बन्दिपुरको उत्थान, मुर्झन र पुनरोत्थान
देव बस्न्यात

विषय प्रवेश
तनहुँ पहिला पाल्पा राज्यको अभिन्न अंग थियो । पहाडकी रानी देखेरै मुकुन्दसेनले बन्दिपुरको बसाइ बिस्तार गरे । तत्कालीन समयमा बन्दिपुर मगर, क्षत्री, बाहुन र दलितहरुको बाक्लो बस्ती रहेको थियो । गोरखाले राष्ट्र एकीकरणको गरेको समयमा गोरखाले काठमाडौं र ललितपुर माथि विजय प्राप्त गर्यो । राज पृथ्वीनारायण शाह एक वर्ष प्रतिक्षा सूचिमै रहे । काठमाडौंको नरेश जयप्रकाश मल्लले रणजीत मल्लका मठ्या छोराहरु अजित सिंह र अवधुत सिंहलाई आत्मसमर्पण नगर्न कर गरे । आखिर भक्तपुरबाट राजा रणजीत मल्लको केही खबर आएन । राजा बन्न आतुर देखिएका शुरप्र्रताप शाहले वि.सं. १८२६ कार्तिक २८ गते (१० नोभेम्वर १७६९) गतेका दिन भक्तपुरमा धावा बोले । तलेजु मन्दिर चढेर भाग्न लागेका जयप्रकाश मल्ललाई गोरखाली सेनाको गोली लाग्यो । जयप्रकाश मल्ल ढले पछि अरुले आत्मसमर्पण गरे । यस युद्धबाट ज्यान जोगाएर भागेका कतिपय नेवारहरु यत्र तत्र छरिन पुगे । सुरक्षित बासस्थलको खोजी गर्दै भक्तपुरबाट पश्चिम तर्फ लागेका पिया, प्रधान, जोशी र श्रेष्ठ थर लगायतका केही नेवारहरु वि.सं. १८२६ मै काठमाडौं देखि जुम्ला जाने पहाडी हुलाकी मार्ग हुँदै लमजुङको तार्कुघाट आइपुगेका थिए ।
त्यहिबाट पश्चिम नलागि उनीहरु मर्स्याङदी नदीको किनार किनारै बन्दिपुर आइपुगेका र त्यही स्थायी बसोबास गरेका देखिन्छन् । वि.सं. १८३२ देखि १८५७ को बिचमा पटक पटक गरी तिनै नेवारहरुले आफ्नो पुरानो थातथलोमा आएर भक्तपुरे शैलीका घरहरु बनाए । बीचको बाटो बन्दिपुरे स्लेट छापेर चिटिक्क बनाए र सुरक्षित बासस्थल र व्यापार पनि हुने स्थानको छनौट गर्दै नेवारहरुले बन्देथोकलाई बन्दिपुर बनाए। त्यही बन्दिपुर कुनै समय मुकुन्दसेनको मुकाम रजस्थल, तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनको अन्तिम राजधानी पनि थियो । वि.सं. १९३७ सालदेखि तनहुँको जिल्लाको जिल्ला प्रशासन केन्द्र, वि.सं.१९७५ देखि पश्चिम माझखण्ड (भन्सारटार)मा बडाहाकिम कार्यालय, वि.सं.१९८०/८१ देखि बन्दिपुरमा बडाहाकिम कार्यालय र १९८१/८२ बन्दिपुरको बढी गोश्वार पोखरा सरी छोटी गोश्वारा रहेको थियो । वि.सं. १९८५ सालमा चन्द्र शमशेरले प्रायस मिलसियाहरुलाई गोश्वरामा परिणत गरेका हुन । तिनै गोश्वराहरु जिल्ला प्रशासन कार्यलयमा रुपान्तरित भएका हुन् । वि.सं. २०२५ सालमा सदरमुकाम दमौली सर्नाले मुर्झाएको बन्दिपुर अहिले ‘पहाडकी रानी पर्यटनको खानी’ बनेर प्रसिद्धि कमाएको छ ।
राजा मुकुन्दसेनकै पथमा राजा कामरीदत्तसेन
बाइसे चौविसे कालमा बि.सं. १६१० कालमा पाल्पाका राजा मुकुन्दसेनले छोराहरुलाई प्रमुख शासक बनाएर आफु तपश्वी बनेपछि भाइभाइमा कलह भयो । यही कलहको बीजले पाल्पा राज्य टुक्रटुक्रामा विभाजन हुनपुग्यो । तनहुँमा भृङ्गी सेन, ऋषिङमा रामसेन, रामनगरमा कुबेर, पाल्पामा माणिक्य सेन, बुटवलमा विनायक सेन, मदरीयामा खड्गसेन, प्यूठानमा उग्रसेन र मकवानपुरमा लोहाङ सेन राजा बन्न पुगेका थिए । भृङ्गीसेनको मरणोपरान्त तनहुँ राज्य मिर्लुङकोट र तनहुँमा विभाजन हुन पुग्यो भने मकवानपुर, विजयपुर चौदण्डी र मकवानपुरमा विभाजन हुन पुगेको थियो । राजा दामोदर सेनको पालामा भने रामनगर राज्य अपुताली पर्न आएको थियो । यसैगरी भाइभाइ बीचको कलहले राजा दिग्विजय सेनको तनहुँ राज्य पनि धन्यै धन्यै विभाजनको संघारमा पुगेको थियो । तथापि राजा दिग्विजय सेनको चलाखीले तनहुँ राज्य विभाजन हुनबाट जोगिई मिर्लुङ, ढोर, ऋषिङ्ग गलेखामकोट, गजरकोट र घिरिङ समेतलाई एकीकृत गरी तनहुँ विशाल राज्य बन्न पुगेको थियो । भृङ्गी सेनदेखि त्रिविक्रम सेनको समयसम्म येनकेन प्रकारेण तनहुँको शासन प्रशासन भाइअंश नलागि शान्तिपूर्वक चलिरहेको थियो । तर तनहुँका राजा कामरीदत्त सेन र भाइ हरकुमारदत्त सेन बीच भित्रभित्रै खटपट चलिरहेको थियो । दाजु कामरीदत्त सेन तनहुँसुर बसेर शासन गर्दा भाइ हरकुमारदत्त सेन बन्दिपुर भेकमा, विचित्र सेन उपरदाङगढीमा र जानकीदत्त सेन रामनगरका प्रशासक बनेर रहेका थिए । राजा कुमारदत्तसेनले बन्दिपुर हुस्लाङमा चौकी स्थापना गरी भाइ हरकुमारदत्त सेनलाई भोट मधेश आउजाउ गर्ने व्यापारी र बटुवाहरुको छड्के चेक जाँच गर्न खटाएका थिए । (श्रोत- बन्दिपुर सदरमुकामको वीजारोपण र पटाछेप (इश्वर गोपाल प्रधान)
राजकुमार हरकुमारदत्त सेन र गोरखाका सेना बीचको सम्वन्ध
यता दाजुको बढदो पेलाइले हरकुमारदत्तसेनलाई चित्त बुझेको थिएन । उता तनहुँ राज्यको फिरङ्गीहरुको देशसंग सिमाना जोडिएकाले फिरङ्गीहरु पहाड आउन सक्ने भयले गोरखा तनहुँसंग बढी चिन्तित बनेको थियो । दाजुको पेलाई र गोरखाली सेनाको सल्लाहले राजकुमार हरकुमारदत्त सेन बिस्तारै गोरखासंग लहसिंदै गए । गोरखाली सेनासंग मिलेको आरोपलगाई हरकुमारदत्तसेनलाई यातना दिइएको हुनाले उनी गुल्मीको मामाघर गएर बसेको कुरा पूर्वजहरुले आफ्ना पूर्वजहरुबाट कहेको कथा सुन्दै र भन्दै आएको पाउँदछौ । उता गोरखाली राजा पृथ्वीनारायण शाहले उही समयमा मामा कामरीदत्त सेनलाई तनहुँको अधिनमा रहेको फुस्रेटार नजिकको बाङ्गे रहमा बिना हातहतियार भेलाभई दुइ देश बीच नयाँ सम्झौता गर्नका लागि बोलाएका थिए । दुबै पक्ष बीच वृहत छलफल भयो । छलफलबाट सहमती हुन नसकेपछि मल्ल युद्ध भयो ।
मल्ल युद्धमा तनहुँले गोरखालाई पराजय उन्मुख बनाएपछि गोरखालीहरुले बालुवामा लुकाएको हतियार झिकी तनहुङ्गे सेना माथि जाइ लागे । निशस्त्र फुस्रेटार पुगेका तनहुँका सेना र राजा पनि त्यहाँबाट भागे । लादीखोला आइपुग्दा गोरखाली सेनाले तनहुँले सेनाको पेटमा बन्दुकको संगिनले घोची मानब लादी बगाएको क्षेत्र हुनाले त्यस खोलालाई लादिखोला भन्न सुरु गरिएको हो । अन्ततः तनहूँसुरको रानीस्वाँरामा बन्दुकको गोली लागि घाइते भएका राजा कामरीदत्त सेनको ढुकुटीघरमा मृत्यु हुन गयो । कामरीदत्तसेनको मरणोपरान्त गोरखाली सेनापति माहिलाहरुले माहिला राजकुमार हरकुमारदत्त सेनलाई व्यास-१ को भादगाउँ माथिको माहिलो डाँडोमा गोरखाको अधिनता स्वीकार्न लगाइ तनहुँको राजा बनाए ।
तनहुँ राज्य गोरखामा विलय
बन्दिपुरको दक्षिण क्षेत्रमा रहेको हुस्लाङकोटबाट तनहुँले उठाउँदै आएको सिर्तो गोरखाले उठाउन सुरु गर्यो । वि.सं. १८३९ मा तनहुँको तनहुँसुर खण्ड गोरखाको हातमा गयो। राजा हरकुमारदत्त सेन लमजुङ, मनाङ, पर्वत पाल्पा हुँदै रामनगर पुगे । बन्दिपुर खण्ड अझै तनहुँको अभिन्न अङ्ग रहेकाले हरकुमारदत्त सेन बन्दिपुरको पुरानकोटबाट राज्य सञ्चालन गरेका प्रमाणहरु पाइएका छन् । सत्रसय बाहुन भञ्ज्याङ हुँदै चन्द्रकोट आइपुगेका अमरसिंह थापा, वमशाह र अभिमानसिंह बस्न्यातले बन्दिपुरको पूर्व खण्ड अधीनमा लिइ बन्दिपुर माथि आक्रमण गरे। राजा हरकुमारदत्त सेन बन्दिपुरबाट पुनः रामनगर पुगेका थिए। रामनगर पुगेका राजा हरकुमारदत्त सेन बेलामौकामा गुमेको आफ्नो तनहुँसुर राज्य तर्फ फर्केर टोल्हाएर बस्ने गर्दथे भन्ने सुनिन्छ ।
वि.सं. १८६० मा भारतमा निर्वासित भएका नेपालका स्वामी महाराज रणबहादुर शाह वनारसबाट काठमाडौं फर्कदा छोरी तेजराज्यलक्ष्मी र छोरीज्वाई तेजप्रताप सेनलाई समेत संगसंगै काठमाडौं लगेका थिए । लामो समयसम्म छोरी तेजराज्यलक्ष्मीलाई रामनगर पनि नपठाउने र पैतृक राज्य तनहुँ पनि हडप्ने रणबहादुरको व्यवहार ठिक नलागेकाले वि.सं. १८७३ मा भएको नेपाल भारत युद्धमा रामनगरका राजा तेजप्रताप सेनले ब्रिटिस इष्ट इण्डिया कम्पनीलाई सहयोग गर्न भाइ अमरप्रताप सेनको नेतृत्वमा सेन पठाएका थिए । सन १९५१ मा भारतले जमिन्दारी राज्य अन्त्य गरेपछि भारतमा रहेको तनहुँको बिरासत राज्य रामनगरको अस्तित्व पनि समाप्त हुन पुगेको हो । (श्रोत-तनहुँसुर र सेरोफेरो (देव बस्न्यात)
प्रमुख व्यापारिक केन्द्र बन्दिपुर
पृथ्वीराजमार्ग सञ्चालन र सदरमुकाम दमौली नसर्दासम्म पश्चिमक्षेत्रको एक प्रमुख व्यापरिक केन्द्र थियो बन्दिपुर । यहाँका साहुहरुले भारतका ठोरी नरकटियागञ्ज लगायतका ठाउँहरुबाट सामान बन्दिपुर ल्याउने र यहाँबाट तनहुँ, कास्की, लमजुङ र गोरखाका लागि सामान पठाउने गर्दथे ।(श्रोत : बन्दिपुर प्रकृति र इतिहासको संगम थलो -हेमराज दाहाल (रातोपाटी) बन्दिपुरको प्रगतियुक्त जीवनशैलीलाई हेर्दा वि.सं. १९८६/८७ साल तिर पनि बन्दिपुरेहरुले भारतसंग मात्रै झण्डै १५ लाख बराबरको व्यापारिक कारोवार गरेका थिए ।
नेवार बाहेकका यहाँका अरु बासिन्दाहरु विशेष गरेर सेनामा जागिर खाएर आय आर्जन गर्दथे । क्षत्री बाहुनहरु नेपाली सेनामा जागिरे भएतापनि गुरुङ मगरहरुको पहिलो रोजाइ ब्रिटिस र भारतीय सेनानै पर्दथ्यो । लाहुरेको रवाफ देखेका यहाँका दलितहरु पनि थर लुकाउँदै भारतीय सेनामा भर्ती भएको इतिहास पाइन्छ । वि.सं. १९९० देखि वि.सं. २०२०/०२१ सम्मको समयलाई बन्दिपुरको स्वर्णकाल (उत्थान) मान्न सकिन्छ । (श्रोत : बन्दिपुर तथा बन्दिपुर क्षेत्रको आर्थिक विकास परम्परा (डिल्लीराम मिश्र)
पश्चिम माझखण्ड भन्सारटार र बन्दिपुर
नायव बहादुर शाहको पालामा तनहुँको चन्द्रकोट, पुरानकोट, हुस्लाङकोट तथा मुकुन्देश्वरी गढीहरुको निर्माण भयो । वि.सं. १८४१ पश्चात तनहुँको मधेश, तनहुँसुर र बन्दिपुरको पहाडी खण्डमा समेत गोरखाको आधिपत्य जमेपछि तत्कालीन नेपाल सरकारले लमजुङ तनहुँ र गोरखा प्रशासन हेर्ने गरी ठेउराटार (भन्सार)मा प्रशासनिक इकाइ गठन गरेको थियो । बाहृय -भारतीय इष्टइण्डिया कम्पनी) सुरक्षाको दृष्टिकोणले वि.सं. १९३७ को आसपासमा बन्दिपुर बजारमा मिलिसिया खडा भएको हो । मिलिसिया खडा हुँदा बन्दिपुरको टुंडिखेलमा तोपखाना, भैंसेखारमा बारुद बनाउन कारखाना सिलखाना र छाउनीबारीमा सैनिक ब्यारेक बनाइएको थियो । श्री ३ वीरशमशेरले नेपाललाई ३३ जिल्लाबाट ३५ जिल्लामा कायम गरेपछि तनहुँको ठेउँराटार (भन्सारटार)लाई पश्चिम माझखण्ड नामाकरण गरी अहिलेको भीमसेन गढीमा बडी गोश्वाराको कार्यालय स्थापन गरी कामकाज सञ्चालन गरिएको थियो ।
मर्स्याङदी उपत्यकामा रहेको भन्सारटार औलमय स्थान भएकोले यसक्षेत्रमा हिउँदको महिनामा डिट्ठा-बिचारीहरु आई दुनियाँदारको पिर मर्का बुझ्ने र न्याय-निसाफ दिने गर्दथे। मुद्दा छिनोफानो हुन नभ्याइएमा त्यस्ता मिसिलहरु पोको पारी काठमाडौं लग्ने गर्दथे । पश्चिम माझखण्डमा सरकारी अड्डा सञ्चालन गर्दै जाँदा बेलाबेलामा त्यहाँ आउने औल, हैजा र खबाटे जस्ता रोगहरुको महामारीले मानिसहरु भन्सारबाट पलायन भएर बसाइ सर्नेको संख्या दिन प्रतिदिन बढ्दै गयो । बिस्तारै भन्सारटारको बस्ती पातलियो । यहाँ आउने कर्मचारीहरु भन्सारटारमा बस्न डराए। रोग लाग्ने डरले बन्दिपुरमै बसी अड्डा जमाए । भर्खर भर्खर भक्तपुर काठमाडौं र ललितपुरबाट बसाइ सरी आएका नेवारहरुले अन्नपात बेसाह गर्न नसक्दा दुनियादारलाई साह बेसाह -भरणपोषण)को व्यवस्था गर्न सकेनन् । बन्दिपुर पुगेको अड्डा भन्सार सारी पाउँ भन्ने निवेदन हुँदा पश्चिम माझखण्डको अड्डाअदालत पुनः बन्दिपुरबाट भन्सारमा नै सारिएको थियो । रोगव्याधका कारण भन्सारमा बस्न नसक्ने नै भएपछि भन्सारमा रहेका अडाअदालतहरु वि.सं. १९७५ मा बन्दिपुरमै सर्न पुगेका हुन् । (श्रोत : बन्दिपुर सदरमुकामको वीजारोपण र पटाछेप (इश्वर गोपाल प्रधान)
पाल्पा गौंडा अन्तर्गतका पश्चिम १,२,३,र ४ नं का मिलिसियाहरु वि.सं. १९८४/८५ मा गोश्वारामा परिणत भएका हुन् । पहिले पहिले पश्चिम ३ नं. को बढीगोश्वरा बन्दिपुरमा नै रहेको थियो । तर बन्दिपुरका बडाहाकिम हिक्मतसिंह कुवंर स्त्रीलम्पटका हुनाको कारणले बन्दिपुरमा रहेको बडाहाकिमका साथसाथै बडाहाकिमको कार्यालय पनि पोखरा र्सन पुगेको र तत्पश्चात बन्दिपुर छोटी गोश्वारा कार्यालय स्थापना भएपछि छोटी गोश्वाराका हाकिम बनेर बन्दिपुर निवासी लप्टन पृथ्वीबहादुर पाण्डे आएका थिए भनिन्छ । (श्रोत : बन्दिपुरकी आरध्यदेवी खड्गदेवी(डा. विष्णु बहादुर भण्डारी)
भन्सारमा रहेका अड्डाहरु बन्दिपुर सरेपछि तनहुँसुर हटियामा रहेका शेष अडाअदालत, तहसिल कार्यालय, धान गोदामहरु पनि वि.सं. १८९३ सम्ममा बन्दिपुर बजारमा र तनहुँसुरको पुरानो मिलिसिया पल्टन वि.सं. १९९४ सालमा कुन्छा बजारमा र्सन पुगेको थियो । विशेष चाँजोपाँजो मिलाई बन्दिपुरगढी संगसंगै मालअड्डा, औषधालय, हुलाक र मिलिसिया राखिएका थिए भने तीनधाराको चउर नजिकै जिल्ला अदालतको भवन बनाइएको थियो ।
सदरमुकाम सराइका कुराहरु
श्री ३ वीरशमशेरले वि.सं. १९५२ सालमा ३५ जिल्लामा विभाजन गरेका थिए । जुन वि.सं २०१८ सालसम्म यथावत रहेको थियो । वि.सं. २०१८ सालमा राजा महेन्द्रले नेपाललाई १४ अञ्चल ७५ जिल्ला घोषणा गरेपछिनै बन्दिपुर, तनहुँ जिल्लाको सदरमुकाम बन्न पुगेको थियो । जिल्लाको सदर मुकाम घोषणाका साथसाथै बन्दिपुरमा रहेको सदरमुकाम दमौली भन्सार, खैरेनीटारमा सार्ने विषयमा चलखेल पनि बढ्दै गयो । वि.सं. २०१९ सालमा गृहमन्त्री विश्वबन्धु थापा तनहुँ आउँदा गण्डकी अञ्चलस्तरीय पञ्चहरुको भेलामा स्याङजाको स्याङजाको ढोरक्षेत्र तनहुँ जिल्लामा मिलाउने तर बन्दिपुरको सदरमुकाम अन्यत्र नसार्ने सहमती भएको थियो । सहमती विपरित वि.सं. २०१९ सालमा अञ्चलाधीश नन्दबहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले बन्दिपुरमा रहेको सदरमुकाम दमौलीमा सार्ने निर्णय गर्यो ।
बन्दिपुरको सदरमुकाम दमौली र्सर्ने सूचना टाँस गरे । त्यही निर्णयलाई वि.संं. २०२० बैसाख २३ गते बसेको तनहुँ जिल्ला पञ्चायतको बैठकले अनुमोदन गरेको थियो । बिस्तारै सदरमुकाम सार्ने र नसार्ने बीचमा लविङ सुरु हुँदै गयो । बन्दिपुरेहरु २०२३ असार महिनामा अड्डा नसार्न गृहमन्त्रालयमा डेलीगेसन पनि गए । तनुहँका धेरै गाउँ पञ्चायतका पदाधिकारीहरुसंग भेट गरेर सदरमुकाम सार्न हुँदैन भन्ने लविङ पनि गरे । अन्ततः बन्दिपुरबाट दमौली सदरमुकाम र्सार्न तनहुँवासीलाई बन्दिपुर जान आव्हान गरियो । तनहुँका असंख्य व्यक्तिहरु सहभागी भए । बन्दिपुरे र अड्डाका मालसामान ओर्सार्न जाने नागरिकहरु बीच झडप भयो । यसै झडपमा निर्मल रानाभाटले सहादत प्राप्त गरे भने गल्बुबेसीका श्रीबहादुर गिरी, छाङका वीरबहादुर मल्ल, धनेश्वर लगायत धेरैजना घाइते भए । अन्ततः २०२५ साल फागुन २ गतेका दिन बन्दीपुरमा रहेको तनहुँ जिल्लाको सदरमुकाम बन्दिपुरबाट दमौलीमा सर्न पुगेको थियो ।
काठमाडौं पोखरा पृथ्वीराजमार्ग बन्ने र सदरमुकाम दमौली सरेपछि बन्दिपुरेहरुको व्यापार चौपट्ट भयो । दुबै कुराले ठगिएका बन्दिपुरेहरु आखिरमा पैतृक थातथलो छोड्न विवस बने । सम्पन्नशाली व्यक्तिहरु चितवन लागे, अलि हुनेखानेहरु बिमलनगर र डुम्रे ओर्लिए । अड्डा अदालत लेखापढी गर्ने केही सिमित व्यक्तिहरु मात्र सदरमुकाम दमौलीमा आइपुगेका थिए । जे होस जिल्ला प्रशासन, अदालत जिल्ला पञ्चायत, जिल्ला प्रहरी ठाना लगायतका जिल्ला कार्यालयहरु दमौली सरेता पनि जिल्ला हुलाक कार्यालय र जिल्ला अस्पताल भने बन्दिपुरमा नै रहने भएका थिए ।
डुम्रे-बन्दिपुर मोटरमार्ग श्रीभद्र शर्मा खनाल
वि.सं. २०१७ साल पौष १ गतेका दिन राजा महेन्द्रले बहुदलीय शासन व्यवस्थाको घाँटी निमोठेर नेपालमा पञ्चायती व्यवस्थाको सुत्रपात गरेपछि प्रधानमन्त्री वि.पि. कोइराला, नेपाली कांग्रेसका महामन्त्री श्रीभद्र शर्माहरु जेल परेका थिए । वि.सं २०२७ साल तिर श्रीभद्र जेलबाट छुटेर घर आएर बसेका थिए । श्रीभद्र शर्मा, हिरालाल र जिल्ला प्रशासन कर्यालयका प्रमुख जिल्ला अधिकारी राजेन्द्रपुरुष ढकाल बीच छलफल भयो । दमौली पुगेको सदरमुकाम बन्दिपुर सार्ने प्रयास गर्नु भन्दा बन्दिपुरलाई नयाँ सिराबाट विकास गर्न सर्वप्रथम डुम्रे बन्दिपुर मोटरमार्ग खोल्नमा सबैले ऐक्यबद्धता जाहेर गरे । तत्कालै हिरालाल श्रेष्ठले रु १५०००/- सहयोग गर्ने निर्णय गरे । सहयोग गर्नेको ताँती नै लाग्यो । सबै जना मोटरमार्ग सर्भे गर्न श्रीभद्रसंगै डेलीगेसन जान तयार भए । पृथ्वीराजमार्ग निर्माण कार्यमा खटिएका प्राविधक टोलीसंग भएको छलफलको निष्कर्षको केही समय भित्रै मोटरमार्गको नक्साँङ्कन तयार भयो । नक्सा हातमा पर्ना साथ तुरुन्तै मोटरबाटो खन्नेकाम सुरु भयो । त्यस बखत जिल्ला पञ्चायत तनहुँले पनि यस मार्गलाई हरेक वर्ष बजेट विनियोजन गर्दै गयो। विस्तारै मोटरबाटो बन्यो । आजपुरै बाटो पिच भइसकेको छ । (श्रोत बन्दिपुरकोबाटो (एक सम्झना : श्रीभद्र शर्मा खनाल(स्मारिका २०६१)
बन्दिपुरको सदरमुकाम सरेपनि एस.एल.सि. परीक्षा केन्द्र बन्दिपुरको भानु मा. वि. तोकियो । सदरमुकाम सरेको पीडामा यस कार्यले बन्दिपुरेलाई मल्हमपट्टी भने गरेको थियो । तनहुँमा एउटा क्याम्पस खोल्न पाइने भयो । दमौली, बन्दिपुर, खैरेनीटार र चुंदीले दावी गरे । अन्तत क्याम्पसको कोटा पनि बन्दिपुरको पोल्टामा नै पर्यो । क्याम्पसले, बन्दिपुरको उचाइ बढाउन सहयोग गर्यो ।
पर्यटन व्यवसायले बौरिएको बन्दिपुर
विकासको पूर्वाधार यातायात हो । आउने जाने मोटर मार्ग सुरु भएपछि बन्दिपुरले पर्यटन विकासमा हात बढायो । वि.सं. २०६० सालको चैत्र महिनामा प्रथम बन्दिपुर महोत्सव सम्पन्न भयो । यस महोत्सवले लगभाग २५० वर्ष पुरानो संरचना, प्रकृति र मानव निर्मित संस्कृतिले सिंगारिएको बन्दिपुर शहरलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय गराउनमा सहयोग पुर्यायो ।
बन्दिपुर बजारबाट उत्तर फर्कदा देखिने लाङटाङ, गणेश, बौद्ध, अन्नपूर्ण, धौलागिरी, मनासलु, हिमचुली काञ्जीरोवा र जुगल हिमालहरु र मर्स्याङदी नदीले गोरखा र तनहुँमा बनाएको उपत्यका, महाभारतीय पर्वत श्रृंखलाहरुको अनुपम दृष्यहरु देख्न सकिन्छ । हिउँदको महिनाभर मर्स्याङदीमा लाग्ने स्वेतसागर (कुहिरो), बिमलनगरको संसारकै ठूलो गुफा, २००७ सालको क्रान्तिमा सहादत प्राप्त गरेकाहरुको सहिद स्मारक, रानीवन, सैनिक परेड खेल्ने टुंडीखेल, सुरक्षाको दृष्टिले निर्माण गरिएका रामकोट, चन्द्रकोट, हुस्लाङकोट र मुकुन्देश्वरी डाँडाहरुसम्मको हाइकिङ, बिमलनगरको चट्टान आरोहण र मर्स्याङदी नदीमा हुने जलयात्रा, गुरुङचे डाँडाबाट हुने प्याराग्लाइडिङ, खड्गमाई, विन्ध्यवासिनी, थानीमाई, महालक्ष्मी, महादेवका मन्दिर गुम्बा लगायतका धार्मिक सम्पदाको अबलोकन, झप्री, शेराटार बट्टार भित्री मधेशको झल्को दिने समथर थरुबास पर्यटनका थप श्रृंखलाहरु हुन । बन्दिपुरको बसाइ छोटाए पनि मनमा बन्दिपुरको अमिट छाप बोकेर बाहिरिएका बन्दिपुरे युवाहरुले पुर्ख्यौली थलोलाई सम्झीए । देश विदेशमा बन्दिपुरको यथार्थता पस्किए । वि.सं. २०४९ सालमा चिजकुमार श्रेष्ठले चलाएको बन्दिपुर सामाजिक विकास समितिले बन्दिपुरलाई पुनःजीवन दियो ।
अन्त्यमा आज पनि बन्दिपुरको पुरानोबजार पुरानै शैलीमा रमेको छ । यहाँका मगर एवं नेवारी संस्कृतिको संगमताले बन्दिपुर “पहाडको रानी पर्यटनको खानी” बन्नपुगेको छ । हरेक वर्ष बन्दिपुर जाऔं भन्ने भावना जागृत गर्यो । ललितपुर निवासी पर्यटन उद्यमी दिलेन्द्र श्रेष्ठ लगायतले बन्दिपुरमा इको कल्चरल टुरिज्म प्रोजेक्ट अन्तर्गत पुरानोबजारको मूलसडकलाई मोटर मुक्त बनाएमा बन्दिपुरमा पर्यटन फस्टाउँछ भने । आज बन्दिपुरको पुरानोबजार बन्दिपुरे स्लेट ढुङगाले छापिंदा बन्दिपुरले मृतसञ्जिवनी बुटी फेला पार्यो । जस्को परिणाम स्वरुप अहिले बन्दिपुर आएका पर्यटकहरुले आफ्नो गच्छ्य अनुसार बस्न पाउने घरबास र स्तरीय होटेलहरुको सुविधा प्राप्त गर्न सकेकाछन् । मुर्झाएको बन्दिपुर जुरक्क उठेको छ । यसैले सबैले भन्ने गर्छन “चम्की रहेछ बन्दिपुर” । आज जो सुकै होस एक पटक बन्दिपुर पुगौं पुगौं भनेर सम्झी रहन्छ । बन्दिपुर जान इच्छुक व्यक्ति जाने साथी र बजेटको व्यवस्थापन गर्दछ । अन्त्यमा तिनै व्यक्तिहरु बन्दिपुरको अनुपम प्राकृतिक सौन्दर्य र यहाँका संस्कृतिहरुको कोसेलीहरु बोकेर आफ्ना साथीहरुमा शेयर गर्दछन ।