तनहुँका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान, जोशीले पाए “कैची”, नेकपा एसले उम्मेदवारी फिर्ता लिएन

भञ्ज्याङ न्यूज

आसन्न आमनिर्वाचन २०७९ अन्तरगत बुधबार उम्मेदवारी फिर्ता तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान कार्य सम्पन्न भएको छ । तनहुँका २ प्रतिनिधिसभा र ४ प्रदशेसभा सदस्यका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्ररुपमा गरी ६२ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका थिए ।

गत आइतबार मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउने मध्ये तनहुँमा बुधबार पाँच जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिएका एक सहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका विश्व वास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव रहेका बास्तोला गत स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखमा उठ्न चाहान्थे । पार्टीले बैकुण्ठ न्यौपानेलाई दोहोर्‍याउँदै टिकट दिएपछि असन्तुष्ट भएर बास्तोलाले पार्टी छाडेका थिए । उनी पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट थिए र पौडेलले नै फोन गरेपछि बास्तोलाले आफ्नो उम्मेदवारी फिर्ता लिइएको स्रोतले बताएका छ ।

यस्तै, तनहुँ १ (१) मा स्वतन्त्र उम्मेदवारी दिएका नगेन्द्र पौडेलको पनि फिर्ता भएको छ । नेपाली कांग्रेस व्यास नगर कार्य समितिका कोषाध्यक्ष रहेका पौडेलले मनोनयन दर्ताको केही दिन अगाडी मात्रै पार्टीबाट राजिनामा दिँदै उम्मेदवारी दर्ता गराएका थिए ।

तनहुँ २(१) मा स्वतन्त्र उम्मेदवारी दिएका प्रेमकुमार श्रेष्ठ, कांग्रेस -विपी) का डा. शेषरमण न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । तनहुँ २ -२) मा जसपाबाट पूर्णबहादुर गुरुङले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा प्रतिनिधि र प्रदेश सभामा ६२ जनाको उम्मेदवारी परेकोमा पाँच जनाले फिर्ता लिएसँगै ६ पदका लागि ५७ जना चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा (एस)को उम्मेदवारी कायमै

यस्तै, नेकपा (एकीकृत समाजवादी) तनहुँको प्रदेशसभा सदस्य निर्वाचनमा एकलै होमिने भएको छ । गत आइतबार मुख्य निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गरेको ४ वटा प्रदेशसभा सदस्यको उम्मेदवारी नेकपा (एस)ले कायमै राखेको छ ।

सत्तारुढ गठबन्धन दलसँगको सहमतिमा एउटा प्रदेशसभा मागेपनि कुनैपनि पद नपाएपछि नेकपा एसले चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

सत्तारुढ गठबन्धनबाट धोका भएको भन्दै आफ्नै ढंगबाट प्रदेशसभा सदस्यको उम्मेदवारी दिएको पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले बताए। ‘हामीले गठबन्धन दलसँग एक/एकवटा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य माग गरेका थियौं’, उनले भने, ‘२०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित कृष्णकुमार श्रेष्ठ -किसान)लाई अन्तै व्यवस्थित गरेपछि तनहुँ-१-१) र २-२) मध्ये एउटा प्रदेश मागेका थियौं तर हामीलाई लात हानियो ।’

उनका अनुसार तत्कालिन नेकपा एमालेमा हुँदा किसानले जितेको पद वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिइयो र जिल्लामा एकीकृत समाजवादीका लागि कुनैपनि पद दिइएन । २०७४ को निर्वाचनमा तनहुँ-१ बाट उम्मेदवारी दिएका कांग्रेसका नेता पौडेल तत्कालिन एमालेका उम्मेदवार किसानसँग ६ हजार ८०२ मतान्तरले पराजित भएका थिए । अहिले सत्तारुढ गठबन्धनबाट पौडेल तनहुँ-१ र किसान बारा ४ मा चुनाव लड्दैछन् ।

जिल्लामा गठबन्धन अधकल्चो भएको बताउँदै कार्कीले पार्टीका तर्फाट चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवार रहेको र पार्टीका उम्मेदवारका पक्षमा मत मागिने बताए। उनले भने, ‘प्रदेशसभा सदस्यमा आफ्नै पार्टीका उम्मेदवार भएकाले मत पनि पार्टीकै लागि मागिनेछ । प्रतिनिधिसभा सदस्यको हकमा के गर्ने भन्ने छलफल भइरहेको छ ।’

नेकपा एसबाट तनहुँ-१(१) मा विद्यानाथ ढकाल, तनहुँ-१(२) मा कलिला खान, तनहुँ-२(१) मा दुर्गाकुमार श्रेष्ठ र तनहुँ-२(२) मा प्रतापलाल श्रेष्ठ उम्मेदवार बनेका छन् । सत्तारुढ गठबन्धनबाट भने प्रतिनिधिसभा सदस्यतर्फतनहुँ-१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र तनहुँ-२ मा नेपाली कांग्रेसका शंकर भण्डारी उम्मेदवार बनेका छन् ।

त्यस्तै, तनहुँ-१(१)मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ, १ (२) मा माओवादी केन्द्रका हरिबहादुर चुमान, तनहुँ-२(१) मा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र २ (२) मा नेपाली कांग्रेसका जितप्रकाश आले उम्मेदवार बनेका छन् ।

जोशीको चुनाव चिन्ह ‘कैची’

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ-१ का उम्मेदवार गोविन्दराज जोशीले कैची चुनाव चिन्ह पाएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका जोशीले कैची चुनाव चिन्ह पाएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जोशीलाई कैची चुनाव चिन्ह प्रदान गरेको हो । गत स्थानीय तह निर्वाचनमा जोशीका छोरा दीपकराज जोशीले व्यास नगरपालिकाको प्रमुखमा कैची चुनाव चिन्ह लिएका थिए । त्यसबेला नेकपा एमालेले जोशीलाई समर्थन गरेको थियो ।

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका जोशी तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने यसअघिदेखि नै बताउँदै आएका थिए । यही क्षेत्रबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना चुनावी मैदानमा छन् ।

यस्तै, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र कार्कीले चुनाव चिन्ह ‘ट्राफिक प्रहरी’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्कीलाई ‘ट्राफिक प्रहरी’ चुनाव चिन्ह दिएको हो । चुनाव चिन्ह पाएपछि कार्कीले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएकाले आफू उम्मेदवार बनेको बताए ।

यस्तै, स्वतन्त्र उम्मेदवार पृथ्वी नारायण श्रेष्ठले सूर्यमुखी फूल र बेलबहादुर दरैले क्रस खुकुरी चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारलाई बुधबार साँझ चुनाव चिन्ह प्रदान गरेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker