मगर संघले माघेसंक्रान्ति पर्वका अवसरमा दमौलीमा साँस्कृतिक कार्यक्रम गर्ने
भञ्ज्याङ समाचारदाता/दमौली
मगर समुदायको साँस्कृतिक पर्व माघे संक्रान्तिका अवसरमा दमौलीमा विविध साँस्कृतिक कार्यक्रम गरिने भएको छ । नेपाल मगर संघ व्यास नगर समितिले माघे संक्रान्ति (माघे सकराती) मेला तथा साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
संघले माघे संक्रान्तिको अवसरमा दुइ दिने विविध सांस्कृतिक कार्यक्रम गर्ने मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । यसअघिका वर्षहरुमा मगरहरुको कला, संस्कृति र पहिचान झल्किने गरी मनाइदै आइएको मेलामा यस वर्ष लाइभ कन्सर्ट समेत जोडिएको छ ।
दमौली खुल्ला चौरमा पुस २९ गते र माघ १ गते हुने माघे संक्रान्ति मेलाको पहिलो दिन मगर समुदायमा प्रचलित कौराहा नाँच, पाउँदुरे नाच -नचरी), झाभुरा नाच लगायतका मौलिक कला संस्कृतिलाई स्थान दिइने भएको छ ।
माघे संक्रान्तिको दिन बिहान जातीय पहिचान झल्कने भेषभूषा सहितको झाँकी तथा र्याली हुनेछ भने औपचारिक कार्यक्रम सकिए लगत्तै बेलुका ५ बजेबाट १० बजेसम्म लाइभ कन्सर्ट गरिने आयोजकले जनाएको छ । साथै मेलामा मगर समुदायमा प्रचलित खानाका विभिन्न परिकारको समेत व्यवस्था गरिने भएको छ ।
संस्कार संस्कृतिको जगेर्नासँगै युवाहरुको मागलाई मध्यनजर गरी यस वर्ष माघे संक्रान्ति मेलामा लाइभ कन्सर्ट समावेश गरिएको नेपाल मगर संघ व्यास नगर समितिकी अध्यक्ष रिमा आले मगरले बताइन् । आफ्नो परम्परालाई निरन्तरता दिदै युवा पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण गर्न मगरहरुले हरेक वर्ष माघे संक्रान्ति मनाउदै आएको उनले बताइन् ।
कन्सर्टमा पछिल्लो समय सामाजिक सञ्जाल टिकटकबाट ख्याति कमाएका र्यापर पारस बम ‘कुल बोइ’को मुख्य प्रस्तुति रहने मगर सांस्कृतिक संघ गण्डकी प्रदेशका अध्यक्ष एवं गायक अनुराग थापा मगरले बताए । मेलामा गायक सन्जिव सिंह राना, अनुराग थापा, गायिका मनु राना लगायतको पनि सांस्कृतिक प्रस्तुती रहने भएको छ ।
मौलिकताको जगेर्नासँगै युवाहरुको भावना र चाहनाको कदर गर्दै माघे संक्रान्ति मेलामा केही नयाँपन प्रदान गरिएको नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताए । एक दिन मात्र संक्रान्ति मेला आयोजना गर्दा समय अभावले सांस्कृतिक प्रस्तुतीलाई स्थान दिन नसकिने भएकाले यस वर्ष दुइ दिने मेला आयोजना गर्न लागिएको उनले बताए ।
नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष मनिराज थापाले माघे संक्रान्ति मगरहरुको मौलिकतासँग जोडिएको भएपनि सबैलाई केन्द्रित गरी कार्यक्रम आयोजना गरिएको हुँदा सांस्कृतिक कार्यक्रम सफल बनाउन सबैले सहयोग गर्न आग्रह गरे ।
दमौली बजारमा मसान्तको दिनै मेला लाग्ने चलन पहिले देखिनै भएपनि पछिल्लो समय त्यो संस्कार लोप हुँदै गएको संघका सल्लाहकार यमबहादुर आलेले बताए । मगरहरुको लागि माघे संकराती ठुलो महत्वको पर्व भएकाले यसमा गाइने गीत र नृत्यको विशेष महत्व रहेको उनले बताए ।
मगर समुदायमा पुसको अन्तिम दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, गिठ्ठा, भ्याकुर, खिचडी पकाएर राख्ने र सोही परिकार संक्रान्तिको दिन खाने चलन रहेको छ । त्यस्तै संक्रान्तिको दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर पितृलाई स्मरण गर्दै जल अपर्ण गरे पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास पनि रहेको छ ।