भिमाद नगरपालिका : समृद्धिका लागि कृषि र पशुपालनमा युवालाई जोड्नुको विकल्प छैन

नगरप्रमुख : दधिराज सुवेदी

जिल्लाको पश्चिम दक्षिण भेगमा अवस्थित छ भिमाद नगरपालिका । साविक अरुणोदय, किहुँ, भानुमती, भिमाद र माझकोट, रिसिङ रानीपोखरी, साभुङ भगवतीपुर, गजरकोट गाविसको केही भाग समावेश गरी कायम गरिएको भिमाद नगरपालिकामा ९ वटा वडा रहेका छन् । महाभारतको किवंदन्ती अनुसार पाण्डव पुत्र भिमसेनले सेती नदीमा बाँध बाँधेकाले भिमबाँध शब्दको अपभ्रंस भई भिमाद भन्ने शब्द जनजिब्रो र प्रचलित भाषामा लोकप्रिय भएकाले यस ऐतिहासिक स्थलको महिमालाई झल्काउने गरी भिमाद नगरपालिकाको रुपमा नामाकरण गरिएको बताइन्छ । पर्यटकीय, धार्मिक, जैविक विविधतायुक्त वन जंगल, नदीनाला, पशुपालन, कृषि उर्वरभुमी र व्यापार व्यवसाययुक्त भएको अनुपम भूमिका रुपमा यस नगरपालिकालाई लिन सकिन्छ ।

वडा नं. ६ स्थित भिमादबजारमा झण्डै २०० वर्ष भन्दा पुरानो स्थानीय फलाम खानीबाट उत्खनन् गरिएको फलामबाट स्थानीय कालीगढहरुले साङ्लोबाट निर्माण गरेको झोलुङ्गे पुल तथा सो पुलसंग जोडिएको त्यतिकै पुरानो शिवालय मन्दिर छ । शिवपाञ्चायन मन्दिर, कोटबाराही मन्दिर, सतीकोट मन्दिर, लाटी बाराही मन्दिर, विभिन्न थुम्काहरुमा रहेका कोट, महाभारतकालिन भिमसेनले सेतीनदीमा बाँध बाँधेको अवसशेष लगायतका धार्मिक तथा ऐतिहासिक सम्पदाहरु रहेका छन् ।

नगरवासीको मुख्य पेशामा कृषि र व्यापार रहेता पनि आम्दानीका श्रोतहरुमा वैदेशिक रोजगारको महत्वपूर्ण योगदान बन्न पुगेको छ । वैदेशीक रोजगारी तथा अन्य पेशाव्यवसायको खोजिमा हुँदै आएको युवा पलायनलाई रोक्न भिमाद नगरपालिले व्यवसायिक रुपमा कृषि, पशुपालनका क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । समृद्ध भिमाद बनाउने लक्ष्यका साथ नगरपालिकाले युवा स्वरोजगारका कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको नगरप्रमुख दधिराज सुवेदी बताउँछन् । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु र नेपालमै बसेर प्राविधिक तथा सीपमुलक तालिम लिइएका युवाहरुलाई समुहमा आवद्ध गरी उनिहरुको माग र आवश्यकता अनुसार सहयोग गर्दै रोजगार सृजना गर्ने कार्यक्रमहरु प्राथमिकतामा रहेको उनले बताए ।

‘व्यवासयिक कृषि, पशुपालन, औद्योगिक क्षेत्रको विकास, उत्पादित उपजको बिक्री वितरणमा सहजिकरण गर्ने तथा संकलन केन्द्र स्थापना गर्ने जस्ता कार्यलाई अगाडि बढाएका छौं’, नगरपमुख सुवेदीले भने, ‘युवाहरुलाई लक्षित गरी कृषिमा आधारित उद्योग सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फिर्ता भएका र तालिम प्राप्त युवाहरुलाई छुट्टै कार्यक्रमको व्यवस्था गर्नुका साथै विकास जनताको जीवनसंग प्रत्यक्ष छुनुपर्छ भन्ने उद्देश्य अनुसार कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।’

नगरबासि अधिकांशको पेशा कृषि नै हो । कृषि क्षेत्रको आधुनिकिकरण गरी लागत घटाउँदै उत्पादन बढाउने कार्यलाई नगरपालिकाले प्राथमिकता दिएको उनले बताए । ‘सबैलाई छुने कृषि पेशा भएकाले कृषि पेशालाई आधुनिकरण, व्यवसायीकरण, बजारीकरण गरेर युवाहरुलाई आफ्नै परम्परागत पेशामा जोड्ने हाम्रो योजना छ’, नगरप्रमुख सुवेदीले भने, ‘खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै गएको छ । बाँझिदै गएका उर्वर भूमिलाई कसरी उपयोगमा ल्याउने, आधुनिकिकरण र प्रविधिको प्रयोग गरी उत्पादन वृद्धिका लागि लागत कसरी घटाउन सकिन्छ, उत्पादित वस्तुको बजारीकरणका विषयलाई समेट्दै स्थानीयस्तरमै रोजगारीको वातावरण सृजना गरी आर्थिक पाटो मजबुत बनाउन हामी केन्द्रित छौं ।’

तालिम दिएर जनतालाई दक्ष बनाउने र उहाँहरुलाई कृषि तथा अन्य पेशा व्यवसाय गर्न चाहनुभएमा बीऊ पुजीका रुपमा सहयोग तथा अनुदानको व्यवस्था, जमानी बसेर सुलभ व्याजदरमा ऋण दिलाइ उद्योग तथा व्यवसाय सञ्चालनको वातावरण बनाउन नगरलालिका लागि परेको छ । ‘हामीले स्टार्टप भिमाद कृषि परियोजनामा अगाडि बढेका छौं’, नगरप्रमुख सुवेदीले भने, ‘कृषकले उत्पादन गरेको उपज बिक्री नै हुँदैन भन्ने गुनासो बढ्दै गएकाले यो गुनासो सम्बोधानका लागि नगरपालिकाले यो परियोजना अगाडि ल्याएको हो । अब युवाहरुलाई उत्पादन गर्न लगाउने, उत्पादकहरुकै बीचबाट एउटा समिति गठन गर्ने र उत्पादित वस्तु संकलन गरी बजारीकरणका लागि कृषि हाटबजार सञ्चालन तथा अन्य बजारमा पठाउने व्यवस्था मिलाउनका लागि यो परियोजना मार्फत ‘स्मार्ट कृषि’को परिकल्पना गरिएको छ ।’

‘स्टार्टप भिमाद कृषि परियोजना’ सञ्चालनका लागि नगरपालिकाले ‘जियोकृषि एप’ निर्माण कार्य अगाडि बढाएको छ । उक्त एपमा कृषक तथा कृषक समुहलाई जोडेर उत्पादित उपजको बजारीकरण, बजार भाऊ, मूल्य श्रृंखला, कुन खेती कुन सिजनमा कसरी गर्ने, त्यसको बजार मूल्य कस्तो छ, माग कस्तो छ भन्ने र कृषकलाई सिधै बजारसंग जोड्ने माध्यमका रुपमा अगाडि बढ्न लागिएको उनले बताए । ‘कृषक र कृषि पेशालाई प्रविधिमैत्री बनाएर कम लागतमा राम्रो प्रतिफल प्राप्त गर्ने हाम्रो मुख्य लक्ष्य छ’, नगरप्रमुख सुवेदीले भने, ‘यो एप तयार भई सञ्चालनमा ल्याएसंगै कृषकको उत्पादनको अवस्था, बजार मूल्य, संकलन तथा विक्रि वितरण, किसानले कतिमा बेच्ने, संकलकले कति पाउने, संकलकले ल्याएर थोक बिक्रेतालाई कतिमा दिने र उपभोक्ताले कतिमा किन्न पाउने जस्ता विषयलाई एकीकृत गरी प्रविधिको प्रयोग मार्फत स्मार्ट कृषि अवधारणा अगाडि ल्याएका छौ ।’

‘हरेक मानिसको जनजीविकासंग कृषि पेशा जोडिएको हुँदा भरसक कृषि पेशालाई प्राथमिकता दिने, अन्य पेशा व्यवसाय गर्न चाहेमा पनि नगरपालिकाले आर्थिक, प्राविधिकको सहयोग गर्ने व्यवस्था मिलाएको छ’, उनले भने, ‘भिमाद अदुवा खेती, बाख्रा पालनका लागि पकेट क्षेत्रका रुपमा विकास भएको छ । युवाहरुलाई यस पेशा तर्फ जोड्दै व्यवसायिक बनाउन स्थानीय रैथाने खरि जातका बाख्रा उत्पादन वृद्धिका लागि कृषाकलाई अनुदानको व्यवस्था गरिएको छ । दुध उत्पादनका लागि गाईभैंसी पालनमा पचास प्रतिशत अनुदान दिएर गाईभैसी किन्ने र व्यवसायिक रुपमा दुध उत्पादनमा टेवा पुर्‍याउने गरी सहयोग गरिएको छ ।’

नगरपालिकाले जागरुक युवाहरुलाई व्यवसायिक बनाउन मासु उत्पादनका लागि अनुदानको व्यवस्था गरी पाडा, कुखुरा, बाख्रा पालन जोड्ने कार्यक्रम सञ्चालन गरेको छ । आफ्नै बाँझो जमिन जोतेर खेती गर्ने कृषकलाई प्रति रोपनीका हिसावले तीन वर्षम्म लगातर दुइ हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएको छ । यदि आफ्नो जमिन छैन र अर्काको बाँझो जमिन खनजोत गरी खेती गर्ने कृषकलाई तीन वर्षम्म प्रति रोपनी तीन हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएको छ ।

यस्तै, कृषकको उपजलाई भण्डारण गरी सहज रुपमा बजारिकरणको व्यवस्था मिलाउनका लागि नगरपालिकाले चिस्यान केन्द्र निर्माण गरी सञ्चालनको तयारी गरेको छ । उक्त चिस्यान केन्द्रमा स्थानीय कृषकहरुले उत्पादन गरेको उपजलाई भण्डारण गरी उपयुक्त समयमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइने भएको छ । हरेक क्षेत्रबाट युवाहरुलाई आर्थिक विकास र समृद्धिको यात्रातर्फअगाडि बढाउन नगरपालिकाले युवा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

‘सकेसम्म वैदेशिक रोजगारीमा नजानु, जानै परे सीप र दक्षता हाँसिल गरेर मात्र जानु भन्ने गरेका छौं’, नगरप्रमुख सुवेदीले भने, ‘विदेशबाट फर्कनु भएका युवाहरु नगरपालिकाले सञ्चालन गरेका तथा उपलब्ध गरेका अनुदानका कार्यक्रमबाट सन्तुष्ट बन्दै जानु भएको छ । केही तालिम प्राप्त युवाहरु पनि उत्साहका साथ व्यवसायिक रुपमा अगाडि बढ्नुभएको छ । विदेश गयो भने परिवारका सदस्यहरु खुसी, यहाँ बसेर बाख्रा पाल्यो भने अपहेलित हुनुपर्ने जस्ता हाम्रा सामाजिक परम्परालाई तोड्दै कृषि तथा पशुपालन पेशालाई सम्मानित बनाउन, रोजगारीको वातावरण सृजना गरी आर्थिक उपार्जनको माध्यम बनाउन नगरपालिका लागि परेको छ ।’

उपप्रमुख : शारदा खनाल

नगपालिकाले विशेष गरी गरिब वर्ग र किसानको अवस्थालाई उकास्ने खालका कार्यक्रमहरु प्राथमिकतामा राखेको उपप्रमुख शारदा खनाल बताउँछिन् । कृषिबाट किसानहरुको जीवनलाई समृद्धीतर्फ उकास्ने हाम्रो लक्ष्य हो । सोही अनुसार नीति, कार्यक्रम बनाएर आवश्यक बजेटको व्यवस्थापन पनि गर्दै आएको उनले बताइन् । रोजगारीको खोजिमा विदेशिने तथा अन्यत्र पलायन हुँदै आएका युवालाई आफ्नै थातथलोमा स्वरोजगार बनाउन तथा आर्थिक उपार्जनको वातावरण सृजना गर्न नगरपालिकाले लघुउद्यम विकास कार्यक्रम मार्फ विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ । विदेश जाने युवा तथा यही केही गर्छु भन्ने युवालाई उहाँहरुकै चाहना र आवश्यकता पहिचान गरी तालिम दिंदै आएको उनले बताइन । विदेश जाने युवाहरुलाई दक्ष र सीपयुक्त बनाउन ड्राइभिङ लगायतका तालिमहरु प्रदान गरिएको छ । महिला दिदिबहिनीहरुलाई पनि सीप मुलक तालिमहरु प्रदान गरी स्वरोजगार बनाउन थालिएको नगरउपप्रमुख खनालले बताए ।

‘सिलाइकटाइ, बुनाई सम्बन्धी तालिम प्रदान गरी उद्यमी बनाउनका लागि अनुदानमा आवश्यक मेशिन तथा औजारहरु प्रदान गरिएको छ’, उनले भनिन् ‘तालिम लिइएको महिलाहरुले स्वीटर, झोला, कछाड बुन्ने औजारहरु लिएर स्वरोजगार बन्दै जानु भएको छ । तालिमबाट सीप सिकेका दिदीबहिनीहरुले सामुयिक रुपमा महाशक्ति नामको डिटर्जेन साबुन उत्पादन गर्न सुरु गर्नुभएको छ भने चपल बनाउने तालिम लिइएकाहरुले पनि चपल उत्पादन गरी आर्थिक उपार्जन गर्न थाल्नु भएको छ ।’ यस्तै, नगरपालिकाबाट विनियोजित बजेटबाट निर्माण गरिएका विकास निर्माणका कामको पनि नियमित अनुगमन गर्ने गरिएको छ । कामको गुणस्तर, परिणाम हेरेर मात्र भुक्तानी दिने गरिएको उनले बताइन् । संघ प्रदेशबाट सिधै आएका योजनाहरुको काम नगरपालिकासंग समन्वय नगरी गरिदिंदा अनुगमनका क्रममा विभिन्न समस्याहरु झेल्नुपरेको उनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत : मोहन प्रसाद मरासिनी

भिमाद नगरपालिकाले विकास र समृद्धिको लक्ष्य हाँसिल गर्नका लागि मुख्यत कृषि, पूर्वाधार र शिक्षालाई बढि प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी बताउँछन् । नगरपालिकाले युवाहरुलाई स्थानीयस्तरमै स्वरोजगार बनाउन विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ । मुलुको अर्थतन्त्र कृषिमै आधारित रहेको हुँदा नगरपालिकाले पनि कृषि क्षेत्रको विकासका लागि कार्यक्रमहरु प्राथमिकताका साथै सञ्चालन गर्दै आएको छ । ‘मुलुकको दीगो विकास र समृद्धिको यात्रा तय गर्ने मुख्य आधार कृषि नै हो’, उनले भने, ‘कृषि क्षेत्रलाई आधुनिक र प्रविधियुक्त बनाएर युवालाई व्यवसायिक कृषि तथा पशुपालनका क्षेत्रमा आकर्षित गर्न सक्नुपर्छ ।’

‘पछिल्लो समय युवामा नेपालमा केही हुँदैन भन्ने भाष्य स्थिपित भएको छ । राज्यले केही गरेन, केही गर्ने वातावरण यहाँ छैन भन्दै वैदेशिक रोजगारीमा भौतारिने युवाको जमात पनि बढ्दै गएको छ’, प्रमुख प्रशासकीय अधिकृत मरासिनी भन्छन्, ‘बढ्दो नकरात्मकतलाई चिर्दै आफ्नै गाउँठाउँमा, आफ्नै जग्गा जमिनमा दीगो रुपमा केही पेशा अंगालन युवाहरुमै जागरण आउनुपर्छ । अरुको टिकाटिप्पणी गर्ने तर, आफु केही गर्न तयार नहुँने पनि देखिएको छ । पालिका तथा सरकारले केही गरेन भन्ने प्रवृत्ती पनि बढेको छ । सामान्य कृषि पेशा गर्ने कृषकले पनि सकेसम्म आफुले केही लगानी नगर्ने, नगरपालिका तथा अन्य निकायको मुख ताक्ने प्रवृत्तीले पनि कृषि क्षेत्र व्यवसायिक बन्न सकेको छैन ।’

‘भिमाद बासि अधिकांशको आफ्नै जग्गा जमिन छ । आफ्नै लागि आवश्यक पर्ने तरकारी समेत उत्पादन नगर्ने तर, पालिका बहिराको बजारबाट कतिबेला तरकारी आइपुग्छ भनि कुरि बस्ने प्रचलन बढ्दो छ’, उनले भने, ‘केही युवाले व्यवसायिक रुपमा कृषि तथा पशुपालन सुरु गरेपनि दीगो रुपमा निरन्तरता दिन सकेको अवस्था छैन । एक वर्षराम्रो भएन भने, यहाँ केही हुँदैन भन्दै अर्को वर्षाट त्यो पेशालाई निरन्तरता नदिने र विदेश तर्फै सोझिने प्रवृत्ती बढेको छ । हाम्रै थातथलोमा स्वरोजगार बन्ने, आर्थिक उपार्जन गर्ने सम्भावना प्रसस्त छ । सम्भाव्यताको अध्ययन गरी हावापानी, माटोको उर्वरता सुहाउँदो खेती प्रणाली गर्न युवाहरु जागरुक हुनुपर्छ । त्यसका लागि नगरपालिकाले पनि अनुदान तथा अन्य सहयोगि कार्यक्रम ल्याएको छ । यदि कृषकले यहीको बजारलाई आवश्यक पर्ने तरकारी मात्रै उत्पादन गर्ने हो भने पनि आम्दानी र रोजगारीको वातावरण बन्ने सम्भावना छ । तर, त्यस्तो हुन सकेको छैन । यहाँका कृषकले त्यो सम्भावनालाई हेरेर उत्पादन वृद्धि गर्न सक्नुपर्छ ।’

नगरपालिकाले कृषि क्षेत्रको प्रवर्द्धनका लागि सहयोग गर्दै आएको छ । निरन्तरता भएन भने पालिका तथा अन्य निकायले गरेको लगानिको कुनै अर्थ नरहने उनि बताउँछन् । ‘मान्छेलाई सकरात्मक सन्देश दिने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था आइसकेको छ । नेपालमा सम्भावना प्रस्सत छ । आफ्नै गाउँठाउँ, परिवारसंग बसेर तरकारी खेती गरेमा मात्रै पनि प्रस्सत आम्दानी हुन्छ, त्यस तर्फ सचेत र अग्रसर हुन खाँचो छ’, उनले भने, ‘उत्पादनमा लगानि मात्रै भन्दा पनि अब कसरी मानिसलाई दीगो रुपमा व्यवसाय तर्फउन्मुख गराउन सकिन्छ भन्ने रणनीति बनाउन नगरपालिका लागि परेको छ र सोही विषयमा अवधारणापत्र पनि तयार गर्न लागेका छौ । आफुले नगर्ने, अरुले गरेको प्रति डाहा गर्ने प्रवृत्ती पनि बढेको छ । यसलाई चिर्नुपर्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker