पर्यटनको पूर्वाधार : बन्दीपुर केवुलकार

के.बि. मसाल

पर्यटन क्षेत्र प्रवर्द्धनका लागि पूर्वाधार पहिलो आवश्यकता हो । बन्दीपुरको पर्यटनसंग जोडिएर अहिले केबलकार सञ्चालनको अन्तिम चरणमा पुर्‍याइएको छ । अहिले आन्तरिक रुपमा सञ्चालन गरिएको केवुलकारको परीक्षण भै रहेको हुँदो अब केही दिनमा र्सवसाधारणका लागि खुल्ला गर्ने तयारी भइरहेको छ । केबलकार सञ्चालनपछि पर्यटकहरुलाई बन्दीपुर पुग्न सजिलो हुने छ । पछिल्लो समय नेपालमा छोटो दुरीमा केवुलकार पर्यटन बिकासको लागि पूर्वाधार बनेको छ । नेपालमा अहिलेसम्म ६ स्थानमा केवुलकार सञ्चालनमा आएका छन । मनकामना, चन्द्रागिरी, कालिञ्चोक, पोखराको सराङकोट, मौलाकाली र लुम्बिनी प्रदेशको बुटवलदेखि पाल्पाको वसन्तपुर जोडने केवुलकार सञ्चालनमा आएको छ । बुटवलमा सिद्धार्थ केवुलकार सञ्चालनको तयारीमा रहेको छ । पर्यटनको बिकासको लागि केवुलकारको पूर्वाधार थपिदै जानु राम्रो पक्ष हो ।

नेपालमा मनकामना केबलकार २०५५ देखि सञ्चालनमा आएको हो । यसभन्दा अघि विभिन्न स्थानमा राजमार्गहरु सञ्चालनमा थिए । तर हाल राजमार्गहरु सञ्चालनमा छैनन । पर्यटन प्रवर्द्धनका लागि नेपालमा १८ स्थानमा केवुलकार निर्माण हुन लागेको छ । कुनै स्थानमा निर्माणाधिन छ भने कतै डिपिआरको काम सकिएको छ । पर्यटन प्रवर्द्धन गर्न निर्माण हुन लागेका सबै केबुलकार निर्माता कम्पनीहरुले ऐतिहासिक मठ मन्दिर र प्राकृतिक सम्पदासंग जोडेका छन् । गण्डकी प्रदेशमा पर्ने तनहुँको बन्दीपुर पर्यटनको लागि पुग्नै पर्ने ठाउँ हो ।

बन्दीपुर ऐतिहासिक, पुरातात्तिक, कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण छ । बन्दीपुरलाई पहाडकी रानी उपनामले पनि चिन्ने गरिन्छ । अब बन्दीपुरमा पर्यटकहरुले केवुलकारको यात्राबाट प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, कलात्मक संस्कृतिको अवलोकन गर्न सक्दछन । पृथ्वी राजमार्गमा पर्ने डुम्रे र बिमलनगरको बिचमा पर्ने ठूल्ढुङ्गास्वाँराबाट शुरु हुने केबुलकारबाट पर्यटकहरु सिद्धगुफाको छेउ हुँदै १.६ किलोमिटरको यात्रामा बन्दीपुरको स्टेशनमा पुग्नेछन् । पर्यटनको लागि केबलकार बन्दीपुरको अर्को आकर्षणको केन्द्र बन्न थालेको छ ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले केबलकारमा रेष्ट्रो-कार र तारे होटल सञ्चालनको तयारी गरेको छ । केवलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहितको सुबिधाले केबलकारमा यात्रा गर्ने पर्यटकहरुलाई नौलो अनुभूती हुने छ । बन्दीपुरको प्राकृतिक सुन्दरताले सबै पर्यटकहरु लोभिन्छन । तनहुँ हिमाली जिल्ला त होइन तर बन्दीपुरबाट दर्जनौ हिमश्रृंखलाहरु नजिकैबाट देख्न सकिन्छ । अहिले बन्दीपुरमा केबलकार आंशिक रुपमा सञ्चालनमा आएको छ । केबलकार परीक्षणको लागि सञ्चालन भएपनि टुरिष्ट पार्क र अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेण्ट भने पर्यटकका लागि खुल्ला गरिएको छ । पर्यटकहरुका लागि टुरिष्ट पार्कको गेटसँगै चट्टानमा शिव मन्दिर र फुटपाथ माथि देवीदेवताको मूर्ति बनाइएको छ । केवुलकारबाट झर्ना साथ पर्यटकहरुलाई आकर्षक गर्न उल्लुको मूर्ति, भगवान बुद्धको मूर्ति, सूर्यनारायण भगवानको वायुयान, कैलाश पर्वत र भगवान शिवजीको मुर्ति निर्माण भएका छन् । अर्को तर्फ पर्यटकहरुका लागि मिनी म्युजियममा हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघ लगायतका आकर्षक मूर्ति समेत राखिएका छन् ।

बन्दीपुरको इतिहास फर्केर हेर्ने हो भने पृथ्वी राजमार्ग निर्माणको सुरुवात र बन्दीपुरमा रहेको सदरमुकाम २०२५ सालमा दमौलीमा सार्दाको बखत स्थानीय बासिन्दाको विरोध भयो । सदरमुकाम दमौलीमा र्सार्न लाग्दा केही युवा र विद्यार्थीको ठूलो विरोध भयो । त्यो बेला प्रहरीको गोलीबाट निर्मल रानाभाटको मृत्यु समेत भयो । बन्दीपुरमै सदरमुकाम राख्न धेरै मिहिनेत गरे । सदरमुकाम दमौली सारेपछि बन्दीपुर सुनसान हुन धेरै बेर लागेन । बन्दीपुरेको व्यापार सुक्दै गयो । बन्दीपुरेहरु पोखरा, चितवन र काठमाडौं मात्र होइन पृथ्वी राजमार्गमा पर्ने डुम्रे बिमलनगर लगायत ठाउँमा बसाइ सरे । बन्दीपुरमा बि.स. २०५४ सालदेखि इको टुरिजमको सुरुवात भयो । बजार क्षेत्रमा ढुंगा बिछाउनेदेखि लिएर पर्यटन बिकासका लागि होटल र होमस्टे सञ्चालनमा आए । त्यसपछि बन्दीपुरमा विदेशी पर्यटकहरु भित्रन थाले । पर्यटकहरुको आगमन पछि बन्दीपुरमा चहल-पहल सुरु हुन थाल्यो । एकै ठाउँबाट दर्जनौ हिमश्रृंखला अवलोकन गर्न सकिने भएकाले बाहृय र आन्तरिक पर्यटकहरुको बन्दीपुर लोकप्रिय हुन थाल्यो । अहिले बन्दीपुरमा पर्यटन बिकासका पूर्वाधारहरु थपिदै छन ।

बिकास भनेको परिवर्तन हो । विकास भनेको सकारात्मक रुपान्तरण पनि हो । चाहे त्यो जुनसुकै क्षेत्रभित्र नै किन नहोस् । विकास हरेक क्षेत्रको लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिबिम्ब हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तन गराउँछ । शाब्दिक अर्थमा विकासले यथास्थिति भन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँदछ । त्यसैले पर्यटन प्रवर्द्धनको बिकासको लागि पूर्वाधार हुनु पर्दछ । पर्यटनको क्षेत्रमा विकास भनेको चिल्ला सडकहरु मात्र होइन । पर्यटनको क्षेत्रमा पूर्वाधारको बिकास गर्दा पर्यटकहरुलाई आवश्यक पर्ने कुरामा ध्यान दिनु पर्दछ । पर्यटन पूर्वाधार, पर्यटन प्रवर्द्धन र पर्यटकीय गतिविधिहरुको अब विस्तार गर्दै जानु पर्दछ । पर्यटनको बिकास गर्न पर्यटकहरुलाई देखाउन खोजेको स्थलको संरक्षण र गाउँघरको सरसफाई गर्न जरुरी छ । बन्दीपुरमा अहिले पर्यटनका लागि पूर्वाधार थपिदै गएका छन । पदयात्रामा रुचाउने पर्यटकहरुका लागि परमपरागत हिडने डुम्रे-बन्दीपुरको उकालो बाटो मर्मत सभार भै राखेका छन् । कतिपय पर्यटकहरु अहिले पनि पदयात्रानै गरी बन्दीपुर पुग्ने गर्दछन । डुम्रे बजारदेखि बन्दीपुर पुग्न आठ किलोमिटर बसमा यात्रा गर्नु पर्ने थियो । अब केबलकारबाट पर्यटकहरु नौ मिनेटमै बन्दीपुर पुग्न सक्दछन ।

पर्यटनकै लागि अहिले बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा १२ वटा समूहले होमस्टे चलाएका छन् । तीमध्ये ५ वटा बजार क्षेत्र वरपर नै छन् । बजार क्षेत्रको वडा नं. २ र ४ मा मोहरीया, बन्दीपुर, विन्दवासिनी, तीनधारा र बन्दीपुर पाहुना घर नामका होमस्टे चलेका छन् । एउटा समूहमा १० वटासम्म घर छन् । बजार क्षेत्र बाहेक वडा नं. ३ को रामकोट, वडा नं. ६ को धरमपानी, कमलवारी र डाँडाछाप लगायतका ठाउँमा पर्यटकहरुका लागि होमस्टे सञ्चालनमा छन् । बन्दीपुरमा जाने पर्यटकलाई स्थानीय उत्पादन खुवाउने र संस्कृति देखाउने उद्देश्यले होमस्टे सञ्चालनमा आएका हुन । होमस्टे समूहमा ४० देखि १ सय जनासम्म बस्न मिल्छ । लोकल कुखुराको मासुसहितको खाना खाएर, एट्याच टवाइलेट बाथरुमसहितको कोठामा बसेर, बिहान कोदोको रोटीसहितको नास्ता खाना पाउँदा पर्यटकहरु रमाउँछन । पर्यटकहरु र्फकने बेलामा स्थानीय महिला दिदीबहिनीहरुले फूलमाला र टीका लगाएर विदाइ गर्नुहुन्छ ।’ बन्दीपुरमा साना ठूला गरी ३० वटा होटल र ४० वटा रेष्टुरेन्टहरु पनि छन् । एक रातमा होटल र होमस्टे गरेर बजार क्षेत्रमा १ हजार ५०० जनासम्मलाई राख्न सक्ने क्षमता छ । पछिल्लो समयमा उज्यालो बन्दीपुर अभियान अर्न्तर्गत बजार क्षेत्रका विभिन्न ठाउँमा आकर्षक सडक वत्तीहरु राख्ने अभियान चलेको छ ।

बन्दीपुरको मिठो खाना र रहनसहनले पर्यटकलाई लोभ्याउने गरेको छ । टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खडदेवी मन्दिर, विन्धवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलमा पर्यटकहरु पुग्दछन । वन्दीपुरमा जाने पर्यटकहरुको लागि ऐतिहासिक धार्मिक स्थलहरुले आकर्षा गराउँछ । वन्दीपुरमा १८औ शताब्दी मा स्थापीत खडक देवीको मन्दीर विन्दवासिनी, थानिदेवी, नारायण, पारपानी महादेव, तिनधारा महादेव, मुकुन्देश्वरी, बन्दीपुरमा पुगेपछि धेरै पर्यटकहरु पुग्ने गर्दछन । बन्दीपुरको रानीवन सामुदायिक वनको काखमा रहेको तिनधाराले पर्यटकहरुलाई छुट्टै अनुभूती गराउछ । वन्दीपुरबाट सुकौरा केशवटार, गुदी पोखरी भञ्ज्याङ हुँदै दमौली पुग्ने मोटर मार्ग पनि छ । पर्यटन ब्यवसाय निजी क्षेत्रबाट चल्ने हो । पछिल्लो समय पर्यटनको विकासको लागि निजी क्षेत्रको लगानी हुन थालेको छ । पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकरर््ष्ाण हुन थालेपछि पर्यटनको पूर्वाधार बढेको छ । आन्तरिक पर्यटकहरुको घुमफिरको संस्कृति विकास भएको छ । घुमफिरको संस्कृतिलाई क्यास गर्दै निजी व्यवसायीहरुले पनि पर्यटनकै लागि होटल ब्यवसाय निर्माण गर्न थालेका छन । पर्यटनको क्षेत्रमा यसलाई सकारात्मक कार्य मान्नु पर्दछ ।

विश्वको आधुनिक बिकासको इतिहास हेर्ने हो भने १८औं शताब्दीको औद्योगिक क्रान्तिले बिश्वलाई नै यान्त्रिक विकासमा प्रवेश गरायो । औद्योगिक क्रान्तिले उत्पादनको नयाँ युग सुरु भयो । औद्योगिक क्रान्तिले वैज्ञानिक आविष्कार हुन थाल्यो । कलकारखाना खुल्दै गए । आधुनिक यन्त्रको बिकास हुन थाल्यो । उडने गुडनेदेखि लिएर सामान ढुवानीको लागि राजमार्गको पनि विकास भयो । राजमार्गकै विकसित रुप हो केवुलकार । पछिल्लो समय नयाँ शहरको परिकल्पना गर्नेहरुका लागि केबलकार सस्तो यातायातको साधन हुन्छ । रुस तथा अमेरिकामा केबलकार ट्रान्सपोर्ट सिस्टम विकास गरिरहेका छन् । बिकसित मुलुकमा पहिले रमाइलो र पर्यटन बिकासको लागि प्रयोग हुने केवलकार आजभोली यातायातका साधनकै रुपमा प्रयोग हुन थालेको छ । केवलकारले कतिपय मुलुकमा दूरदराजका पहाडी गाउँलाई समेत शहरसँग जोडने काम गरेको छ । बातावरणीय दृष्टिकोणले पनि केवलकार अन्य यातायातका साधन भन्दा राम्रो हुन्छ । केबलकारमा लगानी पनि अरुको तुलनामा कम हुन्छ । केबलकारबाट बायू प्रदूषण हुँदैन । केबलकारबाट ध्वनी प्रदुषण पनि हुँदैन । नयाँ रेलवे लाइन, सडक वा पुल बनाउनुको सट्टा केबलकारको प्रणाली विकास गर्न सस्तो पनि पर्दछ ।

विश्वमा व्यवस्थित पर्यटनको इतिहास करिव १७७ वर्ष भएको छ । सर्वप्रथम सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रुपले मानिसहरुलाई घुमाउन सुरु गरेपछि नै पर्यटनको इतिहास सुरु भएको मानिन्छ । अहिले पर्यटनको बिकासको लागि बिकसित मुलुकहरले पूर्वाधारको बिकास गर्दै बिश्वका पर्यटकहरुलाई आफ्नो भूमीमा भ्रमणको लागि आकर्षण गर्दै आएका छन् । एसियाका धेरै मुलुकमध्ये नेपालमा पर्यटन क्षेत्रको शुरुआत अरु देशमा भन्दा धेरै अगाडि भएको हो । सिंगापुरको जन्म हुनुभन्दा अगाडि नै नेपालमा ट्रेकिङ व्यावसायिकरुपमा शुरु भएको हो । ६० को दशकमा जंगल सफारी चितवनमा शुरु गर्दा एसियाका धेरै मुलुकमा पर्यटनको अवधारणाको शुरुआत भएको थिएन । तर, पर्यटकको गतिविधि सम्बन्धी भरपर्दो तथ्यांक कुनै निकायसँग पनि छैन । पर्यटन विकासको क्रममा नेपालमा सन् १९७६ मा पर्यटन मन्त्रालयको स्थापना भयो र वन्यजन्तु संरक्षण क्षेत्रहरुको घोषणा भयो । त्यस पछि जैविक विविधताका आधारमा नयाँ पर्यटकीय स्थलहरु पहिचान गरी प्रचारप्रसार समेत भएको छ । तर पनि पर्यटकीय क्षेत्रका भौतिक संरचनाको आवश्यकता अनुसार बिकास हुन सकेको छैन ।

सरकारले पर्यटन क्षेत्रलाई आर्थिक विकासको दिगो लक्ष्यमा राखेको छ । तर त्यो अनुसारको चिनारी भने कम छ । कतिपय पर्यटकीयस्थल संरचनाको अभावमा छन भने कतिपय पर्यटकीयस्थल प्रचारको अभावमा ओझेलमा छन । पर्यटन क्षेत्रको विकासका लागि सरकारले वर्षनी लगानी गर्ने गरेपनि पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति हासिल हुन सकेको छैन । पर्यटन भन्ने वित्तिकै गोरो छाला, खैरो कपाल भएको, पटट अंग्रेजी बोल्ने विदेशी नागरिकको छवि हाम्रो आँखामा आउँछ । पर्यटक को हुन् र को होइनन् भन्नेमा सरकारको परिभाषा पनि विरोधाभाष पूर्ण रहेको छ । बिदेशी अथवा स्वदेशिनै किन नहुन घुमफिरमा निस्कने सबै पर्यटकनै हुन । पर्यटनको विकासका लागि सरकार र नीजि व्यवसायहरुको सहकार्य आवश्यक छ । पर्यटनको विकासले देशको अर्थतन्त्रमा सुधार आउन सक्छ – यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ ।

ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पुर्‍याउन नसक्दा पर्यटकीयस्थल ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा भौतीक पूर्वाधार निर्माण गर्न पर्दछ । अबको पर्यटन सानो समूहलाई प्रवर्द्धन गर्ने खालका प्याकेज र बजारीकरण गर्न आवश्यक छ ।

पर्यटन क्षेत्रको विकास रोजगार र आर्थिकसँग जोडिन्छ । विषेशगरी संस्कृति, प्रकृति र धर्मलाई पर्यटनसँग जोडन सकिन्छ । पर्यटकीय गन्तव्यमा पुगेपछि पाउने आवश्यक सुविधा छैन भने पर्यटक पुग्न सक्दैनन । पर्यटकीय स्थलमा सेवा सुविधा छैन भने पर्यटकहरु फेरी फर्केर जाने मन गर्दैनन् । पर्यटनको विकास गर्न सडक यातायात, सूचना प्रविधि, आवास, स्वच्छ पिउने पानी, र्सार्वजनिक शौचालय, विद्युत आपूर्ति, फोहोरमैला व्यवस्थापन जस्ता पूर्वाधार पर्यटकको पहिलो रोजाइमा पर्दछन । पर्यटक हुनका लागि केही न केही पैसा खर्च गर्नुपर्दछ । पैसा खर्च नगर्ने मानिसहरु पर्यटक होइनन् केवल अवलोकनकर्ता मात्र मानिन्छन । अब बन्दीपुरमा पर्यटकीयस्थल वरपर पर्यटकहरुले खर्च गर्ने ठाउँ हुनुपर्दछ । त्यसको लागि बन्दीपुर वरपरका गाउँघरमा उत्पादन बढाउनुपर्दछ । उत्पादन भएका वस्तु पर्यटकहरुले खरिद गरेपछि गाउँको उत्पादन अर्थसंग जाडिन्छन् । रोजगारी बढ्छ । गाउँको आर्थिक सुधार हुन्छ । अनि मात्र पर्यटन प्रवर्द्धन हुन्छ ।

पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास भएन भने पर्यटनको विकास, विस्तार र आर्थिक समृद्धि हुँदैन । पर्यटन विकास र विस्तार गरी गाउँलाई पर्यटनको गन्तव्य स्थलको रुपमा विकास गर्न प्राकृतिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रबर्द्धन गर्नुपर्दछ । गाउँमा भएका पर्यटकीय क्षेत्रको उचित संरक्षण र नयाँ पर्यटकीय गन्तव्यस्थलहरुको पहिचान गर्न आवश्यक हुन्छ । यसका लागि पर्यटकलाई प्रदान गरिने सेवाको गुणस्तर र संख्यात्मक विकासको लागि नीजि क्षेत्रसँग सहकार्य बढाउने विविध कार्यक्रमहरु स्थानीय तहले सञ्चालन गर्नुपर्दछ ।

पर्यटन क्षेत्रको विकास गर्न पर्यटकहरुलाई देखाउन खोजेको स्थलको संरक्षण र गाउँघरको सरसफाइ गर्न जरुरी छ । पर्यटन विकासको कुरा गर्दा पर्यटन पूर्वाधारलाई विचार गरिनुपर्दछ । पर्यटनको क्षेत्रमा बन्दीपुर वरपर जे जति पूर्वाधार बनेका छन, ती सबै ब्यवस्थित हुन सकेका छैनन । पर्यटक भित्राउन धेरै किसिमका पूर्वाधार हुनु पर्दछ । र्सब प्रथम अन्य पूर्वाधार भन्दा पनि गाउँमा पुग्न भरपर्दा यातायातका साधन, बस्नको लागि होटल, लजको सुविधा, गाउँघरको सरसफाइ स्वच्छ वातावरण र पर्यटकहरुलाई सुरक्षित छौं भन्ने महसुस दिलाउन सक्नुपर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker