यमराजको दुतमात्र होइन कुकुर

के.बि. मसाल

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सुरुवात भएको छ । तिहार पर्वको पाँच दिनलाई यमपञ्चक भनिन्छ । तिहार पर्व लक्ष्मीको मात्र होइन । तिहारमा यमराजका दूत कुकुरको पनि पूजा गरिन्छ । यमपञ्चकले पृथ्वीमा रहेका सबै जीव जनावरहरुलाई माया र संरक्षण गर्नुपर्छ भन्ने कुरा सिकाँउछ । मानव सभ्यताको सुरुवातदेखि नै मानवहरुलाई साथ दिँदै आएको कुकुरलाई विशेष महत्व दिएर पूजाआजा गरिन्छ । यमपञ्चकको पहिलो दिन कागको, दोस्रो दिन कुकुरको, तेस्रो दिन गाईको, चौथो दिन गोरुको र म्हपूजा पुजा हुन्छ भने अन्तिम दिन भाइटीका गरिन्छ । भाइटीकालाई पर्वको सबैभन्दा विशेष दिन मानिन्छ । तिहार पर्व यमराज र बैनी यमुनासँग जोडिएको छ। तिहार पर्वमा दीपावली गर्ने, देउसी-भैलो खेल्दै रमाइलो गरी मनाउने गरिन्छ ।

यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यमराजको दुत मात्र होइन कुकुर ! कुकुर आज्ञापालक एवं रक्षक पनि हो । कुकुरले विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि गर्दछ । कुकुरले घरको रेखदेख चोर, डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सुरक्षा प्रदान गर्दछ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । विशेष गरी कुकुरले जति सुकै दुःख कष्ट आइपरे पनि आफ्नो मालिकको साथ छोडदैन। त्यसैले मानिसले कुकुरलाई आफ्नो भरपर्दो साथीको रुपमा लिने गर्छन् । कुकुरको सुँघ्न सक्ने क्षमता असाधारण हुन्छ । तालिम प्राप्त कुकुरले बम-बारुद र लागूपदार्थ पनि सुँघेर पत्ता लगाउन सक्दछ। मानिसले आँखाले हेरेर आफू वरपरको कुरा थाहा पाउँछ भने कुकुरले सुँघेर थाहा पाउँछ । त्यसैले सेना, प्रहरीहरुले अपराधी पत्ता लगाउन पनि तालिम प्राप्त कुकुरको सहायता लिने गर्छन् । कुकुरमा प्राकृतिक प्रकोप आउनु पूर्वनै कुकुरले आफ्नो फरक गतिविधि तथा अस्वभाविक ब्यवहार मार्फ मानिसहरुलाई पूर्व सूचना समेत दिने गर्दछ ।

यमराजको द्वारपालका रुपमा स्वर्ग र नर्कको ढोकामा कुकुर रहने गरेको भन्ने पौराणिक कथन रहेको छ । त्यसैले कुकुरलाई तिहारमा पूजा गर्ने प्रचलन छ । कुकरलाई पुजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्गको यात्रामा समेत साथ दिएको मान्यता पनि छ । मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । कुकुर तिहारको दिन कुकुरको पूजाआजा गरी खाना खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुन्छ भन्ने मान्यता छ । त्यसैले कुकुर तिहारको दिनमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरहरुलाई पनि माला र टिका लगाइदिएर खाना खान दिइन्छ ।

कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ। त्यसैले यस दिन विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ । तन्त्र साधनामा कुकुरलाई भयरहित भैरवका रुपमा पूजा गर्ने गरिन्छ । ऋगवेद अनुसार समरा अर्थात् कुकुरहरुकी आमाले र्स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ। कुकुरलाई धर्मको अवधारणागत उदारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।

कुकुर र मानिसको सम्बन्ध परापूर्वकाल देखिकै हो । सुरक्षाका लागि होस वा सोखकै रुपमा कुकुर पाल्ने चलन पुरानै हो । नेपाली समाजमा कुकुरलाई चाहे त्यो लेकमा गाईबस्तु र भेडाच्याङग्रा चराउने भोटे कुकुर होस या खाना खाएर चुठन निस्कँदा पुच्छर हल्लाउदै आउने स्थानीय जातका कुकुरहरु हुन् । घर गोठ अनि वालीनालीको सुरक्षा अहिले पनि धेरै कृषकहरुले कुकुरबाट लिने गरेका छन। आधुनिक युगको इतिहासमा पनि र्सव प्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो ।

त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिक प्रतिको बफादारीताको चलचित्र “हाछिको” आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ । संसारमा आजभोलि कुकुरकै सहयोगमा ठूला अपराधहरु पत्ता लगाउने गरिएको छ । नेपालमा प्रथमपटक २०३६ सालमा मलेसियाले उपहार स्वरुप चारवटा कुकुर सरकारलाई सुरक्षा एवं अपराध अनुसन्धान गर्नका लागि प्रदान गरेको थियो। हाल ती कुकुरहरुको संख्या ६० को हाराहारीमा पुगेको छ । ती कुकुरलाई केन्द्रीय प्रहरी तालिम स्कुल रानीबारी काठमाडौंमा प्रशिक्षण दिने काम भैरहन्छ । प्रहरीले ति तालिमप्राप्त कुकुरहरुलाई भिआईपीहरुको सुरक्षाको लागि प्रयोग गर्दछ भने अपराध खोजी अनुसन्धानमा प्रयोग गरि रहेका छन ।

कुकुर पाल्ने परम्परा संस्कृतिकै रुपमा विकास भएपनि मानव सभ्यतासँगै कुकुर पाल्ने प्रयोजन भने केही बदलिँदै आएको छ। संसारलाई हेर्ने हो भने अहिले कुकुरलाई अन्तरिक्षमा पठाउने, जासुसी कार्यमा लगाउने, र तालिमप्राप्त कुकुरलाई खेलकुदमा समेत सहभागी गर्ने काम धेरै देशमा हुँदै आएको छ । कुकुरमा सुँघने शक्ति मात्रहोइन अल्टासाउन्ड समेत पनि सुन्नसक्ने क्षमता हुन्छ । कुकुरको स्मरण शक्ति समेत तिक्ष्ण हुन्छ । एकपटक देखेको मानिस वा अन्य चिजलाई कुकुरले भुल्दैन । कुकुरको निन्द्रा पनि पातलो हुन्छ । यस कारण रातको समयमा सबै घटनाहरु पत्ता लगाई भुकेर मानिसलाई थाहा दिन्छ । आजभोलि कुकुर सुरक्षा र ब्यक्तिगत सोखका रुपमा पनि पाल्न थालिएको छ । नेपालमा अहिलेसम्म ४५ जातिका कुकुरहरु विदेशबाट पाल्न ल्याइएका छन् । यसरी विदेशबाट ल्याइएका ठूला जातका कुकुरमा एल्सेसियन, ग्रेटडेन, जर्मन सेर्फड, डोरम्यान, ल्याब्राडर, बक्सर, डयाल्मेसियन, बुलडग प्रजातीका छन् । यसैगरी, घरमा पालिने साना जातका कुकुरहरुमा जापानी स्पिटस, ल्हासा आम्लो जस्ता कुकुरका प्रजातीको माग बढिरहेको छ ।

यसरी कुकुर काठमाडौं, पोखरा, बिराटनगरजस्ता ठूला सहरमा पालिएको छ । अहिले नेपालमा कुकुर झिकाउने केनल क्लव ब्यवसायी रुपमा अगाडी बढेको छ । घरमा पालिने उन्नत जातका कुकुरहरु केनल क्लवबाटनै भारतलगायत तेस्रो देशबाट आयात गरिन्छ भने कतिपयले आफैं विदेशबाट आउँदा पनि ल्याउने गरेका छन् । संसारमा कुकुरका जातिअनुसार मानिसले पकेटमा राख्न सकिनेदेखि लिएर ठूला साइजमा समेत कुकुर पाइएको छ । अहिलेसम्म गिनिज बुकमा नाम लेख्न सफल भएको कुकुर अमेरिकामा छ । अमेरिकाको मिचिगनास्थित डेनिज डुर्गालले पालेको गे्रडडेन जियस नामको त्यो कुकुर ७ फिट ४ इन्च अग्लो छ । ३ वर्ष उमेरको त्यो कुकुर विश्वकै हालसम्म अग्लो कुकुर मानिन्छ । यसको लम्बाई २.२ मिटर छ ।

कुकुरका सौखिनहरुले बजारमा विभिन्न जातका कुकुरहरु पाउन थालेपछि कुकुरको मूल्य पनि आकासिएको छ । चिनको सान्सी प्रान्तकी एक महिलाले तिब्बती प्रजातीको याङजेनदी नम्बर दुइ नामको कुकुरलाई उनले ४ करोड ५१ लाखमा किनेर विश्वकै हालसम्मको महंगो कुकुरलाई मूल्य कायम राख्न सफल भएकी छिन । कुकुर पाल्ने मात्र होइन कुकुर पाल्नेहरुमा कुकुरप्रति माया पनि बढन थालेको छ। अमेरिकामा एक जोडिले आफूले पालेको कुकुरको मृत्युको पीडा सहन नसकी २ करोड रकम खर्च गरेर कुकुरको क्लोन गराएका छन् । क्लोन गराउनु भनेको नयाँ कुकुर जन्माएर सबै गुण एवं हाउभाउ मृत्यु भएको कुकुर बनाउनु हो । यस्तो चिकित्सा प्रविधिलाई क्लोन प्रविधि भनिन्छ। यसरी तयार पारिको कुकुरको नाम लालसेन इनकोर राखिएको छ। यो कुकुर संसारकै व्यवसायिक क्लोन प्रविधिको कुकुर मानिन्छ ।

नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मंगोलियामा पाईने कुकुरको जातिमा ठूलो टाउको र अजङको जीउ हुने यो रिसाहा र आक्रामक स्वभावको कुकुर हो। कुकुर अति इमानदार र बफादार स्वभावको हुने भएकाले भोटे कुकुर विश्वमै विशिष्ट ठहरिएको छ । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक रहेको छ । तर माग अनुसार पूर्ति भने हुन सकिरहेको छैन। नेपालबाहिर एउटै छाउरा-छाउरीको कम्तिमा पनि १ हजार २ सय अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम मूल्य १५ लाख अमेरिकी डलरसम्म रहेको छ । शौख र सुरक्षा दुबै उद्देश्यले पालिने कुकुरको व्यापार पनि अब सानो अंकमा सिमित रहेन । कुकुर र यसले खाने दानाका लागि विदेशी बजारमा निर्भर रहनुपरे पनि शौखका कारण बजार निकै बढेको छ।

कुकुरलाई परिवारका सदस्य जस्तै ठानेर पाल्ने पश्चिमा संस्कृतिले हुनेखाने वर्गमा निकै खर्च बढन थालेको छ । एक वर्षो अवधिमा काठमाडौंमा मात्रै २५ करोड रुपैयाँ बराबरको कुकुर तथा कुकुरसँग सम्बन्धित सामानको व्यापार हुने गरेको छ । यो तथ्याङ्क हरेक वर्षत्रि्र गतिमा उकालो लाग्दै छ । राजधानीमा खुलेका केनल क्लव संख्याले पनि कुकुरको व्यापार बढाएको छ । अहिले काठमाडौंमा रहेका ४० भन्दा धेरै केनल क्लवमार्फ कुकुरको व्यापार हुँदै आएको छ। यी केनल क्लवमार्फ करिब ५० जातका स्वदेशी तथा विदेशी कुकुरको व्यापार हुने गरेको छ । अहिले एउटा केनल क्लवले मात्रै वाषिर्क एकसयवटा भन्दा धेरै कुकुरको व्यापार गर्न थालेका छन । अहिलेसम्म कुकुरको किनबेच राजधानी केन्द्रित छ । नेपालमा व्यापार हुने मध्ये सबैभन्दा महँगो कुकुर एक लाख ५० हजार रुपैयाँसम्मको रहेको छ । बुल डग जातको कुकुर नेपालमा व्यापार हुने मध्येको अहिले सम्मकै महँगो मानिन्छ ।

कुकुरलाई घरपालुवा जनावरको रुपमा १२ हजार वर्ष अघिदेखि मानिसले पाल्न थालिएको अनुमान छ । आजभोली मानिसले कुकुरलाई बिभिन्न प्रशिक्षण दिन थालेका छन् । गाईबस्तु चराउन, घर हेरचाह गर्न प्रयोग गरिदैं जाँदा पछि शिकार गर्न र मित्रता बढाउनका लागि मानिसहरुले विभिन्न नस्लका कुकुरहरु पाल्न थालेका हुन् । १९औं शताब्दिपछि मानिसले विभिन्न जातको कुकुर पाल्न थालेको हुन्। कुकुर समूह विश्वमा प्राचीन इजिप्ट र पश्चिम एसियाका मानिसहरुले फरक-फरक कामका लागि फरक जातको कुकुर पाल्ने गर्दछन । कुकुर्नीले नौ हप्ताको गर्भिणी भएपछि छाउरा छाउरी जन्माउँछ । भर्खर जन्मिएका छाउरा छाउरीले आँखा देख्दैनन् र बहिरा हुन्छन् । १० देखि १२ दिनपछि कुकुरका छाउराले आँखा खोल्छन् भने १३ देखि १७ दिनपछि मात्र छाउराले सुन्न थाल्दछन् । जन्मिएको ३ देखि ५ हप्ता पछि मात्र कुकुरको दाँत आउन थाल्दछ। कुकुरको नाक जहिले पनि भिजेको हुन्छ किनभने यसले हावामा भएका सुगन्धहरु लिन मद्दत गर्दछ ।

घरपालुवा जनावरमध्ये कुकुर धेरैको प्रिय बनेको छ। घर पुग्दा पुच्छर हल्लाउँदै ढोकासम्म आउने र पछ्याउने विशेषताले पनि धेरैले कुकुरलाई घरमा राख्न मन पराउँछन् । यदि तपाईंको घरमा कुकुर छ वा कुकुर राख्ने विचार गर्दै हुनुहुन्छ भने तपाईं जहिले पनि सचेत भने हुनै पर्दछ । कुकुर जतिको उपयोगी हुन्छ, उतिनै खतरनाक पनि हुन्छ । रेबिज रोग लागेको कुकुरले मानिसलाई टोक्यो भने मानिसलाई पनि रेबिज रोग र्सदछ । तसर्थ कुकुर पाल्ने मानिसहरुले कुकुरलाई नियमित भ्याक्सीन लगाउन पर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker