संविधानको अपनत्व नागरिकमा भएन

के.बि. मसाल

संविधान देशको मूल कानून हो । त्यसैले यसको ठूलो महत्व छ । नेपालको संविधान २०७२ जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइन्छ । जुन दिन नेपालको इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट नेपालको संविधान २०७२ जनताले चुनेका जनप्रतिनिधि मार्फत निर्माण गरिएको हो । यो संविधान केही अर्थमा नयाँ छ । किनकि संविधानमा संघीयता, समानुपातिक र समावेशीकरणको हक अहिले संविधानमा छ । स्थानीय सरकारको वर्तमान स्वरुपको संवैधानिक आधार नेपालमा पहिलोपटकको प्रयोग भएको छ । सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रका मौलिक अधिकारलाई पहिले भन्दा यो संविधानले स्थापित गरेको छ । संविधानमा भएका सिद्धान्तहरु सघीयता, गणतन्त्र, समावेशिता, बहुदलीय लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायको सिद्धान्त र समाजवाद उन्मुख विषयवस्तुहरु देशका लागि युगान्तकारी महत्वका विषयवस्तु बनेको छ ।

प्रथम संविधानसभाले तोकिएको समयमा संविधान निर्माण गर्न नसकेपछि दोश्रो संविधान सभाको चुनावबाट नेपालको संविधान २०७२ घोषणा भएको थियो । संविधानले संघिय गणतान्त्रिक राज्य पूनर्संरचना गर्दै एकात्मक राज्य संरचनालाई संघियतामा रुपान्तरण गरेको थियो । संविधानले ७ वटा प्रदेश अनि हरेक प्रदेशमा एउटा र केन्द्रीयमा एउटा गरी दुइ प्रकारको संसदको ब्यवस्था गरेको छ । छोरीहरुलाई पैतृक सम्पत्तिमा छोरा सरह समान अधिकारको ब्यवस्था गरेको यो संविधानले नेपाल राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्रका रुपमा ब्याख्या गरेको छ । संघीय गणतन्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट अनुमोदन गरी जारी गरिएको यो संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राखेर जनताको र्सार्वभौम अधिकार, स्वायत्तता र स्व-शासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनकालागि संविधानमा उल्लेख छ ।

नेपाली जनताले गरेको ठूलो त्याग, तपस्या र अतुलनिय बलिदान पश्चात संविधान प्राप्त भएको छ । यस्तो राजनीतिक प्रबन्ध सहितको यो संविधान नेपाली जनताको धेरै पुस्ताको रगत र पसिनावाट सिचिंत भएको छ । आज सबै नेपाली नागरिकहरुमा प्रश्न पनि उठिरहेको छ । के हामीले बलिदानवाट स्थापित गरेको लोकतान्त्रिक व्यवस्था र संविधान बमोजिम मुलुक चलेको छ ? के हाम्रा राजनीतिक गतिविधिहरु लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित, उच्च नैतिक र चारित्रिक धरातलमा उभिएका, देश र नेपाली जनताको हितका लागि केन्द्रित छन ? के आज सरकार संचालनको जिम्मा लिएकाहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान सुरक्षित छ ? आम नागरिकहरुले संविधान दिवसको बेला यी प्रश्नको जवाफ खोजीरहेका छन । संविधान दिवस केवल औपचारिक कार्यक्रममै सिमित हुनु सुखद कुरा होइन । संविधान दिवस आम नागरिकका लागि चासो र चर्चाको विषय बन्दैनन् किन ? किनकि संविधान दिवस आम नागरिकको दैनिकीसंग जोडिन सकेन । आम गरिखाने वर्गको जीवनस्तर अनि हैसियतमा संविधान दिवसले कुनै प्रत्यक्ष प्रभाव पार्न सकेको छैन । आखिर ठूलो त्याग, बलिदान अनि सघर्षका साथ प्राप्त भएका राजनीतिक उपलब्धिहरु आम नागरिकलाई किन अरुचिकर लाग्दैछन् ? किन उनीहरु यस्ता दिवसमा सहभागी हुँदैनन् ? व्यवस्थामा आएको परिवर्तनले आम नागरिकहरुको अवस्थालाई सम्बोधन गर्नुपर्छ । उनीहरुको हैसियतलाई माथि उठाउनुपर्छ । उनीहरुले केही न केही परिवर्तनको अनुभूति प्रत्यक्ष गर्न पाउनुपर्छ ।

आम नागरिकहरले संविधान तथा संघीयता आएपछि राजनैतिक स्थायीत्व हुदै देशको विकास द्रुतगतिमा हुन्छ, देशमा समृद्धि आउँछ भन्ने आशा राखेको थिए । राज्य पुनसंरचनापछि राज्य व्यवस्थाको परिवर्तनसँगै विकास व्यवस्थापनले फडको मार्ने आशा पनि थियो । तर अपेक्षाकृत नतिजा भने आउन सकेन । केवल संघ प्रदेश तथा स्थानीय तहमा तीन संरचनाको राज्यव्यवस्थाले राज्य संचालन खर्च अन्त्याधिक वृद्धि भई देशलाई आर्थिक रुपमा धराशायी बनायो । नेपालमा संघीय व्यवस्था आएको अर्थात संघीयताको अभ्यास गरेको पनि आज ७ बर्षपुरा भइसकेको छ । के संघियताले नेपालमा जनताको सामाजिक आर्थिक, साँस्कृतिक रुपान्तरण गर्‍यो त ? यदि गरेन भनि किन गरेन ? के कस्तो कारणले हुन सकेन? नेपालमा संघीयता ल्याएको जनताका लागि होकि सिमित राजनैतिक दलका नेता कार्यकर्ताका लागि हो ? यो पक्षमा थोरै समिक्षा गर्नुपर्ने अवस्था पक्कै आएको छ । जनतालाई चाहिएको नागरिक हक, स्वतन्त्रता, सर्व सुलभ शिक्षा र स्वास्थ्य संविधानबाट ग्यारेण्टी हुने अपेक्षा अधुरै रहृयो । राज्यका अंगको रुपमा रहेका ब्यबस्थापिका, न्यायपालिका र कार्यपालिकाको हालत के बनाइयो ? संविधानबाट देशवासीको चाहना संवोधन हुन सक्यो त ? यो प्रश्न जीवितै रहेको छ ।

नेपालको वर्तमान राजनैतिक, सामाजिक, धार्मिक, सांस्कृतिक र भौगोलिक स्थितिका साथसाथै विदेशका उदाहरणहरुले पनि नेपाल जस्तो सानो देशको लागि संघीयता आवश्यक छैन भन्ने देखाउँछ । संघीयता लागू भएपछि देख्ने गरी र जनताले महशुस गर्ने गरी संघीयताको कुनै फाइदा अनुभव गर्न नागरिकहरुले पाएका छैनन् । विवाद र बहसबीच नै नेपालमा संघीयता लागू भयो । संघीयताविरोधी आवाज मत्थर नहुँदै निर्वाचनमार्फत संघीयताको अध्यास पनि शुरु भयो । निर्वाचनपछि क्रमशः मत्थर भएको विरोधी आवाज अहिले झन् सशक्त रुपमा उठन थालेको छ। यससँगै प्रश्न उब्जिएको छ कि, नेपालमा संघीयता आवश्यक थियो कि वाध्यता ? मूलतः संघीयता द्वन्द्वबाट शान्तिप्रक्रियामा आएको माओवादीको एजेण्डा थियो । १२ बुँदे शान्ति सम्झौतापछि देशमा शान्ति स्थापना हुने आशमा कांग्रेस, एमालेले पनि संघीयतालाई स्वीकारे। अहिले पनि कांग्रेस, एमालेका केही नेता, कार्यकर्तालाई संघीयता मन परेको छैन । संघीयताको मूल उद्देश्य विकेन्द्रिकरण र स्थानीय स्वायत्तता हो । केन्द्रीय शासन प्रणाली हुँदा केन्द्रमा अधिकार केन्द्रित हुने र स्थानीय निकायमा विकास हुन नपाउने या विलम्ब हुने हुनाले स्थानीय निकायले आफ्नो प्राथमिकताअनुसार आफ्नै निर्णयले विकास गर्न संघीयता ल्याइएको हो । आफ्नो प्रदेशको कर उठाउन पाउने र विकास गर्न पाउने हुनाले यो व्यवस्था लागू गर्दा विकासमा गति आउने र नागरिकले स्वायत्तता अनुभव गर्न पाउछन भन्ने थियो । त्यसको अतिरिक्त संघीयतामा प्रदेशहरु बाँडिने हुनाले राज्यको राजनैतिक र प्रशासनिक प्रतिनिधित्वमा समावेशिता पनि बढने विश्वास थियो ।

अहिले राज्यको पुनःसंरचनामा केन्द्रीय सरकार, ७ वटा प्रदेश सरकार तथा ७५३ वटा स्थानीय सरकार गरी ७६१ वटा सरकार छन् । राज्यले संविधानमा समाजका विभिन्न जात, जाति, समुदाय, दलित, महिला तथा फरक क्षमता भएका नागरिकका अधिकारलाई सुनिश्चित गरेको छ । राज्यले व्यवस्था गरेका प्रावधानलाई स्थानीय सरकारमार्फत डेलिभरी गरिनु पर्ने हो । गाउँगाउँमा सिंहदरवार भनिएको छ । सिंहदरवारले गाउँगाउँमा लोकतान्त्रिक अभ्यास र जनताका हक तथा अधिकार बारेका सामाजिक जागरण ल्याउनु पर्ने हो । त्यसो हुन सकेको छैन । बरु स्थानीय सरकारले करका दायरा बढाएर गरीब जनताको ढाड सेक्ने काम गरेको छ । देशका विभिन्न राजनीतिक दलमा ठोस रुपमा समाजवादको मोडेलमा प्रस्ट धारणा भएको पाइदैन । समाजवादको परिभाषाबारे न त दलहरुसँग प्रस्ट भिजन छ, न त यसको बारेमा जनता नै प्रशिक्षित छन् । तर पनि दलका नेतागणका भाषण, छलफल, अन्तरक्रियाजस्ता बहसमा संविधानले समाजवाद उन्मुख समावेसी समाजको परिकल्पना गरेको छ भन्ने तर्क दिन छाडेका छैनन् । प्रजातन्त्रको पुनःस्थापना २०४६ पछाडि नेपाली जनताले समाजवाद, मार्क्सवाद, लेलिनवाद, माओवाद लगायतका दर्शनमा आधारित दललाई सरकार चलाउने अवसर दिएर हेरे । तर कुनै वाद र वादीले पनि देश विकास र आर्थिक समृद्धि नागरिकको चाहना अनुसार पूरा गर्न सकेनन् ।

समाजमा गरीबी, विभेद, अन्याय, भ्रष्टाचार, कुसंस्कार र दण्डहीनता व्याप्त छ । बेरोजगार देशको प्रमुख समस्या बनेको छ । युवावर्ग विदेशी भूमिमा श्रम गर्न बाध्य छन् । संविधान जारी भएपश्चात हाल सम्म करिब ३४ लाख युवाहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको लागि विभिन्न मुलुकहरुमा पुगेका छन । युवाहरु रोजगारीको लागि निरन्तररुपमा विदेशिनु पर्‍यो भने नेपाली नागरिकहरुले आकांक्षा गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा कसरी पुरा हुन्छ ? यो बाहेक अनौपचारिक माध्यमबाट विदेशिनेहरु उत्तिकै छन् । कामको खोजीमा भारतीय भूमि पुग्नेहरुको ठूलो संख्या सरकारी रेकर्ड मै छैन । आम जनताको जीवनस्तर झन्झन् खस्कँदै गएको छ । पहुँचवालाहरुले जे गरे पनि छुट पाउने दण्डहीनताको माहोल मौलाएको अवस्था छ । यसबीचमा ललिता निवासदेखि नक्कली शरणार्थी प्रकरण र सुन तस्करीसम्मका केही काण्ड उजागर भएका छन् । देशमा भएका उद्योग बन्द गरिएका छन् । नयाँ उद्योग खोल्ने राज्यको कुनै ठोस कार्यनीति पाइंँदैन । सुशासन, शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम व्यापारीकरण छ । नागरिक गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकताबाट नै बन्चित भएको अवस्था छ । उल्लेखित समस्याको समाधानतर्फराज्यको ध्यान गएको छैन । यही हो त संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख समावेसी देश बनाउने मार्गचित्र – राज्यको देश विकासको रोडम्याप हेर्नुस त ! कृषिप्रधान देशमा कृषि क्षेत्र उपेक्षित छ । किसानको महत्व शून्य छ । कृषि क्षेत्रको विकास र उद्योगीकरणमा राज्यसँग वैज्ञानिक योजना छैन । भए पनि कार्यान्वयन हुँदैन ।

वास्तवमा नेपाली समाजले संविधान मात्र खोजेका थिएन । जनताले सुशासन, देश विकास र आर्थिक समृद्धि चाहेका थिए । गरीबी, अभाव र पछौटेपनको अन्त्य चाहेका थिए । शिक्षा, स्वास्थ्य र रोजगार चाहेका थिए । तर ति सबैकुरा पाउन सकेका छैनन् । नेपाली जनताले लामो समयसम्म राजनीतिक लडाइँ लडनुको पछाडि देश विकास र उनीहरुको जीवनमा आमूल परिवर्तनको चाहना राखेका थिए । तर अझै पनि समाजका टाठा बाठा, राजनीतिकर्मी, दलका कार्यकर्ताले नै देशको सुविधामा लिएको अवस्था छ । लोकतन्त्रका नाममा लुटतन्त्र भएको छ भन्नेहरुको संख्या बढदो छ । गणतान्त्रिक सरकारले पनि समाजका पिछडा वर्गको अवस्थामा केही पनि सुधार ल्याउन सकेको छैन । उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायको क्षेत्रमा राज्यको ध्यान जान सकेको छैन । नेपालमा राजनीतिक परिवर्तन मात्र जनताको चाहना थिएन । रोग, शोक र भोकको रापमा सेकिएका जनता पुँजीवाद, समाजवाद, जनवादजस्ता सैद्धान्तिक दर्शनका बारेमा बहस गर्न जान्दैनन् । आवश्यकता पनि ठान्दैनन् । तर उनीहरुका दैनिकीसँग जोडिएका तमाम समस्याको समाधान र आर्थिक आयआर्जनका अवसर समाजको आवश्यकता ठान्दछन् । गणतन्त्र आएपछि जनताको चुलोमा झन बढी महगी थपिएको छ । चुलो चलाउन विदेश जानु परेको छ ।

संविधानले देशलाई के दियो ? मुलुकलाई कहाँ पुर्‍यायो ? लोकतन्त्त कतिको संस्थागत भयो ? शान्ति सुरक्षा कतिको महसुस गरे जनताले ? सुशासन आयो त ? कतिजना नेपालीले आफ्नो मौलिक हक/अधिकारको प्रयोग सजिलै गर्न पाए ? वर्तमान संविधानले देखाएको समृद्धिको सपना कहाँसम्म पुग्यो ? यी सारा प्रश्न प्रत्येक नेपालीको मन/मस्तिष्कमा संविधान दिवसको बेला उठने गर्दछ । आम नागरिकले स्वतःस्फूर्त संविधान दिवसको जयजयकार गर्न सक्ने क्षमता सरकारले बनाउन सक्नुपर्दछ । सुन्दर बाटाघाटाको निर्माण, उद्योग धन्दाको स्थापना र रोजगारीको अवस्था सिर्जना गरी बर्षमा एक दिन हैन, हरेक दिन संविधानको जय जयकार गर्ने अवस्था सरकारले निर्माण गर्नुपर्दछ । राजनीति सामाजिक सेवा गर्ने उत्तम थलो हो । यो कुनै पेशा वा व्यवसाय होइन । यसलाई आय-आर्जनको माध्याम बनाइनु हुँदैन । राजनीति अरुको सेवा गर्ने केवल मानवीय भावना हो । विशाल हृदय भएका र उच्च नैतिकता भएकाहरुले गर्ने स्वयंसेवा नै राजनीति हो । यसको कुनै मूल्य पनि हुँदैन । तर नेपालका राजनीतिक पार्टीहरुले यसलाई आफ्नो कमाई खाने पेशा र व्यवसाय बनाएको छन । राजनीति शैक्षिक योग्यता नपुगेका, असक्षम र बेइमानीहरुको रोजगारीको थलो बनेको छ । लोकतन्त्रको आवरणमा स्वेच्छाचारीता, परिवारवाद र नातावादले मात्र अवसर पाउने परिपाटी मौलाउँदै गएको छ । सक्षम र कर्मठ यूवाहरुलाई विदेश पलाएन हुन बाध्य पारिँदै छ ।

संविधान दिवसजस्तो महत्वपूर्ण दिनलाई हार्दिकताका साथ राष्ट्रिय पर्वकै रुपमा मनाउने वातावरण बनाउन मुलुकको नेतृत्व अर्थात शासक वर्गले दैनिक आवश्यकताको सहज आपूर्तिका साथै दीर्घकालीन विकास-निर्माणका विश्वसनीय आधार प्रस्तुत गर्न सक्नुपर्छ । देशकै नेतृत्व गर्ने स्थानमा पुगेका पात्र वा दलले नागरिकलाई दलको आँखाबाट नभई सदभावले हेर्न सक्नुपर्छ । संविधानलाई सबै वर्ग, समुदाय र सीमान्तकृत नागरिकका लागि अधिकतम रुपले स्वीकार्य बनाउने कसरत राज्यबाट भएको छैन । आज देशले संविधान दिवस मनाउँदै गर्दा आम नागरिकमा संविधानप्रतिको अपनत्वको भावना जुन रुपमा देखा पर्नुपर्ने थियो, त्यो अझै पनि देखिन सकेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker