ओझेलमा परेको सराङघाट र नामाकरणको प्रसङ्ग

देव बस्न्यात

विषय प्रवेश

अयोध्या नरेश दशरथले पुत्रेष्टि महायज्ञ गरेको स्थल सराङघाट सेतीवारी बन्दिपुर गाउँपालिका वडा नं. ६ र सेतीपारी देवघाट गाउँपालिका वडा नं. ३ मा पर्दछ । यो स्थान सेतीमादी नदीको किनारमा रहेको छ । सराङघाट साविक धरम्पानी गा.वि.स र सिञ्च्याङगढी गाउँ विकास समिति आउने जाने मूलमार्ग हो । काठमाडौं पोखरा आवतजावत गर्ने पृथ्वीराजमार्ग नबन्दासम्म र तनहुँ जिल्लाको सदरमुकाम बन्दिपुरबाट दमौली नर्सदासम्म सारङघाट ठोरी पुगेर नुनतेल गर्ने एक प्रमुख व्यापारिक नाका पनि थियो । पहिले पहिले कास्की, लमजुङ, मनाङ, गोरखा र तनहुँ जिल्ला निवासीहरु नुनतेल लिन ठोरी जानेगर्दथे । ठोरी जाँदा बटुवाहरु बन्दिपुर, हुस्लाङ, धरम्पानी हुँदै सराङघाटमा सिमली डुङ्गामा तरेर सिञ्चाङगढीको उकालो पार गरेर गाईघाटमा पुग्दथे । कतिपय बटुवाहरु गाईघाटबाट त्रिशुली पार गरेर जुगेडी, नारायणघाट हुँदै ठोरी जाने गर्दथे भने कतिपय बटुवाहरु गाईघाटबाट डुङ्गाबाट बहित गएर नारायणघाट हुँदै ठोरी पुग्ने गर्दथे । प्रकृतिले दिएको जनताले चिन्न नसकेका वंशमञ्जरी सराङघाटको बारेमा धेरै जना अनभिज्ञ रहन सक्दछन् ।
दमौलीदेखि घुमाउने घाटसम्म कुल दुरी ३२ किलोमिटर रहेको छ । जस्मा दमौलीदेखि सारङघाटसम्म २२ किलोमिटर र सारङघाटदेखि घुमाउने घाटसम्म २२ किलोमिटर दुरी रहेको छ । तनहुँ र चितवनको घुमाउनेघाट नजिक १०५ मिटर लामो मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएमा दमौली मुग्लिङ हुँदै नारायणघाटसम्मको दुरी भन्दा दमौली सराङघाट घुमाउनेघाट हुँदै नारायणघाटको दुरीमा २५ किलोमिटर कम हुने गर्दछ । अहिले यहाँ इलाका प्रहरी चौकी, पशु विकास शाखा, कृषि शाखा, स्वास्थ्य चौकी रहेका छन् । सराङघाटको झोलुङ्गे पुलमुनी बन्दिपुर गाउँपालिका तर्फ करिव २०/२१ रोपनी क्षेत्रफलको जग्गामा र्‍याफटिङमा आउने पर्यटकहरुको विश्रामका लागि वेशक्याम्प निर्माण गरिएको छ । यसैगरी हालसालै मात्र सराङघाटमा तनहुँ हाइड्रोको सामाजिक विकास कार्यक्रम अन्तर्गत सारङघाट विद्युत सवस्टेसन निर्माण गरिएको छ ।

सराङताल (स्वेतदह-सेतीपोखरी) र पुत्रवतीघाट

आज भन्दा धेरै वर्ष पहिले सेती मादीको पानी त्रिशुली गण्डकीमा मिसिंदा ठूलो झरना भएर मिसिने गर्दथ्यो । त्रिशुली नदीमा मिसिएको हुनाले सेती नदीले बनाएको झरनालाई त्रीशली झरना भन्ने गरिन्थ्यो । प्राकृत प्रक्रियानुसार लामो समयपछि सेतीको पानीले निकास पाएपछि यो क्षेत्र कृषि योग्य भूमिमा रुपान्तरित हुन पुगेको हो । दक्षिण भारतमा च्यवन ऋषि अत्यन्त प्रसिद्ध थिए । यसैले त्यहाँका राजा शर्याति र पण्डितहरुले लमजुङको दूधपोखरीमा तपस्या गरेर बसिरहेका च्यवन ऋषिलाई लिन पठाए । हिमश्रृंखलामा जाडोबाट बच्न च्यवन ऋषि कम नुहाउने र सुरापान पनि गर्दथे । ननुहाउने र सुरापान गर्ने ऋषिलाई यज्ञको व्यासाचार्यमा आमन्त्रण गरिएकोमा व्यासाचार्यको निमन्त्रणा दिन जाने ऋषिचेलाहरु तीनछक् परेका थिए ।
धाममा पुग्दा सबै ऋृषिहरु च्यवन ऋषिको पाउ परेर नमन गरेको देख्दा शिष्यहरु चकित बने भन्ने कुरा पुराणहरुमा वर्णन गरेको पाइछ । तिनै महर्षि चेपेखोलामा घाट तरेर तुरतुरे बन्दिपुरबाट ठोरी हुँदै दक्षिणभारत तर्फ जाँदा यही सराङघाटको बाटो भएर गएका थिए । ज्ञान र करुणाका प्रतिक च्यवन ऋषिले पहाडखण्डको यात्रा समाप्त गरी मधेश तराइ प्रवेश गर्न लाग्दाको प्रवेशद्वार यस साराङघाटलाई पुत्रवति घाट बनोस भनेर वरदान दिएका थिए । त्यही साराङघाटमा ऋषि श्रृङ्गी तपस्या गरेको तपस्थली ऋषिङ्ग पर्वतमालाको गाइघाट नजिक त्रिशुली र सेती दोभानको १० किलोमिटर उत्तर तथा सिञ्चाङगढीको उत्तर पूर्व पानीढलो तर्फको काखमा रहेको छ । राजा दशरथले पुत्रेष्टि यज्ञ गरेको स्थल त्रेतायुगीन सराङघाट र ऋषि श्रृङ्गको जन्म र तपस्थली ऋषि श्रृङ्गलाई रामको अयोध्या र्सर्किट जोड्ने बारेमा गहन अध्ययन गर्न जरुरी भइसकेको छ । नेपालको ठोरी स्थित अयोध्यापुरी र सराङघाट बीच अनन्य सम्बन्ध रहनुका कारण बारे खोज अनुसन्धान हुनु नितान्त आवश्यक छ ।

सराङघाट नाम कसरी रहृयो ?

देवघाट गाउँपालिका वडा नं ३ र बन्दिपुर गाउँपालिका वडा नं ६ बीचको यसस्थानको नाम सराङघाट कसरी रहृयो होला भन्ने विषयमा अध्ययन गर्दा विभिन्न तर्कहरु स्थापित हुन सक्दछन् । तथापि निम्न तर्कहरु उपयुक्त देखिएकाले यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

दशरथ पुत्र रामको नाम सराम हुँदै सराङघाट

संस्कृत भाषमा “र” पुलिङ्ग अक्षर हो ।  “र”ले आगो प्रेम, कामाग्नी जनाउँछ । यसैगरी “रा”ले रात तथा अन्धकार, धन तथा सम्पती, दान दिनु तथा समर्पण गर्नु भन्ने पनि जनाउँछ । “ङ” पुलिङ्ग अक्षर  हो भने “म नंपुसकलिङ्ग हो । “म ले सुख सम्वृद्धि तथा पानी जनाउँछ । यहाँ “रा” अक्षर “म”  अक्षर मिलेर “राम” शब्द बनेको छ । “राम” भगवान विष्णुका रुप तथा अयोध्या नरेशको जेठा छोरा हुन । “स” अव्यय पुलिङ्ग शब्द हो । “स”को अर्थ इश्वर सम्पूर्ण जीवात्मा र ज्ञान पनि हो । यहाँ राम इश्वर हुन भन्ने विषयमा जोड दिन “स” थपिएको छ। अन्त्यमा तीन वटै अक्षर मिलेर “सराम” बन्न पुगेको छ । लामो समय पश्चात “सराम”को अन्त्यको अक्षर “म” लोप भइ “ङ” ब्युतपति भइ “सराङ” हुन पुगेको छ । “ङ”, “ञ”, “ण”, “न”, “म” समान स्तरका अक्षर हुन । समानस्तरका अक्षर कहिलेकाही रुप परिवर्तन भएर “ङ” अक्षर “म” मा र “म” अक्षर “ङ” मा परिवर्तन हुन सक्दछन् । यहाँ त्यस्तै भएको छ । “सराम” शब्द “सराङ” बन्न पुगेको छ । “ङ” को अर्थ विषय, विषयको इच्छा र भैरव भन्ने जनाउँछ अयोध्या नरेश दशरथले पुत्रकामना गर्दै पुत्रेष्टि महायज्ञ गरेका स्थान हुनाले “सराङ” र नदी वारीपारी  गरिने घाट भएकाले यस स्थानलाई “सराङघाट” भन्ने गरिएको हो ।

दाउरा सुकाउन बनाइएको चुला माथिको टाँडबाट सराङघाट

नेपाली शव्दकोष अनुसार सराङ भन्नाले दाउरा सुकाउनका लागि चुलो आदि माथि बनाइने टाँड र घाट  भन्नाले नदीको दायाँ-बायाँ किनार, तीर्थस्थल, नदीमा आवागमनका लागि सजिलो पर्ने ठाउँ अर्थात नदीमा डुङ्गा, जहाज आदिमा चढने तथा ओर्लने ठाउँलाई जनाउँछ । यिनै दुबै शब्दको संयोजन भएर यस स्थानको नाम सराङघाट रहन गएको हो भन्दा अत्युक्ति नहोला । साँच्चै भन्ने हो भने सराङघाट सिञ्चाङगढीको सेपिलो ठाउँमा पर्दछ । सेपिलो ठाउँ भएकाले यहाँ दाउरा सुकाउनलाई गाह्रो पर्दथ्यो । त्रेतायुगका अयोध्या नरेश दशरथले यस स्थानमा पुत्रकामेष्टि यज्ञ गर्दा अग्नीकुण्डका समिधा -दाउरा) चिसो हुन गइ नजल्ने हुँदा होमकुण्डको माथि दाउराको टाँड बनाएर दाउरा सुकाइने गरिन्थ्यो होला । चुल्हो माथि राखिने एक प्रकारको टाँड अर्थात टोकरीलाई खस भाषामा सराङ भन्ने गरिन्छ। त्यही भएर सोही समय देखि यस स्थानमा दाउरा सुकाउन राखिएको टोकरी -भार) प्रयोग गरिएकोले यस स्थलको भावार्थ नाममा सराङ र नदी वारपार गर्ने स्थान घाट भएकाले सराङघाट भन्ने गरिएको हो भन्ने अनुमान गर्न सकिन्छ ।

माछा मारेर सुकाइने स्थान “राङ”बाट सराङघाट

भौगर्भिक अध्ययन गर्दा र पौराणिक कुरा सुन्दा कुनै बेला घुमाउने घाटदेखि सराङघाट सम्मको भूमिमा सायद जलकुण्ड (ताल) थियो भन्ने गरिन्छ । बाह्रमगरात भित्र पर्ने यस स्थानमा पक्कै एउटा ताल थियो । त्यही तालको वरी परी मगरहरुको घनाबस्ती रहेको थियो । मगर भाषामा “रा” भनेको पानीको दह र “राङ” भनेको सुकाएको माछा वा माछा सुकाउने स्थानलाई जनाउँछ देबघाट गाउँ पालिकाका पूर्वअध्यक्ष एव साविक पोखरीभञ्ज्याङ गाउँ विकास समितिका पूर्व अध्यक्षले बताए । नेपाली वर्णमालाको “स” त्यस्तो अक्षर हो जुन कुनै पनि सुबन्त शब्दको अगाडि जोडिंदा सम, तुल्य, सँग(साथ) भन्ने जनाउँने गर्दछ । यहाँ त्यही “स” अक्षर “राङ” शब्द संग जोडिंदा “सराङ” बन्न पुगेको हो । दरै र बोटेहरुको कृडास्थल रहेको औल्यानी सराङघाटले उनीहरुको ऐतिहासिक भूमि हो भन्न सघाउँछ । हुन पनि जहाँ माछा मारिन्छ त्यही माछा सुकाउने गरिन्छ । माछा सुकाइने स्थान भएकाले मगरभाषामा “राङघाट” भन्दा भन्दै “राङ” शब्दको अगाडि स अक्षर ब्युत्तपति भइ सराङ रनदीवारीपारी गरिने स्थान भएकाले घाट भएकाले दुबै शब्द संयोजन हुन पुग्दा सराङघाट हुन पुगेको मान्न सकिन्छ ।

दुराहरुको शब्द ह्राङबाट सराङघाट

पृथ्वी राजमार्ग खुल्नु पूर्वसम्म लमजुङ, तनहुँ र कास्कीका दुराहरु बदिपुर, सराङघाट, सिञ्चाङगढी र नारायणघाट हुँदै ठोरी पुगेर नुनतेल ल्याउने गर्दथे । कहिलेकाही बन्दिपुरे साहुहरुको भारी बोकेर यही बाटो ओहोर दोहोर गर्दथे । भोटबर्मेली अन्तर्गतको दुराभाषा अनुसार “ह्राङ” भन्नाले “करङ” भन्ने बुझाउँछ । मानिस लगायत प्राणीहरुको शरिरको अन्तगृहमा रहने करङ एउटा महत्वपूर्ण अङ्ग हो । महत्वपूर्ण व्यापारिक नाका सराङघाट व्यापारिक क्षेत्रको “करङ” जस्तै देखिन गएकाले उनीहरुले यस स्थानलाई “ह्राङघाट” भन्न थाले । सोही ह्राङ शब्दमा “स” अक्षर व्युत्पति हुन जाँदा “सह्राङ” बन्न पुग्यो । यही “सह्राङ” शब्दमा नदी वारपार गर्ने स्थानको “घाट” शब्द संयोजन हुन जाँदा यस स्थानको नाम सराङघाट बन्न गएको अनुमान गर्न सकिन्छ । (श्रोतः दुरा इतिहास र संस्कृति-यमबहादुर दुरा)

“राङ” धातु पाइने स्थान भएकाले सराङघाट

यसै गरी नेपाली शब्दकोष अनुसार राङ भन्नाले वजनदार एक प्रकारको सेतोधातु लाई जनाउँछ । छिम्केश्वरी पर्वतमालामा सिसा र फलामखानी छ भने सराङघाट वरपरको ऋृङ्ग (ऋषिङ) पर्वतमाला वरपर फलाम, तामा, सिसा र एक प्रकारको सेतो धातु राङ पाइने स्थान भएकाले सेह “राङ” शब्द  र नदीवारपार गर्ने स्थानको घाट शव्द समेत संयोजन हुन गई “राङघाट” हुन गएको र “राङघाट” शब्दमा आदि अक्षर “स” व्युत्तपति भइ सराङघाट भएको अनुमान गर्न सकिन्छ ।

सारु चराबाट सराङघाट

सराङघाट वरपर ठूलोवन थियो । बेसी औल्यानी क्षेत्रमा प्रशस्त मात्रामा सारु चराहरु पाइन्छन् । सुगा जस्तै मानव स्वरमय ध्वनीमा बोल्ने चरा भएकोले मानिसहरु सबैले घरमा सारुलाई पाल्न रुचाउँथे । यही जङ्गलबाट प्रशस्त “सारु” चराहरु घर लगेर पालिने गरिन्थे । “सारु” (डाङग्रे)लाई “सराङ” पनि भन्ने गरिन्छ । प्रशस्त सारङ “सारु” चरा पाइने स्थान र सालको घना जङ्गल भएकाले यहाँका वन्यजन्तु सुकेका पातमाथि हिंडदा “सराङ”, “सराङ” शब्द आउने भएको र नदी वारपार गरिने घाट भएकाले यस स्थानलाई सराङघाट भन्ने गरिएको हुनु पर्दछ ।
कुनै समय सराङघाटमा ठूलो फोक्सिङ (साल)को वन थियो । पहाड तथा तराइका राजा महाराजाहरु यहाँ सिकार खेल्न आउने गर्दथे । द्वापरयुगका हस्तिनापुरका राजा शान्तनु सिकार खेल्दै खेल्दै सेतीनदीको किनारमा अवस्थित सराङघाट आइपुगे। यही स्थानमा सारु (साराङ) चराहरुको सुरिलो स्वर र दमौली निवासी सत्यवती (मत्स्यगन्धा)को शरीरको सुवासले शान्तनुलाई दमौली तर्फ डोर्‍यायो । तत्क्षण वनको बाटो अघि अघि बढदा हरिण, वनेल तथा बाघहरुले सुकेका पातहरु माथि हिंडदा “सराङ” “सराङ” आवाज आउने गर्दथ्यो । त्यही “सराङ” शब्दमा चुराको झन्कार महसुस गर्दा शान्तनुलाई थप मोहित बनायो । त्यही बेलाको “सराङ” आवाज र नदी माथि डुङ्गा वारपार गर्ने स्थानको घाट शब्दसंग शब्द संयोजन हुन गई सराङघाट हुन पुगेको अनुमान गर्न सकिन्छ ।

रसरङ घाटबाट सराङघाट

सराङघाट सेती नदीको किनारमा अवस्थित स्थल हो । साविक छिम्केश्वरी गाउँ विकास तर्फ यहाँ मनकामना देवीको मन्दिर पनि रहेको छ । पौराणिक कथा अनुसार पराशर ऋषिले मत्स्यराजको धर्मपुत्री मत्स्यगन्ध्या संग सहवास कामना गर्दा लोक लज्जा ढाक्न कुहिरोको उत्पति हुन पुगेको थियो । दमौलीको दक्षिणतर्फ रहेको सराङघाटमा पनि बाक्लो कुहिरो तथा हुस्सु लाग्ने गर्दछ । सराङघाट पूर्वोत्तर खण्डमा धरम्पानी भन्दा केही माथि हुस्सु प्रभावित क्षेत्र हुस्लाङकोट पनि रहेको छ । ठोरीबाट नुन तेल मसला लिएर आएका बटुवाहरु यस स्थानमा बास बस्ने गर्दथे रे । उज्यालो भयो होला भनेर भारी ठिकठाक पारेर बाहिर आँगनमा आएर हेर्दा बाहिर बाक्लो हुस्सुका कारण दिन पनि अध्यारो नै देखिन्थ्यो रे । अध्याँरोमा किन हिंड्नु भनी बटुवाहरु नाचागान गरेर बस्थे रे । घाम झुल्कन नपाई अस्ताउन लागेको देखेर राती किन जाने भनेर बटुवाहरु त्यहीं बास बस्थे रे । यसरी सात दिन सात रातसम्म बटुवाहरु गीत गाएर रङ्गमञ्चन गर्ने स्थान भएकाले यसलाई रसरङ्ग घाट भन्न थालियो कालन्तरमा रसरङ्गघाटको अगाडिको अक्षर र लोप हुन जाँदा सरङ्गघाट हुँदै सराङघाट हुन गएको अनुमान गर्न सकिन्छ ।

मासु सुकाउने भार “साराङ”बाट सराङघाट

पाल्पाका राजा मुकुन्दसेन सिकार खेल्नमा सौखिन थिए । एकपटक मुकुन्दसेन यस क्षेत्रमा पनि सिकार खेल्न भनेर आए । सिकार गरेको मृग (सराङ)को मासु पोलेर खाने पारखी राजा मुकुन्दसेनले मृगको मासु भारमा सुकाएर सुकुटी बनाउने गर्दथे । यसरी मासु सुकाउने प्रकृयालाई भोटबर्मेली तथा मगर र लिम्बुभाषामा सारङ्गा भन्ने गरिन्छ । अर्को शब्दमा सराङ भन्नाले चुल्हो माथि राखिएको थाली हो । त्यही साराङशब्द अपभ्रंश भइ “सराङ” र नदीवारी पारी गर्ने घाट भएकोले दुबै शब्दको संयोजन हुन पुग्दा यस स्थानलाई सराङघाट भन्ने गरिएको हो । बन्दिपुरको झप्रीबाट विरक्त भइ हिंडेका मुकुन्दसेन लामो समयसम्म यही स्थान महादेवको ध्यान गरेर बिताएका थिए भनिन्छ । महात्मा मुकुन्दसेनले तपस्या गरेको तपस्थलीलाई अहिले जोगीडाँडा भन्ने गरिन्छ । देवघाट गाउँ पालिकाका वडा नं ३ नाल्दुङमा मनकामना मन्दिर, बोटगाउँमा दूधेवाराही मन्दिर, भृकुटी उच्च माध्यामिक विद्यालय र श्रृङ्गेश्वर महादेव मन्दिर रहेका छन् ।

सराङ(दसैं) पर्व शब्दबाट सारङघाट

भोटबर्मेली भाषा बोल्नेहरुमा नेपालका गुरुङ (हुण), मगर, (गोर्पा, शेर्पा), तामाङ, राइ, लिम्बु र दनुवार लगायतका जातजातिहरु पर्दछन्। खैवरघाँटी मार्ग हुँदै नेपाल पसेका खामपाङभाषी र ढुटभाषी मगरहरु सराङघाट वरपरका धरम्पानी, बन्दिपुर, केशवटार, देउराली, सिञ्च्याङगढी, बैदी, छिपछिपे भिरकोट काहुँशिवपुर लगायतका स्थानहरुमा बसोबास गरेका पाइन्छन् भोटबर्मेली भाषामा शिद्ध (खेप्पा)को अर्थ बृद्ध, बुर्जुवा तथा वरिष्ठ अभिभावक भन्ने जनाउँछ। यस बारेमा एकलोक कहावत रहेको छ । एक पटक दक्षिण भारत वर्ष (ध्याकरहृयुल)मा अन्याय अत्याचारले सिमा नाध्यो । अन्याय अत्याचारबाट लोकलाई त्राण दिन शिद्ध (महादेव) कैलाश पर्वत (धाङरी, रिम्पुच्र्छे)बाट भारत जाने बिचार गरे । यही बेलामा शिद्ध (महादेव)ले आफ्ना जटाबाट शक्तिशाली व्यक्ति झाँक्री (खेप्पा) र वराहको उत्पति गरे । हिमाल उत्तरको भूभागको सुरक्षाको जिम्मेवारी पार्वतीलाई सुम्पेर महादेव वीरभद्रलाई लिएर तल झरे । मादीनदीको किनार किनारै सेती हुँदै सराङघाट पुगेर महादेवले झाँक्रीलाई त्यही बस्न आदेश गरे तर झाँक्री त्यहाँ बस्न मञ्जुर भएनन् । झाँक्रीले आकाश धर्ती ढाक्नेगरी महादेवको बाटो छेके । झाँक्री यहाँका सबै स्थानीयहरु वोन धर्मालम्वीहरु हुन । उनीहरु अझै पनि झाँक्री पथमा नै विश्वास गर्दछन्। अहिले पनि धेरथोर प्रभाव कायमै रहेको छ । (श्रोतः नेपालमा आदिवासी मगर जातिको ऐतिहासिक विवेचना-बाबुराम थापा, अतुल्य बिशाल नेपाल)
यहाँका आदिवासी जनजातिहरु हाम्रा आफ्ना शुभेच्छुक हुन तिमी यहीं स्थानमा बसेर संरक्षण एवं सेवा गर भनेर फुर्काए । उनै खेप्पासुङ (झाँक्रीले) यही बसेर महाभारत पर्वत क्षेत्रका निवासीहरुलाई शिद्ध (महादेव), दूधेवाराही, नागको पूजा र दहीमा चामल मुछेको रातो टिका लगाएर सराङ (दशैं) पर्व मान्न सिकाए । बिस्तारै क्षत्री बाहुनले पनि मगरको संस्कृति मान्न थाले । सराङ (दशैं) पर्व मान्न सुरुआत गरेको स्थान हुनले यसलाई सराङघाट भन्ने गरिएको हो ।

गण्डीगुल्म शब्दबाट गण्डकी

गण्डी गुल्म गण्डकी प्रसवण क्षेत्रको भूमि हो । गण्डी गुल्म भित्र दुइवटा शब्द आकर्षित भएर आएका छन् । गण्डी शब्दले पानी र गुल्म शब्दले सेनको गण भन्ने जनाउँछ । वास्तवमा गण्डकी प्रसवण क्षेत्रको महाभारत पर्वत श्रृङ्खलामा मगर र  महाभारतपर्वत श्रृङखलादेखि उत्तरतर्फका हिमाली भूमिमा गुरुङहरुको बसोबास रहेको पाउँदछौ । गण्डकी क्षेत्रमा प्राय पानीको श्रोत वा मुहानको नाम मगर भाषाका डी, ती र री अक्षरहरु जोडिएर र गुरुङका क्षेत्रहरुमा क्यू शव्दहरु आउने गरेको पाइन्छ । जस्तै बुल्डी (बुलबुलेपानी), मर्स्याङडी (कञ्चना पानी, सेती (सेतो पानी) भेरी (उर्लेको पानी) आदि मान्न सकिन्छ। गण्डी शब्दमा अन्त्यको अक्षर डी मगरभाषाको संबाहक हो भने मगरभाषाको पानीको शव्दमा कुनै परिवर्तन नगरी गुरुङले आफ्नो भाषाका क्यू पनि थपि दियो जस्को फलस्वरुपम गण्डीमा क्यू थपिंदा गण्डीक्यू हुन गयो कालन्तरमा सोही शव्द अपभ्रंश भइ गण्डकी हुन गएको हो । गण्डकी शब्दले खसआर्यलाई भन्दा गुरुङहरुको तमुवान र मगरहरुको मगरात शब्दलाई साझा बनाएर संवोधन गरेको पाउँदछो । यही गण्डकी प्रशवण क्षेत्रमा ऋषि श्रृङ्गीको जन्स्थान र तपस्थली भएको ऋषिङ्ग पर्वतमालामा ऋषिङ गाउँपालिका, ऋषिङ रामजाकोट, ऋषिङ कोटदरवार र साविक कोटा गा.वि.स.मा श्रृङ्गी गाउँ रहेको अजपर्यन्त भेट्दछौ ।
सन्दर्भ श्रोत 
– तनहुँको राजनीतिक इतिहास- श्रीराम घिमिरे
– चौवीसी राज्यको इतिहास- गोपिनाथ शर्मा 
– तनहुँसुर सेरोफेरो- देव बस्न्यात 
– नेपाल अधिराज्यमा तनहुँ- डिल्लीराम मिश्र 
– अतुल्य विशाल नेपाल- बाबुराम सिंह थापा 
– देवभूमि भारत आध्यात्मिक नेपाल- योगि नरहरिनाथ
– संस्कृत शब्दकोष 
– नेपाली शब्दकोष
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker