कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् । कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिका लगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण गर्दै आएका छन् ।

कृषि पेसामा लागेका कृषकलाई आयआर्जनमा सहयोग पुग्ने खालका सामग्री वितरणलाई प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाहमुखी पेसा गरिरहेकालाई सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्यसहित केन्द्रले मौरीघार, हाते ट्रयाक्टर, बंगुरका पाठापाठी, व्याड बोका वितरण गर्दै आएको छ ।”

केन्द्रले विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका-४ भिरकोटका कृषकलाई कृषि सामग्री सहयोग गरेको छ । विपन्न समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित १५ मौरीघार, ३० बङ्गुरको पाठापाठी, दुइ व्याड बोका, एक हातेट्रयाक्टर, दुइ पक्की टनेल, एक कुटानी पिसानी, १५ सिँचाइ ट्याङ्की, बाख्रा र कुखुराको खोर सहयोग गरिएको हो। तिवारीले भन्नुभयो, “विपन्न कृषक छनोट गरी कार्यक्रममार्फ उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य हो ।” यो ठाउँका ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरुआत भएको छ ।

जिल्लाका दुइ पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराइ विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको तिवारीले बताउनुभयो । जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ का ४० घर भुजेल र ऋषिङ गाउँपालिका-४ का करिब ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । आँबुखैरेनीमा ४६ परिवारमध्ये १६ जनालाई बाख्रा, छवटा तरकारी टनेल, ३५ घार मौरी, हातेट्रयाक्टर लगायत प्रदान गरिसकिएको छ ।

गण्डकी प्रदेश सरकारबाट दुइ पालिकाका लागि रु २०-२० लाख बजेट निकासा भएको छ । त्यसमा गण्डकी प्रदेश सरकारको ९० प्रतिशत अनुदान र कृषकको १० प्रतिशत लागत सहभागिता रहनेछ । केन्द्रले म्याग्दे-४ का कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । म्याग्दे गाउँपालिका-४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन समूहमा आबद्ध कृषकलाई ४६ मौरी घार वितरण गरिएको जनाइएको छ ।

मौरीसहितको घार प्राप्ति गर्नका लागि केन्द्रले निवेदन माग गरेको थियो । एक सय छ जनाले निवेदन दिएकामा ४६ कृषक छनोट गरी घार वितरण गरिएको हो । तिवारीका अनुसार तनहुँ मौरीपालनका लागि उपयुक्त भएकाले यहाँका विभिन्न ठाउँमा मौरीपालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।

समूहमा आबद्ध कृषक मौरीपालनतर्फ आकर्षित भएको अध्यक्ष जीतमाया रानाले बताउनुभयो । उहाँका अनुसार समूहमा आबद्ध सबैले मौरीपालन गरेका छन् । कम लगानी र मेहनतमा मौरीपालन गर्न सकिने भएकाले कृषक यसतर्फ लागेको उहाँले बताउनुभयो ।

आँबुखैरेनी गाउँपालिकाले एक वडाः एक उत्पादन कार्यक्रम अन्तर्गत कृषकलाई अनुदानमा एक सय १८ मौरी घार वितरण गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक वडाः एक उत्पादन अन्तर्गत म्याग्दे गाउँपालिका-४ का कृषकलाई मौरीपालन तर्फ आकर्षित गराउन घार वितरण गरिएको छ ।”

कृषि ज्ञान केन्द्रले नै शुक्लागण्डकी नगरपालिका-६ स्थित दरगाउँ कृषि तथा पशुपक्षी कृषक समूह र तीनखोलेदेवी कृषि तथा पशुपक्षी समूहलाई ५० प्रतिशत अनुदानमा हातेट्रयाक्टर र कम्बाइन मिल सहयोग गरेको छ । म्याग्देले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । पालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रमअनुसार विभिन्न वडाका कृषकलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरिएको हो ।

रु ७० हजार पर्ने ट्रयाक्टरको मूल्यमा ५० प्रतिशत कृषकले र ५० प्रतिशत गाउँपालिकाले लागत साझेदारी गरेको छ । कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र यान्त्रिकीकरण गर्न कृषि उपकरण सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker