स्थानीय चुनावमा १०१ ठाउँमा चलेको थियो गोली, कस्तो होला संसदीय चुनाव ?

तनहुँका तीन स्थानमा २९ राउन्ड हवाई फायर

लोकेन्द्र प्रसाइ/काठमाडौं

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय सरकारले गरिसकेको छ । निर्वाचन आयोगदेखि गृह मन्त्रालयसम्मले हरेक ५ वर्षमा हुने यो निर्वाचनका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाएका छन् ।

चुनावी तयारीको एउटा महत्त्वपूर्ण पाटो हो शान्ति सुरक्षा । चुनावअघि र पछि हुन सक्ने सम्भावित हिंसात्मक घटनालाई रोक्न सुरक्षा निकायहरू विशेष योजनाका साथ खटिने गर्छन् । अघिल्ला चुनावहरूको पनि विश्लेषण गरेर सुरक्षा निकायहरूले आवश्यक योजना निर्माणको काम अघि बढाइरहेका छन् ।

यति बेला सुरक्षा योजना तय गर्नका लागि सबैभन्दा पहिलो सन्दर्भ सामग्री भनेको भर्खरै सम्पन्न भएको स्थानीय चुनावमा हो । स्थानीय चुनावमा भएका घटनाहरूको विश्लेषण गरेर आगामी चुनावका लागि रणनीति तय गर्न विभिन्न निकायहरु तल्लीन छन् ।

स्थानीय चुनावमा के-के भयो ?

सरकारले गत वैशाखको अन्तिम साता मात्र स्थानीय तहको निर्वाचन सम्पन्न गरेको थियो । निर्वाचनका क्रममा १०१ ठाउँमा गोली चलेको थियो। त्यसमा प्रहरीले ५ सय ८० राउन्ड हवाई फायर गरेको थियो भने ५७ सेल अश्रुग्याँस प्रहार भएको थियो ।

स्थानीय चुनावका बेला सबैभन्दा बढी हवाई फायरका घटना सुदूर पश्चिम प्रदेश र मधेश प्रदेशमा भए । सुदूर पश्चिम प्रदेशका २८ ठाउँमा प्रहरीले एक सय ४९ राउन्ड हवाई फायर गरेको थियो ।

अछामका चार स्थानमा ३८ राउन्ड हवाई फायर भएको थियो । पन्चदेवल विनायकको दर्ुइ स्थानमा २३ राउन्ड हवाई फायर भएको थियो। यस्तै बाजुराका १२ ठाउँमा ५८ राउन्ड हवाई फायर भएको प्रहरीको केन्द्रीय तथ्यांक छ । बुढिगंगामा मात्र पाँच स्थानमा ३३ राउन्ड हवाई फायर भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको एक स्थानमा मात्र हवाई फायर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अजयमेरु गाउँपालिका-२ मतदानस्थलमा ४ राउन्ड हवाई फायर भएको थियो । बझाङका १० ठाउँमा ४९ राउन्ड हवाई फायर भएको थियो। थराला गाउँपालिका-५ मा मतपेटिका ढुवानी गर्ने क्रममा प्रहरीले २१ राउन्ड हवाई फायर गरेको थियो ।

कर्णालीका चार जिल्लाका १३ स्थानमा ६१ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ । त्यसमा पनि हुम्लाको खार्पुनाथ गाउँपालिका-१ मा १३ राउन्ड र चंखेली-४ मा १५ राउन्ड हवाई फायर भएको थियो ।

यस्तै मधेश प्रदेशका २७ ठाउँमा गोली चलेको थियो । सर्लाहीका ९ स्थानमा ६५ राउन्ड हवाई फायर भएको थियो । धनकौल गाउँपालिका-२ स्थित मतदान स्थलमा मात्र २० राउन्ड हवाई फायर र १० सेल अश्रु ग्याँस प्रहार भएको थियो भने सिराहाका तीन स्थानमा हवाई फायर भएको थियो ।

गोलबजारको आशोपुरबलकवामा मात्र १८ राउन्ड हवाई फायर र ८ सेल अश्रु ग्याँस प्रहार भएको थियो । पर्साका तीन ठाउँमा ६ राउन्ड, धनुषाको दर्ुइ ठाउँमा दुइ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।

रौतहटको ८ ठाउँमा एक सय ११ राउन्ड हवाइ फायर र पाँच ठाउँमा ३१ सेल अश्रुग्याँस प्रहार भएको थियो । यमुनामाई गाउँपालिकाको भेडियाही मतदान केन्द्रमा मात्र ८२ राउन्ड हवाई फायर भएको थियो । फतुवाविजय नगरपालिकाका तीन स्थानमा १५ राउन्ड हवाई फायर र एक ठाउँमा ९ सेल अश्रु ग्याँस प्रहार भएको थियो ।

प्रदेश-१ ओखलढुंगा, उदयपुर र सुनसरीका तीन ठाउँमा हवाई फायर गर्नु परेको थियो । त्यहाँ अश्रु ग्याँस प्रहार गर्ने अवस्था भने बनेको थिएन । बागमती प्रदेशमा सबैभन्दा बढी रामेछापमा २० राउन्ड हवाई फायर भएको प्रहरी तथ्यांक छ । गण्डकी प्रदेश अन्तर्गत गोरखाका ६ स्थानमा २९ राउन्ड हवाई फायर भएको थियो। तनहुँका तीन स्थानमा २९ राउन्ड हवाई फायर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएको स्थानीय निर्वाचनमा देशका विभिन्न स्थानमा भएका विवाद र झडपमा राजनीतिक दलका कार्यकर्ताहरू संलग्न थिए । खास गरी नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरूबिच झडप भएको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । उदयपुरको कटारीमा मतदान सम्पन्न भएपछि मतपेटिका उठाउने क्रममा भएको विवादमा प्रहरीले चलाएको गोली लागेर एक युवकले ज्यान गुमाएका थिए । निर्वाचनमै सहभागी हुने क्रममा लुम्बिनी र कर्णाली प्रदेशमा एक जनाको ज्यान गएको थियो ।

प्रहरी प्रधान कार्यालयले झडपमा ४९ जना प्रहरी, २६ जना म्यादी प्रहरी र एक सय ७ जना सर्वसाधारण घाइते भएको जनाएको छ । मधेश प्रदेशमा मात्र १४ जना प्रहरी र २० जना सर्वसाधारण घाइते भएका थिए ।

यस्तै सुदूरपश्चिम प्रदेशमा १६ जना प्रहरी र ६८ जना सर्वसाधारण घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मतदान प्रभावित भएपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थल अन्तर्गत ७७ मतदान केन्द्रमा पुन मतदान गराइएको थियो ।

प्रतिनिधिसभामा सुरक्षा चुनौती ज्यादा : पूर्वडीआईजी मल्ल

नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल स्थानीय तहभन्दा ज्यादा सुरक्षा चुनौती प्रतिनिधि सभा निर्वाचनमा हुने बताउँछन् । केन्द्रीय तहको निर्वाचन भएकाले राज्यका नीति, निर्णयहरूमा प्रभाव पार्ने तत्वहरूको सक्रियता बढ्ने हुँदा सुरक्षा एजेन्सीहरू चनाखो हुनुपर्ने उनको भनाइ छ । ‘स्थानीय तहमा पार्टीभन्दा पनि व्यक्ती उठ्छ ।

मतदाताहरू एक आपसमा चिने जानेकै हुन्छन् । त्यसैले मुठभेडको सम्भावना तुलानात्मक रुपमा कम हुन्छ’, पूर्वडीआईजी मल्ल भन्छन्, ‘तर प्रतिनिधिसभा निर्वाचनमा देशको एउटा कुनाको मान्छे अर्को कुनामा पुगेर उठिरहेको हुन्छ । त्यसैले यहाँ व्यक्तिभन्दा पनि पार्टी प्रधान हुन्छ । पार्टीका उत्तेजक भाषण, क्रियाकलापहरूले सुरक्षा चुनौती बढाउँछन् ।’

त्यसबाहेक स्वार्थ समूहहरू पनि एकदमै सक्रिय हुने भएकाले पार्टीले गर्ने खर्च पनि बढी हुने उनी बताउँछन् । ‘मतदाता धेरै भएकाले मत पनि धेरै ल्याउनुपर्ने बाध्यता हुन्छ । त्यसका लागि मतदाता खरिद विक्रीका खेलहरू हुने गर्छन् । बाहृय तथा आन्तरिक शक्तिहरू आफ्ना मान्छेलाई जिताउन हदैसम्म प्रयास गर्छन्’, मल्ल भन्छन् ।

मतदानका दिन हुने बुथ क्याप्चर र मत पेटिका परिवर्तनलाई पनि महत्वपर्ूण्ा सुरक्षा चुनौतीका रूपमा हेरिनुपर्ने उनी बताउँछन् । त्यस्तै सरकारले आफ्नो रुचि अनुसार लगेका जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी भएका ठाउँमा निर्वाचन आयोगले विशेष निगरानी बढाउनुपर्ने उनको सुझाव छ । नेपालप्रेसबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker