सुदूरपश्चिम पर्यटन र देउडा सँस्कृति

वसन्त ऋतुमा प्रकृतीले नौलो काँचुली बदल्छ । आजभोली सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा लालीगुराँस फूलले वनै भरी राताम्य भएका हुन्छन। काफल र ऐसेलु वनै भरी पाकेका हुन्छ । यो दृष्यले घुमफिरमा जाने पर्यटकहरुलाई लोभ्याउँछ । यात्रामा आफ्नै हातले काफल र ऐसेलु टिपेर खाँदा त्यसको मज्जा छुट्टै हुन्छ । घुमफिरका लागि सुदूरपश्चिममा सुन्दर र मनै लोभ्याउने ठाउँहरु धेरै छन । तर प्रचार प्रसार नहुँदा सुदूरपश्चिम प्रदेशका धेरै पर्यटकीय स्थलहरु ओझेलमा परिरहेका छन। सुदूरपश्चिममा तीर्थाटनका पर्यटकीयस्थलहरु मात्र होइन घुमफिर गर्दा पर्यटकहरुले हिमालदेखि पहाडी भूगोल, सुन्दर खेतीयोग्य फाँट, उपत्यका, भित्री मधेश र तराइका मैदानी भागहरु अवलोकन गर्न सक्दछन् ।

पर्यटकहरुले सुदूरपश्चिममा घुमफिर गर्दा देउडा सँस्कृतिको देउडा गीत र नाच पनि हेर्न पाउछन् । देउडा गीत सुदूरपश्चिममा गाइने प्रचलित लोक गीत हो । देउडा सँस्कृतिको बारेमा थाहा नभएका पर्यटकहरु रुचि पूर्वक देउडाको बारेमा अध्ययन गर्न पाउछन् । देउडा भाषा, देउडा गीत, लोक देउडा खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी र डडेलधुरामा देउडा सँस्कृति देख्न पाइन्छ । देउडा गीत एक प्रकारको नृत्य प्रदान गीत हो । यस गीतमा गरिएको नृत्यलाई देउडा खेल अथवा न्याउले खेल पनि भनिन्छ। विशेष गरी समूहमा प्रस्तुत हुने देउडाले पछिल्लो समय कैलाली र कञ्चनपुरमा पनि देउडा सँस्कृति पुगेको छ । देउडा खेल खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदीमा प्रस्तुत गरिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई देउडा नामकरण गरिएको मानिन्छ। देउडा गीत र नृत्य हेर्नको लागि खास गरी दशै तिहार र गौरा पर्वमा पुग्न सके राम्रो हुन्छ ।

सुदूरपश्चिम नेपालको भाषा, कला र सँस्कृति मात्र होइन, पर्यटकीय गन्तव्यको खोजीमा यात्रा गर्ने पर्यटकहरुका लागि कतिपय गन्तब्यहरु भूस्वर्ग मानिन्छ । डडेलधुरामा ऐतिहासिक अमरगढी किल्ला, उग्रतारा मन्दिर, घटाल बाबा र ऐतिहासिक अजमेरुकोट जस्ता सम्पदामा पर्यटकहरु पुग्ने गर्दछन् । डोटीको शैलेश्वरी मन्दिर, अछामको रामारोशन, बैजनाथ, बाजुराको बडिमालिका, नाटयश्वरी, बुढानन्दा, बझाङको सुर्मादेवी र सैपाल हिमाल, बैतडीको निंगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती, पाताल भुवनेश्वर, र दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र र मल्लिकार्जुन आदी स्थानमा पर्यटकहरु तीर्थाटन, अवलोकन र घुमफिरमा जान रुचाउछन् । खप्तड, रामारोशन, बझाङ र दार्चुलाको भूगोलको अपी र सैपाल हिमाल सुदूरपश्चिम पुगेपछि दृष्यावलोकन गर्न पर्ने स्थलहरु हुन । अछाम, बाजुरा, बझाङ र डोटी चार जिल्लाको संगम स्थलमा रहेको खप्तड क्षेत्र सुदूरपश्चिम पुगेपछि धेरै पर्यटकहरु पुग्ने इच्छा गर्दछन्। खप्तड धार्मिक तथा पुरातात्विक दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । खप्तडमा २५ मैदान र वरिपरि ५३ वटा थुम्काहरु छन् । खप्तड पुगेपछि जताततै रंगीचंगी फूल र डाँफे, मयुरले पनि परयटकहरुलाई रोमाञ्चक बनाइ दिन्छन् । खप्तड पुग्न अछाम, बाजुरा, बझाङ र डोटी चारै जिल्लाबाट मार्गहरु छन् ।

सुदूरपश्चिम प्रदेश कर्णाली नदी र महाकाली नदीको बिचमा नौ वटा जिल्ला पर्दछ । सुदूरपश्चिममा दार्चुला, बझाङ र बाजुरा हिमाली जिल्लामा पर्दछ भने पहाडी जिल्लामा डडेलधुरा, बैतडी, डोटी र अछाम पर्दछन। तराइमा कैलाली र कञ्चनपुर पर्दछ भने महाकाली पारी दोधरा चादनी नगरपालिका समेत सुदूरपश्चिममा पर्दछ। तर सबै जिल्लाहरुमा भाषा र सस्कृति भने एउटै रहेको छ । सुदूरपश्चिमको भाषा र सस्कृतिका बारेमा थाहा नभएका पर्यटकहरुलाई भने अनौठो पनि लाग्न सक्दछ। तर बुझने प्रयास भयो भने घुमफिरमा असजिलो हुदैन । सुदूरपश्चिम घुमफिरको लागि प्याकेज कार्यक्रम बनाउँदा राम्रो हुन्छ । घुमफिरको लागि एक्लै भन्दा पनि समूहमा जाँदा राम्रो हुन्छ । प्याकेज बनाउँदा सुदूरपश्चिमका सबै जिल्ला घुमफिर गर्ने कि – तर्राई अथवा पहाडी र हिमाली कुन कुन जिल्लामा जाने- अथवा सबै जिल्ला एकै पटक घुमफिर गर्ने हो भने समय र घुमफिरको लागि पैसाको जोहो पनि त्यसै किसिमले गर्नुपर्ने हुन्छ । सुदूरपश्चिमका सबै जिल्लामा अहिले सडक सञ्जाल जोडिएको छ। कतिपय ठाउँमा ग्रामीण क्षेत्रमा समेत सडक मार्ग पुगेको छ । तर ग्रामीण क्षेत्रका प्राय सबै सडकहरु कच्चि छन। तर पनि हिउँदको समयमा साना बलेरो र स्कारपियो जस्ता गाडीहरु चल्दछन् ।

सुदूरपश्चिम प्रवेश गर्न आजभोली धेरै बाटोहरु छन्। पूर्व पश्चिम राजमार्गको कर्णाली चिसापानी, दैलेख र अछामको सिमानामा पर्ने राकम कर्णालीको पुल र कालिकोटको कर्णाली नदीको खुलालुघाटदेखि बाजुराको कोल्टी हुँदै पनि प्रवेश गर्न सकिन्छ । सुर्खेतको पश्चिम क्षेत्र सुदूरपश्चिम जोडने कर्णाली नदीमा दुइ वटा पुल अर्थात चौकुनेको चिप्लेघाट र मोहन्यालको सोल्टा अर्थात कुइने जोडने दुइ वटा पुल नयाँ वर्षसँगै सञ्चालनमा आउँदैछन । अब सुदूरपश्चिम घुमफिर गर्नका लागि पर्यटकहरुले यो मार्ग समेत प्रयोग गर्न सक्ने छन्। तर पर्यटकहरु सुदूरपश्चिमका तराइका जिल्ला घुमफिर गरी पहाडी जिल्लामा जान भने कर्णाली चिसापानीबाट प्रवेश गर्दा सजिलो हुन्छ । कर्णाली चिसापानीको पुल तर्नासाथ सुरुहुन्छ कैलाली जिल्ला ।

कैलाली जिल्लामा धेरै ठाउँमा पर्यटकको लागि घुमफिर गर्ने स्थलहरु छन । कैलालीमा पर्यटकहरुलाई लोभ्याउने टिकापुरको पार्क, घोडाघोडी ताल र कर्णाली चिसापानीको पुल पर्दछन। यी सबै ठाउँ पर्यटकलाई आकर्षण गर्ने स्थल हुन । जुन कारणले गर्दा आजभोली कैलाली जिल्लामा स्वदेशी मात्र होइन विदेशी पर्यटकहरु पनि घुमफिरका लागि पुग्ने गर्दछन। कर्णाली पुल केही वर्ष अगाडीसम्म सुदुरपश्चिम प्रदेशको प्रवेशद्वार मानिने गर्थ्यो । यो पुल करिब २६ वर्ष अगाडी निर्माण भएको हो। यो पुललाई तार पुल पनि भनिन्छ। पुलको बिचमा एउटा खम्बा र त्यसमा स्टीलका तारहरुले बाधेर ट्रसलाई अडयाइएको छ । कर्णाली नदी पुलको भाग सकिना साथ दुइ भागमा विभाजन भएर बग्दछ। स्थानीय बोलीचालीमा यसरी छुट्टएिर बनेको पानीको भागलाइ पश्चिम तिरको पानीलाइ कर्णाली र पूर्व तिरको पानीको भागलाइ भेरी भन्ने गरिन्छ। चिसापानी व्यापारी केन्द्र पनि हो । चिसापानी पुगेपछि पर्यटकको रोजाइ माछा चाखेर टीकापुर जाने हुन्छ। माछाको स्वादका पारखिका लागि चिसापानीमा माछाका परिकार बनाउने धेरै होटलहरु छन । कर्णाली चिसापानीको पुलमा फोटा नखिच्ने पर्यटक बिरलै हुन्छन । कतिपय पर्यटक चिसापानी देखि कर्णाली नदीबाट र्‍याफटिङ गर्दै टीकापुर जान रुचाउछन । राजमार्गको लम्किबाट १८ कि.मि. दक्षिणमा रहेको टिकापुर पार्क आजभोली पर्यटकहरुको गन्तब्य बनेको छ । यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरु अवलोकन गर्न सकिन्छ ।

घोडाघोडी ताल कैलालीको मध्यवर्ती क्षेत्र घोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्वपूर्ण ताल हो । यो ताल दुइ हजार ५६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरु छन । करिब २४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धान लगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ । विश्व रामसार सुचिमा सुचिकृत नेपालको ताल मध्य कैलाली जिल्लाको घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दर स्थल हो। कैलाली पुग्ने अथवा जिल्ला बाहिरका पर्यटकहरु पूर्व पश्चिम राजमार्ग भएर कैलाली पुग्न थाले भने घोडाघोडी नपुग्ने विरलै हुन्छन । घोडाघोडी तालको आकार ७ कोणमा फैलिएको छ। घोडाघोडी ताल कर्णाली चिसापानी पुलदेखि ३७ किलोमिटर दुरीमा पर्दछ ।

कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव-जन्तुहरु पनि प्रशस्त देख्न पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरु छन । दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । दोधारा चाँदनीको पुलमा बर्सेनि हजारौं पर्यटकहरु पुलको अवलोकन गर्न पुग्दछन । कञ्चनपुर जिल्लाको घुमफिर गर्दा बेतकोट र लिंगा पुग्न सके राम्रो हुन्छ । लिंगा पुग्न दैजीबाट करिब ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ । शिवलिंगको स्वरुपजस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरु लिंगा जाने गर्दछन्। लिंगाबाट करिब ६ किलोमिटर उत्तरतर्फ बेतकोट तालको अवलोकन गर्न सकिन्छ ।

कैलाली र कञ्चनपुर घुमफिर पछि अत्तरियाबाट डडेलधुरा जाँदा बाटोमा गोदाबरी पर्दछ । गोदाबरी सुदूरपश्चिम प्रदेशको राजधानी तोकियको ठाउँ पनि हो । अत्तरिया देखि ७ किलोमिटर उत्तरतर्फ रहेको गोदावरीमा बजरंगवली हनुमानको मूर्ती निर्माण भएको छ । गोदावरीमा भएको बजरंगवली हनुमानको मूर्ती हेर्न पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । गोदावरीको हनुमान मन्दिर ५२ फिट अग्लो मूर्ती नेपालकै सबैभन्दा अग्लो मूर्ती मानिन्छ । गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाँडा प्राकृतिक रुपमा मनोरम स्थल हो । चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । चुरे श्रृंखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट सैपाल हिमाललाई प्रत्यक्ष रुपमा हेर्न सकिन्छ।

धनगढीबाट डडेलधुरा १२८ किलोमिटर पर्छ । डडेलधुरा बजार पुग्नु भन्दा ३ किलोमिटर वर स्याउली बजार पर्दछ । स्याउलीबाट डोटी, अछाम र बाजुरा जाने र डडेलधुरा, बैतडी, बझाङ र दार्चुला जाने सडक छुटि्टन्छ । डडेलधरामा ऐतिहासिक महत्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ । तीर्थाटन पर्यटकहरुका लागि डडेलधुरामा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान परशुरामको मन्दिर पुग्न सके राम्रो हुन्छ। उग्रतारा मन्दिर डडेलधुरा बजारदेखि ४ किलोमिटर पश्चिमपट्ट िडडेलधुरा-बैतडी राजमार्गको पश्चिमतिरको अग्लो रमणीय फाँटमा रहेको छ । अमरगढी किल्ला डडेलधुराको ऐतिहासिक किल्ला हो । ऐतिहासिक दृष्टिले यो किल्ला महत्वपूर्णमानिने भएकाले किल्लाको अवलोकन गर्नका लागि पर्यटकहरु पुग्ने गर्दछन् । डडेलधुरामा अजयमेरुकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ ।

डेलधुराबाट ८३ किलोमिटरको यात्रापछि बैतडी पुग्न सकिन्छ । बैतडी नपुग्दै बाटोमा पर्दछ खुर्पे बजार । खुर्पे बजारदेखि छुट्टन्िछ बैतडी र बझाङ जाने सडक। खुर्पेदेखि बझाङ १०५ किलो मिटर पर्दछ भने बैतडी ४५ किलो मिटर पर्दछ । तर्ीथाटन पर्यटकहरुका लागि बैतडी पुग्नै पर्ने जिल्ला मानिन्छ । नेपालमा उपत्यका पछि सबैभन्दा धेरै मन्दिर भएको जिल्लाका रुपमा बैतडीलाई लिइन्छ। बैतडी अमर शहीद दशरथ चन्दको जन्मथलो पनि हो । बैतडीमा रहेका प्रसिद्ध भगवतीका मन्दिरहरुमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ मन्दिर हुन । बैतडी पुगेपछि धेरै पर्यटकहरु मेलौलीको मन्दिरमा पुग्ने गर्दछन् । मेलौली बैतडीको सदरमुकामबाट करिवन २४ किलो मिटरको दुरीमा पर्दछ। हिमाल अवलोकन गर्ने पर्यटकहरुका लागि दार्चुलाको अपि हिमाल आधार शिविरसम्म रमाइलो हुन्छ । जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा, बबइलगायतका हिउँचुली लहरै रहेका छन । चमेलिया नदी अपि र नम्पा चुलीको काखबाट बहन्छ । डडेलधुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा र त्यस पछि ७ दिन पदयात्रा पछि अपि बेस क्याम्प पुगिन्छ । दार्चुला र बैतडीको सीमा छुटयाएर बग्ने चौलानी नदीको किनारमा गोकुलेश्वर पर्दछ । गोकुलेश्वर दार्चुला जाँदा घुमफिर गर्ने रमणीय प्राकृतिक स्थल हो । दार्चुला जाँदा व्यास उपत्यका र नेपालकै चर्चित ठाउँ कालापानी पुग्न सके राम्रो हुन्छ।

बझाङ सुन्दर र मनोरम पर्यटकीय स्थल भएको जिल्ला हो । बझाङमा धेरै पर्यटकीय स्थलहरुमा मठ मन्दिरहरु पर्दछन् । त्यो बाहेक हिमाल, ताल, झरना तथा तत्कालिन राजाले प्रयोग गरेका पुराना दरवार पनि बझाङ पुगेपछि घुमफिर गर्ने स्थलमा पर्दछन् । बझाङ जादा सुर्मा सरोवार ताल, खप्तड ताल, ऋषि कुण्ड पुग्न सके राम्रो हुन्छ । बझाङ पुग्ने पर्यटकहरुले बाजुराको घुमफिर गर्दा यो मार्ग धेरै छोटो पर्दछ। बाजुराको बडिमालिका सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल हो। अर्को तर्फ बुढीनन्दा र छेडेदह पनि पर्यटकहरु घुमफिर गर्ने ठाउँ हुन । भूस्वर्गको उपमा पाएको बडिमालिका बाजुराको मात्र नभएर नेपालकै उत्कृष्ट गन्तव्य हो । भगवान शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन। बडिमालिका समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको छ। बाजुराको सदरमुकाम मार्तडीदेखि बडिमालिका पुग्न दुइदिनको पैदल यात्रा गर्न पर्दछ ।

डडेलधुराको स्याउली बजारदेखि उत्तरतर्फ यात्रा गरेपछि पुगिन्छ डोटीको सिलगढी । सुदूरपश्चिममा बैतडीको झुलाघाटदेखि अछामको राकम कर्णालीसम्म सबै सडक मध्यपहाडी लोक मार्गमा पर्दछ । डोटीमा घुमफिर गर्नेस्थल धेरै छन् । तर पनि डोटी पुगेपछि जगदम्बा शैलेश्वरी, योगेश्वर, कालभैरवका मन्दिरहरु, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखङ्गाल गुफा पनि भनिन्छ पुग्नसके राम्रो हुन्छ । शैलेश्वरी मन्दिर सिलगढीमा पर्दछ। शैलेश्वरीको मन्दिर तीर्थाटन मात्र नभएर प्रकृतिको सुन्दरताको आनन्द लिन सकिन्छ । शैलेश्वरी मन्दिर परिशरदेखि दिपायल लगायत डोटीका धेरै ग्रामीण क्षेत्र अवलोकन गर्न सकिन्छ। सिलगढीबाट पूर्व लागेपछि अछामको साफेबगर पुगिन्छ । साफे बगरदेखि बाजुरा जाने सडक छुटि्टन्छ । साफेदेखि बाजुराको मार्तडगढी ५७ किलो मिटर पर्दछ । अछाममा साफे बगरको वुढी गंगाको तटमा रहेको वैद्यनाथ मन्दिर र रामारोशन पुग्नै पर्दछ। रामारोशन मंगलसेन बजारदेखि ४० किलो मिटरको दुरीमा पर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker