भानुको थानीमाईमा ३६ फूलको डोली भित्रियो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भानु नगरपालिका-७ बसन्तपुर स्थित थानीमानई मन्दिरमा मंगलबार ३६ फूलका डोली भित्रिएका छन् । मंसिर महिनाको पहिलो मंगलबार प्रसिद्ध धार्मिक तीर्थस्थल थानीमाइ मन्दिरमा फूलको डोली सहित भक्तजनहरु पुगेका छन् ।

मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापाका अनुसार मंगलबार तीन हजार २४० भक्तजनले मन्दिरमा पूजाआजा गरेको बताएका छन् । सोमबार तीन सय पाँच जनाले रातभर जागाराम बसेर बत्ती बालेको उनले बताए ।

फूलको डोली भित्र्याउन तनहुँ, कास्की, लमजुङ, गोरखा लगायतका ठाउँबाट सर्वसाधारण मन्दिरमा पुग्ने गर्दछन् । ‘मन्दिरमा विशेषगरी कात्तिक र मंसिर महिनाको मंगलबार धेरै फूलको डोली भित्रिन्छ । यो पटक कात्तिकमा दसैं र तिहार पर्दा कात्तिकमा कम डोली भित्रियो’, अध्यक्ष थापाले भने, ‘मन्दिरमा कात्तिक महिनाको मंगलबार एक सय ६१ फूलका डोली भित्रिएका थिए ।’

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंशी तिथि बाहेकका मंगलबारका दिन पूजाअर्चना हुँदै आएको छ ।

प्रत्येक वर्ष कात्तिक, मंसिर, माघ र फागुन महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

समुन्द्र सतहबाट एक हजार दुइ सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट संकलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।

विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अर्न्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको बताइन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker