“माननीय स्वर्णिम वाग्लेजीलाई स्मरण पत्र”
देव वस्न्यात

नमस्कार !
तनहुँ निर्वाचन क्षेत्र नं. १ का माननीय सांसद स्वर्णिम वाग्लेज्यू (तनहुँ निर्वाचन क्षेत्र नं. १ को हाल काठमाडौं)
२०८० साल विरामीका विरामी हुनाले भेट्छु भन्दा पनि भेट हुने सु-अवसर मिलेन । २०८१ मा पक्कै भेट हुनेछ भन्नेमा पूर्ण विश्वस्त छु । साँच्चै २०८० जे जे भयो भयो । बितेका कुरा के गरुँ ! सर्वप्रथम त यहाँ र यहाँको पार्टीका समस्त नेतागण एवं सम्पूर्ण कार्यकर्ताहरुलाई वि.सं. २०८१ सालको नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना !
क्षेत्र १ हो । हाम्रो निर्वाचन क्षेत्र पनि तनहुँ १ नै हो । राम्रो मत पाएर हजुर तनहुँ १ बाट विजयी बन्नु भएको ध्रुव सत्य हो । अहिले हजुरहरुको पार्टी सरकारमा सहभागी बनेकै छ । अझ हजुर अर्थमन्त्री बन्दै हुनुहुन्छ भन्ने हल्ला पनि सुनेका थियौ । दैवले अहिले मन्त्री हुने साइत जुरेन । खैर मन्त्री नभएता पनि पार्टीको तर्फबाट राम्रो काम गर्ने सुअवसर मिलेकै छ । पछि मन्त्रीदेखि प्रधानमन्त्री बन्ने दिन नआउलान भन्न सकिन्न । हजुरको भावी राजनीतिक जीवन उज्ज्वलमय बनोस । हाम्रा लागि केही गुनासोहरु छैनन् । तथापि राम्रैका लागि यहाँको पहल रहोस यही शुभेच्छा छ ।
गोरखामा जन्मे हुर्केता पनि तनहुँको ऐतिहासिक ज्ञान प्रशस्तै छ । तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा सर्यो । साँखरको नाम दमौली बनाइयो । साँखरको नाम फेरिदा डमौलीले लोप्पा खायो, पापा पायो साँखरले । साँखरले आफ्नो पहिचान गुमायो । स्व-नामको पहिचान गुमाएर भएपनि साँखरले दमौली नाम ग्रहण गरेर पापा पाएको हो । बन्दीपुर ओझेलमा पर्यो यर्यो । वास्तविक साँख्रे पनि ढाक्रे बनेकै हुन् ।
तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सर्नुमा गञ्जसिंह आले, मेघनाथ कैनी, डम्बरबहादुर अधिकारी, श्रीबहादुर गिरी र निर्मल रानाभाटको योगदान बिर्सन मिल्दैन । बन्दीपुरको छातीमा कुञ्जा हान्ने त तत्कालीन सभापती हुस्लाङ निवासी रामनाथ भट्टराइ पनि थिए । रामनाथ भट्टराइको ब्रहृमले जे देख्यो, जुन सही थियो त्यही गरे । बन्दिपुर गुज्रिएर पनि अहिले सप्रियो । हुस्लाङ र सराङघाट हिजो भन्दा झन गुज्रिएको छ । पृथ्वीराजमार्ग नामको मोटरबाटो नआउँदासम्म र बन्दीपुरमा भएको सदरमुकाम दमौली नर्सदासम्म बेहुली जस्तै थिए हुस्लाङ र सराङघाट । तर अहिले चाउरी परेकी बूढी जस्तै छ । यहाँका हुनेखानेहरु कोही नारायणगढ झरे भने अलिकता बामे सर्न सक्नेहरु दमौली र बन्दीपुरको बेसी डुम्रे पुगे । बाहुन फेर्ने, धर्म फेर्ने, बालीघरे फेर्ने र पैतृक थातथलो फेर्नेको राम्रो हुन्न भन्थे तर अहिले सबै फेर्नेहरुको भलो हुँदै गएको पाएका छौं ।
ऋङ्गपथ
कुरोको चुरो यहीबाट सुरु गरौ । बन्दीपुरको सदरमुकाम दमौली सार्न पर्छ भन्नेहरु मध्येका प्राभवशाली नेता तत्कालीन रा.पं.स. गञ्जसिंह आले पनि एक हुन् । उन्कै गाउँ जाने मोटरबाटोको हविगत उस्तै छ । बहुदल आएपछि राष्ट्रति रामचन्द्र पौडेलदेखि किरण गुरुङ, गोबिन्दराज जोशी, अमरराज कैनी, टुकराज सिग्देल, केदार सिग्देल, शंकर भण्डारी, विष्णुबहादुर आले, जीतप्रकाश आले नेताको रुपमा तनहुँको दुबै निर्वाचन क्षेत्रबाट निर्वाचित बने । २०२२/२०२३ सालमा पोखरादेखि खैरेनीटार, भिमाद, साभुङ, ऋषिङको डाँड्डाँडै भीरकोट, बैदी, सिञ्च्याङ काफलडाँडा, गाईघाट, जुगेडी हुँदै नारायणघाट पुर्याउने लक्ष रहेको ऋङ्गपथमा कैजरो लाग्यो । अहिलेसम्म पनि कछारले न्याय पाउन सकेन । राम त हराम बने गरेनन् । नामका किसानले व्यापारीहरुको हीत त हेरे किसानको मर्म बुझ्न सकेनन । स्वर्णिमजी ! के कछारले न्याय पाउला त –
बुद्धसिंह मार्ग
तनहुँको मुग्लिनदेखि पोखरा जोड्ने पृथ्वीराजमार्ग सञ्चालनमा आएको ६५ वर्ष पुरा भइसकेको छ । पृथ्वीराजमार्ग सञ्चालनमा आएपछि बन्दीपुर सराङघाट सिञ्च्याङ कापलडाँडा, गाइघाट, नारायणघाट हुँदै ठोरी आइजाइ गरिने नुनतेलको ओसारपसार हुने पैदल मार्ग ओझेलमा परेको छ । चल्ती फिर्तीको बाटोमा ताला लागेको छ । ठोरी जाने बाटोले विश्राम लिए पनि सेती करिडरले विश्राम लिने कुरा भएन । दमौली-मुग्लिन हुँदै नारायणघाट पुग्न ७६ किलोमिटर दुरी तय गर्नुपर्छ । लामो बाटोको बिकल्पमा छोटो बाटो खोजियो ।
दमौली-सारङघाट-घुमाउनेघाट हुँदै नारायणघाट गइयो भने मुग्लिङ नारायणघाट राजमार्गको नारायणघाटदेखि घुमाउनेघाटसम्म २४ किलोमिटर घुमाउनेघाट दमौलीको ३२ कि.मि. समेत कुल ५६ किलोमिटर यात्रा तय गरियो भने २५ कि.मि यात्रा कम गर्दा सजिलै नारायणघाट पुग्न सक्ने भएपछि बुद्धसिंह मार्गका कल्पना तय भयो । मोटर बाटो छिटो सम्पन्न गर्नका लागि हाल रा.स्वा.पा.का तनहुँ सभापति विश्व बास्तोलाको पनि पसिना बगेको थियो । यसबारे उहाँबाट थप ज्ञान पक्कै मिल्ने छ । साँच्चै भन्ने हो भने घुमाउनेघाटबाट दमौली जोड्ने बुद्धसिंह मार्गको रेखाङ्कन गरेको पनि आज ४० वर्षपुरा भइसकेको छ । बित्ते पिचले ३२ कि.मि. कहिले सम्पन्न होला ? बुद्धसिंह मार्गको पिचको कुरा त परै जावस ग्राभेलिङसम्मको स्तरोन्नती हुन सकेको छैन ।
मुग्लिन-नारायणघाट राजमार्ग जोड्ने घुमाउनेघाटमा अबस्थित त्रिशुली नदीमा पुल बनाउने सपना बाँडेको पनि १० वर्ष पुगिसक्दा मोटरेबलपुलको जग निर्माण हुन सकेको देखिदैन । मृतसञ्जीवनी कन्सट्रक्सन खारेज भइ सक्यो कि अझै छ ? थाहा गरी काममा लगाउनु पर्यो, नत्र ठेक्क तोडेर भएपनि नयाँ कन्सट्रक्सन कम्पनीलाई काम लगाउनु पर्ने हो कि ? कामभन्दा कुरा मात्र बढी हुने तनहुँमा कछारले न्याय कहिले पाउला भन्ने चासो वृद्धि हुँदै गएको छ । ४० वर्ष बिति सक्दा पनि सेती करिडोरले आजसम्म स्तरीय मोटरमार्गको रुपरेखा त परै जावस कच्चीबाटो पनि एक इञ्च अगाडि बढ्न सकेको देखिदैन ।
कालीगण्डकी करिडर मार्ग
गैंडाकोट हुँदै नवलपरासी काली करिडोर राजमार्ग बनिसक्दा तनहुँ तिरको कालीगडकी करिडरको कागजी नक्शाँङ्कन पनि कोरिएको छैन भन्दा अनुपयुक्त नहोला ।
अन्त्यमा
केहीवर्ष अगाडिसम्म अधियाँ गरेर छ महिना खान नपुग्ने यहाँका कृषकहरु ६ महिना कन्दमूल र जङ्गली सिकार गरेर आफ्नो र परिवारको जीवन यापन गरेका थिए । परिवारकै पेट पाल्नका लागि देश विदेश भौंतारिनु पर्दथ्यो तर अहिले यहाँका मानिस सुन्तला खेतीबाटै आत्मनिर्भर बन्न पुगेका छन् । यातायातको असुविधाले गर्दा यहाँका अदुवा र सुन्तला उत्पादक किसानहरुले राम्रो मूल्य पाउन सकेका छैनन ।
देवघाटग गाउँपालिकाको वडा नं. ३ लुङरिङमा सुन्तलाको खानी मात्र होइन यहाँ अरबौको सुन, तामा, फलाम र सिसा खानी पनि रहेका छन् । तनहुँका ऋषिङ, घिरिङ, देवघाट, बन्दीपुर र आँवु गाउँपालिका र व्यास नगरपालिकाका वडा नं. १२, १३ र १४ क्षेत्र मगरहरुको सघन बसोबास छ । दक्षिण लमजुङ र तनहुँका उत्तरी पानी ढलोका ब्राम्हण, क्षत्रीहरु पनि हालसाल यहाँ बसोबास गर्न आएका पाउँदछौं । बडोकष्टका साथ जीवन निर्वाह गर्दै आइरहेका यहाँका जनताहरुको उज्ज्वल भविष्यको सपना सपना मात्र नबनुन । नाम अनुसार यो समय तनहुँको स्वर्णिम काल बनोस, यही शुभेच्छा छ !
नेपाली समाजमा एउटा आहान छ । वाग्लेको ढिकी लडेको । वाग्लेहरु बुद्धिले कमाइ गर्छन, आफ्नो र परिवारको पेट पाल्छन् । घरको धान कुट्न ढिकी चलाउन पर्दैन भनिन्छ । अब माननीय भएर गइसके पछि गैर संबैधानिक बाटोबाट कमाइ रहन नपर्ने भएकाले तनहुँले मुहार फेर्नेछ भन्ने पूर्ण विश्वास रहेको छ । सत्तासाझेदार दलका ने.का.पा. माओबादीका प्रदेश मन्त्री हरि चुमानसंग पनि सहकार्य हुने नै छ । यथार्थमा जनताले परिवर्तनको आकङ्क्षा गरेका छन् । अब के साँच्चै स्वर्णिमको पालामा तनहुँको कछारले न्याय पाउँछ त ? पाउँछ भने कति समय कुनुपर्ला आमजनताको सोझो प्रश्नको सिधा उत्तर आउने नै छ भन्ने पूर्ण विश्वास रहेको छ ।
हवस् त अहिले उत्तरको प्रतिक्षामा । पुनः नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना ।।
शुभेच्छुक
देव बस्न्यात
दमौली तनहुँ ।