इतिहासको पानामा खम्बा विद्रोह

के.बि. मसाल

इतिहास भनेको भएको कुरा हो । सत्य असत्यको विबेचना भएको कुरा लेखेको शास्त्रनै इतिहास हो । इतिहास बनेका घटना र कुराहरु पछिल्लो पुस्ताहरुले सुन्दा र पढदा अचम्म हुन्छन । कतिपय कुराहरु उनिहरुका लागि अपत्यारिलो पनि हुन सक्दछ । १ जनवरी १९५० मा जनवादी गणतन्त्र चीनले तिब्बत स्वशासित क्षेत्रमाथि हस्तक्षेप गर्‍यो । चीनको कब्जामा परेपछि तिब्बतमा हजारौं वर्षदेखि प्रचलित धर्म, संस्कार, संस्कृतिमाथि अतिक्रमण हुन थाल्यो । धर्म, संस्कृतिका कट्टर अनुयायी तिब्बतीहरु चिनियाँ सांस्कृतिक क्रान्तिको मारमा परे । सांस्कृतिक क्रान्तिको नाममा तिब्बतको प्राचीन चैत्य, गुम्बा, माने, कानी, छयोर्तेन, धर्मग्रन्थ तथा प्राचीनतम धार्मिक, सांस्कृतिक सम्पदाहरु नष्ट हुन थाले । सदियौंदेखि बुद्ध धर्मदर्शनमा निर्लिप्त तिब्बतवासीलाई यस्ता गतिविधि सहृय भएन ।

चीन सरकार र स्थानीय सरकारबीच १९५१ मा १७ बुँदे सम्झौता पनि भएको थियो । तर सरकारी पक्षबाट सम्झौता उल्लंघन हुन थालेपछि १९५६ मा तिब्बतमा चिनियाँ जनमुक्ति सेना र व्रि्रोहीबीच सशस्त्र युद्ध सुरु भयो । जुन विस्तारै तिब्बतभरि फैलियो । १० मार्च, १९५९ मा तिब्बतको राजधानी ल्हासामा व्रि्रोह सुरुवात भयो । चिनमा माओत्सेतुले सत्ता लिएपछि २०१६ सालदेखि हजारौँ तिब्बती भागेर नेपाल र भारततिर पस्न थाले । राष्ट्रसंघले तिनलाई शरणार्थीको दर्जा दियो । भागेर नेपाल आउने तिब्बतीहरुलाई काठमाडौं र पोखरामा आश्रय दिइयो । पूर्वी तिब्बतको खाम क्षेत्रका बासिन्दालाई खम्पा अर्थात खामबासी भनिन्छ । खामबासी लडाकु जाती भएकाले चीनको सेनासंग छापामार युद्ध गर्ने तयारीमा जुटे । त्यहि बेलामा अमेरिका, युरोपेली राष्ट्रहरु र भारतले समेतले चीनको सेखी झार्ने नीति लिए । व्रि्रोही खम्बाहरुलाई चिनसंग छापामार युद्ध गर्न सहायता दिन थाले । खम्पा व्रि्रोह सुरु भएपछि राजा महेन्द्रले त्रिभुवनका पालामा नेपाल-चिन सिमा क्षेत्रमा बसेका भारतीय सैनिक क्याम्प हटाए । खम्पा विद्रोह स्वतन्त्र तिब्बतका लागि मुख्यतया नेपाली भूमीबाट भएको सशस्त्र विद्रोह थियो । खम्बाहरु चिनियाँ फौजसँग लडन तालिम र सेल्टरका लागि अवैध रुपमा मनाङ र मुस्ताङमा आएका थिए ।

ब्यापक सैनिक दमनपछि स्वतन्त्रताका लागि गरिएको तिब्बतीहरुको सशस्त्र व्रि्रोह असफल भयो । परिणामस्वरुप ३० मार्च १९५९ मा तिब्बतका राजा चौधौं दलाई लामाले जीवन रक्षाका लागि ल्हासा छाडन बाध्य भए । दलाई लामा अमेरिकी गुप्तचर संस्था सीआइएको सहयोगमा उनी १८ अप्रिल १९५९ मा भारतको आसाम तेजपुरमा आश्रय लिन पुगे । अर्को तर्फ कर्मापालगायत अरु धर्मगुरुहरु पनि नेपाल, भारतलगायत अन्य छिमेकी र युरोपेली तथा अमेरिकी मुलुकमा शरण लिन पुगे । भारतमा रहेका दलाई लामाले अमेरिकी र युरोपेली सरकारको साथ र सहयोग पाएपछि भूमिगत सशस्त्र गुरिल्ला तयार गरे । सुरुमा तिब्बती खम्पा विद्रोहीले चिनियाँ सेनासँग सीमा क्षेत्रमा छापामार युद्ध थाले । वाङदीको नेतृत्वमा गठन भएको तिब्बती छापामार जंगे खम्पा समूहलाई पश्चिमा राष्ट्र, युरोपेली मुलुक र छिमेकको भारतले मानवीय सहयोगका साथै हतियार पनि उपलब्ध गराएका थिए । विशेषतः पश्चिमा राष्ट्र र भारतबाट युद्धकलामा प्रशिक्षित खम्पालाई नेपालको हिमाली क्षेत्रमा जहाजमार्फत उतारिन्थ्यो । तिब्बती खम्पाकै कारण नेपालको हिमाली क्षेत्र अन्तर्राष्ट्रिय शक्तिको रणनीतिक स्थल बन्यो । खम्पाले नेपालभित्रै पनि नेपाली सेना र प्रहरीका हातहतियार खोसेर आतंक मच्चाउने, लुटपाट गर्ने जस्ता अराजक गतिविधि गर्न थाले । जंगे खम्पाहरुले सशस्त्र गतिविधि सञ्चालन गर्न मुस्ताङ र मनाङलाई सेल्टर बनाएका थिए ।

मनाङको पनि अति दुर्गम नार र फू गाउँमा खम्पाहरु बिहान च्याकुबाट झुनाम, झुनामपाङत्यी, गार्ङयानको लेक भएर च्याकुसम्म दौडेर सैनिक अभ्यास गर्दथे । खम्बाहरुले झुनाममा सैनिक पोस्ट बनाएका थिए । च्याकुमा सभाकक्ष, कार्यालय, गोदाम र सैनिक निवास गरी १० वटा भवन बनाएका थिए । त्यसैगरी, उपल्लो मनाङको भ्राताङ क्षेत्र पनि खम्बाहरुकै अधिनमा थियो । तल्लो मनाङबाट उपल्लो मनाङ जाने मूल बाटोमा खम्बाहरुले सैनिक क्याम्प राखेका थिए । आवतजावत गर्ने स्थानीयलाई पनि खम्बाहरुले खानतलासी गर्थे । खम्बाहरुको सैनिक अभ्यासका बेला बाटो हिँडन समेत रोक्ने गर्दथिए । खम्बाहरु त्यो क्षेत्रका भीर, पहरामा दौडेर अभ्यास गर्थे । त्यसबेला मनाङको नार फू र भ्राताङ क्षेत्र खम्पाहरुको नियन्त्रणमा थियो । खम्बाहरुले भ्राताङ, च्याकु, झुनाम, क्याङ र मु्रँचलाई आफ्नै बस्तिका रुपमा विकास गरेका थिए । यस क्षेत्रमा मनाइने ल्होसार, घोडेजात्रा, तीरजात्रा लगायतका चार्डपर्वमा खम्बाहरु स्थानीयसँग मिलेर मनाउँथे । खम्पाहरुले खेरगएको भिरालो जमिनलाई बारी र गह्राका रुपमा विकास गरेर गहुँ, करु र फापरको खेती समेत गर्थे ।

उत्पादित अन्न खम्बाहरुले मुस्ताङ र उपल्लो मनाङमा रहेका आफन्तलाई समेत उपहारका रुपमा पठाइ दिन्थे । नार र फु गाउँमा केही अन्न उत्पादन भयो भने खम्पाहरुलाई बिक्री समेत गर्थे । खम्पाहरुले गाउँलेलाई बिनाब्याज ऋण दिएर सहयोग समेत गर्थे । गाउँमा हुने काममा पनि सहयोग आदान प्रदान हुने गर्दथियो । यातायातका लागि खम्बाहरुले घोडा, खच्चड र याक पालेका थिए । मासुका लागि भेडा, च्याग्रा पालिएका हुन्थे । त्यो बेला आफु बसेका गाउँहरुमा धेरथोर विकासका काम पनि खम्वाहरुले गरे । तर खम्बाहरुले ती सबै काम आफ्नो सहजताका लागि मात्र गरेका थिए । मनाङको चामे नजिक भ्राताङदेखि नार फू गाउँसम्मको बाटोलाई सुधारमा ल्याए । खम्बाहरुले मनाङबाट मुस्ताङ जाने बाटो पनि बनाए । झुनाम खोलामा काठको पुल निर्माण गरे । खम्बाहरुले निर्माण गरेका पुल अहिले पनि मर्मत गर्दै प्रयोगमा आएको छ । मुस्ताङमा पनि कागबेनी, थिनी, छुसाङ, समार, ढिलिङ, धामी, साम्दा, चराङ, पाङच्या र मुक्तिनाथमा पनि खम्बाहरुले क्याम्प राखेका थिए । मुस्ताङमा खम्बाहरुको लागि आवस्यक सरसामानहरु पुर्‍याउन पठार टांगे भ्युमा अमेरिकन सानो स्टल एयर क्राफ्ट पनि ल्याण्ड हुन्थो ।

खम्पाहरु सुरुमा दार्चुलाको व्यास उपत्यका टिंकर क्षेत्र तथा मुस्ताङ, मनाङ, गोरखा, रसुवा हुँदै पूर्व ओलाङचुंगोलासम्म बसेका थिए । खम्बाहरु तिब्बतबाट नेपाल छिर्दा आफुलाई अनुकुल हुने नाका प्रयोग गरे । खम्पाहरु नेपाल छिरेका सबै नेपाल-तिब्बत आउने जाने नाका थिए । कतिपय नाका नेपाल-तिब्बत ब्यापार गर्नका लागि पनि मानिसहरु हिडने गर्द थिए । भारतको धर्मशालाका तालिमप्राप्त सयौं लडाकू खम्पाहरुले विशेष गरी उपल्लो मुस्ताङ, मनाङ र गोरखाका दुर्गम गाउँहरुमा क्याम्प बनाएर बसेका थिए । खम्पा विद्रोहीले तिब्बतमा वितण्डा मच्चाउन गोरखाको स्यार भोटको चुम उपत्यका र लार्के भोटको नुब्री उपत्यकामा पनि खम्बाहरुले सेल्टर बनाएर बसेका थिए । लार्केतर्फ स्यालाको जंगलमा सयौको समूह बस्ने गर्थे । त्यो बेला खम्पाहरुले हतियार, आर्थिक तथा प्राविधिक सहयोग र सैन्य तालिम पनि अमेरिकाबाटै पाउँने गरेका थिए । खम्बाहरु घोडा चढेर हिँडने साथमा पेस्तोल समेत बोक्ने गर्दथे । खम्बाहरु देख्दैमा रिसाहा जस्ता देखिन्थे । खम्पा भनेपछि गाउँलेहरु डराउथे । तर नेपाल प्रहरीसँग खम्बाहरु निहुँ खोज्दैनथे । प्रहरी चौकी नजिक आइपुगेपछि घोडा दौडाएर जान्थे । रातीमा तिब्बतीको खाद्य गोदाममा लुटपाट गर्ने काम खम्बाबाट हुने गर्दथ्यो । चुम उपत्यका हिंसारहित क्षेत्र हो । तर खम्पाहरुले स्थानीय नीतिनियम उल्लंघन गरी उपत्यकाभित्र काटमार समेत गर्ने गरेका थिए । खम्बादेखि स्थानीयवासी हैरान हुन थाले । गाउँमा मिटिङ बसेर हाम्रो क्षेत्रभित्र काटमार नगर, आनी, छोरीबुहारी नबिगार भनेर धेरैपटक भने । त्यसपछि आनीहरु तानेर लान छोडे तर काटमार गर्न छाडेनन । खम्पाले त्यस बेला चुम उपत्यकामा धेरै छोरीचेलीलाई बलात्कार गरे । अर्काको श्रीमती पनि खम्बाहरुले लान थाले । गुम्बाका आनीहरु पनि बलात्कार हुन पुगे ।

खम्पा विद्रोहीको मुख्य केन्द्र मुस्ताङ थियो । उनीहरुका सर्वोच्च कमान्डर वाङदी मुस्ताङमा बस्दथे । खम्बाहरुले क्याम्पबाट बेलाबखत तिब्बतमा छिरेर विध्वंश मच्चाउने गर्थे । तिब्बतमा जनताका घरहरु लुटने, बलात्कार गर्ने, घरहरुमा आगो लगाउने, चौंरी र भेडाहरु मारेर मासु लिएर क्याम्पमा फर्कने गर्थे । खम्बाहरुको यस्तो क्रियाकलाले नेपाली भूमीका मानिसहरु डराउथे । तर उनिहरुसंग बोल्न सक्दैनथे। खम्बा बिद्रोहको समयमा अहिले जस्तो दुर्गम भेगमा कुनै सडक यातायात थिएन । खोला, नाला र नदीमा काठको फड्के अथवा लाप्सोबाट तर्न पथ्र्यो । दुर्गम ति जिल्लामा धान खेती हुँदैन थियो । करु, गौहु र मकैले उनिहरुलाई खान पुग्ने थिएन । चामल लिनको लागि उपल्लो गोरखाका मानिस आरुघाट आउने गर्थे । बाटोघाटो थिएन । यस्तै कठिन मनाङमा पनि थियो । त्यो बेला मनाङ, मुस्ताङ र उपल्लो गोरखामा नेपालको शासनै थिएन भन्दा पनि हुन्छ ।

तिब्बती शरणार्थीहरुलाई आश्रय दिएको भारत पनि खम्बा बिद्रोहमा प्रत्यक्ष सहभागी भयो । अमेरिकी गुप्तचर संस्था सीआइएले तिब्बती गुरिल्लाहरुलाई तालिम दिन कोलोराडो राज्यमा तालिम केन्द्रनै बनाएको थियो । अन्य खम्पा बिद्रोहीलाई तालिम दिन भारतीय गुप्तचर संस्थाहरु इन्टेलिजेन्स व्युरो आइबी र पछि रअसंग मिलेर भारतको देहरादुनमा पनि स्टाब्लिसमेन्ट २२ प्रशीक्षण शिविर सञ्चालन गरेको थियो । दलाइ लामा र नेपालमा परिचालित खम्पाहरुलाई तालिम र हातहतियारका अलावा अन्य खर्चका लागि सीआइएले हरेक वर्ष १७ लाख अमेरिकी डलर दिने गरेको थियो । तीमध्ये पहिलो तालिमका लागि सन १९५६ मा ६ जना खम्पा युवा अमेरिका पठाइएको थियो । दार्चुलाको लिपुपासमा मारिएका वाङदी ती ६ जना मध्येका एक थिए । तालिमपछि चिनियाँ सेनाविरुद्ध व्रि्रोहका लागि युवाहरुलाई हतियार र सञ्चार उपकरण दिएर एयर ड्रप हवाईजहाज मार्फत सीआईएले तिब्बत पुर्‍याउने गरेको थियो । सुरुमा खम्पा विद्रोहीहरुको संख्या करिव दुइ हजार रहेपनि त्यसको दुइ तीन वर्षमै त्यो बढेर करिब १० हजार पुगेको थियो ।

खम्पाहरुका लागि आवश्यक अत्याधुनिक हतियार, खाद्यान्न सामग्री, सीआइए र रअले खम्बाहरु भएका ठाउँमा पुर्‍याउने गरेका थिए । ती सामाग्रीहरु खासगरी मुस्ताङको यारफु, टांगेभु र पूर्वका आलाङचुङगोलाको याङमा खसालिन्थे । यस अतिरिक्त हतियार ढुवानीका लागि सीआइएले काठमाडौंको स्युचाटार र रसुवाको थाम्बुचेतमा साना बिमान बस्न सक्ने बिमानस्थल समेत बनाएको थियो । यी क्षेत्रमा हतियार ओसार्नका लागि थाइल्यान्डको व्याङ्ककस्थित अमेरिकी सैन्य अखडाबाट भियतनाम युद्धताका सीआइएले जासुसी प्रयोजनका लागि स्थापना गरेको एयर अमेरिकाका बिमानहरु परिचालन गरिन्थे । खम्पाहरुले नेपाली भूमिमा पनि ज्यादती गर्दै थिए । आधुनिक हतियारले सुसज्जित खम्पाहरु उत्तरी सीमामा त्यस बेला रहेका नेपालका सुरक्षा कर्मीहरुलाई समेत विभिन्न उर्दी जारी गर्थे । त्यस बेलाका सुरक्षाकर्मीहरु पनि खम्बाहरुको आदेश कार्यान्वयन गर्न बाध्य हुन्थे । पछि चीन बिरुद्ध संघर्षरत खम्पाहरुले उत्तरी सीमामा रहेका नेपालका जिल्लासमेत आफ्नो रहेको दावी गर्न समेत थाले । ती क्षेत्रमा खम्बाहरुले आफ्ना झण्डाका साथै राष्ट्रपतिका रुपमा दलाई लामाको तस्बिर झुण्डयाउने काम पनि गरे ।

खम्पा विद्रोह चर्कदै गएपछि चीन सरकारको अनुरोधमा हिमाली क्षेत्रमा आश्रय स्थल बनाएर सशस्त्र गतिविधि गर्दै आएका खम्पाहरुलाई नियन्त्रणमा लिन नेपाल सरकारले सेना परिचालन गर्‍यो । तिब्बती शरणार्थी र सशस्त्र खम्पालाई मानवीय सहायता उपलब्ध गराउने पश्चिमा शक्ति र भारतीय संस्थामाथि निग्रानी राख्न सरकारले सुरु गर्‍यो । खम्पा व्रि्रोहीलाई चीनसँग लडन हतियार बोकेर नेपालको उत्तरी क्षेत्र आउने भारतीय जहाजसमेतलाई उडानमा प्रतिबन्ध लगाइयो । तिब्बती शरणार्थीलाई मानवीय सहायता उपलब्ध गराउने विमानस्थलसमेत बन्द गराइयो । मानवीय सहायता सामग्री बोकेर हिमाली क्षेत्रमा उडने जहाजमाथि कडा निग्रानी राख्न थाल्यो । खम्पा विद्रोह नियन्त्रणका लागि सरकारले हिमाली क्षेत्रका केही भागमा विदेशीलाई प्रवेश निषेध गर्‍यो ।

नेपाल प्रहरी, शाही नेपाली सेनाको संयुक्त कमाण्डमा रहने गरी खम्पा व्रि्रोह नियन्त्रणका लागि अपरेसन थालियो । सैनिक बटालियन गणसहितको शाही नेपाली सेना हेलिकोप्टर सहित सशस्त्र खम्पाहरुलाई नियन्त्रणमा लिन मनाङ र मुस्ताङ पुग्यो । मुस्ताङ पुगेका सैनिक अधिकारीले खम्पाहरुलाई हातहतियार बिसाएर आत्मसमर्पण गर्न समयसीमा समेत तोके । सेनाको अगुवाइमा तिब्बती खम्पा नियन्त्रणको प्रयास थालिएसंगै केही छापामार पक्रिए । केही भागेर भारत प्रवेश गरे र केहीले आत्मसमर्पण गरे ।

खम्पाका कमान्डर वाङदी आत्मासमर्पण गर्न तयार भए तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पश्चिमी डोल्पा, मुगु, जुम्ला, हुम्ला हुँदै भागे । पछि २०२८ सालमा प्रहरी चौकी आक्रमणमा संलग्न हुँदै गर्दा उनलाई दार्चुलामा सेनाले मारिदिएको थियो । कमान्डरको मृत्युपछि खम्पाहरुका सशस्त्र गतिविधि सेलाउँदै गए । नेता मारिएपछि बचेका छापामारले नेपाल सरकारसँग हतियार बिसाए । आत्मसमर्पण गरेकाहरुलाई निःशस्त्र बनाइयो र शरणार्थीकै रुपमा नेपालमा बस्न इजाजत दिइयो । तिब्बत छुने सीमा क्षेत्रमा रहेका केही तिब्बती शरणार्थीलाई २०३२ सालमा पोखरा काठमाडौँको स्वयम्भू, बौद्धलगायत स्थानमा सारियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker