राष्ट्रपति पौडेलले दर्शन गर्ने भयर ठाकुर मन्दिर र ओझेलमा परेको मिर्लुङकोट क्षेत्र
नारायण खड्का/तनहुँ
राष्ट्रपति बनेपछि रामचन्द्र पौडेल शनिबार पहिलो पटक गृहजिल्ला तनहुँ आउँदै छन् । गृहजिल्ला आउने तयारीमा रहेका राष्ट्रपति पौडेलको पहिलो कार्यक्रम भानु नगरपालिका-१३ मिर्लुङकोट स्थित भयर ठाकुर (भयरथान)को दर्शन गर्ने रहेको छ ।
पौडेलको जन्मगाउँ बाहुनपोखराको शिर बनेर ठडिएको छ मिर्लुङकोट । मिर्लुङकोटको पश्चिम तर्फको खोचमा सातसय मिर्लुङले शक्तिदेवको रुपमा पुज्दै आएको भयर ठाकुरको मन्दिर छ । यो मन्दिरको उत्तरतर्फनेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङ गाउँ रहेको छ ।
भयर ठाकुरलाई मिर्लुङकोट क्षेत्रका सातसय मिर्लुङबासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् । साउन महिना, औसी र एकादशी तिथि बाहेक हरेक मंगलबारका दिन यस मन्दिरमा पूजाअर्चन गर्ने गरिन्छ ।
विशेष गरी यस क्षेत्रका बासिन्दाले आफु समस्यामा पर्दा, वस्तुभाउ विरामी पर्दा, देश विदेशमा गएकाहरु सकुशल घर फर्किउन तथा कुनै कार्यको शुभारम्भ गर्दा वा चाहेको, आँटेको पुरा गरिदिन भन्दै भाकल गर्ने तथा सम्झने गर्दछन् । यसरी भाकल तथा सम्झेको पुरा भएपछि पञ्चावली तथा आफूले भाकल गरेको अन्य पूजाका सामाग्रि सहित भक्तजनहरु मन्दिरमा पूजाअर्चनाका लागि पुग्ने गर्दछन् ।
जंगलको बीचमा यो मन्दिर रहेको छ । गाउँमा बाघ तथा अन्य वन्यजन्तुले दुःख दिएमा, समयमा पानी नपरी खडेरी परेमा, खेतबारीमा खेती गर्नुपूर्व, नयाँ अन्ना घरमा भित्र्याउँदा लगायतका शुभकार्यमा स्थानीयले भयर ठाकुर देवतालाई सम्झने र पुज्ने गर्दछन् ।
आस्था र शक्ति केन्द्रका रुपमा रहेका भयेर ठाकुरको राष्ट्रपति रामचन्द्र पौडेलले दर्शन गर्ने गरी आउने सुनेपछि अहिले स्थानीय दंग परेका छन् । राजनीतिमा सक्रिय हुँदा तथा शक्तिकेन्द्रमा रहदा समेत यस क्षेत्रको विकासमा खासै ध्यान दिन नसकेका पौडेल राष्ट्रपति बनेपछि पहिलोपटक गृहजिल्ला आउँदा भयर ठाकुरको दर्शन गर्न आउँदै छन भन्ने सुनेपछि आफुहरुलाई अचम्म लागेको स्थानीय चन्द्र विवस गुरुङ बताउँछन् ।
दमौली तथा डुम्रे हुँदै मिर्लुङकोट क्षेत्रमा पुग्नका लागि सडक सञ्जाल विस्तार त गरिएको छ । तर, अहिलेसम्म सडकको स्तरोन्नती नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती झेल्दै आउनुपरेको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकताहरु सहज रुपमा उपभोग गर्न नपाउँदा बर्साई सराइले मिर्लुङकोट क्षेत्र उजाडिएको छ । राष्ट्रपति बनेको ६ महिनापछि पौडेल शनिबार बिहान करिब ८ः३० बजे भयेर ठाकुरको दर्शन गर्न आउने कार्यक्रम छ ।
नेपाली सेनाको हेलिकप्टरबाट बिहान भानु-१३ मिर्लुङ ठूलोढुङ्गा स्थित अरनिको माध्यमिक विद्यालय प्राङ्गणमा उत्रिएपछि त्यहाँबाट करिब ३ किलोमिटरको दुरीमा रहेको भयेर ठाकुर (भयेरथान)को मन्दिर पुग्ने छन् । सुरक्षाकर्मीको घराभित्रबाट ठूलोढुङ्गा, बासपानी गाउँ हुँदै मन्दिरसम्म पुग्ने क्रममा स्थानीयले आ-आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर स्वागत गर्ने तयारी गरेको टुटेपानी सामुदायिक होमस्टेका अध्यक्ष क्या. होम बहादुर गुरुङले बताए ।
गत निर्वाचनमा भोट हालेर जिताएपछि संघीय साँसद बनेका पौडेल अहिले राष्ट्रपति भएर गाउँमा आउने खबरले स्थानीय खुशी त छन् । तर, यस क्षेत्रको समस्याका विषयमा चासो देखाउँछन कि देखाउँदैनन् भन्ने जिज्ञासा र चिन्ता स्थानीयमा छाएको छ ।
मिर्लुङकोट
तनहुँ जिल्लाको दोस्रो अग्लो पहाडको चुचुरो मिर्लुङकोट क्षेत्र प्राकृतिक, साँस्कृतिक लगायत विविध आयमले भरिपूर्ण छ । ग्रामीण पर्यटनका लागि यो क्षेत्र उत्कृष्ट गन्तव्य पनि हो । समुन्द्री सतहबाट १६५६ मिटर उचाइमा रहेको मिर्लुङकोट र यसको आसपासका डाँडाहरूबाट तनहुँ जिल्लाको बिभिन्न स्थानका साथै लमजुङ, गोरखा, मनाङ र कास्कीका बिभिन्न स्थानहरू सजिलैसँग देख्न सकिन्छ । सुन्दर प्राकृतिक भूबनोट भित्र दक्षिण फर्किएर रहेको मिर्लुङको उत्तर भाग प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट अनुपम छ ।
तनहुँको सदरमुकाम दमौलीबाट कलेस्ती, क्यामिन हुँदै पोखरीछाप तथा कलेस्ती, गजौडे, विर्ता हुँदै पोखरीछापबाट मिर्लुकोट पुग्न सकिन्छ । यता दमौलीबाट कलेस्ती हुँदै लमजुङको दुइपिप्लेबाट सोतीपसल बेसी, बाहुनपोखरा हुँदै पुलिमराङ, टुटेपानी, बाँर्सखर्क लगायतका स्थानबाट समेत मिर्लुकोट पुग्न सकिन्छ ।
यस्तै, तनहुँको डुम्रे बजारबाट प्रवेश गरी भन्सार, सेपाबगैचा, चन्द्रवती हुँदै मिर्लुङकोट क्षेत्रमा पुग्न सकिन्छ । डुम्रेबाट मिर्लुङसम्मको दुरी १८ किलोमिटर छ । चन्द्रवती बजारबाट बिभिन्न ५ वटा सहायक मार्ग मार्फ मिर्लुङका बिभिन्न गाउँबस्तिहरूमा पुग्न सकिन्छ । लमजुङको सुन्दरबजार, भोटेओढार जानका लागि केही बर्षअघिसम्म पैदल मार्गका रूपमा यसलाई प्रयोग गरिन्थ्यो । कोटसम्म पुग्नका लागि ढुंगाको पेटी बनाइएको छ । मिर्लुङकोट क्षेत्र प्राकृतिक, साँस्कृतिक, धार्मिक र जैविक विविधतामा धनि छ ।
सूचना केन्द्र स्थापना
२०६७ सालमा सुशीलचन्द्र भण्डारीको अध्यक्षतामा मिर्लुङकोट सूचना केन्द्र गठन गरेपछि यो ठाउँको चर्चा चलेपनि अहिले गुम्नाम अवस्थामा छ । भानु नगरपालिकाले पनि मिर्लुङकोट क्षेत्रको विकास र प्रवर्द्धनमा यथोचित ध्यान पुर्याउन सकेको छैन ।
मिर्लुङकोट सूचना केन्द्रले पर्यटन विभाग मार्फत गठन भएकै बर्ष ३ लाख, आर्थिक बर्ष २०६८/६९ मा ५ लाख, २०७०/७१ मा ७ लाख र ०७१/७२ मा १० लाख रकम ल्याएर मिर्लुङकोटको पर्यटन विकासमा खर्च गरेको थियो । पर्यटन सूचना केन्द्रका लागि जग्गा खरिद, भवन निर्माण, कम्पाउण्ड र आँगनमा ढुंगा छाप्ने काम, मिर्लुङकोट जाने सिँढी मार्ग निर्माण गरेपनि अहिले यी पूर्वाधारहरुको संरक्षण हुन सकेको छैन ।
१० बर्षे गुरुयोजना
यस्तै, तनहुँ, लमजुङ, कास्की जिल्लाका साविक २५ वटा गाविस र लेखनाथ नगरपालिकालाई मिर्लुङकोट पर्यटन विकासले जोडेको थियो । चर्चित अन्नपूर्ण पदमार्गभन्दा सुरक्षित र राम्रो रहेको मिर्लुङकोट पर्यटन पदमार्ग शुरुवात आदिकवि भानुभक्त आचार्यको जन्मभूमि कर्मभूमिबाट शुरु हुन्छ ।
मिर्लुङको पर्यटन बिकासलाई एकीकृत गर्न १० बर्षो गुरुयोजना निर्माण थालिएको भएपनि अहिले यसको अवस्था के छ ? स्थानीय जनसमुदायको बिकास, रोजगारीको सिर्जना, पूर्वाधार बिकास गरी मिर्लुङकोटको बिकास गर्ने गरी गुरूयोजना निर्माण थालिएको थियो । तर, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता आधारभूत आवश्यकता सहज रुपमा उपभोग गर्नबाट बञ्चित भएपछि मिर्लुङकोट क्षेत्रका गाउँबस्ति उजाडिएका छन् ।
होमस्टेहरुको निर्माण, स्थानीय रितिरीवाज, भाषा, सँस्कृतिको संरक्षण गर्ने उद्देश्य पनि राखिएको थियो । मिर्लुङकोटको पर्यटन पदमार्गमा होर्डिङ बोर्डहरु राख्ने, पर्यटकहरुको सहजताका लागि हाते नक्सा बनाउने, बास बस्ने स्थानहरुको पहिचान गर्ने लगायतका कार्य अघि बढाइएको थियो ।
प्राकृतिक सुन्दरता
मिर्लुङको उत्तरी भेग राइपाली भञ्ज्याङ, चोकडाँडा, चिहानडाँडा, बयापानी भञ्ज्याङ, मिर्लुङकोट, पोखरीछाप, टुटेपानी लगायतका गाउँबस्ति पर्यटकीय केन्द्र हुन् । यी भेगमा चिसो बतास चलिरहन्छ । १२ महिना हरिया वनजंगलमा हिउँदको समयमा लालीगुराँस छपक्कै डाँडाभरि फूल्ने गर्दछ । डाँडाभरि लालीगुराँस फूल्ने भएका कारणले पनि मिर्लुङ बयापानीका स्रष्टा स्वर्गीय क्षेत्रप्रताप अधिकारीले ‘म त लाली गुराँस भएछु बनै भरि फूली दिन्छु मनै भरि फूली दिन्छु,’ भनेर गीत लेखे ।
यहाँ वन काफल, चाप, धयरा, ऐसेलु, सतिसाल, सल्ला, चुत्रो, कटुस जस्ता वोटविरुवा, फलफूल मात्र होइन, पाँचऔले, कुरीलो जस्ता जडिबुटीहरु समेत पाइन्छ । बिभिन्न छहरा र पहराहरुको आकर्षाका साथै बिभिन्न भज्ञ्याङ, देउराली, मठमन्दिर र मस्जिदहरु यस क्षेत्रका गहना तथा पर्यटकका सारथी भएपनि यसको विकास र प्रवर्द्धन हुन नसक्दा खण्डहर बन्दै गएका छन् ।
ऐतिहासिकस्थल मिर्लुङकोटबाट साथै अन्नपूर्ण तथा लाङ्गटाङ्ग हिमश्रृंखला, वोर्डर हिमाल, गण्डकी प्रदेशमा सबैभन्दा बढि भू-धरातल अवलोकन गर्न सकिन स्थल हो । धौलागिरी हिमाल, गणेश हिमालदेखि बिभिन्न चुरे महाभारत श्रृंखलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । मिर्लुङकोटबाट लमजुङका धेरै गाउँबस्ती सहजै अवलोकन गर्न सकिन्छ ।
सँस्कृतिको संरक्षण
मिर्लुङमा बिभिन्न जातजातिहरु गुरुङ, मगर, बाहुन क्षेत्री, दमाई, कामी, सार्की, मुसलमान, नेवारहरु बसोबास गर्दछन् । बिभिन्न जातजाति, धर्म समुदाय र सम्प्रदायको अलग-अलग भेषभूषा, रहनसहन, चालचलन, धर्म र सँस्कृति यसका थप गहना हुन् । ति भित्रको अन्तरघुलन र एकता साँच्चै नै रहरलाग्दो र लोभलाग्दो छ । कुनै रिसराग र जातीय द्वेष छैन । सामाजिक सदभाव एकताको प्रतीक भन्दा हुन्छ मिर्लुङकोट क्षेत्रलाई ।
उनीहरूको आ-आफ्नै मौलिक सँस्कृतिहरू छन् । स्थानीयस्तरको साँस्कृतिक पक्षको संरक्षण गरी लोपोन्मुख सोरठी, घाँटु, कौरा, दोहोरी, बालन, चुड्का, भजन, लाखे, ठाडोभाका जस्ता गीत संगीतहरूको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
यहि क्षेत्रमा अत्यन्तै संकटमा परेको रामायणमा समेत उल्लेख भएको बालन नाच नाच्ने गरिन्छ । गुरूङ र मगर बस्ती बाक्लो रहेका कारणले रोदी बस्ने चलन अझैसम्म जीवीत छ । विषेश गरी गुरूङ समुदायको सोरठी र घाटु नृत्य यस क्षेत्रमा विषेश चर्चित छ । स्थानीय जनसमुदायले गाउने ठाडोभाका, लोकदोहरी, सोरठी, पाउदुरे, घाटु, चुड्का, मारुनी लागयतका लोकभाका सुन्न र नाचहरु हेर्नसमेत यस क्षेत्रमा देख्न पाइन्छ ।
ऐतिहासिक महत्व
यस्तै, मिर्लुङकोटको चुचुरोमा राजा धर्मागत सेनले शासन गरेको र उनको दरवारको भग्नावशेष देख्न पाइन्छ । राजा धर्मागत सेनको दरवार अगाडि ऐतिहासिक रानीपोखरी रहेको छ । आकाशबाट परेको पानीबाट बनेको यो पोखरीमा पानी रहिरहन्छ । यो पोखरी सामुद्रिक सतहबाट १५३९ मिटर अग्लो स्थानमा छ ।
मिर्लुङको ठुलोढुंगामा ऐतिहासिक सिद्ध गुफा छ । ठूलो ढूङ्गाको ओडारमा रहेको यो गुफा पर्यटकीय हिसावले निकै आकर्ष छ । मिर्लुङको पश्चिम तर्फशक्तिदेवको रुपमा पुजिने भयेर ठाकुरको मन्दिर छ । यसको ठीक उत्तरतर्फनेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङमा शहिद गाउँ तथा पार्क रहेको छ ।
व्यास-८ रिस्तीमा रहेको यो शहिद स्मारक ११५० मिटरको उचाइमा छ । भानु-१३ को बाँकेपसल स्थित ऐतिहासिक दर्गा जामे मस्जिद बिक्रम सम्वत १७१३ मा राजा मुकुन्द सेनकी श्रीमती तिलोत्तमा रानीले निर्माण गर्न लगाएकी थिइन् । यो पनि आकर्षाको केन्द्र हो ।
लोप भयो ठूलोढूङ्गा बजार
यस्तै, यस क्षेत्रको पुराना बजारको रुपमा ठूलोढूंगा बजारलाई लिइन्छ । चैते दशै पर्वका अवसरमा लाग्ने ठूलोढूंगा बजार अहिले लोपको संघारमा पुगिसकेको छ । स्थानीय स्तरमा उत्पादिन खाद्यवस्तुको बिक्री वितरण, कृषि औजार तथा सामाग्रिको खरिद बिक्री, भलिबल, ठेलो हान्न लगायतका खेलकुदका कार्यक्रम, ठाँडो भाका लगायतका विविध साँस्कृतिक कार्यक्रम हुने यो बजार अहिले लोप भएको छ ।
मिर्लुङकोटको पर्यटन विकासका लागि मात्र नभइ यसको पहिचानलाई राष्ट्रिय रुपमा नै स्थापित गर्ने उद्देश्यका साथ मिर्लुङकोट पर्यटन महोत्सव सञ्चालन गरिएपनि अहिले यो पनि बन्द भएको छ । स्थानीय युवाहरुले फुटबल प्रतियोगिता तथा ठेलो हान्ने प्रतियोगिता सञ्चालन गरी बजार लाग्ने परम्परा जोगाउने प्रयास त गरेका छन् ।
सधै भोट बैंक बन्दै आएका यस क्षेत्रका बासिन्दा अहिले राजनीतिक दल तथा नेताहरुसंग रुष्ट छन् । सम्भावनै सम्भावना बोकेको मिर्लुङकोट क्षेत्रको विकासमा कोही कसैले ध्यान नदिदा यो क्षेत्र अहिले बसाइसराइले उजाडिदै गएको छ । गाउँबस्ति खण्डर बन्दै गएका छन् भने कतिपय गाउँहरु मानव बिहिन हुने अवस्थामा पुगेका छन् । खेतीयोग्य जमिन बाँझिएर जंगल जस्तै बनेका छन् ।