कृषि व्यवसाय र कृषक माथि परेको समस्या सम्बोधन गर्न तनहुँका कृषकहरुको माग
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँका व्यवसायिक कृषि पेशा अंगालेका कृषकहरुले कृषि व्यवसाय र कृषक माथि परेका समस्या सम्बोधन गर्न माग गरेका छन् ।
संयुक्त कृषक संघर्ष समिति तनहुँले विहीबार दमौलीमा पत्रकार सम्मेलन गरी कृषकहरुले पछिल्लो समय खेपेको समस्या समाधान गर्न सरोकारवाला निकायलाई सचेत गराएका छन् ।
करिब दुइ सय बढी व्यवसायिक कृषकहरु आवद्ध संयुक्त कृषक संघर्ष समितिले पेशासँग सम्बद्ध विभिन्न माग राख्दै कृषि व्यवसाय र कृषकले खेपेको मारलाई नीति निर्माताले यथाशीघ्र सामाधनका पहलहरु खोज्न खबरदारी गरेका छन् ।
नेपाल सरकार, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, बीमा प्राधिकरण तथा बीमा कम्पनी समक्ष १७ बुँदे माग राख्दै यथाशीर्घ सम्बोधनको पहल गर्न समितिले माग गरेको छ । साथै कृषकका माग सम्बोधन गर्न सरकार उदासिन देखिए व्रि्रोहको ज्वाला सल्कने चेतावनी समेत दिएका छन् ।
समितिले यही फागुन २१ गते किसानका मागहरु सहित दमौलीमा मोटरसाइकल र्याली गरी शान्तिपूर्ण आन्दोदनको कार्यक्रम तय गरेको संघर्ष समितिका संयोजक गिर बहादुर दुराले बताए । समितिले सोहीदिन स्थानीय सरकार, प्रमुख जिल्ला अधिकारी, कृषि तथा पशु कार्यालयमा माग सहित ज्ञापनपत्र बुझाउने भएको छ । कृषकका उत्पादनलाई नष्ट गरेर भन्दा पनि शान्तिपूर्ण आन्दोलन गरी सरकारलाई खबरदारी गर्ने तयारी गरेको समितिले जनाएको छ ।
सरकारको लापर्वाहीले किसानको अवस्था दिनदिनै नाजुक बन्दै गएकाले किसानहरु व्रि्रोहमा उत्रिन बाध्य भएको समितिका सहसंयोजक एवं युगिन कृषि फार्मका सञ्चालक इश्वरराज पन्थले बताए । उनले भने, ‘उत्पादनको मुल्य भन्दा लागत मुल्य बढी हुने, बैंकको ब्याज अस्वभाविक तवरले बढ्ने र उत्पादनले उचित बजार नपाउने समस्याले किसानहरु व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ ।’
कृषकले अहिलेको समयमा खेप्दै आएको समस्या समाधान गरी कृषक र कृषिलाई जोगाउन पहल नगरे किसानहरु कडा संघर्षमा उत्रिने दुग्ध उत्पादक कृषक रमेश आचार्यले बताए । सरकार हाम्रा माग प्रति गम्भिर बन्न सकेन भने हामी व्यवसाय छोडन बाध्य हुने समेत चेतावनी दिएका छन् ।
यस्तै, कृषि र कृषकका योजना तथा नीति बनाउँदा कृषि नै नबुझेकाले बनाउने गरेकाले यो अवस्था सिर्जना भएको संघर्ष समितिले आरोप लगाएको छ । वास्ताविक कृषकले अनुदान नपाउने, आयातित बस्तुहरुको मुल्य कम हुने र खपत पनि बढी हुने हुँदा स्थानीय बजार कमजोर भएको समितिले बताएको छ ।
कार्यक्रममा अण्डा उत्पादक कृषक खेमराज अधिकारीले अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा व्यहोर्न बाध्य भएको बताए । तनहुँमा ९६ जना अण्डा उत्पादक कृषकले दैनिक साढे दुइ लाख अण्डा उत्पादन गर्दै आएको बताउँदै उनले वार्षिक ६ अर्व बढी अण्डा उत्पादनमा लगानी गछौं तर पनि सोचे जस्तो प्रतिफल नपाएको गुनासो गरे ।
दुग्ध उत्पादक संघका अध्यक्ष कालिका पौडेलले लागत अनुसारेको मूल्य पाउन नसकेको बताए । ४० हजार लिटर दुध उत्पादन हुँदै आएको तनहुँमा उत्पादक कृषकहरुले उचित मूल्य पाउन नसकेको र व्यवसाय धान्न कठिन बनेको बताए ।
वैदेशीक रोजागिर छोडेर गाउँ फर्की भैंसीपालन गर्दै आएका भानुभक्त सोतीले कृषि व्यवसायलाई निरन्तरता दिन गरिएको संघर्ष र लगानि अनुसारको मूल्य पाउन नसकेको गुनासो गरे । कार्यक्रममा तरकारी तथा फलफुल उत्पादक, मासुजन्य पदार्थ उत्पादक किसानहरुले कृषि पेशा सम्मानजनक बन्न नसकेको बताए । देश समृद्धिको सपना बोकेर कृषि व्यवसाय गर्दा हामी नै अपमानित हुने अवस्था सिर्जना भएको कृषकहरुको गुनासो छ ।
संयुक्त कृषक संघर्ष समितिले उत्पादनमा आधारित अनुदानको व्यवस्था लागु गर्नुपर्ने, सरकार मार्फत सिधैं कृषि कर्जा तथा बीमा सुविधा प्रदान गर्नुपर्ने, कृषि उत्पादन सरकारद्वारा सोझै खरिदको ग्यारेन्टी गर्नुपर्ने, कृषकलाई फसाउने धोकेवाज बैंक क्षतिपूर्ति दिनुपर्ने, किसानलाई कालो सुचीमा पुर्याउने बैंकलाई पनि कालो सुचीमा राख्नुपर्ने, अमानवीय बैंकिङ्ग आतंक बन्द गर्नुपर्ने, कृषकलाई सुकुम्बासी बनाउन बनाउन नपाइने, पर्दा पछाडीका बैंकिङ्ग लिलामी गिरोहको सम्पतीको आयस्रोत छानबिन गर्नुपर्ने, विदेशी विषादीयुक्त तरकारी, फलफुल तथा पशुपंक्षी आयात बन्द गर्नुपर्ने, आश्वासनमा फसाएर लादिएको कृषि कर्जा मिनाहा गर्नुपर्ने, परियोजना धितोमा शुन्य प्रतिशत व्याजदरमा कृषि कर्जा प्रदान गर्नुपर्ने, कृषि कर्जा अनुदान अपचलन गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने, दावि भुक्तानी नदिने बीमा कम्पनी खारेज गर्नुपर्ने, लघुबित्त कम्पनीलाई नियन्त्रण गर्नुपर्ने, किसान पेन्सन योजना कार्यावन्यन गर्नुपर्ने लगायतका माग अगाडि ल्याएका छन् ।