गुरुङ समुदायमा अनिष्ट भगाउन कीट र ढुङ्गाको पूजा गर्ने प्रचलन

तनहुँका गुरुङ समुदायमा अनिष्ट भगाउनका लागि फलामको कीट र दर्शन ढुङ्गालाई देवता मानेर पूजा गर्ने चलन रहिआएको छ । यो पूजालाई मेलापर्म तथा खेतबारीमा उत्सवका रूपमा मनाउने गरिन्छ । तनहुँको दमौलीमा रहेका २४८ घरका गुरुङले वर्षायाम सुरु हुन लागेसँगै गुरुङ पुरोहित (खेगी) मार्फ मंगलबार विशेष विधिद्वारा फलामको कीट र दर्शन ढुङ्गाको पूजा गरी घर प्रवेश गर्राई पवित्र बनाएका छन् ।

गुरुङ समुदायले ‘ट्वटे’ भन्ने यस पूजामा उनीहरूको मौलिक संस्कृति तथा रहनसहन झल्किने गरी पूजा गर्दछन् । विशेष पूजा गरेपछि प्रसादका रूपमा बलि दिइएको बोकाको मासु र चालमबाट बनाइएका विशेष परिकार (कैंदु) खाने र अबेर रातिसम्म नाचगान गरी उत्सव मनाउने चलन रहेको मूल गुरुङ पुरोहित हस्तवीर गुरुङले बताए ।

पूजा विधिअनुसार समाजमा आबद्ध प्रत्येक घरबाट ल्याइएको रिपा -घाँटीमा लगाउने पहेंलो डोरी), भरी पानी सहितको करुवा, तीनमुखे फलामको करुवा (घरको मूल भएको), फलामको कीट र दर्शन ढुङ्गालाई गुरुङ पुरोहितद्वारा ढ्याङ्ग्रो र झ्याली बजाएर विशेष पूजाआरधाना गरिने उहाँको भनाइ छ ।

छजना गुरुङ पुरोहित निराहार व्रत बसेर बिहानदेखि पूजाआराधना गरी गाउँ प्रवेशको चौबाटोमा पुरानो हलो गाड्ने र गाउँमा कसैलाई पनि रोग, नलागोस् भन्ने कामना गरिने अर्का गुरुङ पुरोहित प्रताप गुरुङले बताए। आफूसहित तुलवीर गुरुङ, ज्योतिपच्यू गुरुङ, मनराज भुजापच्यू, मोहन सिंह पूजाकर्ममा खटिएको उनले बताए ।

“गाउँमा कसैको पनि कुनै प्रकोप वा घटनाबाट मृत्यु नहोस् भन्ने कामना गरी सबै घरमा किट र दर्शन ढुङ्गा लगेर ट्वटे पूजा गर्ने चलन छ”, प्रतापले भने, “वर्षायाममा घरमा चट्याङ नपरोस् र बाढीपहिरो तथा अन्य सरुवा रोगहरू नलागोस् भनेर यसरी पूजा गर्दै आएका छौँ ।”

पूजाको दिन मन्त्रद्वारा सिद्ध गरिएको कीट र दर्शन ढुङ्गालाई घरभित्र लगेर छर्ने र घरबाहिर मूल ढोकामा फलामको तीनमुखे करुवा ठोकेर घर पवित्र बनाउने चलन रहिआएको तमु सुधार समाजका पूर्वअध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । यसरी गरिने ट्वाटे पूजामा प्रत्येक घरबाट सामग्री नल्याए अनिष्ट हुन्छ भन्ने विश्वासले गर्दा कुनै पनि घरका मानिस नछुट्ने उनको भनाइ छ ।

“पूजाको दिन सबै घरका सदस्यले कीट र दर्शन ढुङ्गाको पूजा गर्ने गर्दछन्”, मनबहादुरले भने, “भावी पुस्तालाई यो प्रकृति पूजाको संस्कृति सिकाउनुपर्छ भनेर यसलाई निरन्तरता दिँदै आएका छौँ । उक्त पूजाका लागि दर्शन ढुङ्गा र फलामको कीट संकलन गरेर राख्ने गरेको व्यास-४ दमौलीका आरन सञ्चालक मनबहादुर विकले बताए । “पूजाका लागि कीट र दर्शन ढुङ्गा किन्न आउनेको चाप बढी हुने गर्दछ”, उनले भने, “यो समयमा ती सामान बेचेरै रु तीन हजारसम्म आम्दानी हुने गरेको छ ।”

पूजा गरेको कीट र दर्शन ढुङ्गालाई घरभित्र छर्किने र मूल ढोकामा फलामको करुवा नठोकेसम्म नराम्रो शक्तिले दुःख दिन्छ भन्ने विश्वास रहिआएको व्यास-२ दमौलीकी ५२ वर्षीया मीना गुरुङले बताइन । “पहिल्यैदेखि यो परम्परा मनाउँदै आएका छौँ । यसले हाम्रो संस्कार तथा संस्कृति जोगाउँदै आएको छ”, उनले भनिन् “पूजा गरेपछि घरमा अनिष्ट हुँदैन भन्ने विश्वास छ ।”

पूजाको दिन र पूजा गरेपछि पहिलोपटक पानी पर्दा सम्मानस्वरुप मेलापर्म नगरी उत्सव मनाएर प्रसादस्वरुप मीठो परिकार खाने प्रचलन गुरुङ समुदायमा रहेको तमु सुधार समाजले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker