लोकप्रिय ठाडो भाका गीत
लोक गीतको जन्म धौलागिरी, हुर्कने अर्थात परिमार्जीत हुने गण्डकी र फैलिने अन्य जिल्लामा गर्दछ भन्ने गरिन्छ । तर लोकप्रिय ठाडो भाकाको उदगमस्थल लमजुङ हो । करिव एकसय वर्ष भन्दा अगाडीदेखि लमजुङको खजेगाउँ, तुर्लङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ वरपरका गाउँघरमा गाइने ठाडो भाकाका गायक देउबहादुर दुरा मानिन्छन । लमजुङ जिल्लाको दुराडाँडामा आदिकालदेखि नै दुराजाती बसोबास गर्दै आएको थलो हो।
ठाडो भाका लमजुङ, गोरखा, तनहुँ, कास्की तथा स्याङजा जिल्लामा प्रचलित छ। ठाउँ अनुसारमा यसमा केही स्थानीय भेदहरु भेटिन्छन् । स्याङजा जिल्ला वरपर ठाडो भाकालाई सालैजू भाकाको रुपमा लिने गरेको पाइन्छ । देउबहादुर दुराले सुरुवात गरेका ठाडो भाकालाई अन्य विभिन्न नामले पनि चिनिन्छ । जस्तै लमजुङे भाका, कर्पुटारे भाका, दुरा भाकाजस्ता नाम पनि ठाडो भाकामा जोडिएको पाइन्छ । ठाडो भाकाको उदगमस्थल लमजुङ र कर्मभूमि कर्पुटार मुख्य थलो भएकोले कर्पुटारे भाकाको महत्व धेरै रहेको छ । ठाडो भाकालाई देउबहादुर दुराबाट सिर्जना भएकोले ‘दुरा भाका’ भन्दा पनि हुन्छ । लमजुङको पश्चिमी सीमानामा मादी र मिदिमको दोभानमा रहेको करापूटार देउबहादुर दुराको मुख्य सांगीतिक कर्मभूमि मानिन्छ । करापुटारमा लाग्ने फागूपूर्णिमा र शिवरात्री मेलामा उनले सुरुवात गरेको ठाडो भाका गीत अहिले पछिल्लो पुस्ताले पनि गाउने गरेका छन ।
ठाडो भाकाको उदगमस्थल कर्पुटार भएपनि पछिल्लो समयमा लमजुङ जिल्लाका प्रायः सबै गुरुङ गाउँहरुमा मेलापात र रोधीघरमा ठाडो भाकाका गीत गुञ्जीन थाल्यो । दुरा जातीबाट सुरुवात भएको गीतको भाका कसरी गुरुङ जातीमा पुग्यो – यस्ता अनगिन्ती प्रश्नहरु उब्जिन सक्दछ। कर्पुटार भन्दा माथीको भूगोलको अधिकाशं भागमा गुरुङ जातीको बस्ती रहेको छ । हरेक गाउँको माथी अथवा केहि दुरीमा मानवबस्ती छैन । ती दुर्गम भूगोलमा खेतीयोग्य जमिन पनि छैन । ती खर्कहरुमा भेडाबाख्रा र गाई भैसीको चरन क्षेत्र मात्र छ । ती चरिचरण क्षेत्र अर्थात खर्कहरुमा भेडाबाख्रा र गाई भैसीका गोठ रहन्थे । ती गोठमा बस्ने गोठालाहरु ठाडो भाकाको गीतबाट प्रभावित हुन पुगे ।
गुरुङहरुको पुर्ख्यौली थलो नै लमजुङ हो । लमजुङमा एउटा गाउँपालिकाको नाम क्व्होलासोथार छ । क्व्होलासोथार को शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो । तर पछि खासगरि लमजुङ, कास्की, तनहुँ, गोरखा, पर्वत, स्याङजा र अन्नपूर्ण हिमश्रृंखला आसपासमा समेत गुरुङ जातीको बसोवास छ । ठाडो भाकालाई प्रचार गर्ने माध्यम खर्कमा रहने गोठालाहरु हुन पुगे । अर्को तर्फ लमजुङ जिल्लामा बाइसे चौविसे राज्यकै पालादेखि धेरै ठाउँमा चाडपर्वहरुमा मेला लाग्ने थियो । कर्पुटारको शिवरात्रीको मेला पश्चिम लमजुङको ठूलो मेला पनि हो । यो मेलामा प्राय पश्चिम क्षेत्रका गुरुङ गाउँका मानिसहरु पुग्ने गर्थे ।
ठाडो भाकाको गीतमा अन्त्यानुप्रास मिलाएर भन्नु पर्दछ । जती गीतका टुक्काहरु हुन्छन प्रायः प्रकृतिसंग जोडिएर मायाँ र पिरतीमा टुङगीने गर्दछन । जस्तै हा… ऐलेकोमा साल भनु पानी नपर्नाले, उमार ब्रि्रो टारको जौ…., माछाखाने ओत दुखी छोरा म त, धरतीलाई धसी, पन्चैखालमा बसी, ठूलो राजा चिन भनु आजुकोमा दिन, मिदीमखोला तरी, मै आउँदा खेरी भेट हुनलाई भयो धौ…..!
ठाडो भाका दोहोरी हुन्छ । विशेष गरेर ठाडो भाका लमजुङ जिल्लाको दुरा र गुरुङ जातीको मौलीक गीत हो । ठाडो भाकामा गाउँका, दुःखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवै कुराहरुलाई समेटेर गीत गाउने गरिन्छ । जस्तैः हा…हा… हो… जन्मदिने आमा, स्वर्ग तार्ने लामा, कर्म दिने कुटुम्व…! हा… हा… धाउनेचरी धाइच, धन सम्पती भन्दा पनि मायाँ ठूलो रैच, नदी जागर तर्यो, मन नलगाए पनि छोडीजान पर्यो, गाठो पर्यो मुटुमा…! यो ठाडो भाकाको टुक्का गायक धम्पु गुरुङको स्वरबाट लिएको हो । त्यहि गीतलाई जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस बखत दोहोरी गीत भनिन्छ । गाउँघरमा गाउने गीतमा ठाडो भाका बाहेक दोहोरीमा विभिन्न पाटाहरु समेटिएका हुन्छन् । सोरठी, कौडा, झयाउरे लगायत पनि दोहोरी गीत हुन्छन् । गीतमा केटा अनि केटीका सवाल जवाफहरु हुने गर्दछन ।
ठाडो भाका सुरुवात गरी गाउँठाउँ, मेलापात र जात्रामा सबैलाई झुम्याउने देउबहादुर दुरा सांगीतिक क्षेत्रका विलक्षण प्रतिभाका भएका ब्यक्ति थिए। उनको जन्म लमजुङको नेटा हाडीखोलामा भएको थियो । देउबहादुर दुराको जन्म र मृत्युबारे मतभिन्नता पाइएको छ। उनको जन्म बि.सं. १९५० देखि १९५४ सालको बीचमा भएको मानिन्छ। उनको मृत्युुबारे यस्तै मतभिन्नता रहेको छ। देउबहादुर दुराकाको मृत्यु वि.सं. १९९२ देखि १९९४ मा भएको मानिन्छ । १९९४ लाई मृत्यु मान्ने हो भने पनि देउबहादुर दुरा ८० वर्षअगाडीनै मृत्यु भै सकेको छ । तर पनि उनको नीजि जीवन र सांगीतिक यात्राबारे थरिथरिका कुरा गाउँघरमा अझै पनि सुन्न सकिन्छ । देउबहादुर दुरा सात दिन सात रातसम्म गीत गाउन सक्थे । उनको गीती शब्दजाल माकुराको जालभन्दा सुन्दर हुन्थ्यो । उनी आफूसँग गीतमा सवाल, जवाफ गर्नेलाई मर्मभेदी किसिमले शब्द प्रवाह गर्थे, प्रतिद्वन्द्वीहरु निःशब्द बन्थे ।
देउबहादुर दुरा नाँचगानमा पनि रुचि राख्दथे। कर्पुटारको फागुपूर्णिमाको जात्रामा गीत मात्र होइन छेलो समेत हान्थे । त्यसबेला काठमाडौंमा २४ वटा पल्टनको छेलो प्रतियोगितामा उनी प्रथम भएका थिए । यसैगरी करापुटार, तुर्लुशकोट कालिका, मिर्लुङको ठूलोढुङ्गा आदि स्थानमा लाग्ने जात्रामा हुने छेलो प्रतियोगितमा उनी कहिल्यै पनि दोस्रा भएनन् । उनी धेरै बलवान थिए, राँगोलाई उचालेर सबैलाई चकित पार्दथे । देउबहादुर दुरा ठाडो भाकाका मुख्य नायक थिए भन्ने कुरा उनको नाम जोडेर गाइने गीतले बुझ्न सकिन्छ । ‘देउबहादुर दुरा पञ्चसुब्बा गुरुङ करापुमा घमसान’, ‘कहाँ गयौ देउबहादुर दुरा, शून्य भयो करापुटार बजार,’ ‘माइत जाँदा कुरौनी पाहुर, गयो क्यारे देउबहादुर लाहुर’, ‘देउबहादुर दुरा करापुटार झर्यो बूकी फूल लाउँदै लाउँदै…! देउबहादुर दुराले पञ्चबलि दियो, पैसा राख्यो दुनादुनी’ । यी गीतले देउबहादुर दुराको सांगितिक नायकत्वलाई मात्र संकेत गर्दैनन् तत्कालीन सामाजिक परिदृश्यलाई समेत दर्शाउँछ ।
ठाडो भाका शिरोमणि स्व. दीर्घराज अधिकारी अर्थात भेडीखर्के साइँलाले पनि आफ्नो जीवनमा ठाडो भाका गीत गाएर संरक्षण गर्नु भएको थियो । लमजुङको सुन्दरबजार नगरपालिका, परेवाडाँडा निवासी भेडीखर्के साइँलाको ८५ वर्षो उमेरमा बिते । कर्पुटारे ठाडो भाका उनले १२ वर्षको उमेरदेखि गाउन थालेका थिए । पञ्चैसुब्बा गुरुङ र देउबहादुर दुराले प्रत्युत्पादन गरेको ठाडो भाका गीत यिनै भेडीखर्केले जीवन्त बनाएर लमजुङको सेरोफेरामा गुन्जी रहेको छ । अरुले गाएको सुन्दा कर्णप्रिय र सजिलो लाग्ने ठाडोभाका गीत गाउनेलाई भने सजिलो छैन । लमजुङका प्रायजसो सबै गुरुङगाउँमा ठाडो भाकामा दोहरी गीत गाएको सुन्न र देख्न पाइन्छ । मेलापात, रोधी, चौतारी, विवाह र आजभोली हुने बिभिन्न उत्सवहरुमा युवायुवतीहरु मादल, मुजुरा, बाँसुरी आदी बाजाहरुको तालमा दोहरी गीत गाउने गर्दछन्। तर गाउँ र ठाउँ अनुसार भाका र ठाडो भाकाको र अनी भने अल्ली फरक मानिन्छ । पुर्वी लमजुङ भुम्लीचौर, बिचौर, चारथर अर्थात इलम पोखरी आसपासमा गाइने ठाडो भाका र नौथर गाउँतिर गाईने भाकामा फरक हुन्छ । त्यस्तै, दुवार, भंसार, हिले, लाकुरीबोट, भुलभुले, उस्ता हुँदै चिप्लासम्मको भाका छुट्टै मानिन्छ । मर्स्याङदी पश्चिम घनपोखरा, वाग्लुङपानी, घलेगाउँ हुँदै भुजुङको सेरोफेरोमा सुनिने ठाडो भाकाका स्वर अल्ली भिन्न हुन्छ । तर ठाडो भाका गीत सबै ठाउँका मानिसहरुले गाउने गर्छन् । यहाँ पुर्वी लमजुङको तस्यो, राइनासकोट र चेपे खोला पारी गोरखा जिल्लाको सिरानचोक तिरका गाउँमा गाइने ठाडो भाका गीतका टुक्काहरु यस्तो हुने गर्दछ :
केटा- हो…. बाबानै ज्यु को त्यो गैरी खेत, हलगोरु जोतनी……
हा…. रातोमाटो खानी, भेट नभएको पनि, पटुकीलाई पयो, धेरै बर्ष भयो, बल्ल भयो भेट नानी हालचाल के छ – गरौ की सोधनी……
केटी- हो… धानैको वाला हरियोमा भयो, पिपलुको छायाँले……
हा…. दामपैसा गनी, हालचाल के छ भनी, गाईको नाम त गाजु, सोधनी गर्यो दाज्यु, मैना चरी त ता, सन्चै छु म ता हजुरको मायाँले…..
केटा- हो….चितवनको माडी नानी, काठमाण्डौको खाडी जता हेर्यो सम्मै सम्म….
हा…… मैत परे दंग, हितको बैनीसंग, गाईको नाम त लछी, धेरैसाल पछि, दिनमा खाने खाजा, भेट भयो आज, लाइदेउ मायाँ झयामैझयाम…..
केटी- गोर्खामा पर्यो सिरानचोक डाडा, लमजुङमा पर्छ कुन्छा…हा…..
हा…हिमाल राम्रो हिउले, रामरासी ज्युले, लौ न एकछिन, भेट भा को दिन, दाम पैसा गन्छ, लगाउ मायाँ भन्छ, त्यसो भए हुन्छ….
दोहरी गीत नेपालीहरुको परम्परा पनि हो । ठाडो भाका पनि दोहारी गीत हो । तर आजभोलि गाउँघरमा ठाडो भाका मात्र होइन अन्य भाकाका दोहरी गीत गाउने प्रचलनमा कमी हुँदै आएको छ । दोहोरी गीतमा दुइ तर्फबाट आएका गीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ हो । विशेष गरेर दोहोरी गीत भनेको कुनै भाकामा रहेर तत्काल गीत सृजना गरिन्छ । यसरी सृजना गरिने गीतमा प्रकृति भित्र रहेका सबै गाउँठाउँ, नदी झरना, डाडाँकाडा गीतको अन्त्यानुप्रास मिलाउँदा जोडिने गर्दछन । ठाडो भाकामा त झनै टुक्कापिच्छे यस्ता शब्द जोडिन्छ । जस्तै हा….हा…. धरतीलाई धसी, मैले भनेपछि, घासकाटु काया सुन मेरो मायाँ, गरिवको बचन…। ठाडो भाका यसरी अन्त्यानुप्रास जोडदै गाउने गरिन्छ ।
ठाडो भाकाको गीत अन्य दोहरी गीतभन्दा उर्वर मानिन्छ । विभिन्न जातजाति, धर्म संस्कृतिका मानिसहरुको बसोबास रहेको लमजुङ जिल्लाको गुरुङ गाउँहरुमा ठाडो भाकाको भण्डार रहेको महसूस हुन्छ । दिनभरी मेलापात गर्ने, साँझपख थाकेर लखतरान परेको शरीर उकालीको चौतारीमा भारी बिसाएर मनको भारीलाई हलुंगो पार्न एकैछिन भनेपनि ठाडो भाकाको स्वरले थकाई मार्दछन। खेतवारीको मेलापाता र गाईवस्तु चराउँदा मनोरञ्जनको लागि गीत गाउने प्रचलन छ । ठाडो भाकाको गीतमा समसामयिक घटनाको प्रसंग, ऐतिहासिक घटना, सामाजिक प्रवृत्ति तथा बानी व्यहोराको व्यापक चित्रण गरेको पाइन्छ । रागात्मक प्रेम प्रसंग, विरह व्यथा, वियोग, चिन्ता, पारिवारिक असन्तुलन, अभाव, पीडा, संघर्षको दुःखद् परिणाम, आघात, असन्तुष्टि, कुण्ठा आदि पनि ठाडो भाकाको गीतमा अभिब्यक्त हुन्छ । ठाडो भाका गीतले मनोरञ्जनका साथै जीवन जगतका घतिला अनुभूति तथा मानवीय आदिम मनोवृत्तिसँग भेट गराएको अनुभुती हुन्छ ।
केहीवर्ष अगाडीदेखि ठाडो भाकाका दोहोरी गीतका क्यासेड बजारमा आएका छन् । अहिले त्यसरी आएका गीतहरुले वजार पनि पाएका छन् । तर ती क्यासेडका ठाडो भाकाका गीतहरुमा केवल एकजना गीतकारले केटा र केटी दुबैको सवाल जवाफको भावना समेटेको हुन्छ । जुन गीतलाई गाएक गायीकाले गाउने गर्दछन् । जुन यथार्थ गाउँघरमा सुनेको र देखेको दोहोरी गीत जस्तो हुँदैन । तर पनि हामी रेडियो, टेलिभिजनमा लोकगीत, लोकदोहोरी सुन्ने र म्युजिक भिडियो हर्ेर्ने गर्दछौ । लोकगीत भनेर अहिले जे उत्पादन भइरहेका छन, ती वास्तवमा लोकगीत हैनन् । मौलिक भाका, ठेट शब्द र स्थानीयताको सुगन्ध लोकगीतको पहिचान हो र हुनु पर्दछ । अहिले लोकगीत पनि व्यवसायीकरण भएको छ । जस्ले गर्दा लोकगीतको मौलिकता हराउँदै गएको छ । अहिलेका ब्यवसायीक लोकगीत सुन्दा यो कहाँको कुन भाका भनेर पहिचान गर्न सकिंदैन । न ख्याली, न रोयला, न टप्पा, न हाक्पारे, न गोठाले, न सालैज्यो न त झ्याउरे, न ठाडोभाका । ती ब्यवसायीक लोकगीतले लोकभाकालाई बंग्याएको छ, अर्थको अनर्थ लाग्ने बनाएको छ ।
लोकगीतको मौलिकता खोज्न लमजुङ जिल्लाको गुरुङ गाउँतीर जानु पर्दछ। गुरुङ जाती प्रकृति र सँस्कृति प्रेमी हुन । गुरुङले गुरुङ भाषामा आफूलाई तमु भन्दछन्। तमु जातिमा बिशेष गरी तीन दशक अगाडीसम्म रोधीको प्रचलन थियो । गुरुङ जातिमा गाउँको निश्चित ठाउँमा युवायुवतीहरु भेला भएर गीत गाउने ख्याल ठट्टा गर्ने स्थानलाई रोधीघर भनिन्छ । रोधीको शाब्दिक अर्थ गुरुङ भाषामा रो सुत्ने, दी घर अर्थात सुत्ने घर हो तर रोधी घरलाई नाचगान मनोरञ्जन गर्ने आराम गर्ने घरको रुपमा पनि लिने गरिन्छ । गुरुङ भाषिहरुले बोल्ने क्रममा लमजुङमा रोधी भन्छन् भने स्याङजातीर रोदी भनेर उच्चारण गर्छन् । रोधीको आफ्नै विशेषता छ । रोधीमा बाबुआमा, दाजुभाइ, दिदीबहिनी, छोरीबुहारी बाहेक बाहिरका युवायुवती जम्मा भएर गीत गाउँछन् नाच्छन् । गीतको टुक्का केटाले निकाल्ने र केटीहरुले लेघ्रो तानेर मसिनो आकर्षक स्वरमा छोप्ने गर्छन् । रोधीमा गीत गाउँदा केटा र केटीबीच अनेक छेडखान र माया प्रीतिका कुरा पनि हुने गर्दछन । रोधीमा दोहोरी गाउँदा हारजित नभएसम्म निरन्तर चल्ने र कहिलेकाही चारपाँच रातसम्म पनि गाइरहने र अन्त्यमा बिहे नै गर्ने पनि प्रचलन थियो । तर त्यो प्रचलन आजभोली कथा बनेको छ ।
गाउँघर र कुनाकन्दराका मानिसहरुको दुःख सुख बिसाउने थलो हो रोधीघर । मेलापातबाट आ-आफ्नो घर गएर बेलुका खाना खाएपछि रोधीघरमा जम्मा हुन्थे । रोदीघरमा मेलापातका कुरादेखि लिएर भोलिका दिनमा गरिने कामको सबै चाजोपाजोका कुराकानी पनि हुन्छन । रोधीमा हातमा बुन्ने सामाग्री लिने र मुखले मनका गीतहरु गाउने तथा सुखदुःख साटासाट गर्ने काम पनि रोधीमा हुने गर्दछ । गाउँघरमा उतिबेला मनोरञ्जन गर्ने कुनै साधन थिएनन् । अहिलेका जस्तो टेलिभिजन, रेडियो, फिल्महरु र गीतसंगीन नभएको बेला मनोरञ्जन गर्ने थलो नै रोधीघर थियो । दिनभर काम गरेर लखतरान भएका गाउँलेहरु साझपख रोधीघरमा जम्मा भएर नाचगान गर्दै रमाईलो गर्थे । आजभोली मनोरञ्जन गर्ने तरिका बदलिनु र मनोरञ्जनका अनेकन साधन सर्वसुलभ हुनुले पनि रोधी हराउँदै गयो । रोधी संस्कृति पुरै लोप नभएपनि लोपोन्मुख छ । तर, पूरानो शैलीको रोधी भने अहिले पाइदैन । आधुनिकता दिएर लमजुङको घलेगाउँ, कास्कीको धम्पुस, स्याङजाको सिरुबारी जस्ता होमस्टे सन्चालन भएका गाउँहरुमा रोधीकै झलक दिएर ब्यवसायीक रुपमा ठाडो भाका गीत सुनाएर पर्यटकहरुलाई रमाइलो गरादिने गरिन्छ ।
दुराबाट सुरु भएको ठाडो भाकाको गीत गुरुङ र अन्य समुदायमा लोकप्रिय हुँदै गयो । तर अहिले यो संस्कृतिलाई बचाउन गारो हुन थालेको छ । भाषा जस्तै लोकसंस्कृतीको परम्परामा एक चोटि बिचलन आयो भने त्यो फर्काउन असम्भव जस्तै हुन्छ । भौतिक बिकास गर्न सम्भब छ तर भाषा लोकसंस्कृति र परम्परामा बिचलन भयो भने पुनःस्थापन गर्न धेरै मुल्य चुकाउनु पर्ने हुन्छ । राणाकाल र पञ्चायतकालमा आदिवासी जनजातीहरुको आफ्नो राष्ट्रिय भाषाहरु स्कुलहरुमा पढ्न लेखन बन्देज लगाइयो । एउटै भाषा एउटै भेष एउटै संस्कृती राष्ट्रिय हुने नीति अबलम्बन गरे । भाषिक किताब र साहित्यहरु प्रकासनमा बन्देज लगाइयो । यीनै कारले पनि अहिले गुरुङ र दुरा जातीहरुमा आफ्नो भाषा र लोकसंस्कृति हराउन थालेको छ, भन्दा पनि हुन्छ । हाम्रो समाजमा एउटापुस्ताले अर्को पूस्तालाई भाषा, संस्कृति र परम्परालाई हस्तान्तरण गर्दै आएका छन । दुरा र गुरुङ जातीहरुको भाषा, धर्म, परम्पराहरु भित्रको लोकसंस्कृतिलाई संरक्षण गर्नु पर्दछ ।
चाहे जुनसुकै गाउँठाउँमा गाएको लोकगीत अर्थात ठाडो भाकामा नीजि कुरा हुँदैन । ठाडो भाकामा लोकको आफ्नो गीत हुन्छ, जुन गीत परम्परामा गाँसिन्छ र परम्पराले समय-समयमा अनुकूल परिवर्तन गर्दै रहन्छ । समाजमा परम्परादेखि गाउँदै र चल्दै आएको ठाडो भाका वा अन्य भाकाका गीतहरु नै लोकगीत हुन । लोकगीत भनेको लोकजीवनको रागात्मक स्वतः स्फूर्त लयात्मक अभिव्यक्ति पनि हो । ठाडो भाकामा लोक जीवनको दुःख सुख, आँसुहाँसो, आशा-निराशाका साथै लोकका चाल चलन, विधि व्याहार, आस्था र मान्यताहरुको चित्रण पाइन्छ । साधारण शब्दमा लोकले अथवा सबैले गाउने गीतनै लोक गीत भन्ने गरिन्छ।
अर्को शब्दमा सबैले सजिलरी बुझने गीतलाई लोकगीत भनिन्छ । यसकारण जनसाधारणको गीत नै लोकगीत हो । ठाडो भाकाको गीत जनसाधारणबाट जन्मेको हुन्छ, जनसाधारणले नै सुरक्षित गरीराखेको हुन्छ र राख्नु पनि पर्दछ । ठाडो भाका गीत जनसाधारणबाट नै प्रचार प्रसार तथा संरक्षण र सम्बर्द्धन भएको हुन्छ । ठाडो भाकाको गीतमा सामाजिक, राजनैतिक, धार्मिक, आर्थिक, ऐतिहासिक, सांस्कृतिक परिस्थितिहरुको चरित्र चित्रण पनि पाईन्छ । त्यसैले ठाडो भाकामा गाइने लोकगीतलाई लोकजीवनको वास्तविक दर्पण पनि भनिन्छ । ठाडो भाकाको लोकगीत सरल हुन्छ, यसको प्रचार प्रसार पनि गीतबाट नै हुन्छ । ठाडो भाकाको गीतमा गाउँठाउँको रहनसहन, चाडपर्व, उत्सव, रीतिरिवाज, संस्कृति आदिको पनि वर्णन गरिन्छ । त्यसैले ठाडो भाकाको गीत सबै जाति, गाउँठाउँ र समाजको साझा सम्पत्ति हो ।