शुक्लागण्डकी नगरपालिका : युवालाई दक्ष र सीपयुक्त बनाउँदै, कृषि र पशुपालनमा जोड्ने

नगर प्रमुख : कृष्णराज पण्डित

पवित्र शुक्लागण्डकी नदी, माछापुच्छ्रे हिमालको काखमा अवस्थित ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेको भुजिकोट, दगाम र गुर्दुम लगायतका उच्च पहाडी भू-धरातल क्षेत्र यस नगरपालिकाको पहिचान हुन् । पृथ्वीराजमार्गसंग जोडिएको यस नगरपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक आयमले पनि भरिपूर्ण छ । पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिन्थ्यो, जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेतीगण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो । पर्यटकीय राजधानी पोखरासंगै जोडिएको यस नगरपालिका कृषि, पशुपालनका साथै ग्रामीण पर्यटन र धार्मिक हिसावले पनि निकै महत्वपूर्ण र सम्भावनायुक्त छ । नगरपालिकाले सम्भाव्यताको पहिचान गरी सामयिक रुपमा विकास र प्रवर्द्धनका गतिविधि सञ्चालन गरी रोजगारीको वातावरण सृजना गर्दै अर्थोपार्जनको माध्यम बनाउने गरी अगाडि बढेको नगरप्रमुख कृष्णराज पण्डित बताउँछन् ।

‘प्रायः युवाहरुको रोजाई वैदेशीक रोजगारी रहेको भेटिन्छ । जेनतेन कक्षा १२ को पर्ढाई पुरा गरेकाहरु पनि उच्च शिक्षा अध्ययनका नाममा विदेशतर्फ दौडिने क्रम बढेको छ । जस्ले गर्दा अहिले कतिपय गाउँबस्ति युवा बिहिन हुन पुगेका छन्, यो दुःखद् पाटो हो’, उनले भने, ‘नगरपालिकाले बैदेशिक रोजगारीबाट फर्किएकालाई बिउपुँजीका रुपमा केही रकम उपलब्ध गराइ उनिहरुको ज्ञान, सीप र दक्षताको उपयोग गरी स्थानीयस्तरमै स्वरोजगार बन्न प्रेरित गर्दै आएको छ ।’

नगरपालिकाले युवालाई उत्पादनसंग जोड्ने कार्यक्रम अन्तर्गत व्यवसायिक रुपमा कृषि पेशा गर्नेलाई उत्पादनमा आधारित भएर अनुदानको व्यवस्था, विउविजनको व्यवस्था, समूहमा आवद्ध भई केही गर्छु भन्नेलाई हौसला प्रदान गर्न मेशिन औजारदेखि प्रविधि सहयोग गर्दै आएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौंडा बजार । तस्विर : भञ्ज्याङ

‘राज्यले दिएको सेवासुविधाको उपयोग गरी युवाहरु आफ्नै गाउँठाउँमा केही उद्यम गर्नुपर्छ भन्ने जागरण आउनु पर्छ’, उनले भने, ‘युवालाई बढी जिम्मेवार र जवाफादेही बनाउने, सामुहिक रुपमा काम गर्ने वातावरण बनाउने र उत्पादनसंग जोड्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राख्दै आएको छ’, नगरप्रमुख पण्डितले भने, ‘घरेलु उद्यम विकासका लागि पालिकाले कृषकहरुलाई उन्नत जाताका विउविजन वितरण, उत्पादनमा अनुदान, राहत कार्यक्रम, पशुपालक कृषकलाई इआईको व्यवस्था, निःशुल्क कृषि तथा पशु प्राविधिकको सेवा, चिकित्सकको व्यवस्था गरी उत्पान वृद्धि गर्ने योजना बनाएका छौ । कृषिलाई उत्पादनसंग जोड्ने र उत्पादन भएका बस्तुलाई ढुवानी, बजारीकरण, मूल्य निर्धारण गर्ने योजनाका साथ अगाडि बढेका छौ ।’ बाँझिदै गएका जमिनलाई पुनः हरभर बनाउने गरी कृषि क्षेत्रमा युवालाई जोड्न नगरपालिका लागिरहेको छ ।

‘पछिल्लो समय युवाहरु विदेशिने क्रम बढ्दै गएको छ । यहाँ केही हुँदैन भन्ने मानसिकताले युवाहरु ग्रसित छन् । यो बढो जटिल र डरलाग्दो अवस्था छ । यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयलाई स्थानीय सरकारले सम्बोधन गर्न सक्ने अवस्था पनि छैन’, नगरप्रमुख पण्डितले भने, ‘यो समस्याको समाधान गर्न स्थानीय सरकारसंगै प्रदेश र संघ सरकारले युवा लक्षित कार्यक्रमलाई प्रभावकारी र प्ररिणाममुखी हुने गरी सञ्चालन गर्नपर्ने देखिन्छ ।’

युवालाई स्वरोजगार मुलक शिक्षा प्रदान गरी सीपयुक्त र दक्ष बनाउन खाँचो छ । उत्पादनसंग जोड्ने खालका शिक्षा अहिलेको आवश्यकता भएको नगरप्रमुख पण्डित बताउँछन् । उनले भने, ‘हाम्रो माटो उर्वर छ । यही मेहनत गर्ने भावना जागृत हुन आवश्यक छ । यस्तै, अब विद्यालय तहदेखिनै सीप मुलक शिक्षा दिनुपर्छ । यसका लागि हाम्रो समाज, विद्यालयका साथै राजनीतिक दलहरु पनि सचेत भएर अगाडि बढ्नुको विकल्प छैन ।’

उपप्रमुख : खुम बहादुर वि.क. (राजु)

युवा पुस्तालाई केन्द्रमा राखेर नगरपालिकाको आर्थिक विकास क्रियाकलापसंग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्दै आएको उपप्रमुख खुम बहादुर वि.क. (राजु) बताउँछन् । पालिकाको कृषि शाखाबाट कृषकहरुलाई लक्षित गरी टनेल, विउविजन बितरण, कृषि औजारमा अनुदान जस्ता कार्यक्रम सञ्चालन गरी उत्पादन बढाउन उत्प्रेरित गर्दै आएका छौं । ‘नगरपालिकाले ‘नगर युवासंग उपप्रमुख’ भन्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम मार्फत युवाहरुको करियार काउन्सिल, प्राविधिक तालिम प्रदान गर्दै आएका छौं’, उनले भने, ‘यस अन्तर्गत ४० जना युवाहरुलाई घरायसी विद्युतीय चुलो उपकरण मर्मत तालिम, १४८ जना युवालाई कफि बनाउने वारिष्ठ तालिम चलिरहेको छ । बेकरी सम्बन्धी तालिम ४०/५० जनालाई दिने अन्तिम तयारी भइरकेको छ ।’

युवालाई उत्पादनसंग जोड्ने योजनाका साथ ११ वटा विशेष खेतीलाई प्रवर्द्धन गर्न ५ देखि १५ जनाको समूह बनाएर अगाडि बढेको नगरपालिकाले समूहमा आवद्ध भएका कृषकहरुलाई विउविजन, प्रविधि, मल लगायत आवश्यक सहयोग गर्ने उनले बताए । ‘यो कार्यक्रम सञ्चालनका लागि युवा कृषकहरुको समुह बनिसकेको छ’, उनले भने, ‘अदुवा, पिडालु, तरुल जस्ता जरेबाली खेती प्रवर्द्धनका लागि करिब ५ हजार किलो विउ कृषकहरुले लगाइसक्नु भएको छ । नगरपालिकाले उत्पादित कृषि उपजको बजारीकरण गर्ने जिम्मा पनि लिएको छ । गाउँका सामुदायिक भवनहरु, आमासमूहका भवनहरुलाई संकलन केन्द्रका रुपमा विकास गरी त्यहाँ संकलित उपजलाई बजारसम्म पुर्‍याउने योजना बनाएका छौ ।’

यसरी किसानको खेतबारीबाट संकलन गरिएको उपजलाई बिक्री वितरण गरी भएको आम्दनी कृषकलाई दिने गरी नगरपालिका अगाडि बढेको छ । यस कार्यका लागि नगरपालिकाले स्थानीय एक सहकारीलाई जिम्मा दिएको छ । ‘नगरपालिकाको आफ्नो कार्यक्रममा अन्य संघसंस्थाहरुको सहकार्यमा मौरी पालनको विशेष पकेट क्षेत्र विकास गर्ने गरी काम गरिरहेको छ । यस काममा विशेष गरी युवालाई प्राथमिकता दिइएको छ । महिला उद्यमीहरुले पनि सबै ठाउँमा काम गरिरहनु भएको छ’, उपप्रमुख विकले भने, ‘त्यो मध्ये पनि एकल महिलाहरु जो घरमै बस्नुहुन्छ, उहाँहरुका लागि पनि विशेष कार्यक्रमका रुपमा प्याकेज घोषण गरिएको र उक्त कार्यक्रममा ५० जनाले विभिन्न सीपमुलक तालिम लिएर स्वरोजगार उन्मुख बन्दै जानु भएको छ । करिव ४० निर्माण व्यवसायीहरुलाई तालिम दिइ गुणस्तरीय निर्माण कार्यमा प्रेरित गर्दै आइएको छ । यस्ता कार्यक्रमले युवालाई आफ्नै थातथलोमा स्वरोजगार बन्ने अवसर मिल्नुका साथै आर्थिक उपार्जनको माध्यमपनि बन्ने हामीले विश्वास लिइएका छौ ।’

यस्तै, हामीले चाहँदैमा युवाहरुलाई विदेश जानबाट रोक्न सक्ने अवस्था पनि छैन । विदेश जान चाहने युवालाई पनि हामीले सीपयुक्त र दक्ष भएर जानको लागि प्रेरित गरी उनिहरुका माग र आवश्यकता अनुसार सीप मुलक तालिमहरु सञ्चालन गरिएको उनले बताए । उपप्रमुख विकले भने, ‘स्थानीय तहले मात्रै युवालाई विदेश जानबाट रोक्न सक्दैन तर जनाताको सबैभन्दा नजिकको सरकार हुनाले हामीले सकेको प्रयास गर्दै आएका छौ । प्राविधिक रुपमा दक्ष बनाउने, स्वरोजगार निर्माण गर्ने, रोजगारी सृजना हुने खालका पूर्वाधारहरु निर्माणलाई प्राथमिकता दिएका छौं ।’

नगरपालिकाले दुध उत्पादन वृद्धि गर्नका लागि कृषकहरुलाई अनुदानको व्यवस्था गरेको छ । प्रतिलिटर २ रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएपछि युवाहरु आकर्षित हुँदै जानु भएको उनले बताए । ‘युवालाई आफ्नै थातथालोमो रोक्ने केही प्रयास त गरेका छौ तर, त्यो प्रयाप्त र प्रभावकारी बन्न सकेको छैन’, उपप्रमुख विकले भने, ‘संघ र प्रदेश सरकारले पनि युवा लक्षित कार्यक्रमलाई ठोस परिणाम आउने गरी तल्लो तहसम्म सञ्चालन गर्न सक्नुपर्छ । संघीय मामिला मन्त्रालय मार्फत नवप्रवर्तन कार्यक्रम प्राप्त भएको र यसमा २५ प्रतिशत रकम नगपालिकाले र ७५ प्रतिशत संघ सरकारको सहभागिता रहने भनिएपनि संघ सरकारले सो रकम नपठाउँदा कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन सकिएन ।’

प्रमुख प्रशासकीय अधिकृत : रामचन्द्र लामगादे

 

मुलुकको विकास र समृद्धिको यात्रा तय गर्न युवा जनशक्तिको महत्वपूर्ण भूमिका हुन्छ । तर, अहिले नेपाली युवा जनशक्ति विदेश तर्फआकर्षित हुँदा कतिपय विकास निर्माणका काम समेत सञ्चालन गर्न नसकिने अवस्थामा आइपुगिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे बताउँछन् । ‘युवालाई आफ्नै थातथलोमा स्वरोजगार बनाउनका लागि ‘युवासंग नगरउपप्रमुख’ कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसबाट विभिन्न सीपमुलक तालिम, हाउसवेयरिङ, प्लम्बिङ, कफि खेती लगायत जरेबाली प्रबर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ’, उनले भने, ‘मुख्यगरी युवाहरुलाई उत्पादनसंग जोड्नका लागि बाँझो खेतको उपयोग गर्ने, जरेवालीको प्रवर्द्धन गर्ने योजना नगरपालिकाले बनाएको छ । वैदेशिक रोजगारीमा गएका/जाने युवाहरुलाई सीपमुलक तालिम प्रदान गर्ने, मेशिनबाट कफि बनाउने -वारिष्ठ) सम्बन्धी तालिम पनि सञ्चालन गर्दै आइएको छ ।’

तनहुँको शुक्लागण्डकी नगरपालिकाको थप्रेक गाउँ ।

नगरपालिकाले वडा तहबाट पनि विभिन्न लघुउद्यमसंग सम्बन्धी सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेतृत्व विकासका तालिम पनि वडाबाट सञ्चालन गरिदै अइएको छ । ‘विशेगरी हाम्रो शैक्षिक प्रणाली नै पराम्परागत शैलीमा भयो । अब यसलाई परिवर्तन गर्न सकिएन भने हाम्रा शिक्षित युवाहरु बेरोजगार बन्नुपर्ने अवस्था आउन सक्छ’, प्रमुख प्रशासकीय अधिकृत लामगादे भन्छन्, ‘विद्यालयको ९, १० कक्षाबाट बल्ला सीपमुलक र प्राविधिक शिक्षाको सुरुवात गरिएको छ । तर अझैपनि बजारमा बेरोजगार जनशक्ति धेरै छन् । भोलीका दिनमा केही सुधार हुँदै जाला । विशेष गरी हाम्रो शिक्षा प्रणाली नै उत्पादनसंग जोडिने, सीपमुलक र आधुनिक प्रविधिसंग जोडिनुपर्छ ।’

उनले भने, ‘कोरा कितावी ज्ञानले शिक्षित विरोजगार उत्पादन भइरहेको हुँदा हाम्रो शिक्षा प्रणालीलाई सुधार गरी व्यवाहारिक शिक्षा दिनु पर्दछ । जीवन उपयोगी, प्रविधिमैत्री र समायनुकुलको शिक्षा प्रणाली र शैक्षिक पठ्यक्रम बनाएर अगाडि बढे भोलिका दिनमा पक्कै पनि हाम्रा युवाहरु आफ्नै थातथलोमा केही उद्यम गरी रोजगारीको वातावरण सृजना गर्नुका साथै आफ्नो र मुलुकलाई आर्थिक समृद्धिको बाटो तर्फ डोर्‍यान सफल हुनुहुनेछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker