सफल “ट्रेकिङ गाइड” हीरा

रासस/कास्की

बिहे भएको ६ वर्ष नबित्दै पतिले सौता भित्रयएपछि स्याङ्जा बहाकोटकी हीराकुमारी मल्लको दुःखका दिन सुरु भयो ।

विसं २०५७ मा विवाह बन्धनमा गाँसिनुभएकी उहाँको एक छोरा र एक छोरी छँदै थिए । परिवार हाँसीखुसी नै थियो । जीवन सहजरुपले चल्दै थियो तर २०६३ सालमा श्रीमान्ले अर्की श्रीमती ल्याएपछि हीरा छाँगाबाट खसेझैँ हुनुभयो । त्यस दिनपछि उहाँको मनमा सन्तोषले ठाउँ लिएन । “चटक्कै छाडेर अन्त कतै बस्ने झोक नचलेको होइन”, हीराले भन्नुभयो, “साना लालाबाला थिए र काखेबच्चाका लागि आमाको माया सम्झिएँ ।” जे भयो भयो अब मिलेर बसौँ भन्ने उहाँको प्रस्ताव ठाडै अस्वीकार भयो । “छोराछोरीको भविष्य हेरेर मिलेर बसौं पनि भनेकी हुँ”। उहाँले विगत सम्झनुभयो, “अर्कीले उल्टै कति पैसा चाहिएको हो, बिटा फाल्दिन्छु भन्दै धम्की दिई ।”

पतिको हेला र कान्छीको रुखो वचन सहीसाध्य भएन । अन्त्यमा हिराले सम्बन्धविच्छेद रोज्नुभयो । अदालतको फैसलामा छोराछोरी आफूसँग राख्ने तथा पालनपोषण, शिक्षा, स्वास्थ्यमा लाग्ने खर्च बाबुले नै ब्यहोर्ने भन्ने थियो तर सम्बन्धविच्छेदको दिनदेखि श्रीमान्ले वास्ता गर्न छाडेको उहाँले बताउनुभयो । सोही वर्ष हीरा पोखरा आउनुभयो । अनेक समस्यासँग संघर्ष गर्दै हीराले ‘ट्रेकिङ गाइड’को काम सुरु गर्नुभयो । सुरुमै ट्रेकिङ रुट अन्नपूर्ण आधार शिविरसम्म पर्‍यो ।

बाटोमा भेटिने प्राकृतिक छटाले विगतको दुःख भुलाउँदै गयो । मन रौनक पनि भयोे। उहाँ जोमसोम मुक्तिनाथ, मर्दी आधार शिविर, धम्पुस जताततै पुग्नुभयो । बिस्तारै आम्दानी पनि राम्रै हुँदै गयो । कमाईले आफूसहित छोराछोरीको लालनपालनमा टेवा मिल्यो । अनुहारमा नयाँ कान्ति छायो । अब केही गर्न सक्छु भन्ने आँट पलाउन थाल्यो । आफू ट्रेकिङमा हिँड्दा बुहारी र बहिनीले छोराछोरी हेरिदिने थिए । अहिले ४५ वर्ष पुग्नुभएकी हीराले ३२ वर्षको उमेरदेखि नै ट्रेकिङको काम थाल्नुभएको थियो । त्यसबीचमा २०७२ सालको भूकम्पका कारण केही महिना काम पाइएको थिएन तर त्यसयता भने खाली बस्नु परेको छैन । कोरोनापछिको लकडाउनमा केही समस्या भए पनि बचाएर राखेको पैसाले जीवन धानिएको उहाँले बताउनुभयो ।

हक्की स्वभाव, आँटिली अनि इमान्दारिताले नै उहाँले २०७७ सालमा मुस्ताङको छ हजार १२ मिटर उचाइको धम्पुस पिक आरोहण गर्नुभएको थियो । यसैबेला नेपाल पर्वतारोहण संघको आयोजनामा भएको ‘ट्रेकिङ गाइड’ ले अझै अब्बल महसुस गराएको हीराले बताउनुभयो । हीरा जब जब धम्पुस पिकको चुचुरोमा पुग्नुभयो, उहाँको मन चङ्गा भयो । “सबैभन्दा पहिला आमा सम्झिएँ,” सफल अरोहणको क्षण सम्झिदै हीराले भन्नुभयो, “छोराछोरी र आफन्त सम्झिएँ ।” हिमालको चुचुरोमा पुगेपछि बाटोमा भोगेका कठिनाइमात्र नभई श्रीमान्ले अर्को श्रीमती ल्याएपछि पाएको दुःखसमेत भुलेको उहाँले बताउनुभयो । “हिमाल चढ्नु मेरो पहिलादेखिकै इच्छा थियो, चढेँ,” हीराले भन्नुभयो, “अब जस्तोसुकै हन्डर परेपनि सहन्छु अनि मेरो एकल जीवन जसरी भए पनि चलाउछु भन्ने साहस पलाएको छ ।”

ट्रेकिङ गाइडमा लागेर दुःख बिर्सन सिकाएको हीराले बताउनुभयो । आगामी दिनमा योसँगै हिमाल चढ्नेहरूको सहयोगी बन्ने उहाँको योजना छ । “हिजोआज मलाई दुःख केही होजस्तो लाग्दैन । श्रीमान् साथमा नभए पनि एक्लै जिउन सक्छु भन्ने लागेको छ”, हिराले भन्नुभयो, “विगत भुलेर ट्रेकिङमा रमाउने अनि मिल्यो भने हिमाल चढ्नेहरूको सहयोगी वा गाइड बन्ने रहर छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker