चुँदीरम्घामा २१०औं भानु जयन्ती मनाइयो, जन्मस्थलको विकास प्रवर्द्धनका लागि सहयोगगर्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता

भञ्ज्याङ न्यूज

नेपाली भाषाको भाषिक एकीकरण गरेका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विविध कार्यक्रम गरी भानुलाई स्मरण गरिएको छ । भानुभक्तको जन्मस्थल भानु नगरपालिका-४ चुँदीरम्घामा असार २९ गते अर्थात भानुजयन्तीमा विविध कार्यक्रम गरी मनाइएको छ ।

भानुजयन्तीका अवसरमा भानु जन्मस्थल विकास समितिले आयोजना गरेको कार्यक्रम सहभागि भएको गण्डकी प्रदेशका मुख्मन्त्री सुरेन्द्रराज पाण्डेले भानुभक्तको जन्मथलो चुँदी रम्घाको जन्मथलो शीखरकटेरीको स्थलगत अवलोकन गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

आदिकवि भानुभक्तले नेपाली साहित्यमा गर्नुभएको योगदानको स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले भानुभक्तको जन्मथलोलाई योजनावद्ध रुपमा विकास गरी यसलाई एउटा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै चिनाउन सकिने गरी साहित्यिक पर्यटनको विकास गर्नुपर्ने बताए ।

भानु जन्मस्थलको विकास र प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने आश्वासन व्यक्त गर्दै नेपाली भाषी र साहित्य फाँटले भानुको योग्दानलाई भुल्न नसक्ने चर्चा गरे ।

यस्तै, भानुजयन्ती समारोहमा सहभागि भएका मुख्यमन्त्रीसंगै भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले भानुभक्तको १०८ फिट अग्लो पूर्णकदको शालीक निर्माण, चुँदी रम्घावेंशीदेखि शीखर कटेरीसम्म पुग्ने ४ किमी पक्की बाटो र भानु उद्यान निर्माणका निमित्त आवश्यक सहयोग गर्न गण्डकी प्रदेश सरकारलाई अनुरोध गरिएको पत्र मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति र भानु नगरपालिकाको सहकार्यमा चुँदी रम्घामा विविध कार्यक्रम आयोजना गरी भानुको स्मरण तथा श्रद्धासुमन व्यक्त गरिएको थियो ।

जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तको अध्यक्षता भानु-४ स्थित श्री भानु संस्कृत मावि चुँदी रम्घाको प्राङ्गणमा आयोजित कार्यक्रममा कवि, कवयित्री लगायत प्राज्ञहरु, नगर प्रमुख लगायत जनप्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजीवी लगायत भानु नगरवासीको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

भानु जयन्तीको उपलक्ष्यमा आयोजित रामायण वाचन प्रतियोगिता र खुला कविता वाचन प्रतियोगितामा विजेता व्यक्तिहरुलाई पुरस्कृत एवं सम्मान गरिएको थियो ।

यस्तै, एशियन बाल चित्रकला डायरी प्रतियोगितामा प्रथम हुने श्री निर्जला आवि भानु-८ देउरालीटारका विद्यार्थी विनायक नेपालीलाई युनेस्कोबाट प्राप्त पुरस्कार मुख्यमन्त्री पाण्डेले प्रदान गरेका थिए ।

भानुजयन्तीका अवसरमा चुँदीरम्घा क्षेत्रका विभिन्न जातजाति र समुदायले आ-आफ्नो पहिचान झल्कने कला भेषभुसा, बाजा तथा नृत्य सहितको झाँकी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा व्राम्हण समुदायको बालन नृत्य, नेवार समुदायको रोपाँइ जात्रा, कुमाल समुदायको पाउँदुरे नृत्य तथा पञ्चैबाजा प्रस्तुत गरिएको थियो ।

तस्विर सौजन्य : ध्रुव राज पौडेल/भानु

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker