृषकले अब पशुको उपचार यहीबाटै गर्न पाउने वडाध्यक्ष पोखरेलले बताए । उनले भने, ‘दरबन्दी अभाव छ, दरबन्दी पूर्ति गरेर उपकरण आउनेबित्तिकै सेवा शुरु गर्ने तयारी छ । पशुको उपचार गर्नुपर्यो भने दमौली जाने बाध्यताको अब अन्त्य हुन्छ ।’
उक्त भवनमा छ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएकाले पशुको उपचारका लागि पशुसेवा केन्द्र अति आवश्यकता थियो । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् । गाउँपालिकाले वडा नं. १ लाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्ने गरी कार्यक्रम अगाडि बढाएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित बाख्रा पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको छ । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ ।
बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्न बाख्रापालक कृषकलाई प्राविधिक तालिम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ । बाख्राको नश्ल सुधार गरी कम्तीमा पाँच वर्षा वडालाई बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोत केन्द्रका रूपमा विकास गर्ने लक्ष्य वडा कार्यालयको छ ।