फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका पारित

सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत गर्नुपर्ने

सरकारले फेसबुक, टिकटक, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता हुनु पर्ने गरी निर्देशिका तयार पारेको छ । मन्त्रिपरिषद्ले बिहीबार स्वीकृत गरेको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्म दर्ता हुनुपर्ने प्रावधान गरेको हो।

निर्देशिकाअनुसार सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि सूचना प्रकाशित हुनेछ। सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्मले मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ।

सूचिकरणका लागि प्लेटफर्म सञ्चालक आफैं उपस्थित भई वा प्रतिनिधिमार्फत् अनलाइनबाट पनि निवेदन दिन सक्ने प्रावधान छ। सूचीकृत नभए कुनै पनि बखत बन्द गर्न सक्ने प्रावधान निर्देशिकामा छ।

निर्देशिका जारी भएको तीन महिनाभित्र सामाजिक सञ्जाल प्लेटफर्महरुले नेपालभित्र सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ। सामाजिक सञ्जाल प्लेटफर्महरुले अब कारोबारको भुक्तानी बैंकिङ प्रणालीबाट गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ।

सरकारले यस्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकहरुले कानुन विपरीतका सामाग्री प्रकाशन या प्रसारण भएको गुनासो प्राप्त भएमा सो को पहिचान र यकिन गरी २४ घण्टाभित्र हटाउनुपर्ने प्रावधान राखेको छ।

सरकारले निर्देशिकामार्फत् नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई दुई भागमा बाँडेको छ। एक लाखभन्दा बढी प्रयोगकर्ता भएकालाई ठूला र सोभन्दा कम प्रयोगकर्ता भएकालाई साना प्लेटफर्मका रुपमा अर्थ्याइएको छ।

ठूला सामाजिक सञ्जाल प्लेटफर्मले अनिवार्य गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी राख्नुपर्ने व्यवस्था निर्देशिकामा छ। सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका लागि सञ्चार मन्त्रालयमा इकाइसमेत गठन गर्ने भएको छ।

‘सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक वा सो को सम्पर्क विन्दुबाट गुनासो सुनुवाइ नभएको वा सम्बद्ध निकायबाट प्रचलित कानुनबमोजिम सामाजिक सञ्जालका विषयमा सम्बोधन हुनुपर्ने विषय सम्बोधन नभएको भनी प्राप्त गुनासोको सम्बन्धमा कार्य गर्न मन्त्रालयमा एक सामाजिक सञ्जाल व्यवस्थापन इकाइ रहनेछ’, निर्देशिकामा भनिएको छ।

यस्तो इकाइले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी गुनासो दर्ता गर्ने, कुनै व्यक्तिले ठगिएको, हैरानी दिएको वा गाली गरेको स्क्रिनसट पेश गरे/नगरेको यकिन गर्ने, तथ्य जाँच गर्ने, सरकारले तयार पारेको निर्देशिकाविपरीत प्रकाशित वा प्रशारित सामाग्री हटाउन सम्बन्धित प्लेटफर्म सञ्चालक वा सोको सम्पर्क कार्यालयलाई ४८ घण्टाभित्र लेखि पठाउनेछ।

यस्तो इकाइमा भने सूचना तथा सञ्चार मन्त्रालयले जनशक्ति भर्ती गर्नेछ। निर्देशिकाले प्रयोगकर्ताले गर्न हुने र नहुने कामसमेत तोकेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) बनाउन रोक लगाइको छ। बेनामे वा छद्मभेषी पहिचानमार्फत् विषयवस्तु उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु सेयर गर्ने वा टिप्पणी व्यक्त गर्न वा कल गर्न नपाइने व्यवस्था गरिएको छ।

‘कुनै समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारिरीक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानूनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवं ट्रोल बनाइ प्रकाशन र प्रसारण गर्न’ नपाइने व्यवस्था छ।

अरुलाई होच्याउने नियतले अपमानजक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली, बेइजती गर्ने कार्यलाई हेट स्पीचका रुपमा निर्देशिकाले व्याख्या गरेको छ।

‘हेट स्पीच भन्नाले पोष्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रनेजस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनुपर्छ’, निर्देशिकाको स्पष्टीकरण खण्डमा राखिएको छ।

निर्देशिकाले डिजिटल माध्यमको प्रयोगबाट व्यक्तिको तस्बिर विकृत रुपमा परिमार्जन गरी प्रशारण गर्न, निजी मामिलाका फोटो/भिडिओ अनुमतिबिना खिचेर प्रकाशन र प्रशारण गर्न, अश्लील शब्द, तस्बिर, भिडिओ, अडिओ एनिमेसन प्रशारण, प्रकाशन र टिप्पणी गर्न नहुने व्यवस्था गरेको छ। विभित्स तस्बिर, भिडिओ कुनै सन्दर्भबिना नै पोष्ट वा सेयर गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ।

‘अब राजपत्रमा प्रकाशन गरेपछि यो निर्देशिका लागू हुनेछ’, सूचना तथा सञ्चार मन्त्री रेखा शर्माका प्रेस सल्लाहकार नरेन्द्र केसीले सेतोपाटीसँग भने, ‘आजको मन्त्रिपरिषद्ले यस सम्बन्धी विधेयक तयार पारेर ल्याउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ।’

केसीले तिहारलगत्तै मन्त्रालयले डेटा सुरक्षासम्बन्धी, सामाजिक सञ्जालसम्बन्धी विधेयक तयार पारेर मन्त्रिपरिषदमा लैजाने बताए। उनले अहिले सरकारले पारित गरेको कार्यविधि स्वनियममा आधारित रहेको दाबी गरे।

‘मान्छेहरु सामान्य कुरामा पनि साइबर व्यूरो जाने जस्तो भएकाले मन्त्रालयमा इकाइ गठन गर्ने गरी निर्देशिका तयार पारिएको छ’, केसीले भने, ‘मन्त्रालयको भूमिका सहजिकरण गर्ने छ ।’

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० का मुख्य विशेषता

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको दायित्व

  • सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले यस निर्देशिकाबमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ ।
  • निर्देशिका जारी हुनुअघि सञ्चालनमा रहेका र जारी भएपछि सञ्चालनमा आउने सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत गर्न मन्त्रालयले सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नुपर्नेछ ।
  • निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्नेछ ।
  • सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आफैं उपस्थित भई वा आफ्नो प्रतिनिधि वा अनलाइन माध्यमबाट समेत निवेदन दिन सक्नेछन् ।
  • सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले जुनसुकै बखत बन्द गर्न सक्नेछ ।
  • सूचीकृत सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले प्रत्येक तीन वर्षमा इजाजतपत्रको नवीकरण गराउनुपर्नेछ ।
  • सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले प्रचलित कानूनविपरीतको गतिविधिको प्रवर्द्धन गर्ने खालका सूचना, विज्ञापन र सामग्रीको प्रकाशन वा प्रसारण रोक्ने गरी सामाजिक सञ्जालमा प्रयोगकर्ताको संलग्नताको एलगोरिदम विकास र प्रयोग गर्नुपर्ने ।
  • सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले प्रचलित कानूनविपरीत सामग्री प्रकाशन या प्रसारण भएको गुनासो प्राप्त भएमा सोको पहिचान र यकीन गरी सो सामग्री २४ घण्टाभित्र हटाउने व्यवस्था गर्नुपर्ने ।
  • कसैले यस निर्देशिकामा उल्लिखित सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने विषयवस्तु सम्प्रेषण गरेको वा गर्न लागेको विषयमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई वा सम्कद्ध नियामक निकायले त्यस्तो सामग्री हटाउन निर्देशन दिएमा तत्काल हटाउनुपर्ने ।
  • प्रयोगकर्ताका वैयक्तिक विवरण गोप्य राख्नुपर्ने गरी सुरक्षा मापदण्ड अवलम्बन गर्नुपर्ने र यस्ता विवरण सार्वजनिक गर्न वा अन्य प्रयोजनमा प्रयोग गर्न नहुने ।
  • प्रचलित कानूनविपरीत नहुने गरी मात्र विज्ञापन प्रकाशन वा प्रसारण गर्ने ।
  • सामाजिक सञ्जाल प्रयोगकर्ताको हित र सुरक्षाको लागि आवश्यक सचेतना र शिक्षामूलक सामग्री निरन्तर रुपमा प्रकाशन वा प्रसारण गर्नुपर्ने ।
  • निर्देशिका जारी भएको ३ महिनाभित्र नेपालमा कार्यालय नभएका प्लेटफर्म सञ्चालकले नेपालभित्र सम्पर्क विन्दु (एइक्ष्ल्त् इँ ऋइल्त्ब्ऋत्) को व्यवस्था गर्नुपर्ने ।
  • सामाजिक सञ्जालको प्रयोगका क्रममा आएका गुनासाको सम्बोधनको यथोचित व्यवस्था गर्ने ।
  • राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, सामाजिक सद्भावविरुद्ध हुने सामग्री प्रकाशन वा प्रसारणमा रोक लगाउनुपर्ने ।
  • सान्टाक्लारा सिद्धान्त लागू गर्ने, गराउने ।
  • अन्य प्रचलित कानूनको परिपालना गर्नुपर्ने ।

मन्त्रालयको भूमिका तथा जिम्मेवारी

सामाजिक सञ्जालका सम्बन्धमा मन्त्रालयको भूमिका तथा जिम्मेवारी देहाय बमोजिम हुनेछः

  • विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान एवं संरक्षण गर्ने, गराउने ।
  • सामाजिक सञ्जालको प्रयोगसँग सम्बद्ध सरकारी निकाय तथा अन्य सरोकारवालाबीच समन्वय कायम गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, गराउने ।
  • शैक्षिक पाठ्यक्रममा सामाजिक सञ्जालका विषय समावेश गर्न आवश्यक पहल गर्ने ।
  • सामाजिक सञ्जाल व्यवस्थापन इकाईको व्यवस्था गरी यसलाई स्रोत साधनयुक्त बनाउने ।
  • सामाजिक सञ्जाल प्रयोगका सन्दर्भमा विभिन्न निकाय तथा प्रयोगकर्तालाई लक्षित गरी सचेतनामूलक, शिक्षामूलक, अध्ययन, अनुसन्धानमूलक तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, गराउने ।

सामाजिक सञ्जाल प्लेटफर्मको वर्गीकरण र गुनासो व्यवस्थापनः

  • नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई प्रयोगकर्ता संख्याको आधारमा दुई वर्गमा बाँडिएको छ । एक लाखभन्दा बढी प्रयोगकर्ता भएकालाई ठूला सामाजिक सञ्जाल प्लेटफर्म र सोभन्दा कम प्रयोगकर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई साना सामाजिक सञ्जाल प्लेटफर्म मानिनेछ ।
  • ठूला सामाजिक सञ्जाल प्लेटफर्महरुले अनिवार्य रुपले आवासीय हिसाबमा गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्नेछ ।

सामाजिक सञ्जाल व्यवस्थापन इकाई : सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक वा सोको सम्पर्क विन्दुबाट गुनासो सुनुवाइ नभएको वा सम्बद्ध निकायबाट प्रचलित कानूनबमोजिम सामाजिक सञ्जालका विषयमा सम्बोधन हुनुपर्ने विषय सम्बोधन नभएको भनी प्राप्त गुनासोको सम्बन्धमा कार्य गर्न मन्त्रालयमा एक सामाजिक सञ्जाल व्यवस्थापन इकाई रहनेछ ।

इकाईको जिम्मेवारी देहायबमोजिम हुनेछः

  • सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित गुनासो दर्ता गर्ने ।
  • बमोजिमको गुनासो दर्ता गर्दा सम्बन्धित व्यक्तिले आफू ठगिएको वा हैरानी वा गालीसम्बन्धी कन्टेन्टको स्क्रिनसट पेश गरे, नगरेको यकीन गर्ने ।
  • गुनासोसँग सम्बन्धित तथ्यको जाँच गर्ने ।
  • तथ्य जाँच, काउन्सिलिङ जस्ता कार्यमा खटिने इकाईमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने ।
  • आफ्नो कामकारबाहीलाई सूचना प्रविधिमैत्री बनाउन छुट्टै सूचना प्रविधि प्रणाली प्रयोगमा ल्याउन सक्नेछ ।
  • इकाईबाट सम्पादित कार्यको अभिलेख राख्ने ।
  • निर्देशिकाविपरीत प्रकाशित वा प्रसारित सामग्री हटाउन सम्बन्धित प्लेटफर्म सञ्चालक वा सोको सम्पर्क विन्दुलाई ४८ घण्टाभित्र लेखी पठाउने ।
  • प्रचलित कानुनविपरीतका सामग्री सामाजिक सञ्जालमा प्रकाशन वा प्रसारण भएको गुनासो प्राप्त भएमा सो सम्बन्धमा सम्बद्ध निकायमा सम्बोधनको लागि लेखी पठाउने ।
  • सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको व्यक्तिले निर्देशिकाविपरीतको कार्य गरेको पाइएमा सम्बन्धित निकायमा लेखी पठाउने ।
  • मन्त्रालयले उक्त इकाईमा आवश्यकताअनुसारका जनशक्तिको व्यवस्था गर्नेछ ।
  • सामाजिक सञ्जाल प्लेटफर्म सञ्जालबाट हुने कारोबारको भुक्तानी बैंकिङ प्रणालीबाट गर्नुपर्ने ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker