डडाल्नु जस्तो धुरा हो ! डडेलधुरा

के.बि. मसाल

नेपालको सुदूरपश्चिम प्रदेशमा डडेलधुरा पर्दछ । डडेलधुराको नाम भूवनोटको आकृतीबाट रहेको छ । स्थानीय बोलीचालीमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुराबाट बोल्नेक्रममा अपभ्रंशभै जनजिब्रोमा डडेलधुरा भन्न थालिएको हो । प्राकृतिक भूगोलमा दलिन जस्तो डाँडाको कारणले डडेलधुरा रहन गएको हो । डडेलधुरा नाम पहिले वागखोडा अर्थात वाघको गूफा, तल्लो खलंगा, मल्लो खलंगा, श्वार खलंगा जस्ता नाम थिए ।

आजभोली डडेलधुरामा ऐतिहासिकस्थलको अवलोकन र प्रकृतिसंग रमाउने पर्यटकहरु भ्रमणको लागि पुग्ने गर्दछन । डडेलधुरामा मूर्त अमूर्त सांस्कृतिक सम्पदा, संस्कार एवं परम्परागत रहनसहनले पर्यटकहरुलाई अध्यनको विषय बन्ने गरेको छ । डडेलधुराको सांस्कृतिक सम्पदा, संस्कार र परम्परागत शाश्वत मूल्य मान्यताहरु अन्य जिल्लाबाट गएका पर्यटकहरुका लागि नौलो मानिन्छ । पर्यटनको क्षेत्रमा केहि पूर्वाधारको विकास र सुविधाजनक होटलको व्यवस्था हुन थालेपछि डडेलधुरामा आजभोली वाहृय पर्यटकहरु पनि पुग्ने गरेका छन । पर्यटकहरु सुदूरपश्चिमका अन्य जिल्लाका पर्यटकीय स्थल अवलोकन गर्ने क्रममा डडेलधुरा पनि पुग्ने गरेका छन। विशेष गरेर चार्डपर्वका बेला धार्मिक, सांस्कृतिक गतिविधि बढी हुने हुनाले त्यसबेला डडेलधुरामा पर्यटकहरु बढि जाने गर्दछन । पर्यटकहरुको लागि प्राकृतिक दृष्यावलोकन पनि राम्रो हुने भएकाले डडेलधुरा पर्यटकको रोजाई पर्ने गरेको छ ।

डडेलधुरामा पुग्ने पर्यटकहरुले अमरगढी किल्ला, अजयमेरु कोट किल्ला, आलीताल, चिपुर र भद्रपुर देवलहरु, साइलको झरना, कुयलगाडको झरना, लाली गुराँसको जंगल लगायतका सम्पदा अवलोकन गर्न सक्दछन । अर्को तर्फ तीर्थाटनमा डडेलधुरा जाने पर्यटकहरुले उग्रतारा मन्दिर, घटालबाबा, गन्याप मन्दिर, भागेश्वर धुरा, परशुराम मन्दिर, डागेश्वरी मन्दिर, नवदुर्गा मन्दिर, सहश्रलिङ्ग मन्दिर र समैजी मन्दिरमा पुग्ने गरेका छन। डडेलधुरा आफैमा प्राकृतिक सुन्दरता भएको भूगोल हो । तराइ अथवा भारतबाट घुमफिरको लागि डडेलधुरा पुग्ने जोकोहि पर्यटकहरु प्राकृतिक सुन्दरता देखि रमाउने गर्दछन । डडेलधुरा जिल्ला अपी हिमाल, बडीमालिका, बैजनाथ धाम जस्ता सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थलहरु अवलोकन गर्न जाने प्रमुख द्वार पनि हो । विकसित देशहरुले वाहृय पर्यटनलाई जति महत्व दिन्छन त्येतिनै महत्व आन्तिरक पर्यटनलाई पनि दिन्छन । यो कारणले गर्दा विकसित देशमाहरुमा आन्तरिक पर्यटनको पनि विकास भएको छ। तर हामीकहा आन्तरिक पर्यटकहरुलाई पर्यटकनै नमान्ने प्रचलन छ । पर्यटन केवल मनोरञ्जनका लागि मात्र नभएर व्यापार, नोकरी -पेशा), स्वास्थ्य उपचार, शिक्षा, तिर्थाटन, खेलकुद आदिको लागि पनि हुने गर्दछ। प्रकृतिले दिएको रमणीय स्थल, धार्मिक स्थल, ऐतिहासिक स्थल, प्राचीन संस्कृति आदि पर्यटकको लागि गन्तव्य हुन्छन ।

डडेलधुराको अमरगढी किल्ला ऐतिहासिक किल्ला हो । यो किल्ला डडेलधुरा जिल्ला सदरमुकाम नजिकै पहाडको टाकुरामा रहेको छ । यो किल्ला रहेको स्थानको उचाई ६ हजार ५ सय फिट छ । यसको निर्माण श्री ५ रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संचालित नेपाल एकिकरणको क्रममा बिक्रम संम्बत १८४७ मा डोटेली सैनिक संग गोर्खाली सैनिहको युद्ध भयो । युद्धमा डोटेली फौज पराजित भइसकेपछी डोटी राज्य पनि बिशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो । युद्वकालिन समयमा भूगोल र सुशानलाई सुदृढ र विस्तार गर्न अमरसिंह थापा प्रथम प्रशासनको रुपमा नियुक्ति भए । उनले यस क्षेत्रको संरक्षण र महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गरेका हुन । अमरसिंह थापा द्वारा निर्माण गरिएको किल्ला कलात्मक र चारै तिर ढुङगाले निर्माण भएको छ । किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोला लगायतका हातहतिया थिए। तर ती युद्ध सामाग्रीहरु अहिले देख्न सकिन्न । किल्ला भित्र गुफाहरु पनि बनाइएको छ । आज भोली किल्ला माथी रुख विरुवाले रमणिय वातावरण बनाइ दिएको छ ।

ऐतिहासिक किल्लाका विच भागमा उग्रभैरवको मन्दिर पनि छ । धार्मिक र सामरिक महत्व भएकोले पर्यटकहरु पुग्ने गर्दछन। डडेलधुराको अर्को ऐतिहासिक सम्पदा अजैमेरुकोट हो। अजैमेरुकोटको ऐतिहासिकता डाँडाको थुम्कोमा रहेको पुरानो दरबारको भग्नावशेष र त्यस वरपरका सम्पदाले जनाउछ । डडेलधुराको अजैमेरुकोट पुग्दा पश्चिम नेपालका बाइसे राज्यमध्येको एक डोटेली राज्यको सम्झना हुन्छ। अजैमेरुकोट खासमा डाँडाको थुम्कोमा रहेको दरबार हो । अजैमेरुकोटको नामकरण भने डाँडामाथि भएकाले शत्रुले पराजय गर्न नसक्ने भन्दै ‘अजैमेरु’ अर्थात जित्न नसकिने पर्वत राखिएको अनुमान छ । अजैमेरुकोट डोटीका राजा नीराजनदेवले निर्माण गरेको हो भन्ने पनि गरिन्छ । भने कसैले १४औँ शताब्दीमा तत्कालीन डोटेली राजा नाग मल्लको ग्रीष्मकालीनको लागि राजधानी बनाएका हुन भन्ने पनि गरिन्छ । सत्य जेसुकै भए पनि यसलाई गन्तव्य बनाएर धेरै पर्यटकहरु अजैमेरुकोट पुग्दछन ।

अजैमेरुकोटको भौगोलिक वातावरण र वास्तुकलाले जोकोहीको मन लोभ्याउँछ । डडेलधुरा पुगेपछि पर्यटकहरु पुग्दछन । डडेलधुरा बजारबाट १५ मिनेटको जिप यात्रा गरी आइतबजारसम्म पुगिन्छ । आइतबजारबाट आधाघण्टा जिपमा यात्रागरी करिव तीन घण्टा पैदल यात्रा गरेपछि अजैमेरुकोट पुगिन्छ । मन लोभ्याउने सुन्दर डाडाकाडा, टाढाटाढा देखिने गाउँ र बस्ती शान्त वातावरण, जंगलबीचबाट चराचुरुंगीको आवाज सुन्दै यात्रा गर्दाको आनन्द छुट्टै हुन्छ । प्रकृतिसंग रमाउदै हिडदा उकालो काटेको थाहानै हुँदैन।

अजैमेरुकोट यात्रामा सुन्तला र अन्य अर्ग्यानिक फलफूलका लागि चर्चित सुनेगा गाउँ पुगिन्छ । सुन्तला खाने सिजनमा पर्यटकहरु सुन्तला समेत खान पाउदछन । सुनेगा गाउँको सुन्तला र मुसुम मिठो पनि छ । सुनेगा गाउँको अर्को विशेषता भनेको त्यहाँबाट देखिने अपी हिमशृंखला पनि हो । सुनेगा गाउँ पार भएपछि मजरगाड नदीको किनारमा कोटको तल्लो भाग देख्न पाइन्छ, जहाँ देवलहरु छन् । शिखर शैलीमा बनेका १२ देवलमध्ये अहिले दुइवटा मात्र रहेका छन । यी देवलहरु डोटेली राजाहरुले स्थापना गरेका हुन् वा अरु कसैले भन्ने ठोस प्रमाण भने अहिलेसम्म पाइएको छैन । देवल प्राचीन समयमा ठूला ढुंगा काटेर वा कुँदेर बनाइएका कलाका नमुना निकै आकर्ष छन् । देवलको नजिकै तीनवटा प्राचीन नाउला -इनार) पनि छन । ती इनारमा अझैसम्म पानी रसाइरहेको छ । तिनै इनारका छेउ लाग्दै पुनः आधा घन्टाजति उकालो बाटोको यात्रामा कोटको माथिल्लो भाग पुगिन्छ ।

डडेलधुरा पुगेपछि पर्यटक पुग्नै पर्ने स्थान हो उग्रतारा मन्दिर । उग्रतारा मन्दिर अमरगढी नगरपालिकामा पर्दछ । उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । यो मन्दिर डडेलधुरा-बैतडी राजमार्गको पश्चिम पट्टीको रमणिय फाटमा रहेको छ । उग्रतारा भगवतीको उत्पत्ती किसानले हलो जोत्दा भएको मानिन्छ । धार्मीक विस्वास अनुसार हलोको फालि सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बग्दा खोला बग्न शुरु भयो । हाल पनि यो खोला यहि मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ । उग्रतारालाई नीलसरस्वतीका रुपमा पनि मान्ने गरिन्छ । उग्रताराको पूजा वैदिक र तान्त्रिक दुवैविधिद्वारा गरिन्छ। उग्रतारा भगवती शीलाका रुपमा उत्पन्न भएको मानिन्छ । उग्रताराको शिला गर्भगृहमा स्थापित छ । कुनै पनि दिन यी देवीलाई अपुज अर्थात अर्चनाविहीन बनाउनु हुँदैन भन्ने मान्यता रहेको छ । उग्रतारा मन्दिरमा साँकीजातका क्षेत्रीय मुख्य पुजारी र ३ थरी भट्ट र १ पन्त थरीका छुट्टाछट्टै ४ व्राहृमणलाई सहायक पुजारी तोकिएको छ । यहाँबाट देखिने कश्यप, अपि, सैपाल हिमालको दृश्यावलोकन र डाँडाबाट देखिने प्राकृतिक सुन्दरताले पर्यटकहरुलाई लोभ्याइ दिन्छ । उग्रतारा मन्दिरमा बडा दशैंको महाअष्ठमीमा मेला लाग्ने गर्दछ ।

डडेलधुरा भ्रमणमा जाने धेरै पर्यटक त्रिपुरासुन्दरीमा पनि पुग्ने गर्दछन । त्रिपुरा सुन्दरी मन्दिर बैतडी जिल्लाको दशरथचन्द नगरपालिका-९ मा पर्दछ । त्रिपुरा सुन्दरी भगवतीको मन्दिर सुदुर पश्चिमको मात्र नभएर नेपालकै आस्थाको केन्द्र हो । त्रिपुरा सुन्दरी पुग्न डडेलधुराबाट करिव ८६ मिलोमिटर यात्रा गर्नुपर्दछ । त्रिपुरा सुन्दरीको मूर्ति स्यंम उत्पति भएको कुरा विस्वास गरिन्छ । त्रिपुरासुन्दरीको मन्दिर निर्माण गर्ने क्रममा सपनामा माताले दर्शन दिनुभएको र मन्दिरको जग खन्दा प्राचिन मूर्ति फेला परेको थियो । यसरी फेला परेको प्राचिन मूर्तिलाई साविककै स्थानमा स्थापना गरिएको हो । त्रिपुरा सुन्दरी माताको मन्दिर परिशर भित्र मणी युक्त भएको नाग पनि रहने कुरा विस्वास गरिन्छ । त्रिपुरा सुन्दरीको मन्दिर करिव ८० वर्षपहिला सिद्ध महात्मा मादव नन्द स्वामीले निर्माण गराएका हुन ।

डडेलधुरामा गौरा पुजा प्रमुख पर्वको रुपमा मनाइने गरिन्छ । हुनत गौरा पर्व सुदुर पश्चिमकै साझा पर्व हो । डडेलधुरामा विशेषगरी गौरा पुजाको महत्व मानिन्छ । गौरा पुजाको लागि देश विदेशमा गएका मानिसहरु पनि गाउँमा फर्किने प्रचलन पनि हुन्छ। गौरा पर्वको समयमा डडेलधुराका गाउँ र बस्तीहरुमा देउडा खेल्ने प्रचलन हुन्छ । यो समयमा डडेलधुरा पुग्ने पर्यटकहरुलाई गौरा सस्कृतिको समेत अध्यन हुन्छ । प्रत्येक भाद्र कृष्ण पञ्चमीका दिन घरमा राखिएको गौरा सप्तमीमा मन्दिरमा भित्राइएपछि गौरा पर्व सुरु हुन्छ । ब्रतालुले गौरालाई पूजा गरेर ब्रत पनि बस्ने गर्दछन् । गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाएर राखेको अन्नको मिश्रण बिरुडालाई गौराको प्रतिमाका रुपमा पूजाआजा गर्छन् । शिव र पार्वतीको प्रतिकका रुपमा गौरा र महेश्वरलाई पूजा गरी धार्मिक बिधि अनुसार गौरा पर्व मनाइन्छ । गौराको पूजा गर्दा मनोकाँक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

डडेलधुरामा विशेष गरी बजारको वरपर रहेका कारीगाउँ, सेलागाउँ, जीलोडा, हतर्क, मौराडा, जैसेरा गाउँहरुमा गौरा पर्वको समयमा देउडा हेर्नको लागि पर्यटक झुम्मिने गर्दछन । गौराको पूजा सकिएपछि बाजागाजासहित नाचगान, देउडा, चैत, हुडकेउली, धमारी लगायत खेल खेलिन्छ । डडेलधुराको मात्र नभएर सुदुरपश्चिम अर्थात प्रदेश नम्वर ७ को देउडा गित सस्कृति हो । देउडा गितको आफ्नै भाव हुन्छ । देउडा गित एक्लै र दोहोरी गरी दुवै किसीमले गाउने गर्दछन । डडेलधुरामा गाउँघर, मेलापर्व, बिवाह, वर्तवन्ध लगाएत शुभकार्यमा देउडा गितको विशेष महत्व हुन्छ । एका तर्फकेटा र अर्को तर्फकेटीहरु लागेर तालमा ताल पैतालमा पैताला मिलाएर गितमा सवालका जवाफ दिदै देउडा खेल्नेहरुले रात बिताएको पत्तो नै पाउँदैनन्। यो देउडा सस्कृति पर्यटकहरुलाई भिन्दै खालको अनुभुती र नौलो हुन्छ ।

डडेलधुराको स्याउले मोटर मार्गको हिसावले सुदूरपश्चिमको संगमस्थल मानिन्छ। स्याउले डडेलधुरा सदरमुकाम, बैतडी, बझाङ जाने र डोटी, अछाम, बाजुरा जाने सडकको चोक अर्थात संगम स्थलको रुपमा स्याउले बजार रहेको छ । यो रमणीय भञ्ज्याङ हो। स्याउले प्राकृतिक भ्यु-टावर पनि हो । यो भञ्ज्याङबाट बिभिन्न गाउँ र बस्तिहरुको अवलोकन गर्न सकिन्छ । एक रात स्याउले बजारमा बसेर पर्यटकहरुले धेरैकुराको अध्यन गर्न सक्दछन । स्याउलेबाट देब्रे लागे डडेलधुरा सदरमुकाम हुँदै बैतडी, बझाङ र दार्चुला पुगिन्छ । भने दायाँ लागे डोटी हुँदै अछाम, बाजुरा जाने मार्ग पर्दछ ।

सुदूरपश्चिममा घुमफिर !

सुदूरपश्चिम अर्थात प्रदेश नम्वर ७ मा तराइदेखि हिमाली भागसम्म पर्यटकहरुलाई घुमफिर गर्ने धेरै स्थल छन । तर पनि यातायात लगायतका सेवा सुविधाको अभाव एवं प्रचारप्रसारको कमिका कारण धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । अहिले पर्यटकहरु कैलालीको चिसापानी, टिकापुर, घोडाघोडी, राजकाडा, भासु भिर, जाखोर ताल, गोदाबरी, बेहडाबाबा, डल्पिmन वाच, शिवपुरि धाम पुग्ने गर्दछन भने कंचनपुरको शुक्लाफाँटा, दोधारा-चाँदनी झोलुङे पुल, बेदकोट ताल, झिलामिला ताल आदि स्थलमा पुग्ने गरेका छन । डडेलधुरा भ्रमणमा जादा समय निकाल्न सके डोटिको शैलेश्वरी मन्दिर, अछामको रामारोशन, बैजनाथ, बाजुराको बडिमालिका, नाटयश्वरी, बुढानन्दा, बझाङको सुर्मादेवी र सैपाल हिमाल, बैतडीको निंगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती, पाताल भुवनेश्वर, र दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र र मल्लिकार्जुन आदी पुग्न सके राम्रो हुन्छ ।

कसरी पुग्ने डडेलधुरा ?

कैलालीको अत्तरिया चोकवाट डडलेधुराको दुरी ११५ कि.मि. पर्दछ । अत्तरियाबाट उत्तर चुरे पहाडको फेदमा रहेको गोदावरी पर्यटकहरुका लागि महत्वपूर्ण गन्तव्यस्थल हो । धनगढी-डडेलधुरा राजमार्गको छेउमै रहेको गोदावरी क्षेत्रलाई सप्त गोदावरी मध्येको प्राचीन गोदावरीका रुपमा लिने गरिन्छ । डडेलधुरा जादा गोदावरीको समेत पर्यटकहरुले अवलोकन गर्न सक्दछन । अत्तरिया चोकदेखि बसमा चार घण्टाको यात्रामा डडेलधुराको सदरमुकाममा पुग्न सकिन्छ । भने महेन्द्रनगरदेखि दैजी-जोगबुढा सडक हुँदै बुडर भएर पनि डडेलधुरा सदरमुकाम पुग्न सकिन्छ। दैजी हुँदै जोगबुढामा जादा महाकाली किनारामा रहेको परशुराम धामसँगै महाभारत पर्वतमाथि रहेको प्रसिद्ध आलीतालको आनन्दलिंदै डडेलधुरासम्म पुग्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker