आज दर खाने दिन, के खाने दरमा ? यसरी बनाउन सकिन्छ विशेष परिकार

हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार खाँदै रमाइलो गर्ने चलन छ ।

दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।

हरितालिका तीजको अघिल्लो दिन (एक दिन मात्र) दरखाने परम्परा रहे पनि राजधानी काठमाडौंलगायतका शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ । साथै विभिन्न संघसंस्था र कार्यालयहरुले तीज मिलन कार्यक्रम गर्ने चलन पनि चलेको छ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पुरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी पूजा शिवको पूजा गर्ने चलन छ ।

तीजको दिन देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ । पूजाआजा पछि महिला र पुरुषहरु भेला भएर तीजको गीत गाउँदै नाच्ने चलन पनि छ ।

के खाने दरमा ? यसरी बनाउन सकिन्छ विशेष परिकार

तिहारमा सेलरोटी, दशैंमा खसीको पक्कु, असार १५ मा दही-चिउरा भनेजस्तै दर तीजको विशेष खान्की हो । दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मानिसको मानसिकतासँग जोडिएको विषय पनि हो ।

दर शब्दको शाब्दिक अर्थ नै दरिलो भएको संस्कृतिविद् प्रा. डा. देवमणि भट्टराई बताउँछन् । ‘तीजको दिन महादेवको निराहार व्रत बस्न गाह्रो नहोस् र व्रत बसेको बेला ध्यान भोजनतिर जाने भएकाले त्यही ध्यान भंग गराउन अघिल्लै दिन खाने पौष्टिकताले भरिपूर्ण भोजन नै दर हो ।’

दरमा विशेषगरी दूध र घिउबाट बनेका परिकार खाँदा शक्ति प्राप्त हुन्छ । जसले निराहार व्रत बस्न मात्र होइन, नाचगान गर्ने ऊर्जा पनि पुग्ने भट्टराई बताउँछन् ।

‘तीजको ऐतिहासिकता खोज्दा यसको चर्चा पुराणकालमै भएको पाइन्छ । महादेव पति पाउँ भनी व्रत बसेकी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिन लागेपछि घरबाट भागेकी पार्वतीले बसेको व्रत नै तीजको व्रत हो र अघिल्लो दिन खाएको मिष्टान्न भोजन नै दर हो,’ भट्टराई भन्छन्, ‘त्यसैले परापूर्वकालदेखि नै दर खाने चलन चल्दै आएको हो र निरन्तर चलिरहेको छ । पहिले माइती घरमा गएर दर खाने चलन थियो भने यो अहिले विस्तारित भएर एक महिनाअघिदेखि पार्टी प्यालेसमा खाने गरेको पाइन्छ ।’

पुरानो परम्पराअनुसार जसरी घरमा खीर, ढकनी तरकारी, अचार, लगायत बनाएर खाइन्छ, त्यस्ता खाना कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यस्ता खानेकुराबाट धेरै ऊर्जा प्राप्त हुन्छ र भोलिपल्ट व्रतको दिनसम्म पनि ऊर्जा रहिरन्छ । त्यसैले दरको रूपमा खीर, ढकनी जस्ता खानेकुरा खाने चलन पोषणको हिसाबले राम्रो भएको पोषणविद् प्रणिती सिंह बताउँछिन् ।

सिंह भन्छिन्, ‘पछिल्लो समय दरको रूपमा बुफेट खाना मासु, पुलाउ तारेको चिल्लो खानेकुरा खाने चलन छ । यस्ता खानेकुराले भने डिहाइड्रेसन गराउने र व्रत बस्न झन् गाह्रो हुन सक्छ ।’

दरको विशेष परिकार

दरको रूपमा खासगरी दुग्धजन्य परिकार बनाएर खाने प्रचलन छ । खीर, ढकनी, चाम्रे, आलुको तरकारी, अचारलगायत अरू मीठो मसिनो परिकार बनाएर छोरी चेलीलाई खुवाउने गरिन्छ । त्यसैले दरको विशेष परिकार भनेको यी नै खीर ढकनी जस्ता खानेकुरा भएको द सोल्टी होटेलका सुसेफ आरबी बुढाथोकी बताउँछन् ।

दरको रूपमा खाने यस्ता परिकारले भोलिपल्ट सिंगै एक दिनभरका लागि मान्छेलाई तागत दिन्छ, शक्ति दिन्छ त्यसैले पनि दरको रूपमा बढी दुग्धजन्य खानेकुरा खाने गरिएको पाइने उनले बताए ।

ढकनी पकाउने तरिका

चाहिने सामग्री :

१. चामल (ताइचिन) – २ कप

२. घिउ – आधा कप

३. दूध – डेढ लिटर

४. सख्खर – आधा कप

५. मिक्स ड्राइ नट्स (काजु,किसमिस,नरिवल,छोकडा,बदाम,ओखर,पिस्ता) – ६० ग्राम

६. मरिच – आधा चिया चम्चा

७. सुकुमेलको धुलो – एक चिम्टी

बनाउने तरिका

ढकनी पकाउनलाई अलि बाक्लो कसौंडी तथा अन्य भाँडाको प्रयोग गर्नु राम्रो हुन्छ । भाँडोलाई तताएर आधा कप घिउ राख्ने, घिउ तातेपछि चामललाई राखेर खैरो हुन्जेलसम्म भुट्ने र चामल खैरो भएर भुटिसकेपछि दूध राख्ने र सानो आँच गरेर केही समय पकाउनुपर्छ ।

त्यो बाक्लो हुँदै गएपछि ड्राइ नट्स, मरिच, सुकुमेलको धुलो र सख्खर राखेर राम्ररी चलाउनुपर्छ । यी सबै सामग्री राखेर पाँचदेखि १० मिनेट पकाएपछि ढकनी तयार हुन्छ ।

पञ्च फुरन आलु

आवश्यक सामग्री

१. आलु मिडियम साइजको रातो आलु – आधा किलो

२. तोरीको तेल – तीन टेबल चम्चा

३. ‘पञ्च फुरन’ जिरा, मेथी, धनियाँ, सुप, मुङ्ग्रेलो मिक्स – आधा चम्चा

४. नुन – स्वादअनुसार

५. जिराको धुलो – आधा चिया चम्चा

६. धनियाँको धुलो – आधा चिया चम्चा

८. खोर्सानीको धुलो – आधा चिया चम्चा

पञ्च फुरन आलु बनाउन सबैभन्दा पहिले आलुलाई लाम्चो पारेर चार टुक्रामा काट्ने, एउटा भाँडोमा आलुलाई राखेर एक चम्चा नुन हालेर र पानी हालेर १० देखि १५ मिनेट भिजाएर छोड्नुपर्छ ।

अब एउटा बाक्लो कराही बसाएर त्यसमा तेल राख्ने, अब त्यो तेलमा मेथी फुराउने, मेथी कालो भएपछि जिरा, धनियाँ, सुप र मुङ्ग्रेलो पनि फुराउनुपर्छ । अब त्यसपछि भिजाएर राखेको आलु ओइरने अनि बेसार र नुन राख्ने, राम्ररी चलाउने र छोपेर १५ मिनेट जति ठिक्क आँचमा पकाउनुपर्छ । अब धनियाँ, जिरा र खोर्सानीको धुलो हालेर पाँच मिनेट फेरि छोपेर पकाउने अनि आलु तयार हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker