तनहुँ जलविद्युत आयोजना : तीनवटै प्याकेजको कामले गतिलियो

नारायण खड्का/तनहुँ

निर्माण कम्पनीको छनौट, कोरोना कहर लगायतका कारण ढिलाइ भइरहेको तनहुँ जलविद्युत आयोजनाको कामले अहिले गति लिएको छ । आयोजनाको प्याकेज-१ अन्तरगतको काम सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि, नेपाल जेभीसँग सम्झौता भएसंगै अहिले आयोजनाको तीनवटै प्याकेजका काम धमाधम अगाडि बढेका छन् । तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवरपुरमा निर्माणाधिन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । दसैंमा पनि कामलाई निरन्तरता दिएको आयोजनाको तीन वटै प्याकेजका काम निरन्तर सञ्चालन भइरहेको आयोजनाले जनाएको छ ।

प्याकेज १, प्याकेज २ र प्याकेज ३ अन्तर्गतका कामलाई दसैं बिदामा पनि नरोकी सञ्चालन गरिएको थियो । प्याकेज-२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरु गरिरहेको छ । सो प्याकेज अन्तर्गत हाल पाँच ठाउँमा काम भइरहेको आयोजना प्रमुख अच्युत घिमिरेले बताए। सिनो हाइड्रोले सुरुङ भित्र पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका कामलाई निरन्तरता दिइएको छ । हाल ५५ जना चिनियाँ प्राविधिक र ४५० जना नेपाली कामदारले प्याकेज-२ अन्तर्गतको काम गरिरहेको प्रमुख घिमिरेले बताए । उनले भने, ‘प्याकेज-१ अन्तर्गतको निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । सो प्याकेज अन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम सुरु गर्न लागिएको छ ।’

आयोजनाको प्याकेज-२ अन्तर्गत सिनो हाइड्रोले हालसम्म पाँच वटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको आयोजनाका सिभिल इन्जिनियर श्यामकृष्ण कार्कीले बताए । उनले भने, ‘२१५ मिटरको ट्रेलरेस सुरुङको काम भइरहेको छ ।’

इन्जिनियर कार्कीले भने, ‘अन्डरग्राउण्ड भित्र २२ मिटर चौर्डाई, ४५ मिटर उचाई, ८९ मिटर लम्बाईको क्षेत्रफलमा पावरहाउँस, ७०/७० मेगावटका २ वटा टरवाइन, २ वटा ट्रान्सफरमर, विद्युत उत्पादनका लागि बस्ने कर्मचारीका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि सुरुङ खन्ने काम भइरहेको छ ।’

यस्तै, प्याकेज-३ अन्तर्गत प्रशारण लाइन निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरण भइरहेको छ । प्रशारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने संख्या घटेकाले आइइ पुनरावलोकन गरी स्वीकृतीका लागि विद्युत् विकास विभाग पठाइएको आयोजनाले जनाएको छ । प्रशारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न एक करोड ३१ लाख ३४ हजार ५१० रुपैयाँ मुआब्जा निर्धारण भएको छ ।

आयोजनाको प्याकेज-३ अन्तर्गत दमौलीदेखि भरतपुरसम्मको २२० केभी प्रशारण लाइनमा ९४ वटा टावर निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । सो प्याकेज अन्तर्गत हालसम्म २९ वटा टावरको फाउण्डेशनका काम सकिएको छ भने ८ वटा टावरको फाउण्डेशनका काम सम्पन्न भएको छ । कोरोना संक्रमण जोखिमका बीच पनि सावधानी अपनाएर काम नियमित सञ्चालन भइरहेको र निर्माण कम्पनीहरुले जिम्मा लिएको काम फरक फरक समयमा सकिने भएपनि सन् २०२६ को जुलाईसम्म मुख्य हेडवर्कको काम सकिएसंगै आयोजना सञ्चालनमा आउने प्रमुख घिमिरेले बताए ।

त्यस्तै, आयोजनाले सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । साथै विद्युत् सेवा नपुगेका ग्रामीण भेगमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ । भीमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसको भवनमा तला थप गर्नका लागि पनि आयोजनाले सहयोग गरेको छ ।

आयोजना मार्फत् नै तनहुँका विभिन्न ठाउँमा विद्युतीकरणको काम समेत आगाडि बढेको छ । आयोजनामार्फत् जिल्लाका घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गर्ने काम अगाडि बढेको प्रमुख घिमिरेले बताए ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/ नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker