रोजगारी तथा अध्ययनका नाममा विदेशिदै युवा, अभिभावकको पनि पहिलो रोजाई

नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापित हुँदै जाँद विभिन्न पेशा व्यवसायमा जोडिएकाहरु पनि विदेशनै जाने सोचमा

सम्झना रसाइली/तनहुँ

चिनजानकी एउटी दिदीले कुरैकुरामा मलाई सोध्नुभयो- ‘ठुलोछोराले पनि अब प्लस टु सक्काउन लाग्यो । सानो छोराले पनि अहिले एसइइ दिने हो । के गर्ने, के पढाउने होला ? उनिहरुको भविष्यको चिन्ता छ ।’ सानो छोरो यस वर्षएसइइ दिने तयारीमा भएपनि खासै पढ्न मन नगर्ने गुनासो उनको थियो । कुराकानीका क्रममा उनले उच्च शिक्षाका लागि छोराहरुलाई कसरी अगाडि बढाउने भन्ने सल्लाह मागेको जस्तो देखिन्थ्यो ।

कुरा गर्दै जाँदा मैले ठुलो छोराको रुचीको विषय सोधे । ‘इग्लिस र कम्प्युटर’ पढन रुचाउने उनले फ्याट्ट भनिन् । उनले थपिन्, ‘नेपालमा पढाएर पनि के गर्नु जति पढेपनि जागिरको टुङ्गो छैन । सर्टिफिकेट लिएर घरमै थन्किने बाहेक अन्य केही काम हुँदैन ।’

‘हुनपनि शिक्षित बेरोजगारको संख्या बढ्दै गएको छ’, मैले मनमनै सोचे । अनि भने, ‘प्राविधिक लाईन पढाउनु न त ठुलो छोरालाई । राम्रो छ पर्ढाई भन्नु भएको छ । अनि लोकसेवाको तयारी गर्न लगाउनु, आफ्नै परिवारसंगै बस्न पाउँछन् ।’ उनको अनुहार हेर्दा मेरो सुझाव त्यति मन परेको जस्तो लागेन । उनले कुनै प्रतिकृया दिइनन्।

अनि मैले फेरी भने विदेशतिर आफन्त हुनुहुन्छ भने त्यतै प्रयास गर्दा पनि भयो । ‘म पनि अष्ट्रेलिया पठाउने कि भन्ने सोचमा थिए । उतै पढ्छ, उतै कमाउँछ । उसको भविष्य राम्रो भए त भैगो नि हामीलाई के चाहिएको छ र ?’ मैले विदेशको कुरा निकालेपछि उनले आफुले चाहे जस्तो सुझाव पाए जस्तो भावन देखाइन ।

उनले थपिन्, ‘हेरौ मिल्यो भने अष्ट्रेलिया नत्र अमेरिका वा क्यानडाको प्रयास गर्न लगाउँछु । अब १२ को परीक्षा सकिनेवित्तिकै आइएल्स गर्न काठमाडौं पठाउँछु ।’ उनका श्रीमान् जिल्लाकै एक विद्यालयमा कम्प्युटर पढाउँछन् । तर श्रीमान् श्रीमतिकै चाहाना छोरालाई नेपालमा भन्दा विदेश पठाउने रहेछ ।

आजकल नेपालमै बसेर उच्च शिक्षा हासिल गर, यही रोजगारीको तयारी गर भनेर सल्लाह दियो भने यसलाई त राम्रो सल्लाह दिन नै नआउने रहेछ भन्ने सोच्ने प्रवृत्ति बढ्दै गएको छ । प्लस टु पास गर्‍यो त्यसपछिको गन्तव्य भनेको विदेश (अष्ट्रेलिया, क्यानाडा, जापान आदि) बन्न थालेको छ । कहिकतै कोही विद्यार्थी स्नातक तह पास गरे, नेपालमा रोजगारी पाउन गाह्रो छ, पढाइ अनुसारको रोजगारी र आम्दानी छैन भनि कामकै खोजीमा विदेश नै जानुपर्छ भन्ने भाष्य स्थापित भइसकेको देखिन्छ ।

आखिर प्लस टु सकेका विद्यार्थी र उनका अभिभावकमा वैदेशिक रोजगारी, वैदेशिक शिक्षाको मोह कसरी बढ्यो ? बुबाले नेपालमै बसेर रोजगारी पाउन सक्दा छोरा/छोरीले नेपालमा रोजगारी पाउने थिएनन् त ? हामीले पटकपटक सुन्दै आएका छौं पछिल्लो समय वैदेशिक शिक्षा/रोजगारीका लागि गएका अधिकांश विद्यार्थीहरुले काम नपाएको अवस्था छ । जतिसुकै विकसित मुलुक भएपनि आफ्नो मुलुक, आफ्नो घरपरिवारसंग बसेको जस्तो हुँदैन । तै पनि अधिकांश युवा/युवतीहरु किन वैदेशिक शिक्षामा आकर्षित छन् ?

एकदिन पोखराबाट दमौलीतर्फ आउँदै गर्दा चालकसंगैको सिटमा बसेका एक अभिभावकले भने, ‘आजकल प्लस टु दिएका युवा/युवतीलाई नराम्रो रोग लागेको छ । यसको निराकरण कसरी गर्ने होला ?’ उनको यो वाक्य कानसम्म पुग्ने सबैले के रोग लागेछ भनेर उनैतिर ध्यान दिएर सुन्न थाले । चालकले सोधे, ‘के रोग लागेछ र बुवा ?’

‘बाह्र पढे त्यस पछि विदेश यात्रा । हाम्रा गाउँघरमा त भर्खरका युवा देख्नै मुस्किल भयो’, उनले भने, ‘हुन त अहिलेका युवायुवती हामी भन्दा बढि टाठाबाठा छन् तर उनीहरुले यो उमेरमा के सही र के गलत भनि छुट्टयाउन भने सक्दैनन् । अरुले जे भनेपनि ए यो त सहि हो भन्दै पछिपछि लाग्छन् । अहिले विदेश जाने लहर लागेको छ, युवाहरु त्यतै दौडिएका छन् । आफ्नै देशमा बसेर यही पढ्ने र स्वरोजगार बन्ने युवाहरु हातकै औला बराबर हुने भए ।’

हुन पनि अहिले गाउँदेखि शहरका युवायुवती उच्च शिक्षादेखि रोजगारीका लागि विदेशिने क्रम बढेको छ । अधिकांश युवायुवतीहरु पढाइका लागि भन्दै अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान लगायतका देश जाने गर्छन् र केही कामको खोजिमा खाडी पस्ने गर्छन । गाउँघरमा मात्र होइन् शहरमा पनि युवायुवती देख्न मुस्किल भइसक्यो । कोही बाँध्यताले त कोही रहरले विदेशिने क्रम बढेको छ ।

के नेपालमा अहिलेका युवायुवतीले रोजगारी नपाउने नै अवस्था सिर्जना भएको हो त ? के यहाँ कुनैपनि व्यवसाय तथा रोजगारीको अवसर छैन ? नेपालमा पाइने रोजगारीप्रति युवाहरुको रुची मरेको हो त ? मुलुकका तीन तहका सरकारले युवा लक्षित कार्यक्रमहरु ल्याउन नसक्दाको नतिजा हो त ? अहिले हाम्रो सामु यी गम्भिर प्रश्न खडा भएको छ । यति मात्र होइन नेपालमै विभिन्न पेशा व्यवसायमा आवद्ध भई राम्रो आम्दानी गरिरहेकाहरुलाई समेत अहिले विदेश मोहले गाँजदै लगेको छ । बजार क्षेत्रमा व्यपार व्यवसाय गर्दै आएका युवाहरु अब नेपालमा केही हुँदैन भन्दै रोजगारीका नाममा विदेशीने तयारी गरेको भेटिन्छन् ।

युवाहरु यसरी विदेशिनुको मुल कारण राज्यमा सुसाशनको अभाव रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् । ‘विदेशमा को धनी, को गरिव, के काम गर्छ, कुन जात, वर्ग, राजनीतिक दल के हो त्यसको कुनै मत्लव नगरी काम अनुसारको आम्दानी हुने र सबै कामले सम्मान पाउने हुँदा युवाहरु विदेशिने गरेको पाइएको छ’, उनले भने, ‘नेपालमा राजनीतिक पहुँचका हिसावमा रोजगारी पाइन्छ भन्ने कुरा युवाहरुको मनमा गडिसकेको छ । राजनीतिक पहुँच नहेरी युवाहरुको क्षमता र दक्षताको आधारमा रोजगारी तथा अवसर दिन सकियो भने युवाहरुमा देखिएको विदेश मोहलाई न्यूनिकरण गर्न सकिन्छ ।’

यस्तै, युवाहरुको आवश्यकतालाई पहिचान गरी सरकारले कार्यक्रम ल्याउन सके युवाहरुलाई यहि रोक्न सकिने शुक्लागण्डकीका उपप्रमुख खुमबहादुर वि.क. (राजु) बताउँछन् । हालसम्म संघ सरकारले यस्तो कार्यक्रम ल्याउन नसकेको उनले बताए । युवालाई बुझेर, युवामैत्री नीति कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउन नसके भोली मुलुक कुन अवस्थामा पुग्छ ? भन्ने चिन्ता र प्रश्न खडा भएको उपप्रमुख वि.क. बताउँछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो रकम नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीले लगेका हुन् । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो । यसले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा धेरै विद्यार्थीहरु विदेश पढ्न गएको देखाउँछ ।

यस्तै, वैदेशिक रोजगारीमा जानेको संंख्या पनि बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७९/८० मा नेपालका ७७ वटै जिल्लामध्ये सबैभन्दा बढि झापाका महिला पुरुष वैदेशिक रोजगारीमा गएको तत्थ्यांकले देखाएको छ । झापाबाट १५ हजार ६७९ जना पुरुष र ४ हजार २७ जना महिला गरी १९ हजार ७०६ जनाले श्रम स्वीकृति (नयाँ प्रवेश) लिएका छन् ।

मनाङ र मुस्ताङबाट कम संख्यामा गएको देखिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार धनुषाबाट २६८ जना महिला र ३९ हजार ३११ जना पुरुष गरी ३९ हजार ५७९ जनाले श्रम स्वीकृति (पुनः प्रवेश) लिएका छन् । मनाङबाट कम संख्यामा गएको देखिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार विगत ८ वर्षको तत्थ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढि ४ लाख ४ हजार २२४ जना (नयाँ प्रवेश) वैदेशिक रोजगारीमा गएका छन् । यस्तै २०७७/७८ मा करिव ७२ हजार ८१ जना रोजगारीका लागि विदेश गएको देखाइएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार तनहुँ जिल्लाबाट आर्थिक वर्ष २०७९/०८० मा ७ हजार ३०६ पुरुष र ८६० जना महिला (नयाँ प्रवेश) रोजागरीका लागि गएका छन् भने पुनः प्रवेशमा १४ हजार १६९ पुरुष र १ हजार ११५ महिला विदेश गएका छन् ।

यसैगरी आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढि ७ लाख ७१ हजार ३२७ जना (पुनः प्रवेश) वैदेशिक रोजगारीमा गएका छन् भने आव २०७७/७८ मा करिव एक लाख ६६ हजार ६९८ जना रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker