गुरुङ संस्कृति, पर्यटन र भुजुङ गाउँ
के.बि. मसाल

चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमश्रृंखला र हेरिरौ जस्तो लाग्ने पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम अनि पत्रे ढुङ्गाबाट बनेका गाउँ भित्रका बाटाहरु गाउँ भरिनै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा कुराकानी । गण्डकी प्रदेश लमजुङ जिल्लाको भुजुङ गाउँले बोकेको परिचय हो । लमजुङ हिमालको काख, मिदीम खोलाको छेउमा प्रकृति तथा सांस्कृतिले भरिर्पूण भुजुङ गाउँमा ५ सय घरधुरी एकै ठाउँमा गुजुमुज्ज परि बसेका छन् । परम्परागत र जीवन्त गुरुङ संस्कृतिको खानी, लोपोन्मूख कुसुण्डा घाँटु, कृष्णचरित्र, सेर्गा, घ्याप्री, पच्यू, सोरठी जस्ता सांस्कृतिक नृत्य पर्यटकहरुले भुजुङमा गाउँमा देख्न सक्दछन् । घरको छानोमा ढुङ्गा, टिन र खरले छाएको पुरानो शैलिका आकर्षक पुरानो घुमाउने घर देख्दा भुजुङ गाउँमा पुग्ने पर्यटकहरुले भ्याई नभ्याइ फोटो खिचि रहेका हुन्छन ।
भुजुङ गाउँ क्व्होलासोथार गाउँपालिकाको ४ नं. वडामा पर्दछ । क्व्होलासोथारको शाब्दिक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो । पर्यटकीय गाउँ भुजुङले आफ्नै नियम र कानुन बनाएर गाउँ सञ्चालन गर्दै आएका छन । भुजुङ गाउँबासीले देशको कानुन मान्दछन तर आफैले बनाएको गाउँको नियम प्रयोग गर्दछन । गाउँको नियमलाई पालना नगरेका घरपरिवारबाट वर्षेनी जरिवाना असुल्ने प्रचलन छ । वर्षेनी गाउँमा नयाँ कानुन निर्माण तथा संसोधन गरिन्छ । त्यसअघिको वर्षमा बनाएको कानुन मिच्नेलाई कारबाही गरिन्छ । भदौ सभामा कानुन र नियमको पालना नगर्ने घरलाई कारबाही गरिन्छ । गाउँमा कुखुरा, गाईभैंसी, विरालो, कुकुर छोडने, गाईवस्तुले खेती नोक्सानी गर्ने, गाउँ बारेको दिनमा बाहिर जाने, पाहुना राख्नेलगायतलाई कारबाही गरिन्छ । भुजुङको भदौ सभामा पाप नगरेको, वर्षरि आफ्नो परिवारले अरु कसैमाथि नराम्रो नसोंचेको, अधर्म नगरेको, चोरीडकैती लगायत नराम्रो काम नगरेको भनी खुकुरीको धार र तामाको ताउलो छोएर कसम खाने चलन छ।
भुजुङ गाउँमा नीतिनियम तथा ऐन कानुन बनाउन वर्षेनी भदौ अन्तिम सातामा भदौ सभा गर्ने गर्छन् । भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र वर्षेनी परिमार्जन गर्दै लाने गर्दछन् । गाउँको सामाजिक, साँस्कृतिक र आर्थिक अवस्थामा एकरुपता ल्याउन र गाउँलाई एकढिक्का बनाउन, बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौ सभा गर्ने गरिन्छ । वर्षायाममा धान तथा कोदो रोपाइँ सकिएपछि केही फुर्सद हुने र फुर्सदको समयलाई सदुपयोग गर्दै भदौ सभा गर्दछन् । भुजुङको भदौ सभाले गाउँमा कायम रहेको श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने गरिन्छ । समाजमा चोरीडकैती गर्नेलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई स्याबासी दिने गरिन्छ । सभाले गाउँमा उत्पादित धान, मकै, कोदो लगायत खाद्यान्न बालीको मानापाथीको भाउ, कामदारको दैनिक ज्याला मुल्य निर्धारण गर्ने गरिन्छ ।
भुजुङ गाउँ कुनै शहर भन्दा कम छैन । भुजुङमा गुजुमुज्ज शैलीका घर त छन् तर शहरमा जस्तो बिजुलीका तार छताछुल्ल छैनन् । हेर्दा पनि अचम्म लाग्ने, स्मार्ट सिटीभन्दा कम नलाग्ने भुजुङ गाउँ साँच्चिकै सुन्दर छ । अझ योभन्दा पनि अचम्मको कुरा त के छ भने फोहोर पानी बग्ने नाला पनि भूमिगत छन् । भुजुङ गाउँ पुगेपछि फोहोर नै देखिँदैन। त्यसैले त पर्यटकको मन रमाउँछ भुजुङमा । जता हेर्यो त्यतै ढुंगा अनि तिनै ढुंगा कुँदेर बनाइएका सफा बाटो । अनि त्यही बाटोमुनिबाट बग्ने नाली । कस्तो आन्नद ! कस्तो सुन्दर ! भौगोलिक हिसाबले भुजुङ निकै नै विकट मानिन्छ । तर जीवनस्तर सहज बनाएको छ आफ्नै रोप वे’ अर्थात केबलकार ले । कुनै बेला निकै ठूला भारी बोकेर दुइ घण्टा उकाली-ओराली गर्ने भुजुङबासी अहिले केबलकारबाट सामान ओसार-पसार गर्छन् । केबलकारबाट भुजुङबासी बेसीमा हुने धान र अन्य उत्पादन केही मिनेटभित्रै घरमा भित्राउँछन् । भुजुङमा यस्ता उदाहरणले आम नेपालीलाई सधैं परनिर्भर हुन पर्दैन भन्ने गतिलो पाठ सिकाएको छ ।
भुजुङ पुगेपछि जो कोही पर्यटक प्रकृतिसंग रमाउन थाल्दछ । प्राकृतिक छटाले भरिपूर्ण घना जंगल, डाँडापाखा, छहरा, कन्दरा, हरियाली, हराभरा स्वच्छ वातावरण पाइन्छ भुजुङमा । हिमाली स्वच्छ हावा, मुटु छुने चिसो पानी, मोती जस्तै टल्कने हिमालहरु, दक्षिणतर्फनागवेली आकारमा सुसाइ बगेको मिदिम खोला, गाउँकै अगाडि छङछङ झरी रहने कईयो झरना यो दृष्यले कस्को मन आनन्दित नहोला – भुजुङ गाउँवाट देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती योग्य फाँटहरुले वास्तवमा भुजुङ गाउँलाई स्वर्ग जस्तै बनाएको छ । कला संस्कृतिलाई नजिकबाट नियाल्ने र ग्रामिण पर्यटनलाई टेवा पुर्याउनको लागि एक पटक भुजुङ गाउँ पुग्नै पर्दछ । लमजुङको भुजुङ गाउँ अन्य गाउँहरु भन्दा रमाइलो र भिन्न देखिन्छ । भुजुङ गाउँ लोडसेडिङमुक्त गाउँ हो । उनीहरुलाई लोडसेडिङको चिन्ता छैन । गाउँमा कुनै पनि बेला बिजुलीको लाइन जाँदैन । सहर बजारको लोडसेडिङ भुजुङ गाउँका लागि नयाँ र नौलो विषय बन्छ । गाउँलेहरुले २०५६ सालमा आफ्नै श्रमदान र विभिन्न सघं/सस्थाबाट सहयोग जुटाएर गाउँकै मिदिम खोलाबाट ८० किलोवाट क्षमताको बिजुली निकालेका छन । विकासका लागि आफ्नो श्रम र सीपलाई सदुपयोग गरेका भुजुङबासीले बिगत २३ वर्षदेखि बिजुली उपभोग गर्दै आएका छन् ।
गुरुङ संस्कृति भएको भुजुङ गाउँ लमजुङको ग्रामीण भेकमा पर्ने सुन्दर बस्ती हो । भुजुङ गाउँ लमजुङ हिमालको काखमा छ । भुजुङ गाउँ समुद्री सतहदेखि १ हजार ६०० मिटर उचाइमा रहेको छ । मिदिम खोलाको पारिपटि्ट रहेको कमा गाउँबाट भुजुङलाई रातको समयमा नियाल्दा झिलिमिली सहर जस्तो देखिन्छ । भुजुङ गाउँमा समशीतोष्ण प्रकृतिको हावापानी पाइन्छ । भुजुङ गाउँ पूर्वमा घनपोखरा, पश्चिममा पसगाउँ, दक्षिणमा भोजेसम्म फैलिएको छ । गाउँको उत्तर दिशातर्फचाहिँ हिमाली काखमा रहेको ठूलो खर्क छ । हिमशिखरबाट बग्ने मिदिम खोलाको किनारमा खेतका ठूला फाँट, झरना, चिया बगान, गुरुङ संग्रहालयले भुजुङ गाउँलाई थप आकर्षण बनाएको छ । मिदिम खोलाको शिर मानिने भुजुङ गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्छ । भुजुङ पुग्ने पर्यटकहरुले त्यहाँको प्राकृतिक दृष्यलाई आँखा र क्यामरामा कैद गर्दैमा समय बितेको पत्तोनै पाउँदैनन् ।
सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटकीय गाउँ घलेगाउँबाट ८ किलो मिटरको दूरीमा भुजुङ गाउँ पर्दछ । घलेगाउँदेखि डेढ घण्टाको पैदल यात्रापछि भुजुङ पुग्न सकिन्छ । पैदल यात्रा गर्न नरुचाउने पर्यटकहरुका लागि मोटरको पनि प्रयोग गर्न सकिन्छ । गाउँलेहरुले गरेको सामूहिक चियाखेतीले भुजुङमा इलामको झल्को दिन्छ । गाउँमै ठूलो चिया मिल छ । भुजुङबासीहरु त्यहींबाट अर्गानिक चिया उत्पादन गर्छन । पर्यटकहरु चियाँबारीमा रमाउने मात्र होइन अर्गानिक चिया किनेर घरमा समेत लैजान्छन । भुजुङबासीहरुले गाउँमा उत्पादन गरेको चियाँ कोसेलीका रुपमा बेलायत, अमेरिका र हङकङसम्म पठाउछन । भुजुङमा सेता काइयो झरनाको संगीतमय झन्कार र वनपाखामा लोपोन्मुख काँडे भ्याकुरहरु सजिलै हेर्न सकिन्छ । कालिज, लुइँचेजस्ता चरा र मृग, कस्तुरीजस्ता जनावर देख्न पाउँदा पर्यटकहरु लोभिने गर्दछन । पर्यटन गाउँ भुजुङको आकर्षण, सांस्कृतिक सम्पदा र कला संस्कृतिले पर्यटकहरु भुजुङमा रमाउँछन । पदमार्गमा रुचाउने पर्यटकहरुका लागि भुजुङबाट दूधपोखरी, ताङतिङ हुँदै पोखरा निस्कने तथा मनाङको तिमाङ निस्कने अन्नपूर्ण पदयात्राको वैकल्पिक पदमार्ग पनि बन्न सक्दछ ।
भुजुङका १८ घरमा सुविधा सम्पन्न होमस्टे सन्चालनमा छन् । भुजुङ गाउँको होमस्टेमा पर्यटकहरुले स्थानीय उत्पादित चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो, पिडालु, अनि चाहाना हुनेको लागि कोदोको शुद्ध रक्सी, स्थानीय जातको खसी र कुखुराको मासुको पनि स्वाद लिन सक्दछन् । भुजुङका बासिन्दाले पशुमा भैंसी, बाख्रा, भेडा र पन्छीमा कुखुरा पाल्छन् । यहाँ वन्यजन्तु तथा पशुपन्छीको चोरीसिकारी गर्न बन्देज लगाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप)ले भुजुङको ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सघाउँदै आएको छ । होमस्टे सर्वे, अवधारणा, खानाका परिकार बनाउने तालिम, सरसफाइ, खानेपानी, शौचालय निर्माण र होमस्टे व्यवस्थापन अवलोकन भ्रमण लगायत कार्यमा एक्यापले सहयोग गर्दै आएको छ ।
केही बर्ष यता भुजुङ ग्रामीण पर्यटनको केन्द्र बनेको छ । आन्तरिक पर्यटन मात्र होइन लमजुङको बेसिशहर पुगेपछि वाहृय पर्यटकहरु पनि घलेगाउँ र भुजुङ जान रुचाउछन । चिटिक्क परेको सुन्दर गुरुङ जातीको बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने दर्जनौ हिमश्रृंखला र पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम, गुरुङ भाषामा बोलीचाली पाउदा भुजुङ पुग्ने सबैलाई नौलो अनुभुति हुन्छ । भुजुङगाउँ पुगिसके पछि साच्चिकैको गाउँ भनेको कस्तो हुन्छ भने अनुभव पर्यटकहरुले गर्न पाउछन । भुजुङको संस्कृति, कला र गाउँलेहरुको ब्यवहारले सबै पर्यटकहरु दगं पर्दछन । भुजुङ गाउँमा पर्यटकहरुलाई गाउँका सबैजना मिलेर स्वागत सत्कार गर्ने गर्दछन् । स्वागत गर्ने बेलामा गुरुङ भाषामा गित गाउँदै स्वागत गरिन्छ । त्यसपछि गाउँमा कसको घरमा कसलाई राख्ने भनेर छलफल गरी तोकिएको घरमा पर्यटकलाई लगेर राखिन्छ । गाउँमा पुगेका पर्यटकहरु बढि मात्रामा रोधी बस्न पनि रुचाउछन् । पर्यटकको चाहना अनुसार रोधी बस्ने चलन छ। भुजुङमा अझै पनि गुरुङ जातीहरुको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जिवितै रहेको छ । गाउँमा पुगेका पर्यटकहरुको चाहाना अनुसार आफ्ना संस्कृतिहरु देखाउने गर्दछन् । परम्परागत ऐतिहासिक संस्कृतिको रुपमा घाँटु कुसुन्डा, कृष्ण चरित्र, साराङ्गी, घ्याब्रि, प्हच्यु, सेर्गा नृत्यहरु पर्यटकहरुका लागि भुजुङको विशेष आकर्षण बन्दछ ।
भुजुङको इतिहासमा गुरुङहरुको मूल थलो क्होला पतन पश्चात् गुरुङ जातिका पम र प्हज्यू भाइखलक चिसा हुँदै विजों -भुजुङको माथिल्लो डाँडा)मा आइपुगेको भनाइ छ । यो समय करिब पाँचसय वर्षभन्दा पहिलेको मानिन्छ । चैँबर प्रजातिका गुरुङसँग पम र प्हज्युको विजोँमा भेट भएपछि आपासमा कुरा बाझियो । कहिल्यै नभेटने बाचासहित कालो पोथी कुखुरा काटेर चैँबर र दुइ भाइले आ-आफ्नो बाटो तताएका थिए । चैंबर जातिका गुरुङ डाँडैडाँडा घनपोखरा, घलेगाउँ तर्फ गए भने प्हज्यू र पम पन्यूमा आएर बसे । केही दैनिक असुविधाका कारण त्युजू भन्ने ठाउँमा बसाइँ सरे । जीवन गुजार्ने क्रममा पश्चिमका स्योंड म्हिगी गुरुङहरुले तिनका घरपालुवा जनवारलाई काटेर खाइदिने, लुटपाट गर्ने, कुटपिट गर्ने लगायतका अत्याचार गर्न थाले । त्यो सहन नसकी दुइ गुरुङहरुले लेम प्रजातिका गुरुङलाई खोजेर ल्याए । लेमले भक्यौँलाका चिल्ला खुकुरी तथा तरबार बनाएर शत्रुलाई देखाएपछि उनीहरु पसगाउँ र सिङदीतर्फ भागेको इतिहास छ । ती दुइ त्युजूमा बस्न उचित नठानी अहिलेको भुजुङमा बसोवास गरे । गुरुङ भाषामा मृगलाई ‘फो’ र व्यापारलाई छों भन्ने गरिन्छ । त्यतिबेला भुजुङमा मृगको व्यापार हुन्थ्यो । मृगको व्यापार फोछोँबाट अपभ्रंश भएर प्होजोँमा परिणत भएको भुजुङका बासिन्दा बताउँछन । प्होजोँ गुरुङ भाषाको नाम हो भने भुजुङ नेपाली भाषाको नाम हो ।
सुन्दा कुनै कथाजस्तो लाग्ने भुजुङमा गोलाकारका परम्परागत घरहरु, घना जंगलभित्र रहेका विभिन्न प्रजातिका चराचुरुङीको मिठो चिरबिर र सिरसिर बग्ने चिसो हावाले पर्यटकहरुलाई आनन्द गराउँछ । सिजनमा गरिने भीर माहुरीको सिकार, सन्तानेश्वर महादेव, हरिया फाँटहरु गाउँका आकर्षाका केन्द्र हुन् । भुजुङमा फुर्सदको समयमा पुरुषहरुले डोको, नाम्लो, डालो, मान्द्रो, घुम, भकारी र महिलाहरुले उनवाट राडीपाखी, बख्खु, पुवाबाट थैलो, झोला, भाङग्रा जस्ता हस्तकला सामानहरु बनाउँछन । भुजुङमा चियाखेती, अम्रिसो खेती र अलैंची खेतीमा पर्यटकहरु रमाउछन । पर्यटन प्रवर्द्धनका लागि गुरुङ संग्रहालय रहेको छ । वैशाख पूर्णिमामा पुग्ने पर्यटकहरुले घाँटु, घ्याब्रे, पच्यु, कृष्णचरित्र, सोरठी, सेर्का लगायतका लोपोन्मुख नृत्य पनि हेर्न सक्दछन ।
भुजुङ गाउँ पुग्न लमजुङको सदरमुकाम वेसीशहरबाट हरित सडकमा यात्रा गर्नुपर्छ । पृथ्वी राजमार्गको डुम्रेबाट ४२ किलोमिटर बेसीशहर पुगे पछि २६ किलोमिटरको यात्रामा घलेगाउँ पुग्न सकिन्छ । घले गाउँ देखि ८ किलो मिटरको दूरीमा भुजुङ गाउँ पर्दछ । बेसिशहरबाट साना हल्का सवारी साधन अर्थात जिप रिजर्भ गर्न सकिन्छ ।