व्यासभूमि : ज्ञान र सभ्यताको तपोभूमि
कृष्ण न्यौपाने/दमौली
अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्
परोपकारः पुण्याय पापाय परपीडनम् ।
तनहुँको दमौलीमा जन्मिएका महर्षी वेदव्यासले अठार पुराणको निचोड यसरी निकालेका छन्- परोपकार परे पुण्य मिल्छ, अरुलाई दुःख दिए पाप । महर्षि वेदव्यासको जन्म तनहुँको दमौलीमा भएको हो भनिएको छ जहाँ शिवपञ्चायन मन्दिर र मन्दिरको केही तलपट्टी व्यासगुफा छ । त्यहीँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको इतिहास भेटिन्छ। व्यास गुफाको पारिपट्टी परासर गुफा छ । परासर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
अठार पुराणका रचयिता महर्षी वेदव्यास जन्मिएको तनहुँको दमौली ज्ञान र सभ्यताको तपोभूमिका रुपमा विकास गर्नुपर्ने औँल्याइएको छ । विभिन्न प्रमाणले व्यासको जन्म दमौलीमा भएको पुष्टि गरे पनि यस ठाउँको सोचेअनुरुपको विकास हुन सकेको छैन ।
नजिकको तीर्थ हेला भनेजस्तो भएको छ यो ठाउँ । पूर्वीय सभ्यता र ज्ञानको तपोभूमि व्यासभूमिलाई यसै विषयको बृहत् अध्ययन अनुसन्धान गर्न सकिने खालको अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने आवाज यस क्षेत्रका व्यक्तित्वले उठाउँदै पनि आउनुभएको छ । व्यास क्षेत्र विकास कोषका महासचिव विष्णुभक्त सिग्देल व्यासभूमिको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “व्यासभूमिको विशिष्ट पहिचान छ, यसलाई ज्ञान र सभ्यताको तपोभूमिका रुपमा विकास गर्न सकिन्छ । तर तर सोचेअनुसार यसको विकास हुन सकिरहेको छैन ।”
व्यासभूमिको प्रचारप्रसारका लागि कोषको सक्रियतामा विभिन्न कार्यक्रम भइरहे पनि यो पर्याप्त नरहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “यो ठाउँ नजिकको तीर्थ हेला भनेजस्तो भएको छ ।”
पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी गरिँदै आइएको छ । यसलाई विभिन्न स्रोत तथा ग्रन्थमा प्रमाणित गरिएको भए पनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेको व्यासका अध्येता काशीनाथ न्यौपानेको भनाइ छ । “व्यास जन्मिएको ठाउँ, परासरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपथ्र्यो, तर त्यसो हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरिसके पनि प्रचारप्रसारको अभावमा यस क्षेत्रमा ओझेलमा परेको उहाँको भनाइ छ । व्यासको भूमिलाई विश्वमाझ चिनाउन बेलाबेलामा कार्यक्रम भइरहे पनि त्यसले मूर्त रुप पाउन नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवर्द्धन टेवा पुर्याउने उद्देश्यले बेलाबेलामा कार्यक्रम भइरहेकै छन् ।”
व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विश्वका हिन्दू धर्मावलम्बी र ओमकार परिवारको मूल तीर्थस्थल बनाउने उद्देश्यले केही वर्षअघि व्यासक्षेत्रमा १८ महिने अखण्ड हरिनामसमेत सम्पन्न भएको थियो ।
सोहीबमोजिम प्रत्येक वर्षको कात्तिक महिनाभर महामिलन पर्व आयोजना हुँदै आएको छ । यसपटक पनि कात्तिक १ गतेदेखि महामिलन पर्व जारी छ । वेद अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवर्द्धन टेवा पुर्याउने उद्देश्यले कात्तिक १ गतेदेखि एकमहिने महामिलन पर्व आयोजना गरिएको छ ।
विसं २०७४ कात्तिक १ गतेदेखि १८ महिनासम्म अखण्ड हरिकीर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरतास्वरुप प्रत्येक वर्ष कात्तिकमा यो कार्यक्रम आयोजना हुँदै आएको छ । महामिलन पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हीरण्यगर्भ भगवानी श्रीशालग्राम तथा पञ्चायन देवताहरुको षोडशोपचारले पूजा, वेद विभिन्न पुराण, रुद्री, चण्डी आदिको पाठ, धर्मगुरुबाट दैनिक वैदिक सनातनी धार्मिक प्रवचन लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ । यसका साथै विश्व हिन्दू महासंघ स्याङ्जाको आयोजनामा कात्तिक १६ गतेदेखि २३ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञसमेत आयोजना गरियो । यसको मुख्य उद्देश्य व्यासभूमिको प्रचारप्रसार थियो ।
नेपाल ऋषिप्राज्ञ तथा वरिष्ठ संस्कृतिविद् डा जगनमान गुरुङले व्यास ऋषिको जन्मभूमि, परासर ऋषिको तपोभूमि व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको बताउनुभएको छ । भगवान विष्णुको चौबिसौँ अवतारमध्येको एक अवतार भगवान वेद व्यासको ऋषिको जन्मस्थलमा बग्ने हिमनदीको पानी र कन्दमूल खाएर तपस्या गर्दा अलौकिक ज्ञान र शक्ति हासिल गर्न सकिने भएकाले सत्य, त्रेता, द्वापर र कली चारैयुगमा भारतीय ऋषिमुनि यहाँ आउने गरेको उहाँको भनाइ छ ।
विश्वहिन्दू महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेले व्यासभूमिको महत्वलाई विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो । व्यासगुफाका संरक्षक दामोदर बाबाले व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन प्रयास हुँदै आएको बताउनुभयो । विसं २०४१ सालमा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्मसभामा महर्षी वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्लामाहेन्द्री सङ्गम भएको धारणा व्यक्त गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रकाबारेमा थप अध्ययन अनुसन्धान हुन थालेको व्यासका अध्येता न्यौपानेको भनाइ छ ।
आजभन्दा करिब पाँच हजार पाँच सय वर्षअघि यस क्षेत्रमा व्यासको अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमी पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टकिो कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाका रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिएको छ ।
विश्वको सबभन्दा लामो (एक लाख श्लोक) र दोस्रो महाकाव्य ‘महाभारत’ पूर्वीय लौकिक संस्कृत साहित्यको ऐतिहासिक आर्ष ग्रन्थ र बृहत् ज्ञानराशि भएको धर्मग्रन्थमा महाभारत र पुराणका रचनाकार तथा चारै वेदका सम्पादक व्यासको तपस्यास्थल नेपालकै दमौली नजिकको गुफा हो भन्ने भनाइ रहेको छ ।
विभिन्न स्रोतका अनुसार व्यासको जन्म परासर र सत्यवतीबाट भएको मानिछ । घुम्दैफिर्दै एकदिन परासर ऋषि र सत्यवतीको भेट हुँदा परासर ऋषिले ऋतुदान लेउ भनी सत्यवतीसँग अनुरोध गर्दा सत्यवतीले ‘म यति सानी बालिका, तपाईं जवान मानिससँग कसरी ऋतुदान लिने’ भन्दा परासरले म तिमीलाई म जस्तै जवान बनाइदिन्छु भनी प्रतिज्ञा गरी सत्यवतीलाई आफू समान बनाएपश्चात् परासर र सत्यवतीका सम्बन्धबाट व्यासको जन्म भएको भनिएको छ । रासस