तनहुँ लमजुङको ठाडोभाका गीत र गायिका उत्तम गुरुङ

देव बस्न्यात

तनहुँ, लमजुङ, कास्की र गोरखाका पाखा पखेरामा गुञ्जने लोक भाकाहरुमा लमजुङ-तनहुँको ठाडोभाका गीत पनि एक हो ।

लमजुङ जिल्लाको कर्पुटार उध्दभव स्थल भएता पनि यस्को उर्वरभूमि तनहुँको भानु-११ पुतलीबजार, भानु-१३ मिर्लुङ्को पोखरीछाप र व्यास-६ शिःसाघाट बजारहरु प्रमुख मानिन्छन् । यस्का अतिरिक्त दमौलीको माघे संक्रान्तिको जात्रा, समजुरको माझगाउँ र ज्यामरुक वयापानी, मिर्लुङको ठूलोढुंगा पनि उत्तिकै चर्चित स्थलहरुमा पर्दछन् ।

ठाडोभाका गीत गण्डकी प्रदेशको गहना हो । बागमती प्रदेशमा गाइने ठाडोभाका गीत र गण्डकी प्रदेशमा गाइने ठाडोभाका गीत र्‍याङठ्याङ मिल्दैन । बागमती प्रदेशका धादिङ, नुवाकोट सिन्धुपाल्चोक तिर गाइने ठाडोभाका गीतलाई घाँसेभाका पनि भन्ने गर्दछन् । साँच्चै भन्ने हो भने ठाडोभाका लोकगीत गण्डकी प्रदेशको ढुकढुकी हो ।

ठाडोभाका लोकगीतका सर्जकहरुमा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ, ठाडोभाका गीतका शिरोमणी भेंडीखर्के साइला उर्फ दीर्घराज अधिकारीको नीधनले भएको क्षति पूर्ण गर्न सकिएला भनेर कल्पना गर्न गाह्रो छ । तर, मल्हम पट्टी गर्ने जनशक्ति तनहुँमा यद्यपि भेटिन्छ ।

नयाँ पुस्ताका युवाहरुमा ठाडोभाका लोकगीत प्राथमिकतामा नपरेपछि लोकगीत जीवन्त रहन्छ रहंदैन भन्ने कुरा चिन्ताको विषय बन्दै गयो । नवयुवाहरु लोकगीत गाउन उत्सुक नदेखिएता पनि यहाँका अघिल्लो पुस्ताका बृद्ध बृद्धाहरुले धराप्रवाह रुपमा ठाडोभाका लोकगीत गाइरहे । येनकेन प्रकारेण हाम्रो पाखा पखेरामा अहिलेसम्म ठाडोभाका गीत गुञ्जि रहेको पाउँदछौं ।

नयाँ पुस्ताको रोजाइमा नपरेपछि लोकप्रीय ठाडोभाकागीत क्षेत्रमा लाग्न लमजुङका डा. देवीबहादुर गुरुङ भारतको लाहुरे जागिर छोडेर घरगाउँमा बसेर युवाहरुलाई उत्प्रेरित गरिरहे । यसैगरी तनहुँ समजुरका रजक मियाँको योगदान पनि कम आँक्न मिल्दैन । उहाँहरुकै उत्प्रेरणाले तनहुँका शङ्कर परियार, उत्तम गुरुङ, ज्ञानुमाया थापा, अनिता गुरुङ, लमजुङका राजु परियार, विमा कुमारी दुरा, मञ्जु वि.क. राधा भण्डारी र कास्कीका बुद्धिमान दुरा “धम्पु” यस क्षेत्रमा होमिए । यिनीहरुले ठाडोभाका लोकगीतलाई जीवन्त राख्न अमूल्य योगदान पनि दिएका छन् ।

तनहुँका गामबेसीमा गाइने लोकगीत, त्यसमा पनि ठाडोभाका लोकगीतको चर्चा आउने वित्तिकै लोकगीतका पारखीहरुले सम्झने एउटा चर्चित नामहरुमा उत्तम गुरुङको नाम पनि आउँछ । उनै लोकगायिका उत्तम गुरुङको विषयमा यहाँ समसामयीक विषयमा चर्चाहरु प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

नेपाली लोकसंगितलाई मायाँ गर्नेहरुमा एउटा सुप्रिम नाम हो उत्तम गुरुङ । बाबा मङ्गल गुरुङ र आमा धनकुमारी गुरुङको कोखबाट जन्मिएकी उत्तम गुरुङको जन्मस्थान तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. १ को बट्टारमा पर्दछ । भानु माध्यामिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेकी गुरुङले बन्दिपुर क्याम्पसबाट उच्च शिक्षा अध्ययन गर्नु भएको छ । वि.सं. २०५१ सालदेखि शिक्षण पेशा अंगालेकी गुरुङ १०/१२ वर्षो उमेरदेखिनै गायन क्षेत्रमा पाइला राख्ने नेपाली लोकसंस्कृति फाँटकी प्रतिभाशाली गायिका हुन ।

नेपालका चर्चित लोकगायक अम्मर विरही गुरुङ गायन क्षेत्रमा उत्प्रेरण दिने उहाँको प्रेरणाका श्रोत हुन । नेपाली लोकगीतका हरेक विधामा गीत गाउन सक्ने गुरुङ विशेष गरेर ठाडोभाका गीतमा -पुतलीबजार भाका) जमेर गाएकी छन्। वास्तवमा सबैको मन जित्ने ठाडोभाका गीतलाई नै उत्तम गुरुङले आफनो गायन क्षेत्र रोजेकी हुन । गुरुङ समाजमा जन्मे हुर्केकी उत्तमलाई परिवारका सदस्यहरुको पनि साथ र सहयोग निरन्तर पाउँदै आएकी छन् । ठाडोभाका गीत युवाहरुको कण्ठ प्रीय र अलौकिक मानिन्छ ।

विलक्षण प्रतिभाकी गुरुङले लमजुङ जिल्लाको कर्पुटार, तनहुँ जिल्लाको साविक रुपाकोट गाउँ विकास समितिको हाल भानु नगरपालिका वडा नं. ११ टुहुरेपसल स्थित पुतलीबजार, भानु नगरपालिकाकै वडा नं. १३ को मिर्लुङ ठूलोढुङ्गा, साविक श्याम्घाको हाल व्यास-६ शिःसाघाट बजारमा लाग्ने जात्रा तथा मेलाहरु, गाउँघरका रोदीघर र इन्द्रेणी कार्यक्रममा ठाडोभाका गीतहरु जमेर गाउनु भएको छ । ठाडोभाका गीतका वादशाह भेडीखर्के साइला, मनिराम दुरा, बुद्धिमान दुरा “धम्पु”, शंकर परियार र युक्ति दुरासंग उहाँले जमेर दोहोरी गीतहरु गाउनु भएको छ । नेपाली लोक संगीत फाँटकी उर्जावान प्रतिभा उत्तम गुरुङको पहिचान हामीले खोजी खोजी प्रचारप्रसार गर्नै पर्दछ ।

कला र गलामा सम्पन्नशाली व्यक्तित्व उत्तम गुरुङ लोकप्रीय गायीका मात्र नभएर सामाजिक अध्येयता र गुरु पनि हुन । यसैले उनलाई ठाडोभाका लोकगायन क्षेत्रको अभियान्ताको रुपमा पनि हेरिन्छ । भानु नगरपालिकामा शिक्षक पेशामा कार्यरत गुरुङले विद्यालयका समयका अतिरिक्त समयमा लोकगीत संगीतलाई पनि यथेष्ट समय दिनु भएको छ । उहाँको आफ्नै निर्भयताले उहाँले ठाडोभाका लोकगीत गाउन सिक्नु भयो र जीवन पर्यन्त गाईरहनु भएको छ । उहाँको यस कार्यले उहाँकै बहिनी अनिता गुरुङ र अन्य नव प्रतिभाहरुलाई पनि गीत सिक्न र गाउन उत्प्रेरित गरिरहृयो । उहाँको यो अभियान अति नै सह्रानीय बन्दै गइरहेको छ ।

उहाँका समकालीन गायक गायिकाहरुमा भेंडीखर्के साइला, बुद्धिमान दुरा, शङ्कर परियार, यम बहादुर दुरा, भेखमान दुरा ज्ञानुमायाँ थापा पर्दछन् । भेंडी खर्के साइला ठाडोभाका शिरोमणी भंेंडीखर्के साइला (आदर्श समाज ८ कार्तिक २०७४) कला र गलाकी धनी गुरुङले आफ्ना सुमधुर स्वरलाई क्यासमा परिणत गर्न भन्दा आफ्नो प्रतिभालाई उजागर गर्न समय समयमा आयोजित मेला महोत्सव तथा कार्यक्रमहरुमा सहभागिता जनाउँदै आउनु भएको छ । राज्यले उहाँको प्रतिभालाई कदर नगरेता पनि नीजिस्तरबाट उहाँलाई सम्मान र पुरस्कार द्वारा सम्मान गरिंदै आइएको छ । यहाँका विभिन्न संघ संस्थाहरुले उहाँलाई निरन्तर अभिनन्दन गर्दै आइरहेका छन् ।

एक पटक धम्पु दुरासंगको दोहोरी गीतमा बीचमा गीत गाउन आउने गायकलाई श्री स्वस्थानीको जालन्धर पात्रसंग तुलना गर्दै गीतको साङ्गो पाङ्गो नहुँदै बीचमा छोडेर हिंड्ने धम्पुलाई धोकेवाज घोषित गरेको गीत अति नै मार्मिक देखिन्छ । एकसाथ उहाँले यहाँ एक आदर्शवान नेपाली नारीको चरित्र समेत उजागर गर्न पुुग्नु भएको छ । उत्तम गुरुङकै शब्दमा ठाडोभाका गीत यस्तो रहेको छ ।

हा हा हा वादल बस्यो घेरा
बीच बाटोमा ल्याई धम्पुले त हेर, पार्‍यो मलाई अलन्तर ।
हा हा हा मन्मा पिर लिएँ
राम्रो र मिठो वर पाउँछु कि भनी श्री स्वस्थानीको व्रत बसी रहेको थिएँ ।
बादल बस्यो घेरा धम्पु त चम्बु भइ हाल्यो हेर ।
माटीखाने ओलाई, मन्मा पिर थपिंदै गो मलाई दर्शन पायो नयाँ नयाँ जालन्धर
मन परेको फूल शिरभरी लाउँछु, नपरेको लाउँदैन ।
हा हा हा कुन्नी के झैं ठान्यो
कठै बरा मलाई म जतिको पाउँदानी के खोजेको भन्यो,
यस्तो झुट्टा बोल्न कसरी जान्यो,
बादल बस्यो घेरा महादेव नभाको मौका पारी हेर,
पार्वतीको यो रुपलाई सत् डगाउन पाउँदैन ।

अन्त्यमा बन्दिपुर एफ एम, तनहुँ टेलिभिजन, ठाडोभाका गायन क्षेत्रका साँढे शङ्कर परियार र उहाँको सहकार्यमा विस्तारै नयाँ प्रतिभाहरुलाई पनि ठाडोभाका लोकगीत गायन क्षेत्रमा लाग्न उत्प्रेरित गरिरहेका छन् । नभप्रतिभाहरु पनि लोकगीत गायन क्षेत्रमा पारङ्गत हुँदै गएका छन् । लमजुङ तनुहुँको ठाडोभाका गीतको संरक्षण तथा सम्वर्धनमा सरकारी तथा नीजि संघ संस्थाहरुले सरोकार नदेखाउँदा लोकगीत संरक्षण सम्वर्धनमा लोकगीतका अभियान्ताहरुलाई तनहुँ जिल्लाले सम्मान गर्न नसकेको उहाँको गुनासो रहेको थियो । लमजुङ तनहुँका ठाडोभाका लोकगायन क्षेत्रकी महारानी उत्तम गुरुङको आर्थिक एवं सामाजीक जीवनको सम्वृद्धिको कामना गर्दछौ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker