आँखा पाक्ने रोगको प्रकोपबाट प्रभावितलाई आँवुखैरेनीले निःशुल्क उपचार गर्ने

भञ्ज्याङ समाचारदाता/तनहुँ

केही दिनयता मुलुकभर नै आँखा पाक्ने रोगको प्राकोप तीब्र रुपमा फैलिएको छ । ‘भाइरल कन्जक्टिभाइटिस’ रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्ने र यसको संक्रमण प्रमुख कारण रहेको हुँदा तनहुँ पनि प्रभावित हुँदै गएको छ ।

तनहुँका शुक्लागण्डकी, आँवुखैरेनी लगायतका क्षेत्रका केही विद्यालय समेत बन्द गरिएको छ । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रभावितहरुको निःशुल्क उपचार गर्ने भएको छ । गाउँपालिकाले आज मंगलबारदेखि तीन दिन गाउँपालिकाका ३ वटा विद्यालयमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्ने भएको छ ।

भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाले आँखा परीक्षण शिविर गर्न लागेको हो । आँखा पाक्ने प्रकोपले भयावह स्थिति आउने देखिएपछि विद्यालयमै पुगेर उपचार गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए । आँखा रोग बिशेषज्ञ सहितको टोलीले आँखा पाक्ने समस्यामा परेका विद्यार्थीहरुको आँखा परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए ।

साउन २३ गतेदेखि २५ गतेसम्म आँबुखैरेनी गाउँपालिका भित्रका तीन वटा विद्यालयमा आँखा परीक्षण शिबिर सञ्चालन गरिने भएको छ । उनका अनुसार आँबुखैरेनी-३ स्थित रामशाह माध्यमिक विद्यालयमा साउन २३ गते, आँबु-१ को मित्रता माध्यमिक विद्यालयमा २४ गते र आँबु ४ को छिम्केश्वरी माध्यमिक विद्यालयमा २५ गते व्यवस्था मिलाएको हो ।

गाउँपालिकाको अन्य टोल वा बस्तीमा प्रकोप बढेमा सोही अनुरुप व्यवस्था गरी आँखा परीक्षणको व्यवस्था गरिनेछ । प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, ‘आँबुखैरेनी अस्पतालको आँखा उपचार केन्द्रमा नियमित परीक्षणको समेत व्यवस्था गरेको छ ।’

यस्तै, मुलुकभर नै केही दिनयता आँखा पाक्ने रोगको प्रकोप तीव्र रूपमा फैलिएको छ । ‘भाइरल इन्फेक्सन’का कारण हुने यो रोग लाग्दैमा आत्तिनु पर्दैन सचेत भए एक हप्तामा नै पूर्णरुपले निको हुने हिमालय आँखा अस्पतालका निर्देशक डा इलिया श्रेष्ठले बताएका छन् । उनका अनुसार सबै उमेर समूहमा हुने आँखा पाक्ने रोगका मुख्य लक्षण उज्यालोमा हेर्न अप्ठ्यारो हुनु, विजाउने, आँखा रातो हुनु, आँसु बग्नु, च्रि्रा लाग्ने गर्छ । यस्ता लक्षण देखिएमा तुरुन्त आँखा परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न अपरिहार्य छ ।

‘आँखा पाकेको बिरामीको आँसुको थोपामा भाइरसको जिवाणु हुन्छ’, उनले भने, ‘त्यस्ता बिरामीले प्रयोग गरेका रुमाल, तकिया, मोबाइल, चश्मा, औषधिलगायत विभिन्न सामग्रीबाट रोगको संक्रमण तीव्र रुपमा फैलिने गर्दछ । तर, एकआपसमा आँखा जुदाउँदा र हावाबाट यो रोग र्सर्दैन ।’

सफा चिसो पानीले आँखा सफा गर्ने, साबुन पानीले राम्रोसँग हात धुने र स्यानिटाइजरको प्रयोग गर्दा रोग फैलिनबाट जोगाउन सकिन्छ । ‘भाइरल कन्जंक्टिभाइटिस’ रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । संक्रमण यसको प्रमुख कारण हो । आँखा पाक्ने रोगबाट विशेष गरी बालबालिकामा प्रकोप बढी देखिएको हुँदा आँखामा समस्या देखिएका बालिबालिकालाई विद्यालय नपठाइ घरमा नै आराम गराउन विज्ञले सुझाएका छन् ।

अस्पतालका निर्देशक डा श्रेष्ठले भने, ‘संक्रमण फैलिएसँगै अस्पतालमा आँखाका बिरामीको भीड नै लाग्ने गरेको छ ।’ आइतबार मात्र एक हजार ३५० जनाको आँखा परीक्षण गरिएकोमा पाँच सय जनामा आँखा पाक्ने समस्या देखिएको थियो। जसमा ३६० बालबालिकामा संक्रमण देखिएको थियो । सामान्य अवस्थामा अस्पतालमा सरदर दैनिक सात सय जनाको आँखा परीक्षण हुँदै आएको थियो ।

विगतको भन्दा यसपटकको संक्रमण कडा हुनुको साथै आँखा रातो मात्र होइन परेला सुनिने गरेको हुँदा बिरामीलाई दुखाइ बढी हुने गरेको छ । समुदायस्तरमा फैलिएको यसको रोगथामको लागि करिब एक हप्ता विद्यालय बन्द गर्नुपर्ने उनको सुझाव छ । रोगको संक्रमण देखिएपछि जथाभावी औषधिको प्रयोग र आँखा मिच्न नहुने सल्लाह दिँदै डा श्रेष्ठले भने, ‘भाइरल कन्जंक्टिभाइटिसले आँखाको नानीसम्म संक्रमण भयो भने उज्यालोमा हेर्न अप्ठ्यारो हुनुको साथै निको हुन लामो समय लाग्छ ।’

नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार सीमित स्रोतसाधन एवं जनशक्तिको अधिकतम उपयोग गर्दै अस्पतालले बिरामीको लागि आँखा उपचारको सेवा पुर्‍याउँदै आएको छ । आँखा पाक्ने बिरामीको संख्यामा क्रमिक रूपमा बढेपछि संक्रमण न्यूनीकरणका लागि आँखा पाकेका बिरामीलाई मात्र छुट्टै परीक्षण गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

आँखा पाक्ने रोगले विकराल रुप लिँदै

मध्यविन्दु-नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पछिल्लो केही दिनयता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएको छ । आँखामा संक्रमण देखिएपछि मध्यविन्दु जिल्ला अस्पतालमा आँखाका बिरामीको चाप बढेको छ । जिल्लाका सबै सरकारी तथा निजी अस्पतालमा दैनिक दुइ सयसम्म आँखाका बिरामी देखापर्ने गरेको अस्पतालको तथ्याङ्कमा देखिएको छ । केही दिनदेखि फैलिएको यस समस्याले विद्यालयका विद्यार्थीलाई प्रभाव पारेको छ । अहिले विद्यालयमा अध्यननरत अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या देखिएको र विद्यार्थीको पढाइलाई असर पुर्‍याएको छ । दैनिक रुपमा आँखा पाक्ने समस्या भएपछि विद्यालयमा विद्यार्थीको संख्या क्रमिक रुपमा घट्दो रुपमा रहेको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेले बताए ।

जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले आँखाको समस्या दिनदिनै बढ्दै गएकाले आँखाका बिरामीले सामान्य जाँचपछि घरमा नै बसेर उपचार गर्न सकिने हुँदा संक्रमितका बिरामी भीडभाडमा नजाने अनुरोध गरे । उनले भने, ‘साना उमेरका बालबालिकामा अझै बढी समस्या छ, यो सरुवा रोग भएकाले बालबालिकालाई विद्यालयबाट नै र्सर्ने हुँदा संक्रमित बालबालिकालाई विद्यालय नपठाउने र सामान्य औषधिको प्रयोग गरी सचेत रहनु आवश्यक छ ।’

मौसम परिवर्तनसँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिएको भाइरल प्रकोपले धेरैलाई प्रभावित बनाएको मध्यबिन्दु जिल्ला अस्पतालका डा कमलराज न्यौपानेले बताए । सोमबार मात्र आँखाका एक सय बिरामी अस्पताल आएको उनले बताए । देवचुलीको दुम्कौली अस्पतालमा दैनिक ३० देखि ४० आँखा पाकेका बिरामी आउने गरेको अस्पतालमा कार्यरत डा राजिव सापकोटाले बताए ।

आँखा पाक्ने समस्या एडिनो ‘भाइरल कन्जंक्टिभाइटिस’का बिरामी बढ्दै गएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। आँखाको समस्याले विकराल रुप लिन सक्ने भन्दै समयमा नै यसको रोकथामको लागि सबै लाग्नुपर्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले अहिले फैलिएको डेंगु र आँखाका समस्या रहेकाले बजारमा सिटामोल र आँखाको ‘ड्रप’ अभाव हुन नदिन सबै पालिकाका स्वास्थ्य कार्यालय स्वास्थ्य चौकीलाई सचेत रहनुपर्ने बताए । उनले भने, ‘जिल्लामा आँखाका समस्या र डेंगु रोग भाइरलको समस्या देखिएकाले समयमै सचेत रहन सबै सरोकारवाला निकायलाई आग्रह गरेका छौं ।’ जिल्ला अस्पतालमा अहिले डेंगुका करिब २० बिरामीले उपचार गरिरहेको र आँखाका बिरामी दैनिक एक सयभन्दा बढी उपचारमा आउने गरेको बताइएको छ। यही अनुपातमा बिरामीको संख्या बढ्दै गए जिल्लामा औषधिको अभाव हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker