वौद्धमार्गीको लागि लुम्विनी तीर्थस्थल

के.बि. मसाल

लुम्विनी गौतम वुद्वको जन्मस्थल हो । गौतम बुद्धको जन्म इ.पू ६२३ मा प्राचीन कपिलवस्तु राज्यको लुम्बिनीमा भएको थियो । बुद्धको वास्तबिक नाम सिद्धार्थ गौतम हो । सिद्धार्थ गौतमको आमा मायादेवीको उहाँ जन्मेको ७ दिनपछि निधन भएको थियो । सिद्धार्थ गौतमको पालनपोषण शुद्धोदनको दोस्रो रानी महाप्रजावतीले गर्नुभएको थियो । सिद्धार्थका पिता शाक्यवंशका राजा थिए । सिद्धार्थका माता मायादेवी कोलिबंशका थिए । ऋषिहरुले सिद्धार्थलाई या त महान राजा या त महान साधु बन्ने छ भनेका थिए । सिद्धार्थ गौतम बुद्ध वैशाख पूर्णिमामा जन्मिएका थिए भने वैशाख पूर्णिमामै बुद्धत्व ज्ञान प्राप्त गरे । यतिमात्र होइन, बुद्धले वैशाख पूर्णिमामा ज्ञान बाँडे र वैशाख पूर्णिमाकै दिन मृत्युवरण गरे ।

दरबारमा जन्मिएर सुख सयलमा हुर्किएका सिद्धार्थ गौतम संसार बुझन र ज्ञानको खोजीमा दरबार छोडेर निस्किए । उनी परिवारको इच्छा विपरीत दरबारबाट भागेर ज्ञानको खोजीमा निस्किएका थिए । कठोर तपस्यापछि उनमा अदभुत ज्ञान बुद्धत्व प्राप्त भयो । लुम्विनी अहिले स्वदेशी र विदेशी पर्यटकहरुले बौद्ध दर्शन अध्यन र अनुसन्धान गर्ने महत्वपूर्ण स्थल भएको छ । विश्वका डेढ अर्व वौद्धमार्गीहरुको लागि लुम्विनी तीर्थस्थल हो । वुद्वका चारधाम मध्ये एउटा महत्वपूर्ण धाम लुम्विनी हो । बिश्वमा आज पनि ९ देशमा राष्ट्रिय धर्मका रुपमा बुद्ध धर्म स्वीकार गरेका मुलुकहरु छन । पर्यटकहरुका लागि लुम्विनी ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसावले उत्तिकै महत्वपूर्ण छ । जीवनमा एक पटक बुद्धको जन्मभूमिमा पुग्ने आकांक्षा विश्व भरीका बुद्धमार्गीहरुले लिएका हुन्छन । लुम्विनीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको छ । लुम्बिनीको प्रमुख पुरातात्विक आधारहरु भनेका अशोक स्तम्भ शिलालेख, पुष्करिणी अर्थात पोखरी, बुद्ध जन्मेको संकेत ढुङ्गा, बुद्ध जन्मेको मूर्ति, मायादेवी मन्दिर, विभिन्न स्तूपाहरु, तेलार नदी तथा लुम्बिनी गाउँको भग्नावशेषहरु नै हुन । लुम्विनीका यी सबै सम्पदा नेपालको मात्र नभएर विश्वकै धरोहर भएको छ ।

लुम्विनीको गुरुयोजना बनेपछि नेपाल सरकारले लुम्विनी क्षेत्रमा वौद्ध धर्म अंगीकार गरेका विश्वका अन्य देशहरुलाई पनि आ-आफना मौलिक परम्परामा वौद्ध विहार र गुम्वाहरु निर्माण गर्न स्वीकृत दिइएको थियो। हालसम्म जर्मन, चीन, थाईलैण्ड, कोरिया, म्यान्मार, कम्वोडिया, क्यानडा, श्रीलंका, स्वीजरल्याण्ड लगायतका २८ देशले वौद्धविहार निर्माण गरी आफनै देशका लामा गुरु राखेका छन् । लुम्विनीमा वौद्ध विहार निर्माण गर्ने देशका पर्यटकहरु आए पछि आवास तथा भोजनका लागि सबै देशका विहारहरुले गेष्ट हाउस र होटल समेत सञ्चालन गरेका छन्। विहारका लामा गुरुहरुको आवास पाँचतारे होटलको जस्तै सुविधा सम्पन्न छ । लुम्बिनीमा पर्यटकलाई आकषिर्त गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न पाँचतारे होटलहरु खुल्नेक्रम बढेको छ । लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक मध्ये जापान, श्रीलंका, थाइल्यान्ड, म्यामार, चीनका पर्यटकहरु लुम्बिनीमा पुग्ने गरेका छन। बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीमा आउने विदेशी पर्यटकको सख्यामा पछिल्ला वर्षा क्रमशः वृद्धि हुँदै गएको छ ।

लुम्विनीमा आउने पर्यटकहरु मध्य केही बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन र अनुसन्धान गर्न रुचाउछन। लुम्बिनीमा बौद्ध विश्वविद्यालय पनि छ । २०६१ सालमा स्थापना भएको विश्वविद्यालयमा अहिले पिएचडी, बुद्ध दर्शनमा स्नाकोत्तर, स्नातक तह र प्रमाणपत्र तहमा भाषा कक्षा सन्चालन हुदै आएको छ । बौद्ध विश्वविद्यालयमा अध्ययन हुने बुद्ध धर्म भने होइन । बुद्ध धर्मको अध्ययन नभई दर्शनको अध्ययन हुन्छ । अहिलेसम्म प्राप्त बौद्ध ग्रन्थ मध्ये पुरानो र ऐतिहासिक बौद्ध धर्मको प्राचीन गन्थ “अष्टसहाश्रीका प्रज्ञापारमिता” हो । तर त्यो ग्रन्थ अहिले लण्डनको क्याम्ब्रिज विश्व विद्यालयको पुस्तकालयमा सुरक्षित रहेको छ । विश्वविद्यालयमा विभिन्न मुलुकका विद्यार्थीहरुले पनि अध्ययन गर्दछन । लुम्बिनीमा आउने पर्यटकहरुलाई बुद्धको बारेमा ज्ञान दिनका लागि पनि बौद्ध दर्शन पढनु पर्दछ । आजभोली लुम्विनीमा पर्यटकहरुका लागि बुद्धको बारेमा सबै कुराहरु बताइ दिने गाइडहरु पनि हुन्छन । आवस्यक हुने पर्यटकहरुले तीनै गाइडको सहायता लिने गर्दछन् ।

विश्वभरिका डेढ अर्व वौद्धमार्गी पर्यटकहरुका लागि लुम्बिनीले आकर्षा गर्दछ। ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसाबले पनि लुम्विनी उत्तिकै महत्वपूर्ण मानिन्छ । लुम्विनीमा चीनसहित श्रीलंका, कोरिया, जापान, थाइल्यान्ड लगायतका मुलुकबाट ठूलो संख्यामा पर्यटक आउने गरेका छन् । बुद्धमार्गीहरु पर्यटकहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सरकारसंग योजना हुनु पर्दछ । जापानी प्रोफेसर केञ्जो टाँगेले सन् १९७८ मा बनाउनुभएको लुम्बिनी गुरुयोजना झण्डै चार दशकमा पनि पूरा हुन सकेको छैन । गुरुयोजनामा लुम्बिनीलाई विश्व शान्ति शहरका रुपमा विकास गर्ने, वृहत लुम्बिनी बनाउने जस्ता कैयौं महत्वपूर्ण विषयहरु पनि जोडिएको थियो । पर्यटनको बिकासको लागि मायादेवी मन्दिर, तिलौराकोट, रामग्राम, देवदहलगायत सबै स्थान ऐतिहासिक महत्वको भएको हुँदा यी सबै सम्पदाको संरक्षण गर्नुपर्ने हुन्छ । शान्ति, सदभाव र बुद्ध दर्शनको स्रोतको रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभरिका बौद्ध धर्मावलम्बीको पवित्रस्थलका रुपमा विकास गर्न पर्दछ । लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल मात्र नभएर बुद्ध दर्शनको मुहान पनि हो ।

लुम्बिनीमा आउने पर्यटहरुको सख्या बढे पनि उनीहरुलाई भुलाउने योजना र कार्यक्रम अभाव रहेको छ । लुम्बिनीमा पर्यटकहरुको बसाइ अवधि लम्ब्याउन सकेका छैनौं । लुम्बिनी पुग्ने पर्यटकहरु भुलाउने कार्यक्रम आवस्यक छ । लुम्बिनीमा पर्यटकको बसाइ मुस्किलले एक दिन हुन्छ । त्यो पनि धार्मिक कार्यक्रममा जाने पर्यटकहरु मात्र हुन । नत्र उही दिन र्फकने गर्दछन । लुम्विनीमा पर्यटकलाई बसाइको आकर्ष प्याकेज छैन । विभिन्न मुलुकबाट भारत हुँदै लुम्बिनी आउने पर्यटकहरुलाई भारतीय टुर गाइडले केही बेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजाने गर्दछन । अब सरकारी र निजी स्तरबाट पर्यटनमुखी नयाँ आकर्षक कार्यक्रम ल्याउन पर्दछ । लुम्बिनीमा पाहृय पर्यटकहरु मात्र होइन आन्तरिक पर्यटकहरु पनि धेरै पुग्दछन । लुम्बिनी क्षेत्रमा पुग्दा पर्यटकहरुलाई कतै थाइल्यान्ड पुगेको जस्तो अनुभव हुन्छ । भने कतै म्यान्मारजस्तो हुन्छ । कतै कम्बोडिया त कतै श्रीलंका पुगेको अनुभूती पर्यटकहरुले गर्दछन । किनकि, लुम्बिनीभित्रै त्यस्ता प्रशस्त संरचना निर्माण भएका छन । त्यसैले पर्यटकहरुले लुम्बिनीलाई विविधतायुक्त बौद्ध संस्कृतिको सानो संसार मान्दछन ।

लुम्विनी पुगेपछि पर्यटकहरु गौतम बुद्धसंग जोडिएका पुरातात्विकस्थलमा समेत भ्रमण गर्न रुचाउछन् । बुद्धको समयमा लुम्बिनीमा मानव बसोबास सुरु भई मौर्यकालमा विकास भएको थियो । त्यसपछि भने लुम्बिनी लगभग छ सय वर्षसम्म जगंलमा परिणत भएको थियो । अहिले लुम्बिनी र गौतम वुद्धसँग जोडिएको माईती, मावली, जन्मस्थल लगायतका तिलौराकोट, कुदान गोटिहवा, निग्लिहवा, सग्रहवा, अरौराकोटलाई वौद्ध दर्शन सँग जोडेर विश्व सम्पदा सूचीमा राखिएको छ। कपिलवस्तुमा पुग्ने पर्यटकले कपिल ऋषिको जन्मभूमी समथर मैदानदेखि चुरे पहाडका उच्च टाकुरा, जैविक विविधताले भरिपूर्ण विश्व सीमसार क्षेत्रदेखि लिएर विश्व सांस्कृतिक संपदामा सूचिकृत हुन तयार सांस्कृतिक एवं पूरातात्विक अन्वेषण र ऐतिहासिक स्मारकको अवलोकन गर्न सक्दछन। वौद्ध संस्कृति र सभ्यताको हिसावले कपिलवस्तु खुला संग्राहालयनै हो । कपिलवस्तुलाई पूरातात्विक संग्रहालय पनि भनिन्छ । कपिलवस्तुको वाणगंगा देखि पश्चिम, भारतीय सीमा र उत्तर महेन्द्र राजमार्गदेखि दक्षिण भित्र मात्रै १३६ वटा बुद्धसंग सम्बन्धित ऐतिहासिक पुरातात्विक स्थल रहेका छन । कपिलवस्तुको प्राचीन नगरी तिलौराकोटमा राजा शुद्धोदनको राजाप्रासाद रहेको स्थानलाई अहिले संरक्षण गरिएको छ । सिर्द्धार्थ गौतमले २९ वर्षम्म राजकीय जीवन बिताएर ज्ञानको खोजीमा निस्केको स्थल दरबार अहिले भग्नावशेषका रुपमा छ ।

लुम्विनी पुग्ने पर्यटकहरु पुरातात्विक स्थल तिलौराकोट पुग्न खोज्दछन् । तिलौराकोटमा जर्मन विद्वान् फुहररले पहिलो पटक सन् १८९५ मा र कर्णेल वाडेलले सन् १८९८ मा तिलौराकोटको पुरातात्विक र्सर्भेक्षण गरेका थिए । त्यसपछि भारतका पिसी मुखर्जीले दरबार क्षेत्रको धार्मिक स्मारकको नक्सांकन तथा वस्तुकलाको सरसफाइ गरेका थिए । इशापूर्व तेस्रो शताब्दीमा अशोकले उल्लेख गरेका प्रमाण, पाँचौं शताब्दीमा चिनियाँयात्री फाहियान र सातौ शताब्दीमा हृवेनसाङले यस क्षेत्रमा गरेका यात्राका आधारमा तयार भएका प्रतिवेदनले पनि त्यहा पुग्ने पर्यटकहरुलाई खोज र अनुसन्धानलाई सहज बनाएको छ । तिलौराकोटमा पुरातात्विक संग्रहालय रहेको छ ।

संग्रहालयमा इसा पूर्व आठौं, छैठौं शताब्दीको मौर्यकालीन, तेस्रो शताब्दीको सुंगकालीन र कुसाङकालीन समयका माटाका भाँडा, चाँदीका सिक्का लगायतका बिभिन्न पुरातात्विक महत्व झल्कीने महत्वपूर्ण सामाग्रीहरु छन् । तिलौराकोट लुम्बिनीदेखि २७ किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ । पुरातत्व बिभाग र बेलायतको दुर्हम विश्व विद्यालयले गरेको अध्ययन अनुसार प्राचीन कपिलवस्तुको तिलौराकोट दरवार वुद्धकालिन समय भन्दा तिनसय वर्ष अगाडी मानव बस्ती भएको प्रमाणित भएको छ । आजभोली बौद्ध धर्मावलम्बीमा आस्था राख्ने पर्यटकहरु तिलौराकोटको बारेमा चासो दिने गरेका छन ।

सिद्धार्थ हुर्केको स्थल पनि तिलौराकोट हो । सिद्धार्थका लागि राजसी सुखसयल भन्दा पनि मानिसका दुःखका कारण पत्ता लगाउने कुरामा वढि ध्यान रहेको हुन्थो । दरवारको सुखःसुविधा सबै त्यागेर सिद्धार्थ कपिलवस्तु छोडी ज्ञानको खोजीमा निस्किए । दरवार छाडेर हिडेको ६ वर्षमा बोध गया भन्ने ठाउमा ज्ञान प्राप्त गरी राजकुमार सिद्धार्थ बुद्ध भए । बुद्धत्व प्राप्त गरीसकेपछि उनी तिलौराकोट फकिए र केही मानिसहरुलाई आफ्नो चेला बनाए । बुद्धलाई हुर्काएकी आमा प्रजापति गौतमले पनि बुद्धलाई गुरु बनाएर पहिलो महिला भिक्षुणी बनिन् । तिलौराकोटमा राजा शुद्धोधनको दरवार अहिले भग्नावशेष छ । दरवार परिशरको पूर्व भागमा गेट छ । त्यसलाई महाभिनिष्क्रमणको नाम दिइएको छ । यही गेटबाट बुद्धले दरवार छोडेर ज्ञान प्राप्त गर्नको लागि निस्किएका थिए । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २ किलोमिटर दक्षिणी भेगमा अवस्थित कुदान पनि प्राचिन महत्व बोकेको ठाउ हो । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसकेपछि उनी भिक्षाटन गर्दै धेरै ठाउमा पुग्ने बेला राजा शुद्धोधनले बुद्धलाई भनि एउटा छुट्टै दरवार कुदानमा बनाएका थिए ।

पुरातात्विक स्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोट पछि पर्यटकको लागि अर्को गन्तब्य हो जगदिशपुर ताल। जगदिशपुर ताल नेपालकै सबैभन्दा ठूलो मानव निर्मित तथा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको ताल हो । अहिले जगदिशपुर तालमा क्यानाडा, अमेरिका, श्रीलंका, चीनलगायत विभिन्न मुलुकका पर्यटक पुग्ने गरेका छन् । तालमा हेर्न जाने पर्यटकहरुको लागि होमस्टेको सेवा पनि सन्चालनमा आएको छ । होमस्टेमा थारु जातिका लोकप्रिय खाना घोगी, लोकल कुखुरा, ढिकरी, चिचर, खोरिया, हाँसको छोइला समेत खान पाइन्छ । आजभोली वाहृय पर्यटकहरु मात्र होइन गौतम बुद्धको जन्मभूमि लुम्बिनी आन्तरिक पर्यटकहरु पनि पुग्दछन । लुम्विनी पुगेपछि गौतम बुद्धको जन्मस्थलका साथै विभिन्न शैलीमा निर्माण भएका चैत्य तथा गुम्बाहरु अवलोकन गर्दछन ।

लुम्विनीमा पछिल्लो समयमा भएको भौतिक पूर्वाधारको विकासले लुम्विनीको महत्व बढदै गएको छ । बिशेष गरी लुम्विनीमा भूटान, श्रीलका, म्यानमार, जापान, मलेसिया, सिंगापुर, ताइवान, साउथकोरिया, थाङल्याण्ड लगायतका देशका पर्यटकहरु आउने गर्दछन । ती देशहरुबाट सिधा उडान भैरहवामा हुन सके लुम्बिनीमा पर्यटकहरुलाई सुबिधा हुने छ । अहिले पोखरा विमानस्थलबाट भैरहवा, नेपालगन्ज, भद्रपुर र काठमाण्डौ रात्रीकालिन हवाईसेवा पनि सन्चालन भएको छ । पर्यटनको क्षेत्रमा यो सेवालाई राम्रो मान्नु पर्दछ । लुम्बिनी र पोखराजस्ता धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय जगत्मा सिधा पहुँच कायम हुन सके पर्यटकहरुको सख्या बढछ । अर्को तर्फ पोखरा र लुम्बिनी भ्रमण गर्न चाहने बाहृय पर्यटकहरुको समय र पैसा तुलनात्मक रुपमा कम पर्न जान्छ र पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । पर्यटनको बिकास गर्न अब भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर वाहृय पर्यटकहरुलाई नै लक्षित गरी बाग्लुङको बलेवा, ढोरपाटन, पोखरा, झोमसोम, मनाङ, हुम्ला, जुम्ला र डोल्पामा समेत आन्तरिक हवाई उडान गर्नु पर्दछ ।

भैरहवाको बुद्ध चोकबाट लुम्बिनी २३ किलो मिटर रहेको छ भने कपिलबस्तुबाट २७ किलोमिटर र नवलपरासीबाट ५० किलोमिटरको दुरीमा पर्दछ । आन्तरिक पर्यटकहरुलाई पनि लुम्विनी र कपिलवस्तु भ्रमणको लागि कुनै समस्या छैन । लुम्विनी जानका लागि यातायातको सुगमता भएको छ । राजमार्गको सैनामैनाको मुर्गिया, रामापुर, वाँसगढी, कपिलवस्तुको पिपरा लगायतका क्षेत्रवाट सवारी साधन पाउन सकिन्छ। लुम्विनी पुग्न बुटवल, भैरहवा हुदै अथवा गोरुसिङे, तिलौराकोट भएर पनि पुग्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker