म्याग्दे गाउँपालिका : तनहुँ जलविद्युत आयोजनाको जलाशयलाई उपयोग गरी रोजगारी र आर्थिक उपार्जन गर्ने
गाउँपालिका अध्यक्ष : श्रीप्रसाद श्रेष्ठ
तनहुँका साविक गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्गलाई समायोजन गरी म्याग्दे गाउँपालिका कायम गरिएको छ । जामुनेको दभुङबाट शुरु भएर छाङ र मनपाङ दुइ गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहीत भएको एउटा प्रख्यात खोलाको नाम हो “म्याग्दे” । छाङ, मनपाङ र जामुने तीनै वटा गाविसको उर्वर भूमी वा फाँटको नाम पनि हो म्याग्दे । उर्वर भूमिका साथै प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको गाउँपालिका यी क्षेत्रको संरक्षण एवं प्रवर्द्धन गर्दै कृषि तथा ग्रामीण पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीय स्तरमै रोजगारीको वातावरण सृजना गरी समृद्धि हाँसिले गर्ने दौडमा छ ।
विशेषतः सुन्तला र तरकारी खेती, कुखुरा, मौरी, गाई र बाख्रा पालन तथा मौलिक संस्कृतिले सुशोभित सुन्दर गाउँहरुमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालनका कार्यक्रमलाई प्राथमिकताका साथ गाउँपालिकाले अगाडि बढाएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठ बताउँछन् । ग्रामीण पर्यटनसंगै कृषि क्षेत्रको प्रवर्द्धन गरी गाउँपालिकालाई समृद्ध बनाउने र नागरिकलाई सहज रुपमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकको पहुँच विस्तार गर्ने गरी नीति, कार्यक्रम तथा बजेटको समेत व्यवस्था गरिएको उनले बताए ।
गाउँपालिकाले युवाहरुलाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्थानीयस्तरमै उद्यमशिल बनाउनका लागि वृहत छलफलबाट समिति बनाइएको अध्यक्ष श्रेष्ठले बताए । ‘वैदेशिक रोजगारीमा रहदा सिकेको सीप, ज्ञानलाई कसरी उपयोग गर्ने – आर्थिक उपार्जन तर्फ कसरी जोडिन सकिन्छ भन्ने विषयमा छलफल गरी कार्ययोजना बनाउँदै छौ’, उनले भने, ‘युवाहरुलाई आफ्नै थातथलोमा स्वरोजगर बनि आर्थिक उपार्जनका लागि व्यवसायिक रुपमा कुखुरा, गाईभैसी, बाख्रा, माछा, बंगुर पालनमा केन्द्रित गर्ने गरी पालिकाले अनुदानका कार्यक्रमहरु ल्याएको छ ।’
‘पहिले उत्पादनमा समस्या थियो, अहिले उत्पादित वस्तुको बजारीकरण कसरी गर्ने भन्ने चुनौती देखिन थालेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘कृषि पर्यटन र पूर्वाधार म्याग्देको विकासको आधार’ भन्ने नारा तय गरी सोही अनुसार अगाडि बढेका छौं । दीर्घकालिन रुपमा रोजगारी मिल्नुका साथै आर्थिक उपार्जनको माध्यम पनि राम्रो बन्ने हुँदा हामीले कृषिलाई अलि बढि ध्यान दिइएका छौ ।’
गाउँपालिकाले सुन्तला खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको र वडा नं. १, २ र ३ का अधिकांश युवाहरु सुन्तलाखेतीमा आकर्षित भएका छन् । यहाँका युवाहरुले सुन्तला उत्पादन गरी लाखौ रुपैयाँ आम्दानी गर्दै आएका छन् । गाउँपालिकाले खेती विस्तार, मानहुँ क्षेत्रमा होमस्टे प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘तनहुँ जलविद्युत निर्माण पश्चात दमौलीदेखि भिमादसम्म बन्ने जलाशयलाई कसरी उपयोग गर्न सकिन्छ, रोजगारीका वातावरण सृजना गर्न के कस्ता कार्यक्रम अगाडि बढाउने, कस्ता पूर्वाधार तयार गर्ने, युवालाई कसरी जोड्ने र आर्थिक उपार्जन गर्ने भन्ने विषयमा अहिले गाउँपालिका आवश्यक तयारीमा जुटेको छ ।’
तनहुँ जलविद्युतको जलाशयलाई आर्थिक उपार्जनको माध्यम बनाउनका लागि गाउँपालिकाले जलाशयसंग जोडिएका ग्रामीण बस्तिहरुमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने गरी घरबास -होमस्टे) प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न थालेको छ । कृषिसंगै होमस्टेका माध्यमबाट स्थानीयस्तरमै रोजगारीको वातावरण सृजना हुने देखिएकाले गाउँपालिकाले सम्भाव्यताको अध्ययन गरी सोही अनुसारका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको अध्यक्ष श्रेष्ठले बताए ।
व्यवसायिक रुपमा कृषि तथा पशुपालन क्षेत्रमा युवालाई आकर्षित गर्नका लागि गाउँपालिकाले गाईभैसी पालन, निःशुल्क वीमा, पाँच/पाँच हजार रुपैयाँ सुत्केरी पशुलाई पोषणभत्ता, उत्पादित दुधलाई प्रति लिटर १० रुपैयाँका दरले अनुदान प्रदान गर्ने जस्ता उत्पादन लक्षित अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
‘केही वर्ष अघिसम्म गाउँपालिका क्षेत्रमा करिब १५० लिटर दुध उत्पादन हुँदै आएकोमा अहिले दैनिक १ हजार ३ सय लिटरसम्म दुध उत्पादन हुँदै आएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘कृषकहरुलाई दुध उत्पादन वृद्धि गर्नका लागि अनुदानका कार्यक्रम, औषधि उपचारको सुविधा दिनुका साथै पशुपालन विस्तारसंगै मल उत्पादन गरी उक्त मललाई सुन्तला खेतीमा प्रयोग गर्ने कार्यक्रम अगाडि बढाइएको छ ।’ युवाहरुलाई कृषि पेशा तर्फउन्मुख तथा आकषिर्त गर्नका लागि कृषिजन्य सामाग्रिहरुमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आइएको छ । हातेट्याक्टर, कटर मेशिन तथा माग भए अनुसारका अन्य कृषि सामाग्रि उपलब्ध गराइएको छ ।
गाउँपालिकाले मनपाङ, मानहुँ, डाँडागाउँ, हर्कपुर लगायतका ग्रामीण बस्तिहरुमा होमस्टे प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरी रोजगारी सृजना गर्न थालेको छ । विशेष गरी महिला दिदीबहिनीहरु होमस्टे सञ्चालनका लागि तालिम लिन जागरुक भएर लागि परेका छन् । पर्यटकीय सम्भावना बोकेका गाउँलाई ग्रामीण पर्यटनको हबका रुपमा विकास गर्नका लागि गाउँपालिकाले खानेपानीका सहज पहुँच पुर्याउन एक घर एक धारा अभियान सञ्चालन गरेको छ भने सरसफाई अभियानलाई पनि प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । यस्तै, लघुउद्यम विकास कार्यक्रम मार्फत गाउँपालिकाले स्थानीय स्तरमै खेरा गइरहेको कच्च पदार्थलाई प्रयोग गरी हस्तकला निर्माण गर्ने, अचार बनाउने, साबुन उत्पादन गर्ने, युवाको माग र आवश्यकता पहिचान गरी विभिन्न सीप तथा आयआर्जन मुलक कार्यक्रम सञ्चालन गरेको छ ।
‘रोजगारी सृजना गर्नका लागि कृषि, पर्यटन, पूर्वाधार निर्माणका क्षेत्रलाई जोड्दै गएका छौ’, अध्यक्ष श्रेष्ठले भने, ‘नागरिकलाई आर्थिक समृद्धि तर्फ उन्मुख गराउन घोषणा पत्र तयार गरी कार्यान्यनका चरणमा छौ । घोषणापत्रका आधारमा अहिले गाउँगाउँ टोलटोलमा पुगेर नागरिकलाई सहज रुपमा पालिकाको सेवा प्रवाह गर्दै आइएको छ । एकीकृत घुम्ती शिविर सञ्चालन गरी स्वास्थ्य सेवा प्रवाह गरिएको छ । विशेष गरी मृगौला रोग, स्त्री रोगका समस्यालाई समयमै पहिचान गरी निःशुल्क रुपमा उपचार सेवा समेत प्रदान गर्ने गरी गाउँपालिका लागि परेको छ ।’ गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरी वडा तथा टोलटोलबाटै प्रशासनिक सेवाका साथै कृषि, पशुपालन, स्वास्थ्य परीक्षण, सरसफाई, फोहरमैला व्यवस्थापनका विषयमा सहजिकरण गर्दै आएको छ ।
पालिका बासिलाई अभिभावकत्व प्रदान गर्ने गरी नीति, कार्यक्रम बनाएर अगाडि बढेको गाउँपालिकाले खेतबारी जोत्नका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान समेत उपलब्ध गराउँदै आएको छ । प्रशासकीय भवन निर्माण सम्पन्न गरेको गाउँपालिकाले अस्पताल निर्माणको काम भएपनि जनशक्तिको व्यवस्थापन गर्न सकेको छैन । यस्तै, कृषि उपजलाई भण्डारण गरी राम्रो प्रतिफल लिने उद्देश्यका साथ गाउँपालिकाले चिस्यान केन्द्र समेत निर्माण गरी सञ्चालनमा ल्याएको छ । चिस्यान केन्द्रमा अहिले कृषकहरुले आलु भण्डारण गरेका छन् ।
यस्तै, शैक्षिक क्षेत्रको विकास बिना प्रगति हाँसिल गर्न नसकिने भन्दै गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तार वृद्धि गर्न तथा सीपयुक्त जनशक्ति उत्पादन तथा विद्यालय तहबाटै श्रम र उत्पादनसंग विद्यार्थीलाई जोड्नका लागि ‘पद्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकाले ४० प्रतिशत अनुदान दिएर विद्यालय बस खरिदको व्यवस्था गरेको छ भने प्राविधिक र सीपमुलक जनशक्ति उत्पादनका लागि गत वर्षदेखि छात्रवृत्ति तथा ५० प्रतिशत अनुदान दिएर १८ महिने भेटेरिनरी कक्षा समेत सञ्चालन गर्दै आएको छ । ‘युवा, किसान, विद्यार्थीहरु कृषि पेशामै लाग्नुपर्छ भन्ने उद्देश्यले विद्यालयस्तरमै बालबालिकाहरुलाई तरकारी खेती, फलफूल लगायतका कृषि कार्यमा सहभागि गराउने गरिएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ ।’
कृषिकहरुले पालेका पशुपंक्षीमा विभिन्न प्रकारका रोगहरु संक्रमण हुने गरेका कारण गाउँपालिकाले आवश्यक औषधी खरिद गरी कृषकहरुलाई उपलब्ध गर्राई उपचार सेवा प्रदान गर्दै आएको छ । युवाहर्रुलई स्थानीय स्तरमै स्वरोजगार बनाउनका लागि सीप मुलक तथा लघुउद्यम विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । ‘युवाको चाहाना र आवश्यकता असिमित छन् । ती आवश्यकता पहिचान गरी युवाहरुकै चाहना अनुरुप पालिकाले तालिमहरु सञ्चालन गर्ने, आवश्यक सामाग्रिहरु उपलब्ध गराउने, उत्पादित वस्तुको वजारीकरणलाई सहजिकरण गर्ने, युवाहरुलाई आफ्नै थातथलोमा रोकिराख्न युवा लक्षित कार्यक्रमहरु अगाडि बढाउन थालेका छौ’, अध्यक्ष श्रेष्ठले भने, ‘पालिकाको योजना र कार्यक्रमले मात्रै युवालाई आफ्नो थातथलोमा रोक्न नसकिने अवस्था भएकाले संघ र प्रदेश सरकारले पनि युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ । जसले गर्दा युवा विहिन बन्दै गएका हाम्रा गाउँबस्ति, उजाड र खण्डहर बनेका ग्रामीण बस्ति, बाँझिदै गएका उर्वर भूमिलाई पुनः हरभर र चलयमान बनाउन सकिन्छ ।’
उपाध्यक्ष : बालकृष्ण घिमिरे
युवाहरु विभिन्न कामको खोजीमा विदेश पलायन हुने क्रम बढेकोमा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे चिन्ता व्यक्त गर्छन । राज्यले लिएको नीति प्रभावकारी हुन नसक्दा र युवाहरुले आफ्नो गाउँठाउँमै स्वरोजगर बन्ने अवसरको पहिचान गर्न नसक्दा अहिले युवा विदेशिनुपरेको उनि बताउँछन् । ‘युवाहरुलाई आफ्नै गाउँठाउँमा रोजगारीको वातावरण सृजना गर्न पालिका लागि परिएको छ । अहिले युवाहरुको चाहना छोटो समयमा राम्रो प्रतिफल खोज्ने क्रम बढेको छ । वैदेशिक रोजगारीनै मुख्य गन्तव्य ठान्ने मानसिकता हावी भएको छ’, उपाध्यक्ष घिमिरे भन्छन्, ‘हाम्रा युवाहरु विदेश जाँदा पनि दक्ष र सीपयुक्त भएर जानुपर्छ भनि गाउँपालिकाले युवाहरुलाई लक्षित गरी प्लम्बिक, वल्डिङ, ड्राभिङका तालिमहरु समेत सञ्चालन गरेको छ ।’
‘युवाहरुले सकेसम्म आफ्नै भूगोलमा, आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ, स्वरोजगार बन्नुपर्छ र त्यो नै हाम्रो दीर्घकालिन समस्याको समाधान हो भन्ने मलाई लाग्छ’, उनले भने, ‘व्यक्तिको दीर्घकालिन आर्थिक प्रगतिका लागि पनि हाम्रा परम्परागत पेशा व्यवसायलाई आधुनिकिकरण गर्दै अगाडि बढ्न सके यही सम्भावना छ । गाउँपालिकाले यही मान्यताका साथ कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिइएको छ । आर्थिक समृद्धिको पहिलो प्राथमिकता कृषिलाई राखिएको छ । कृषिका विभिन्न शिर्षकमा अनुदानका कार्यक्रमहरु छन् र पशुपालन, दुधमा अनुदान, ढुवानी भाडा, पशु सुत्केरी भत्ता, गोठ सुधार जस्ता कार्यक्रममा अनुदानको व्यवस्था छ । यस तर्फ कृषकहरु पनि आकर्षित हुँदै जानु भएको छ र सकरात्मक प्रतिफल समेत आउन थालेको छ ।’ गाउँपालिकाले कृषिमा तरकारी, फलफूल, आलुको विऊमा अनुदान उपलब्ध गराउँदा उत्पादन समेत वृद्धि हुँदै गएको छ । अहिले कृषकहरुले आफैले आलुको वीऊ उत्पादन गरी प्रयोग गर्न थालेपछि गाउँपालिकाले आलुको विऊमा दिंदै आएको अनुदानको कार्यक्रम हटाएको उपाध्यक्ष घिमिरेले बताए । गाउँपालिका अहिले आलुमा आत्मनिर्भर उन्मुख बन्दै गएको छ ।
‘म आफै पनि स्थायी जागिर छाडेर कृषि पेशामा जोडिएको मान्छे हुँ । म राजनीतिमा सक्रिय छु । मैले सुन्ताला खेतीबाट अहिले राम्रो प्रतिफल लिदै आएको छु । बाँझिदै गएका पाखो जमिनलाई उपयोग गरी सुन्तला खेतीबाट राम्रो प्रतिफल लिएको छु’, उपाध्यक्ष घिमिरेले भने, ‘गाउँपालिकाले सम्भावना युक्त क्षेत्रको पहिचान गरी अहिले अभियानकै रुपमा सुन्तला खेती कार्यक्रम अगाडि बढाएको छ । स्थानीय कृषकहरुले सुन्तलाबाट राम्रो आम्दानी लिन थाल्नु भएको छ । म्याग्देमा एउटै व्यक्तिले सुन्तला बिक्री गरी करोड रुपैयाँको हाराहारीमा आम्दानी लिने अवस्था बनेको छ ।’ गाउँपालिकाले गत वर्ष करिब ६० हजार सुन्तला, कागति लगायतका अमिलाजातका फलफूलका विरुवा वितरण गरेको थियो । यो वर्ष करिब दुइ हजार रोपनी क्षेत्रफलमा सुन्तला, कागती र एवोकाडो लगाउने गरी कृषकलाई सहयोग गरेको उनले बताए । उपाध्यक्ष घिमिरे भन्छन्, ‘यस्ता कार्यक्रमले गाउँमै रोजगारी सृजना भएको छ । रोजगारी खोज्दै भौतरिनु परेको छैन । सुन्तला गोड्ने, टिप्ने लगायतका काममा अहिले सयौ जनाले प्रत्यक्ष रोजगारी पाउनुभएको छ । सुन्तला खेतीका कारण अहिले म्याग्देमा राम्रो रोजगारीको वातावरण सृजना भएको छ ।’
युवालाई आफ्नै थातथलोमा स्वरोजगार बनाउन तथा आर्थिक उपार्जनको बाटो तय गर्नका लागि गाउँपालिकाले दीर्घकालिन योजना पनि बनाएको उपाध्यक्ष घिमिरे बताउँछन् । ‘हाम्रो पालिकाको बीच भागबाट पृथ्वीराजमार्गको चारलेनको सडक बन्दै छ । अब यो सडकबाट म्याग्दे बासिले प्रतिफल लिनुपर्छ भन्ने उद्देश्यका साथ आवश्यक योजना तयारी गरी अगाडि बढेका छौं । बाटोलाई रोजगारीसंग जोड्न सक्नुपर्छ’, उनले भने, ‘राजमार्गमा हिड्ने यात्रुहरुलाई खाना, बस्ने खालका सुविधायुक्त होटल, रेष्टुँरा सञ्चालन गर्ने तथा स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरणसंग जोड्नका लागि पनि अब राजमार्गलाई उपयोग गर्न युवालाई प्रेरित गर्दै आएका छौ ।’
दीर्घकालिन रुपमा सकरात्मक प्रभाव पार्ने क्षेत्रलाई योजनावद्ध रुपमा अगाडि बढाउन सकियो भने रोजगारीको खोजीमा अन्यत्र भौतारिनु नपर्ने बताउँदै उपाध्यक्ष घिमिरे भन्छन्, ‘तनहुँ जलविद्युत आयोजनाको जलाशयको एउटा पाटो म्याग्दे गाउँपालिकाको क्षेत्र पर्छ । यसबाट अब कसरी लाभ लिन सकिन्छ ? रोजगारीको वातावरण कसरी सृजना गर्ने ? ग्रामीण बस्तिहरुलाई पर्यटकीय गन्तव्यका रुपमा कसरी विकास गर्ने ? उक्त जलाशय आसपासका क्षेत्रमा माछापालन, होटल, रेष्टुरेन्ट सञ्चालनका विषयमा हामीले योजना बनाइरहेका छौ । यी क्षेत्रमा मुख्यत हामीले हाम्रै उत्पादनलाई बजारीकरण गर्ने माध्यम बनाएर आर्थिक उपार्जन गर्ने गरी अगाडि बढेका छौं ।’
‘पर्यटकीय राजधानीको निकटमै रहेको म्याग्देलाई ग्रामीण पर्यटनको हबका रुपमा कसरी विकास गर्ने भन्ने विषयमा अब योजनावद्ध रुपमा अगाडि बढ्न आवश्यक छ’, उनले भने, ‘अब हाम्रा नयाँपुस्ताको बढ्दो विदेश मोह हटाउन लाग्नुपर्छ । प्रविधिको अधिकत्म उपयोग गरी स्थानीय स्तरमै राजगारीको वातावरण सृजना गर्नुपर्छ । कृषि पेशालाई सुरक्षित र सम्मानित बनाउनुपर्छ ।’
‘सरकारका युवा लक्षित कार्यक्रमको प्रभावकारीता देखिन सकेको छैन । हामी भौगोलिक हिसावले भूपरिवेष्टित देश भएकाले हाम्रा पेशा, व्यवसाय, उद्यम, पूजीको संरक्षणको पाटो कम्जोर छ । हाम्रो कृषि पेशा सुरक्षित बन्न सकेको छैन’, उनले भने, ‘अब युवालाई योजनावद्ध रुपमा अगाडि बढाउनुपर्छ । उत्पादनको बजार, समय, वातावरणका विषयमा सचेत गराउन सक्नुपर्छ । हाम्रा काम गर्ने शैलीलाई परिवर्तन गरी कृषकले उत्पादन गरेका उपज सरकार तथा सरोकारवाला निकायले बजारीकरण तथा व्यवस्थापनको जिम्मा लिनुपर्छ । कृषकलाई साथ सहयोग दिनुपर्छ । विचौलियको भूमिका अन्त्य गराउनुपर्छ । चिस्यान केन्द्र निर्माण गरी उपयुक्त सिजनमा विक्री वितरण गर्ने वातावरण बनाउने तथा लागत मूल्यको ख्याल गर्दै जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही खेती गर्न आवश्यक प्राविधिक ज्ञान उपलब्ध गराउनुपर्छ । र, मान्छेलाई काम गर्न र आफुले उत्पदन गरेका उपज बिक्री वितरणका लागि लाज नमान्ने बनाउन आवश्यक छ ।’
म्याग्देलाई कृषिबाट आत्मनिर्भर बनाउन र रोजगारी सृजना गर्न सक्ने अवस्था छ । यस वर्ष सुन्तला बिक्रीबाट करिब ७ करोड रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको म्याग्देले सुन्तला खेती प्रवर्द्धनलाई विशेष ध्यान दिएको छ । सुन्तला खेतीका लागि मल, सिंचाई, गोडमेल, औषधि उपचारको व्यवस्थापनमा गाउँपालिकाले सहजिकरण गर्दै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत : नारायण अधिकारी
युवामैत्री कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले बजेटको माध्यमबाट विभिन्न कानुन निर्माण गरी आर्थिक क्रियाकलापहरु गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारी बताउँछन् । ‘स्वरोजगार मुलक कार्यक्रम प्राथमिकतामा छन् । विभिन्न संघ संस्थाको साझेदारीमा होमस्टे व्यवस्थापनका कार्यक्रम अगाडि बढाइएको छ’, उनले भने, ‘मानहुँमा १२ वटा घरमा होमस्टे सञ्चालनको आवश्यक तयारी भइरहेको छ । अन्य गाउँबस्तिमा पनि होमस्टेको माध्यमबाट गाउँमै रोजगारीको वातावरण सृजना गर्ने योजनामा गाउँपालिका लागि परेको छ ।’
नवप्रवर्तन कार्यक्रमबाट युवालाई अगाडि बढाउँदै रोजगारी र आर्थिक उपार्जन गर्ने गरी कार्यक्रम अगाडि बढाएको गाउँपालिकाले उद्यमसंग जोडिन चाहने युवालाई वीऊ पुजीका रुपमा सहयोग गर्ने नीति लिइएको उनले बताए । ‘कृषि, पशुका फर्म सञ्चालन गर्नेलाई अनुदानका कार्यक्रम रहेको छ । अध्यक्ष र उपाध्यक्षसंग जनता कार्यक्रमबाट पनि रोजगारी सृजना गर्ने, लागत साझेदारीमा काम गर्ने गरी अगाडि बढिएको छ’, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘पूर्वाधार निर्माण र बाटो खनेर मात्र विकास सम्भव नहुँने देखिएकाले अब युवाहरुलाई लक्षित गरी स्वरोजगार बनाउने र विदेशबाट फर्किएका युवाहरुको ज्ञान, सीप, दक्षतालाई उपयोग गरी लगानीमा साझेदारी गर्ने, उत्पादनमा आधारित अनुदान दिने, कृषि औजार उपलब्ध गराउने, मल, विऊ उपलब्ध गराउने, पशुपालन व्यवसायलाई प्रवर्द्धनका लागि अनुदान जस्ता कार्यक्रम रहेका छन् ।’
यस्तै, अहिलेका युवा स्वदेशमै सुरक्षित रोजगारीको खोजीमा छन । अल्पकालिन रोजगारीले युवा आफ्नै थातथलोमा रोकिन सक्ने अवस्था छैन । अब सामान्य युवाहरु स्थायी रुपमा रोजगारीको खोजीमा हिड्न थालेको उनि बताउँछन् । ‘युवालाई स्वरोजगार बनाउन र आफ्नै थातथलोमा उद्यमशिल बनाउका लागि केन्द्र सरकारले नै बजेट मार्फत केन्द्र, प्रदेश र स्थानीय सरकारले यो यो काम गर्ने भनि युवा लक्षित कार्यक्रम ल्याउन आवश्यक छ’, उनले भने, ‘युवा टिकाउनका लागि क्षेत्र नै तोकिएर रोजगारी सृजना गर्ने गरी केन्द्रबाट नीति कार्यक्रम आउनुपर्छ । यसरी कार्यक्रम ल्याउन नसके ठूलो महत्वकांक्षा बोकेका, अलि गुणस्तरीय र राम्रो प्रतिफलको खोजीमा रहेका युवालाई रोक्न गाह्रो छ ।’