देवघाट गाउँपालिका : “कृषिलाई स्वरोजगार र आर्थिक उपार्जनको आधार बनाएका छौं”

गाउँपालिका अध्यक्ष : तिलबहादुर थापा

देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रममै युवा स्वरोजगारलाई समेटेको गाउँपालिका अध्यक्ष तिलबहादुर थापा बताउँछन । रोजगारीको खोजीमा भौतारिएका युवालाई आफ्नै थातथलोमा केही उद्यम गरी स्वरोजगार बनाउने उद्देश्यका साथ गाउँपालिकाले विभिन्न आयआर्जन तथा सीपमुलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । ‘समुन्नत देवघाटको आधार धार्मिक, पर्यटन र कृषि पूर्वाधार’ भन्ने नाराका साथ हामी अगाडि बढेका छौं अध्यक्ष थापाले भने, ‘यही नारा अनुसार हामीले नीति तथा कार्यक्रमहरु निर्माण गरी बजेटको व्यवस्थापन गर्दै युवा लक्षित कार्यक्रमलाई जोड्दै गएका छौ ।’

नेपालको प्रसिद्ध धार्मिक स्थल देवघाटलाई धार्मिक पर्यटकका हिसावले विकास गर्नुका साथै यहाँका ग्रामीण बस्तिमा हुनसक्ने खेतीको सम्भाव्यता पहिचान गरी सोही अनुसारका कार्यक्रम सञ्चालमा गाउँपालिका लागि परेको छ । तनहुँ, चितवन र नवलपुर जिल्लाको मिलन विन्दुको रुपमा रहेको यो क्षेत्र गोसाइकुण्डदेखि आएकी स्वतगंगा -त्रिशूली) र दामोदर कुण्ड एवं मुक्तिनाथदेखि आएकी कृष्णागङ्गा -कालीगण्डकी)को संगमस्थल नै देवघाटधाम हो । देवघाट आध्यात्मिक तपोभूमिका अलावा शालीग्रामको भूमि, आश्रम र वैदिक गुरुकलु शिक्षा, प्राकृतिक मनोरम दृष्यावलोकन, जीवनको उत्तरार्ध अवस्थाको वसाइ, ऐतिहासिक एवं पुरातात्विकस्थल, स्थानीय मेला तथा पर्व र यहाँ सम्पन्न गरिने विभिन्न संस्कारहरुका कारण नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित छ ।

विश्वभरिका हिन्दू धर्मावलम्विहरुको आस्थाको केन्द्र देवघाट धर्म संस्कृति र प्रकृतिको संगमस्थल पनि हो । देवघाट प्रकृति र संस्कृतिले सुशोभित गाउँपालिका हो । तनहुँ जिल्लाको कछार -तनहुँको कर्णाली भनेर चिनिने साविक वैदी, कोटा र छिपछिपे गाउँ विकास समिति राज्य पुनःसंरचना पश्चात देवघाट गाउँपालिमा समाहित भएको छ । गाउँपालिकाले हालसम्म सहजढंगबाट जिल्ला सदरमुकाम दमौलीसंग जोड्ने र सबै वडामा बाह्रैमास मोटर चल्ने पहँचु प्राप्त गर्न सकेको छैन । विद्यूत र व्यवस्थित पिउने पानीको समस्या अझै हट्न सकेको छैन । यो पालिकाको गाउँबस्ति ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास हुने प्रतिक्षामा छन् । पवित्र धार्मिक स्थल देवघाटधाम, साँस्कृतिक क्षेत्रको रुपमा परिचित घण्टाचुली, कोटवैदी र छिपछिपे, एतिहासिक एवं पुरातात्विकस्थल सिञ्चाङगढी, प्याउलीगढी, प्राकृतिक धरोहर कालीगण्डकी, त्रिशुली र छरछरे झरनाका साथै फलफूल तथा पशुपालनका लागि पहाडीभेग र तरकारी तथा अन्नवालीका लागि वेसीका समथर फाँट देवघाटबासीका आशाका किरणहरु हुन् । गाउँपालिकाले पहाडी क्षेत्रमा सुन्तला खेती र बेसीमा अन्नबालीको उत्पादन गरी समृद्धि हाँसिल गर्ने गरी कार्यक्रमहरु अगाडि बढाएको छ ।

गाउँपालिकाले यहाँको भुगोल अनुसार लक्षित कार्यक्रमहरु प्राथमिकतामा राखेको छ । नदीको तिरैतिरमा मठमन्दिर भएकाले त्रिशुली नदीदेखि काली नदी समेट्न धार्मिक पदमार्ग निर्माण गरी बाहिराबाट आउने धार्मिक पदयात्रीहरुलाई हिड्न र मन्दिरसम्म आउँजाउमा सहज हुने गरी डिपियार तयार गरी काम अगाडि बढाइएको अध्यक्ष थापाले बताए । उनले भने, ‘गाउँपालिकाको अन्य क्षेत्रमा रहेका ऐतिहासिक र पौराणिक मन्दिरहरुलाई पनि जोड्ने गरी बाटोहरु निर्माण गरेका छौं । मन्दिरहरु पनि निर्माण भइरहेका छन् ।’

ग्रामीण क्षेत्रमा रोजगारीको वातावरण सृजना गर्ने गरी गाउँपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि धार्मिक, साँस्कृतिक, प्राकृतिक क्षेत्रलाई समेट्ने गरी भ्यू टावर निर्माण, पदमार्ग निर्माण, होमस्टे व्यवस्थापन, संस्कृति संरक्षण, स्थानीय उत्पादन प्रवर्द्धनका कामलाई प्राथमिकतामा राखेको छ ।

यस्तै, गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । ‘देवघाट समथर भु-भाग होइन तर सिमित भु-भाग रहेको वडा नं. २ को कोटा, कालिकाटार र ५ नम्बर वडाको भुवनटार, झारखानी, गौरीटार, कालीमाटी जस्ता समथर क्षेत्रमा सिंचाईका व्यवस्था गरी धानखेती गर्ने, अहिले खाल्टेमा सिंचाइ गर्न २ वटा कुलो निर्माणाधिन अवस्थामा छ’, अध्यक्ष थापाले भने, ‘कोटा र कालिकाटारलाई समेट्ने गरेर कुलो निर्माण हुँदै छ । ५ नम्बर वडामा पनि डिप वोरिङ सिंचाई गर्ने तयारी भइरहेको छ ।’

तरकारी खेतीलाई पनि प्राथमिकताका दिएको गाउँपालिकाले वडा नं. १, २, ३ र ४ को हावापानीमा सुन्तला खेती राम्रो हुने हुँदा यी क्षेत्रमा सुन्तला खेती विस्तार कार्यक्रम प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले सुन्तला खेती प्रवर्द्धनका लागि अनुदानमा सुन्तलाका विरुवा वितरण गरेको छ । गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरी अनुदानमा हावापानी सुहाउँदा गुणस्तरीय सुन्तलाका विरुवा वितरण गरेको अध्यक्ष थापाले बताए । उनले भने, ‘अब बाहिरबाट विरुवा ल्याउने नभई यही सुन्तलाको विरुवा उत्पादन गर्नुपर्छ भनि गत वर्षबाट ३० लाख रुपैयाँ बजेट विनियोजन गरी ४ नम्बर वडामा नर्सरी स्थापना गरिएको छ । यहाँबाट विजि विरुवा र ग्राफ्टिङ विरुवा गरी दुइ थरीको विरुवा उत्पादन गरी बिक्री गर्ने योजना भइरहेको छ । हामीले ग्राफ्टिङ विरुवा उत्पादनमा जोड दिएका छौ । यो विरुवाबाट चाडै उत्पादन लिन सकिने र दाना पनि ठुलो हुने, एउटा विजि विरुवा लगाएको ठाउँमा ४/५ वटा ग्राफ्टिङ विरुवा लगाउन सकिने। ग्राफ्टिङ विरुवाको आयु छोटो हुने र विरुवा परिवर्तन गरिराख्नुपर्ने भएपनि हामीलाई छ छोटो समयमा धेरै आमदानी लिने योजना बनाएका छौं ।’

‘गाउँका युवाहरुलाई आफ्नै गाउँठाउँमा रोक्नु पर्छ । तर, हामीले मुखले मात्र भनेर, मिठा कुरा गरेर रोक्किने सम्भावना छैन । उनीहरुको हातहातमा रोजगारी दिनुपर्ने छ, पेशा दिनुपर्ने छ, व्यवसायिकरण गर्नुपर्ने छ । त्यसका लागि पनि गाउँपालिकाले धेरै काम गरेको छ’, अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले सामाजिक उद्यामशिलता योजना निर्माण गर्ने कार्यक्रम अगाडि बढाएको छ । पालिकाको तर्फबाट नीति तथा कार्यक्रममा राखिए अनुसार कृषक, महिला, युवा, अपांगता भएका व्यक्ति लगायतलाई गाउँपालिकाबाट ‘मेडपा’ कार्यक्रममार्फत विभिन्न सीपमुलक, आयआर्यजन मुलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यस कार्यक्रम मार्फत दिइएको तालिमले स्थानीयस्तरमा स्वरोजगार बन्ने क्रम पनि बढ्दै गएको छ । यो वर्ष करिब एक सय जनालाई सीपमुलक तालिम उपलब्ध गराउने कार्यक्रम रहेको छ ।’

यस्तै, स्थानीय कृषक तथा लघुउद्यमबाट उत्पादित वस्तुको बजारीकरणमा सहज पुगोस भनि गाउँपालिकाले कोशेली घर सञ्चालनमा ल्याएको छ । विभिन्न समूहमा रहेर दिदीबहिनीहरुले कृषि सहकारी स्थापना गरी सञ्चालन गरिरहेको अध्यक्ष थापाले बताए । गाउँपालिका भित्र अहिले आठ वटा कृषि सहकारीहरु सञ्चालनमा छन् । कृषि सहकारीले वर्षोनी गाउँपालिका र प्रदेशबाट आउने अनुदान प्राप्त गरिरहेका छन् । नीति तथा कार्यक्रम र बजेट बनाउने बेलामा वडा वडामा पुगेर हात हातमा रोजगार दिने गरी कार्यक्रमहरु ल्याउनुपर्छ भनेर सुझाव पनि संकलन गर्न लगाएका अध्यक्ष थापाले बताए । उनले भने, ‘आगामि वर्षो नीति तथा कार्यक्रममा कृषिमा नै आधारित कार्यक्रमहरु ल्याउने योजना छ र कृषिले नै हाम्रो गाउँहरुमा रहेका युवाहरुलाई रोजगार दिने सम्भावना छ । विदेशबाट आयत गरेर खानुपर्ने पनि घट्छ र आर्थिक समृद्धको मुख्य आधार पनि कृषि नै हो ।’

‘गाउँपालिकाको आर्थिक अवस्थाले युवाहरुको आवश्यकता र चाहनालाई पूर्ति गर्न सक्ने अवस्था छैन । युवाहरुको सीप, क्षमता, दक्षताको उपयोग गर्न नसक्दा ठूलो मात्रमा जनशक्ति बाहिरिदा हाम्रा ग्रामीण बस्तिहरु उजाडिदै गएका छन् । गाउँघर वृद्धवृद्धाको मात्रै बसोवास रहेको अवस्था छ । यो निकै चिन्ताको विषय हो’, अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले आफ्नै गाउँठाउँमा केही गर्छु, स्वरोजगार बन्छु भन्ने युवालाई उनिहरुको आवश्यकता र मागलाई प्राथमिकतामा राखेर विभिन्न सीपमुलक तथा उद्यम विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ । भौगोलिक हिसावले देवघाट गाउँपालिको विकट छ । यहाँका गाउँमा उत्पादन भएका उपजको बजारीकरण गर्न नसक्दा युवालाई गाउँमै रोक्न सक्ने अवस्था पनि बनेको छैन् । यसका लागि स्थानीय तहले मात्रै केही गर्न नसक्दो रहेछ । संघ र प्रदेश सरकारले नै विशेष कार्यक्रम ल्याउन आवश्यक छ ।’

गाउँपालिकामा करिब ८० प्रतिशत घरमा विजुली बत्तिको सुविधा पुगेको छ । पानीको स्रोत नहुँदा खानेपानीको सहज उपलब्धता हुन सकेको छैन । लिफ्टिङ सिंचाई, सोलर लिफ्टिङ गरिएपनि सोलर लिफ्टिङ प्रविधि त्यति सफल हुन सकेको छैन । भूबनोटका कारण सहज सडक सञ्जालको पहुँच पुग्न सकेको छैन भने उत्पादित कृषि उपजलाई समयमै बजारिकरण गर्न नसकिएको गाउँपालिका अध्यक्ष थापाको गुनासो छ । अध्यक्ष थापा भन्छन्, ‘उत्पादित उपजलाई समयमै बजारिकण गर्न नसकिएपनि सितभण्डार (कोल्डस्टोर)को व्यवस्था गर्न सके वेसिजनमा ती वस्तु बिक्री वितरण गर्न सकिन्थ्यो तर, सितभण्डारका लागि पनि थ्रिफेजको विद्युत चाहिने रहेछ । त्यसको व्यवस्थापन बल्ल हुँदै छ । बाटोघाटोको असुविधा छ । देवघाटको अर्को समस्य भनेको तीनतिर नदीले घेरिएको भुगोल हो । १९ वटा झलुङ्गे पुल छ, ३ वटा मोटर गुड्ने पुल छ । मोटर गुड्ने पुलले १, २, ३ र ४ नम्बर वडालाई छुन सकेको छैन । ५ नम्बर वडाको सुगम भागलाई मात्र छुन सकेको छ । योजनाकारहरुले नै अलि गलत गरेको जस्तो लाग्छ । सेतीमा र काली नदीमा एक/एक वटा पुल निर्माण गरिदिएमा ग्रामीण क्षेत्रका बासिन्दालाई सहज हुने थियो ।’

देवघाटको ग्रामीण क्षेत्रमा उत्पादित सुन्तला तुइन मार्फत बजार पठाइदै । तस्विर : भञ्ज्याङ

‘देवघाटको कोटा, बैदी, छिपछिपे लगायतका क्षेत्र सुन्तलाको पकेट क्षेत्र हो । यहाँ उत्पादित सुन्तला सडक सञ्जालको अभावमा सहज रुपमा बजारीकरण गर्न सकिएको छैन । उत्पादित उपजलाई मानिसले बोकेर बजार पुर्‍याउँदा लागत बढि पर्ने गरेको छ । संघ र प्रदेश सरकारले सन्तला भण्डारणका लागि सितभण्डार, सेती र काली नदीमा पक्कि पुल निर्माण तत्काल सोच्नुपर्ने देखिन्छ’, अध्यक्ष थापाले भने, ‘पुल निर्माणका लागि सेती नदीमा ५ करोड रुपैयाँ, गाइघाटको त्रिशुली नदीमा २ करोड रुपैयाँ बजेट विनियोजन भएपनि काम भएको छैन । कोटमा बन्ने पुलमा पनि तनहुँ हाईड्रोका कारण देखाएर ८ करोड रुपैयाँको बजेट फि्रज हुने अवस्थामा पुगेको छ । खाल्टेभन्दा माथि ऋषिङ गाउँपालिकालाई छुने ठाउँमा पनि केही काम नै हुन सकेको छैन । ४ ठाउँमा मात्रै पक्कि पुल बन्ने हो भने देवघाटमा उत्पादित सुन्तला मात्रै होइन, निबुवा, कागती लगायतका अन्य कृषि उपजलाई बजारीकरण गर्न सहज हुने थियो ।’

भुवन सिं गुरुङ : उपाध्यक्ष

शिक्षा बिना मानिस परिवर्तन हुन सक्दैनन्, मानिस स्वास्थ्य नभई विकास गर्न सकिदैन भन्ने सोचका साथ देवघाट गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पनि बढि प्राथमिकतामा राखेर काम गरेको उपाध्यक्ष भुवन सिं गुरुङ बताउँछन् । ‘गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न योजना बनाई कार्यान्वयन गर्ने प्रक्रियामा छ’, उनले भने, ‘गाउँपालिकाका जनताका आकांक्षा धेरै छन तर बजेट थोरै हुँदा काम गर्न धेरै समस्या झेल्नुपरेको छ ।’ गाउँपालिकामा पहाडी भूभाग र चट्टान धेरै भएको कारण तर्राई क्षेत्रमा ५ लाख बजेटको काम धेरै गर्न पनि सकिन्छ र धेरै देखिन्छ । तर पहाडमा चट्टानहरु धेरै भएकोले काट्न मुस्किल हुनुका साथै काम पनि नदेखिने अवस्था रहेको उपाध्यक्ष गुरुङ बताउँछन् ।

‘जनताको आकांक्षा बाटोघाटो नै हो, तर गाउँपालिकाको प्राथमिकता कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई उत्पादनमुलक हुनुपर्छ भन्ने छ ।’ यस्तै, युवा अवस्था भनेको एउटा सीप सिकेर भोलिको जीवन यापन सञ्चालन गर्न दक्ष्य बन्नुपर्ने समय हो । युवा अवस्थामा केही सिक्नपर्ने कुराहरु नसिकिकना काम गरियो भने पनि हामीले चाहेको अनुसारको उपलब्धी हासिल गर्न नसकिने हुँदा गाउँपालिकाले युवा लक्षित कार्यक्रमलाई पनि प्राथमिकता दिंदै आएको उपाध्यक्ष गुरुङ बताउँछन् ।

‘सबैभन्दा ठुलो कुरा त हामीले सीप सिक्नै पर्छ । कुन क्षेत्रमा लाग्ने हो, कुन व्यवसाय गर्ने हो त्यही अनुसारको सीप सिक्न आवश्यक छ । सीप सिक्नको लागि गाउँपालिकाले पटक पटक आव्हान गरेको पनि छ र सीप सिक्न यहाँका युवाहरुले त्यती ध्यान दिएको अवस्था पनि छैन । केही युवाहरु बहिरा बसेर गाली गर्ने, सामाजिक सञ्जाल प्रयोग गरेर गाली गर्ने प्रचलन छ । त्यो गर्न भन्दा गाउँपालिकामा आएर यो यो सीप हामीलाई आवश्यक छ भनेर निवेदन दिए भने हप्ता दश दिनमा ती तालिम हामीले आयोजना गर्न सक्छौं । २/३ वर्ष लगाएर सिकेको सीपले मात्रै हामीले व्यवसाय गर्न सक्छौं भन्ने होइन, एक दिनमा २ घण्टा सिकेको सीपले पनि उपलब्धी हासिल गर्न सकिन्छ ।’ देवघाटको मुख्य सम्भावना भनेको कृषि र पशु पालननै हो । फलफूल, तरकारी, मौरीपालन, बाख्रापालन, कुखुरापालन, बंगुरपालन क्षेत्रलाई निर्वाहमुखी होइन अब व्यवसायीक बनाउँदै अगाडि बढ्नुपर्छ भन्ने नीति गाउँपालिकाले लिएको छ ।

कृषि क्षेत्रको विकास र कृषकलाई सहज रुपमा सेवा प्रवाहका लागि गाउँपालिकाले कृषि र पशुका लागि एक वडा एक प्राविधिकको व्यवस्था गरेको छ । पालिकाको भूगोल, हावापानी सुहाउँदो खेतीपाती, कृषि तथा पशुपालनमा आवश्यक पर्ने सीप, ज्ञान, औषधीउपचार, विऊविजन, मलको सहज आपूर्ति गरी युवालाई स्वरोजगार बनाउने कार्यक्रम प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले आफ्ना कर्मचारी परिचालन गरी कुनकुन वडामा के के माग भयो, छलफल भयो, के माग भयो त्यहाँका मानिसहरुको चाहाना के छ ?, आवश्यकता के छ ?, गाउँपालिकाले गर्न सक्ने के के छन् त्यसको पहिचान गर्न थालेको छ । जिविकोपार्जनका लागि सीप सिकेर केही गर्न चाहाने युवाहरु पछिल्लो समय गाउँपालिकाले राखेको कार्यक्रम, सीपमुलक तालिम प्रति आकषिर्त हुँदै आएका छन् । पुरुषहरु भन्दा महिलाहरु बढि आकर्षित हुने गरेको गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त बताउँछन्।

उनका अनुसार गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रम मार्फ ३० जनालाई ८ दिने उद्यमशिल विकास तालिम, ३० जनालाई पाँच दिने मौरीपालन तालिम र मैरीसहितको घर वितरण, लघु वित्तमा पहुँच/वस्तु र सेवा बजारिकणको एक/एक दिने तालिम, एक महिन व्यूटिसियन तालिम, वाउस वायरिङ्ग, चप्पल बनाउने लगायतका सीपमुलक तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाले पाँच वर्षो उद्यम विकास रणनीति योजना समेत बनाउने तयारी गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत : गौरीप्रसाद आचार्य

यस्तै, पछिल्लो समय युवाहरु रोजगारी, अध्ययन तथा छोटो समयमा राम्रो प्रतिफलको खोजीमा गाउँबाट बेसी/बजार हुँदै विशेद पुग्ने क्रम बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य बताउँछन् । ‘आफ्नो ठाउँभन्दा बाहिरा/विदेश गएर काम गरेपछि आमदानी धेरै हुन्छ भन्ने युवाहरुमा सोच छ । धेरै युवाहरु पारिश्रमिक र अन्य सेवासुविधाको हिसावले अन्यदेश जाने गरेको पनि पाइन्छ । हुन त अहिले बाहिरा पनि त्यति सहज त छैन । युवाहरु अन्य देशमा गएर जे काम पनि गर्ने र त्यही काम गर्न आफ्नै देशमा भने लाज मान्ने ट्रेन्ड नै छ’, उनले भने, ‘अब पालिका तहबाट भन्दापनि देशले नै युवाहरुलाई कसरी यहि रोक्न सकिन्छ भनेर कार्यक्रमहरु ल्याउन जरुरी छ । पालिकाले पनि संघीय सरकारको ससर्त कार्यक्रम अन्तर्गतको उद्यमशिलता तालिम दिइरहेको छ । यसमा युवालाई मात्रै नभई अरु पालिकाबासीलाई पनि सहभागी गराएका छौं । पालिकाले अब युवा लक्षित विभिन्न कार्यक्रमहरु ल्याउन पर्छ भनि लागि गरेको छ ।’

‘पहिला युवाहरुलाई तत्काल हातमा नगद पर्ने र त्यसले घर पनि चल्ने खालको सीपमूलक तालिम दिनुपर्छ । तत्काल फाइदा हुने तालिम भयो भने त्यसको फाइदा पनि दिगो हुन्छ र युवाहरु पनि रोकिन सक्छन्’, प्रमुख प्रशासकीय अधिकृत आचार्य भन्छन्, ‘यहाँ सुन्तला उत्पादन राम्रो हुन्छ तर सडकको सहज पहुँच नभएकाले सुन्तलाले बजार नपाएको भन्ने पनि धेरै नै सुन्न पाइन्छ। देवघाटको लाइफलाइनको रुपमा रहेको गाइघाटको मोटरेवल पुल निर्माण सम्पन्न भयो भने सुन्तलाले बजार पाउने थियो र यसले पालिकालाई आर्थिक समृद्धिको बाटोमा डोर्‍याउँछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker