आध्यात्म र प्रकृतिको संगमस्थल “छिम्केश्वरी”
सम्झना रसाइली

धार्मिक, साँस्कृतिक, ऐतिहासिक, साहित्यिक, प्राकृतिक जस्ता विविध आयमले भरिपूर्ण छ तनहुँ । यीनै आयमले भरिपूर्ण भएको एउटा क्षेत्र हो छिम्केश्वरी । महाभारत पर्वत श्रृंखला र भौगोलिक हिसाबले जिल्लाकै उच्च पहाडको रुपमा परिचित यो छिम्केश्वरी क्षेत्र आध्यात्म र प्रकृतिको संगमस्थलका रुपमा पनि चिनिन्छ ।
समुन्द्र सतहबाट २१३४ मिटर उचाईमा अवस्थित छिम्केश्वरी क्षेत्र ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास हुने पर्खाइमा छ । यो क्षेत्र धार्मिक, साँस्कृतिक, प्राकृतिक रुपले निकै महत्वपूर्ण छ । साविक छिम्केश्वरी गाविसमा रहेको यो क्षेत्र मुलुक संघीयतामा गएसंगै आँवुखैरेनी गाउँपालिकामा समावेश गरिएको छ । गाउँपालिकाको वडा नं. ५ र ६ क्षेत्र यही पहाडको काखमा अवस्थित छ । यहाँको प्रकृतिक सौन्दर्यता र धार्मिक आस्था र विश्वासले भरिपूर्ण छ ।
गोरखाको मनकामना माई र अकलामाईकी जेठी दिदीका रुपमा छिम्केश्वरी माईलाई पुजिने गरिन्छ । मनकामना माईको दर्शन गर्न जाने भक्तजनले डाँडाको टुप्पोमा रहेको छिम्केश्वरी माईको दर्शन नगरेसम्म मनोकांक्षा पुरा नहुने धार्मिक मान्यता छ । मनकामना र अकलाले सुँगुर र हाँसको बलि खाएकाले छिम्केश्वरी रिसाएर उनीहरुतिर हेर्दिन भनेर भुइमा मुन्टो फर्काएर बसेकोले प्राचिन शिला घोप्टो परेको अवस्थामा रहेको छ । छिम्केश्वरी माईलाई बोका र परेवा मात्र बलि चढ्छ । तिर्थालुले उनलाई सम्झेर गरेको भाकल पुरा भएपछि पूजा गरेर परेवा/बोका चढाउन आउने बताइन्छ ।
प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छिम्केश्वरी क्षेत्र आदिमकालदेखि नै पुज्य र आराध्य स्थलको रुपमा रही आएको छ । यस पहाड क्षेत्रको तीनैतिरबाट त्रिशुली, मर्स्याङदी र सेती नदीले घेरिएर बगेको छ । एकै ठाउँबाट उत्तर तर्फ का धेरै हिमश्रृंखला देख्न सकिने पहाड मध्येको एक हो छिम्केश्वरी । आँखाले भ्याइनजेल तरेली परेर बसेका पहाडका टाकुराहरु निहाल्न सकिन्छ । यहाँस्थित बुढीकन्यामाई रहेको चुचुरोबाट घोप्टो मुण्टोपारी होचा पहाडी टाकुराहरु हेर्दाको आनन्द जोकसैको लागि अविस्मरणीय बन्छ । छिम्केश्वरीको डाँडाबाट लर्कन लागेर बसेका धौलागिरी, माछापुच्छू्रे, अन्नपूर्ण, लमजुङ, मनास्लु, गणेश हिमाल देख्न सकिन्छ । उच्च स्थानमा रहेको हुँदा यहाँबाट सूर्योदयको सुन्दर दृश्यपनि अवलोकन गर्न सकिन्छ ।
छिम्केश्वरी क्षेत्र पुरै पहाड तथा ग्रामीण परिवेशले सु-सज्जित छ । सुन्दर स्वच्छ प्राकृतिक छटाले भरिपूर्ण यो क्षेत्रको फेदीमा आँबुखैरेनी, बन्दिपुर, डुम्रे, विमलनगर र सत्रसय बजार छन् । हिलेखर्क, लाब्दी, आक्लाङ, भाँगे, धरमपानी, रामकोट, झारगाउँ यस क्षेत्रको मुख्य साँस्कृतिक ग्राम हुन । गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राम्हण, कामी, दमै, सार्की, भुजेल, चेपाङ लगायतका जातजाति तथा समुदायको बसोवास रहेको छ । यी समुदायको आ-आफ्नै भाषा, संस्कृति, परम्परा तथा भेषभूषा रहेका छन् ।
सांस्कृतिक विविधताले भरिपूर्ण यस छिम्केश्वरी क्षेत्रमा कौरा र झ्याउरे, घाँटु, लाखे, तायमचा, देवीनाच, पाउदुरे, सोरठी, वालन जस्ता स्थानीय लोक संस्कृति छन् । यीनै संस्कृतिको संरक्षणगरी स्थानीय समुदायको आर्थिक समृद्धिसंग जोड्ने कार्यक्रमहरु अहिले अगाडि ल्याउन थालिएको छ । स्थ्ानीयले छिम्केश्वरी पहाड क्षेत्रको प्राकृतिक सम्पदाको अधिक उपयोग गर्दै धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने कार्यक्रम अगाडि ल्याएका छन् ।
छिम्केश्वरी माईको दर्शनका लागि आउने भक्तजनलाई लक्षित गरी गाउँपालिकाको वडा नं. ६ मा हिलेखर्क र वडा नं. ५ मा छिम्केश्वरी गाउँमा सामुदायिक होमस्टे संचालनमा ल्याइएको छ । यस्तै, यहाँका आक्लाङ, भाँगे, आँबु लगायतका गाउँबस्तिहरु पनि होमस्टेका लागि प्रचुर सम्भावना रहेका छन् ।
यस क्षेत्रमा उत्पादित कोदो तथा फापरको ढिडो, रोटी, मकैको आँटो, कुखुरा, गुन्द्रूक, भुटेको मकै र भटमास, कोदोको रक्सी, मह, कफी तथा तरकारीका स्वादिष्ट परिकार उपभोग गर्ने अवसर मिल्छ । योसंगै वन जंगलमा पाइने निउरो, गिठा, भ्याकुर, तरुल, सिम्लिगान आदि पाइन्छ ।
होमस्टे सञ्चालकहरुले यहाँ पुग्ने पाहुनालाई स्थानीय स्तरमै उत्पादित खानाका परिकार खुवाउने गर्छन । छिम्केश्वरी क्षेत्र अन्तर्गतको जालभञ्ज्याङ, बतासेडाँडा, जोगिनीभञ्ज्याङ आदि स्थलहरु पिक्निक तथा क्याम्प सञ्चालनका लागि उपयुक्त स्थलहरु हुन् । यहाँबाट देखिने मनमोहक हिमाली श्रृंखला, पहाडका तरेली, नदी एवं खोला, हरिया वनजंगल तथा फाँट र बेसीहरु वास्तवमै वर्णन गरिनसकिने खालका छन् ।
छिम्केश्वरी क्षेत्र जैविक विविधताको खानी हो । यहाँ मृग, भालु, चितुवा, बँदेल, बाँदर, ढेडु, स्याल, मालसाप्रो, विभिन्न प्रजातिका गोहोरो, पुतली तथा किटपतङ्, तित्रा, लुइचे, कालिज आदि वन्यजन्तु तथा चराचुरुङ्गीको बासस्थान छ भने विभिन्न प्रजातिका गुराँस, निगाल, च्याउ, सुनगाभाका साथै टिमुर, पाँचऔले, चिराइतो, चिउरी, तितेपाती आदि जडिबुटी समेत पाईन्छ ।
यस्तै हरेक नयाँ वर्ष (बैशाख १ गते), फागुन पूर्णिमा, पन्ध्र पुष (तमु ल्होसार), माघी र वसन्तपञ्चमी यस क्षेत्र भ्रमणका विशेष दिनहरु हुन । यहाँ विभिन्न प्रजातिका लालीगुराँस, चराचुरुङ्गी, वन्यजन्तु, जडिबुटीको अध्ययन, अवलोकन, अनुसन्धानका लागि उपयुक्त स्थानका रुपमा पनि लिन सकिन्छ ।
पृथ्वी राजमार्गमा पर्ने आँबुखैरेनी तथा डुम्रे बन्दिपुर हुँदै २ भिन्न रुटबाट छिम्केश्वरी पुग्न सकिन्छ । यस रुटमा धरम्पानी, झारगाउँ, लाब्दी र हिलेखर्कमा गुरुङ, भाँगे मगर र अकलाङमा भुजेल सांस्कृतिक ग्रामहरुको अध्यन अवलोकन गर्न पाइन्छ । अपि सैपालदेखि महालङ्गुर हिमश्रृंखलासम्मको मनोरम दृश्यले जोकोहीको मन लोभ्याउँछ । महाभारत पहाडहरु मध्येको एक उच्च पहाडमा अवस्थित छिम्केश्वरीमाई र बुढीकन्यामाईको दर्शनका साथै यसै स्थलबाट गोरखकाली र मनकामनामाईको समेत दर्शन गर्न सकिने यस पदयात्राको आकर्ष गन्तव्य पनि हो ।
काठमाडौं र पोखराबाट विभिन्न समय तालिकामा दैनिक सार्वजनिक एवं पर्यटकीय बस, माईक्रो, जीप तथा कारहरु उपलव्ध छन् । काठमाडौंबाट आँबुखैरेनी-डुम्रे ४/५ घण्टा तथा पोखराबाट डुम्रे-आँबुखैरेनी १ः३०/२ घण्टामा बस वा ट्याक्सीबाट सजिलै आईपुग्न सकिन्छ । डुम्रेबाट बन्दिपुरसम्म ७ कि.मि. कालोपत्रे सडक र बन्दिपुरबाट हिलेखर्कसम्म करिव १५ कि.मि. कच्चीसडक (बाह्रै महिना चल्ने)को लागि जीप यात्रा त्यसपछि करिव ३ घण्टा पदयात्रा पश्चात छिम्केश्वरी पुग्न सकिन्छ । अर्को रुट आँबुखैरेनीबाट लाब्दिसम्म १९ कि.मि. कच्ची सडकमा जीप यात्रा त्यसपछि करिव ४५ मिनेटको पदयात्रा पश्चात छिम्केश्वरी पुग्न सकिन्छ। गाउँपालिको यो सडकलाई कालोपत्रे गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाइरहेको छ ।
हिड्न रुचाउनेहरुका लागि छिम्केश्वरी विभिन्न रुटबाट सजिलै पुग्न सकिन्छ । सर्भे सहित नक्शाङ्कन भएको रुटमा दमौली-छाब्दी-रामकोट-बन्दीपुर-बाहुनभञ्ज्याङ-जालभञ्ज्याङ-हिलेखर्क-छिम्केश्वरी-लाब्दी-आक्लाङ-भाँगेहुँदै आँबुखैरेनी हो। यस रुटका अलावा छिम्केश्वरी पदयात्राका लागि अन्य विभिन्न पदमार्गहरुको समेत विकास भएको छ (पहिले गाउँलेहरु हिंडडुल गर्ने बाटोहरुलाई परिमार्जित) जसमध्ये सारङघाट-छिम्केश्वरी, पूलजीप मुग्लिन-छिम्केश्वरी, मर्स्याङ्दी जलविद्यूत पावरहाउस-छिम्केश्वरी, अन्नपूर्ण सिमेण्ट कारखाना-छिम्केश्वरी, लाब्दीखोला-छिम्केश्वरी रहेका छन् । एकैदिनमा समुन्द्र सतहबाट करिव २०० मिटरदेखि २१३४ मिटरसम्म पुग्दा फरक-फरक हावापानी, जैविक विविधताका साथै मनोरम दृश्यावलोकन यस पदमार्गको खास विशेषता हो ।
छिम्केश्वरीमाईको अलवा यस भ्रमणमा शिव मन्दिर आँबुखैरेनी, अकलाथान सत्रसय, आँधिमुलका साथै बन्दिपुर स्थित बौद्ध गुम्बा र हिन्दू मठ मन्दिरहरुको दर्शन गर्न पाइन्छ । त्यसैगरी ठाउँठाउँमा गुरुङजातिका साथै त्यस क्षेत्रका अन्य आदिबासी जनजातिहरुद्वारा पुजिने भूमेथान, झाँक्रीथान, चण्डी देउराली आदि जस्ता पूजाथान र त्यहाँ सञ्चालन गरिने पूजाआजा समेत अवलोकन गर्न सकिन्छ ।
गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष कार्यक्रम अन्तर्गत छानिएका तनहुँका १० वटा गन्तव्यमध्ये छिम्केश्वरी पनि एउटा गन्तव्य हो । यस क्षेत्रमा सहज मोटरमार्ग, संचार, विजुली, खानेपानीको आभव नै छ । जिल्लाको अग्लो पहाड छिम्केश्वरी घुम्न आउने पर्यटकलाई यहाँको रहनसहन, कलासंस्कृति, धार्मिक मान्यता, ऐतिहसिक महत्व, संस्कृति प्रदर्शन गरी यस क्षेत्रको प्रचारप्रसार गर्नका निमिक्त होमस्टेले महत्वपूर्ण भूमिका खेलेको छ । ग्रामीण क्षेत्रको वातावरण, यहाँको प्रकृतिक सौन्दर्यताका कारण पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा होमस्टे पर्न थालेको आँबुखैरेनी-६ हिलेखर्कस्थित हिलेखर्क सामुदायिक होमस्टेकी पूर्व अध्यक्ष बाँटु गुरुङले बताइन् ।
‘यहाँको सांस्कृतिक, ऐतिहासिक, धार्मिक, प्राकृतिक सम्पदाको उचित प्रचार प्रसारका साथै आवश्यक पूर्वाधार निर्माण गरी रोजगारी र सुविधाको खोजीमा भौतारिएका युवा पीढिलाई पुनः गाउँमा फर्काउने हाम्रो चाहना छ’, उनले भनिन्, ‘युवा गाउँमा नहुँदा विकासका काम समेत प्रभावित बनेकाले गाउँमा रोजगारीको वातावरण सृजना गर्ने महत्वपूर्ण पाटो होमस्टे बन्ने हाम्रो विश्वास छ ।’ कोरोना कहरपछि भने यहाँको पर्यटकीय गतिविधि सुस्ताएको उनले बताइन् ।
यस्तै, छिम्केश्वरी क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै यस क्षेत्रका बासिन्दालाई गाउँमै होमस्टेका माध्यमबाट रोजगारीको वातावरण सृजना गर्ने मुख्य लक्ष्य रहेको आँबुखैरेनी-५ स्थित छिम्केश्वरी सामुदायिक हामेस्टेका अध्यक्ष देवीलाल गुरुङले बताए । ‘छिम्केश्वरी माईको दर्शनका लागि आउने भक्तजनहरुले खाना, बासबस्न समेत राम्रोसंग नपाएको हुँदा हामीले गाउँमा होमस्टे सञ्चालनमा ल्याएका छौं’, उनले भने, ‘स्थानीय स्तरमै उत्पादित खानाका परिकारहरु पाहुनालाई खुवाउने र गाउँमै रोजागरीको वातावरण सृजना गर्दै स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरणमा टेवा पुर्याउन हामी लागेका छौ ।’
यस्तै, युवापुस्ता गाउँमा नहुँदा यी वडामा विकास निर्माणका कार्यक्रम सञ्चालनमा समेत असर पर्न थालको छ । ‘गाउँको विकास कार्यक्रम अन्तर्गत वडामा बजेट बिनियोजन हुन्छन्’, आँबुखैरेनी-६ का वडाध्यक्ष दिलिप गुरुङले भने, ‘गाउँमा युवाजनशक्ति नहुँदा विकासका निर्माणका गतिविधि अगाडि बढाउन सकिएको छैन् । सानो कामका लागि पनि अन्य स्थानबाट कामदार झिकाउनुपर्ने अवस्था छ ।’
गाउँको बिकास र बस्ति उजाडिदै गएपछि वडाबाट बसाइसराइ, रोजगारीको खोजीमा अन्यत्र जाने युवालाई गाउँमै रोक्ने गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाउन थालिएको उनले बताए । ‘गाउँमा वृद्धवृद्धा मात्र छन् । यहाँका खेतीयोग्य जमिन बाँझिदै जान थालेको छ, उनले भने, ‘सेवा सुविधा, शिक्षा, स्वास्थ्य तथा रोजगारीको खोजीमा युवा जनशक्तिले गाउँ छाड्न थालेकाले ती युवाहरुलाई गाउँमै रोक्न र स्वरोजगारको वातावरण सृजना गर्न वडा कार्यालयले कार्यक्रमहरु अगाडि ल्याएको छ । युवाहरुलाई विभिन्न सीपमुलक तालिमहरु उपलब्ध गराएर गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य छ।’
उनका अनुसार होमस्टेका माध्यमबाट पनि गाउँमा रोजगारीको वातावरण सृजना हुने देखिएकाले यो कार्यक्रमलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउन आवश्यक तयारी अगाडि बढाइएको छ । होमस्टे पर््रवर्द्धनक लागि प्रदेश सरकारको करिव ३० लाख रुपैयाँ बजेट परेको उनले बताए । त्यस्तै खानेपानीको समस्यबाट गुज्रिएको यस क्षेत्रमा लिफि्ट खानेपानी योजनाका लागि संघको करिव एक करोड १० लाख रुपयाँ बजेट परेको उनले बताए ।
यस्तै, छिम्केश्वरी मन्दिर पनि मनकामना मन्दिरकै शैलीमा पुनःनिर्माण हुँदै छ । छिम्केश्वरीलेकमा ढुंगाको गारो लगाई बनाइएको मन्दिर जीर्ण भएपछि गाउँपालिकाले पुनःनिर्माण सुरु गरेको हो । मन्दिरसम्म पुग्नका लागि गण्डकी प्रदेश सरकारले उपलब्ध गारएको बजेटबाट सिढी निर्माण गरिएको छ भने आँबुखैरेनी चोकबाट करिव १६ किलोमिटर सडक कालोपत्रेका लागि तयारी भइरहेको आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले बताए । उनले भने, ‘मनकामना मन्दिरको शैलिमा पुनःनिर्माण भइरहेको छिम्केश्वरी मन्दिरले धार्मिक पर्यटकलाई तान्न सफल हुने हामीले विश्वास लिएका छौं।’
भौगोलिक विकटताका कारण मन्दिरको पुनःनिर्माण तथा भक्तजनहरुलाई सहज रुपमा पुग्न गाह्रो भएको छ । भविष्यमा आँवुखैरेनीको आसपासका क्षेत्रबाट केवलकार निर्माण गर्ने चर्चा पनि चल्दै छ । यस्तै विविध कार्यक्रमहरु गरी जिल्लाकै उच्च पहाडी क्षेत्रलाई प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी गाउँमै रोजगारीको वातावरण सृजना गर्ने र गाउँबाट अन्यत्र गएका युवालाई पुनः गाउँमा फर्काउने योजना रहेको उनले बताए । लालिगुराँस संरक्षण अभियान अन्तरगत छिम्केश्वरीमा ११ प्रजातिका ७० वटा लालिगुराँसका बिरुवा पनि रोपण गरिएको छ ।
छिम्केश्वरी खर्क, लेक र विभिन्न खालको बनस्पतिबाट मिलेर बनेको एक चुचुरो हो । यसैमा दैविक शक्तिका रुपमा परिचित छिम्केश्वरी माईको मन्दिर पनि छ । कामना गरी इच्छाइएका कुरा पुरा हुने जनविश्वास छ । यस क्षेत्रका बासिन्दाले पवित्र धार्मिक स्थलका रुपमा छिम्केश्वरी माईलाई पुज्दै आएका छन् । मनकामना माई, इच्छाकामना माई, अकला माईकी पनि दिदीको रुपमा छिम्केश्वरी माईलाई पुज्ने गरिन्छ । जिल्लाकै धार्मिक पर्यटकीय स्थल मात्र नभई यो प्रकृतिक र संस्कृतिक हिसावमा पनि असाध्यै महत्वपूर्ण ठाउँ भएकाले यसको प्रचारप्रसार र प्रवर्द्धनमा ध्यान दिनुपर्ने देखिएको सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताए ।
‘यस क्षेत्रका बासिन्दाले न्यूनतम आधारभूत सेवासुविधा पाउनबाट समेत बञ्चित छन् । शिक्षा, स्वास्थ्या, सञ्चार र सडकको अति आवश्यक छ’, उनले भने, ‘स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायले यस क्षेत्रको बिकासका लागि स्थानीय बासिन्दाको जीविकोपार्जनसंग जोड्नेगरी नीति तथा कार्यक्रमहरु अगाडि ल्याउनुपर्छ । युवालाई गाउँमै स्वारोजगार बनाउने लक्षित कार्यक्रमहरु ल्याउन सके यस क्षेत्रको बिकास हुनुका साथै छिम्केश्वरीमाई र छिम्केश्वरी पहाड क्षेत्रलाई धार्मिक, प्राकृतिक, संस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्न सकिन्छ ।’ गाउँमा पर्यटकको आवतजावतले गर्दा यहाँ होमस्टे सञ्चालनमा बृद्धि भएको स्थानीयहरु बताउँछन् । होमस्टे सञ्चालनमा आएसँगै स्थानीय कृषि उत्पादनले बजार पाउनुका साथै परम्परागत कलासंस्कृतिको पनि प्रचारप्रसार भएको छ ।