गोरखा, पर्यटन र अजिरकोटको नम्की गाउँ

के.बी. मसाल

गोरखा शब्द विश्वभर चर्चा हुने गर्दछ । गण्डकी प्रदेशको गोरखा भुरे-टाकुरे राजाहरुको इतिहासदेखि द्रव्य शाह दौडेर राजा भएको स्थल लिगलिगकोट र पृथ्वीनारायण शाह जन्मेको भूमी पनि हो । पर्यटनका लागि गोरखामा गोरखनाथ, गोरखकाली र मनकामनालगायत दर्जानौ ऐतिहासिक धार्मिक सम्पदाहरु छन । नेपालको भूगोलमा तिब्बती सीमादेखि तराइको जिल्ला चितवनसँग जोडिएको जिल्ला पनि गोरखा हो । उत्तरी भेग अर्थात सिर्दिबासदेखि माथिका दुर्गम भूगोल जसलाई हिमालपारिको गोरखा भन्ने गरिन्छ । गोरखामा रहेको मनास्लु, हिमालचुली, नाधी चुली, बौद्ध हिमालहरुले आन्तरिक एवं वाहृय पर्यटकहरुलाई आकर्षा गराएको छ ।

गोरखामा पर्यटकहरुले आफ्नो रुचि र घुमफिर गर्ने फुर्सदको समय अनुसार ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको अध्यन अवलोकन गर्न सक्दछन । पर्यटनका लागि गोरखा दरबार, गोरखनाथ गुफा, दरबार संग्रहालय, लिगलिगकोट, मनकामना मन्दिर ऐतिहासिक सम्पदाहरु हुन । गोरखामा धार्मिक, सामरिक महत्व बोकेका ३६ वटा कोटहरु रहेका छन । गोरखा दरबार माझकोटमा रहेको छ भने माथिल्लोकोटमा बज्रभैरवको थान छ । गोरखामा भएका ३६ कोटमध्ये माझकोट, माथिल्लोकोट, श्रीनाथकोट र लिगलिगकोटको बढी महत्व रहेको छ ।

गोरखाका अन्य रमणिय पहाडी श्रृंखलामा रहेका कोटहरुमा मिरकोट, धुवाकोट, लकाङकोट, ताकुकोट, श्रीनाथकोट, वुङकोट जस्ता ऐतिहासिक कोटहरु पर्दछन । तर पनि पश्चिम गोरखाको लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । किनकी लिगलिगकोट आफैमा इतिहास हो । शाहवंशको राजतन्त्रको सुरुवात भएको ठाउँसंग लिगलिगकोट जोडिएको छ । प्राकृतिक दृष्टिकोणले पनि लिगलिगकोट सुन्दर र महत्वपूर्ण छ । लिगलिगकोटवाट मनास्लु हिमालको दृष्य मात्र नभएर गोरखा, लमजुङ र तनहुँका अधिकांश भूगोल पनि अवलोकन गर्न सकिन्छ । द्रव्य शाह दौडेर राजा भएको ऐतिहासिकस्थल लिगलिगकोटमा ४० फिट अग्लो राष्ट्रिय झण्डा राखेपछि पर्यटकको चहल पहल बढेको छ । राजा हुने दौड प्रतियोगिता वि.सं. १६१६ मा द्रव्यशाह राजा भएका थिए । इतिहास र सस्कृतिलाई बचाउन अहिले पनि लिगलिगकोटमा प्रत्येक वर्ष विजया दशमीको दिन चेपे नदीको किनारदेखि दौडबाट राजा छान्ने नयाँ परमपराको थालनी भएको छ ।

गोरखाको हिमाली क्षेत्रमा तिब्बती समुदायका मानिसको बसोबास रहेको छ । चुमनुब्री, सामागाउँ, छेकम्पार, ल्हो, प्रोक, बिही चुम्चेत र सिर्दिवास गाउँका प्राकृतिक सौन्दर्यले पर्यटकहरु लोभिन्छन । चुम र नुब्री उपत्यका, स्थानीय परिकार, भाषा, संस्कृति र प्राकृतिक सौर्न्दर्यले पर्यटकहरुलाई लोभ्याउने गर्दछ । उत्तरी गोरखाका गाउँहरुमा पर्यटनका लागि मनास्लु हिमाल मात्र होइन ठूलो सख्यामा बौद्ध गुम्बा, माने, कानी, मन्दाम, छोर्तेनहरू रहेका छन । चुम उपत्यकामा जीवजन्तु काटमार गरिँदैन । तिब्बती बौद्ध परम्परा अनुसार चुम उपत्यकालाई आध्यात्मिक भूमि मानिन्छ । चुम उपत्यकाको पिरेन फु गुफामा तिब्बतका महान तान्त्रिक गुरु चिप्चुन मिलारेपा आएर ध्यान र साधना गरेका थिए । त्यस गुफाको ढुङ्गामा रहेको उनको पैतलाको छाप अझै पनि देख्न सकिन्छ ।

गोरखा पर्यटकहरूको लागि नौलो गन्तव्य होइन । गोरखाको इतिहास, मनास्लु हिमाल र मनास्लु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले गोरखालाई पर्यटनको क्षेत्रमा विश्वमा नै चिनाएको छ । पछिल्लो समय सडक यातायातले जोडिएका गोरखाका विभिन्न गाउँहरुमा आन्तरिक तथा बाहृय पर्यटकहरुको चहलपहल समेत बढेको छ । पर्यटनको लागि गोरखामा घुम्ने ठाउँ धेरै छन । तर पनि लिगलिगकोट र अजिरकोटमा पर्ने भच्चेकको नम्कीगाउँ भने पुग्नै पर्दछ । अजिरकोट गोरखाको ऐतिहास कोट मानिन्छ । अजिरकोटमा अजिरनाथ सिद्धबाबाले योग साधना गरेको ठाउँ हो । त्यसै कारण अजिरनाथ सिद्धबाबाको नामबाटै अजिरनाथ भन्दा भन्दै अजिरकोट नाम रहन गएको कथन पनि छ । अजिरकोट गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा पर्दछ । अजिरकोट वरपरका घ्याच्चोक, खरिबोट, हंशपुर, सिम्जुङ्ग र मुच्चोकलाई एकिकृत गरी अहिले अजिरकोट गाउँपालिका भएको छ ।

अजिरकोटबाट बौद्ध र हिमचुली हिमाल, दुधपोखरी, नारदपोखरी, नागेपोखरी, निम्चेपोखरी, नागेमाढी, तविमाढी, मितु माढी, सप्रो माढी, नार्गोमाढी लगायतका विसाल माढीहरु, दरौदी र चेपे जस्ता ऐतिहासिक महत्व बोकेका नदीहरु, डिहीटार, भरस्टार, फुर्वुजेटार, बुधसिंहटार, नौविसेटार, पोखराटार र मुच्चोकटार लगायतका प्राकृतिक सम्पदाहरु रहेका छन । अजिरकोटको तमाङ जातीको बाहुल्यता भएको नम्की गाउँ पुग्यो भने पर्यटकहरुलाई नौलो अनुभूती हुन्छ । तमाङ भाषामा नम्क्यु र सामान्य बोलीचालीमा नम्की भनिने गाउँको नाम नम्की रहन गएको छुट्टै प्रशग रहेको छ । परापूर्वकालमा नम्की गाउँमा बस्ती बस्नु अघि गाउँमाथी डाडामा गाईबस्तु चराउने खर्क थियो । खर्ककै बिचमा स्यानो पोखरी अर्थात कुवा थियो । त्यो कुवामा चराहरु पानी खान आउने गर्दथिए । तमाङ भाषामा नमे भनेको चरा र क्यु भनेको पानी भनिने हुदा ठाउको नाम नम्क्यु भन्दा भन्दै बोल्ने क्रममा नम्की भएको मानिन्छ ।

गोरखाको नम्की गाउँसम्म जानको लागि सडक यातायातको सुबिधा समेत छ । नम्की गाउँमा जान तनहुँको खैरेनीदेखि छेपेटार र सातदोबाटो, चोरकाटे, छोप्राक, चित्रेपाम, थालाजुङ, चिप्लेटी, बलेखु हुँदै पुग्न सकिन्छ । गर्मीको समयमा आजभोली तराइका जिल्लाहरुबाट मात्र होइन काठमाडौंदेखि पनि धेरै आन्तरिक पर्यटकहरु नम्की गाउँमा पुग्दछन । नम्की गाउँमा भूकम्प पछि कादुरी नाम गरेको गैरसरकारी संस्थाको आर्थिक सहयोगमा टिनले बारिएका एकैशैलीका करिब ५० भन्दा बढी घर निर्माण भएको छ । नम्कीमा निर्माण भएका घरमध्ये १० घर मिलेर होमस्टे सञ्चालन भएको छ । पर्यटकहरुलाई नम्की गाउँको होमस्टेमा तामाङ संस्कृतिको आकर्षणले छुट्टै अनुभूति दिलाउँछ । नम्की होमस्टेमा पर्यटकहरु तामाङ समुदायको संस्कृति सेलोसँगै न्यानो आतिथ्यताले गर्दा खुशि हुन्छन । पर्यटकहरुलाई नम्की गाउँका होमस्टेमा अर्गानिक खाना, लोकल जातका कुखुरा, खसीबोका, कोदाको रोटी, टिमुर हालेको चियाँ, मकै भटमास, गुन्द्रुकको अचार, स्थानीय स्तरमा उत्पादन गरिएको कोदोको रक्सी आदि खान पाउदा पर्यटकहरु रमाउछन । नम्कीमा पुगेका पर्यटकहरुले चियाँ बगैंचा, अलैंचीबारी दूधपोखरी, नागेंपोखरी लगायतका आकर्षक ठाउँको अवलोकन गर्न सक्दछन । अर्को तर्फ अजिरकोटको नम्कीबाट मनास्लु, हिमालचुली, बौद्धनाथ हिमाल एवं नागबेली आकारमा चेपे र दरौंदी खोलाको मनमोहक दृश्य देख्न सकिन्छ ।

गोरखाको अजिरकोट गाउँपालिकाको नम्की र सिरानडाँडा गाउँमा छन । बिशेष गरी गर्मीको समयमा आन्तरिक पर्यटकहरु धेरै पुग्दछन । यी गाउँमा तामाङ समुदायको बाहुल्यता रहेको छ । स्थानीय ढुङ्गा खानीबाट झिकेको ढुङ्गाले छाएका चिटिक्कका परेका घरहरु ०७२ को भुकम्पले भत्केपछि आजभोली जस्तापाताले छाएको र बारेको घर टहरामा बस्दै आएका छन । हिउँदको समयमा बिहानैदेखि लाग्ने पहारियो घामले नम्की र सिरानडाँडा गाउँको वातावरण न्यानो बनाउँछ भने गर्मीको समयमा सितलताले लोभिएर पपर्यटकहरु गाउँमा पुग्दछन । गाउँ वरपर हरिया डाँडापाखा, ग्रामीण जीवनशैली, तामाङ संस्कृति, चिया बगान, आत्मीय गाउँले र अर्गानिक खानपान सिरानडाँडा र नम्कीका विशेषता हुन । आकाश उघ्रिएका बेला गाउँबाट बुद्ध, हिमालचुली र मनास्लु हिमालको दृष्यावलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मिठो दृश्य त छँदैछ सिरानडाँडा र नम्कीमा गर्मी मौसममा पनि ज्याकेट लगाउनुपर्ने र सुत्दा सिरक ओढनुपर्ने हुन्छ । मनसुनी याममा सिरानडाँडा छिनमै भुइँकुहिरोमा लुकामारी खेल्छ त छिनमै घामको उज्यालोमा मुस्कुराउँछ । बेलाबेलामा पानी पनि बर्सिरहन्छ । विचित्रको मौसमले गाउँमा पुग्ने सबै पर्यटकहरुलाई छुट्टै आनन्दको महसुस गराउँछ ।

अजिरकोट गाउँपालिका समुन्द्र सतहदेखि करिब तीन सयदेखि आठ हजार मिटरसम्म रहेको छ । अजिरकोटमा घ्याच्चोक, खरिबोट, हंसपुर, सिमजुङ र मुच्चोक समेत पाचँवाडमा बिभाजन भएको छ । पर्यटनको लागि अजिरकोटको सबै वाडका आ-आफ्नै बिशेषता रहेको छ । अजिरकोट दरौंदी नदी चेपे नदीको भूगोलमा पर्दछ । प्राकृतिक सम्पदाले भरिपूर्ण अजिरकोटमा पर्यटकहरुले तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडिक्षेत्र, दुधपोखरी, नारदपोखरी, मनास्लु हिमालको मनोहर दृश्य अवलोकन मात्र होइन सबै क्षेत्रको अध्यन पनि गर्न सक्दछन ।

पर्यटनका लागि निर्माण भएको कोटमार्गमा पर्ने लिगलिगकोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट पर्यटकीय दृष्टिकोणले पुग्नै पर्ने ठाउँ हुन । अजिरकोटमा कालिकाको मन्दिर पनि रहेको छ । अजिरकोट पुग्दा पदयात्रामा रमाउन खोज्ने पर्यटकहरु दुधपोखरी, नारदपोखरी र मनास्लु हिमश्रृंखलामा पनि पुग्न सकिन्छ । दुधपोखरी जानको लागि सिरानडाँडा, दोबाटो, ठूलोखर्क, निम्चेपोखरी, जम्ल्याहा खोला, गल्छी, राम्दीको चौतारा, धुपीखोला, मपुरमाडी, तुइखर्क, बाङ्गे रह, खहरेको उकालो र धर्म गौडा भएर पुग्न सकिन्छ । नारदपोखरी पनि सिरानडाँडाबाट दोबाटो, पौनडाँडा, नाजीखर्क, नागेपोखरी, डिलको ओडार, तपिडाँडा, सिरानखोला, मार्कसेमाडी, पौखोला, चिलिमखरे ओडार, बौलाखोला, चरममाडी हुँदै पुग्न सकिन्छ । नारदपोखरी गोरखा प्रशिद्ध पोखरी हो । यो पोखरी बुद्ध हिमालको काखमा रहेको छ । नारदपोखरी वरपर वारपाकबासीहरुले भेडा गोठ लैजाने गर्दछन ।

दरौंदी नदीको उदगमस्थल पनि नारदपोखरी हो । बुद्व हिमालको काखमा रहेको नारदपोखरीबाट उदगम भएर दरौदी नदीका रुपमा बग्ने गर्दछ । दरौदी नदी गोरखाको रामशाह घाटमा पुगेर मर्स्याङदी नदीमा मिसिन्छ । लमजुङ र गोरखाको सिमानाको रुपमा बगेको चेपे नदीको मुहान दुधपोखरी हो । उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा रहेको दूधपोखरीको यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले बाटो कटेको पत्तै हुदैन । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ तीर्थयात्री पर्यटकहरु दूधपोखरीमा नुहाउन पुग्दछन । धार्मिक तथा पर्यटकीय महत्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको दुधपोखरी र नारदपोखरीमा जनैपूर्णिमामा तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन ।

हिमाली क्षेत्रमा पदयात्राका क्षणहरु अबिस्मरणीय हुन्छन । नयाँ ठाउँ मा यात्रा गर्न जति रमाईलो र मनोरम हुन्छ त्यतिनै कठिन पनि र यहि कठिन यात्रालई सहज बनाउन आफ्नो स्वास्थ स्थितिको पनि ख्याल राख्नु जरुरी हुन्छ । पदयात्राको क्रममा वातावरणमा आएको परिवर्तन वा कुनै दुर्घटनाको स्थितिमा उपचार सजिलै उपलब्ध नहुन सक्दछ । त्यसैले पदयात्राका लागि जानु भन्दा अघि निम्न कुराहरु ध्यानमा राख्न जरुरी छ । आफू जाने गन्तव्यको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रामा जानु पर्दछ । पदयात्रामा वातावरण तथा मौसम सुहाउँदो लुगा बोकेर मात्र यात्रामा जानु पर्दछ । पदयात्राका क्रममा चाहिने अत्यावश्यक सामग्री बोकेर हिड्नु पर्दछ । प्राथमिक उपचारका सामग्रीहरु आफूसँगै राख्न्नु पर्दछ, ती सामग्री आपतकालिन अवस्थाका लागि चाहिन सक्दछ । मोबाइल फोन लिई हिडे यात्रामा सजिलो हुन्छ । सकेसम्म यस्तो पदयात्रामा एक्लै नगई साथी वा गाईडको साथमा जानु पर्दछ । पदयात्राको पूर्वजानकारी लिई सजिलो बाटो चयन गरी यात्रा गर्नु पर्दछ ।

पदयात्राको बेला लेक लाग्ने समस्या पनि हुन्छ र यसको बारेमा राम्ररी थाहा पाई गएमा यस समस्याको सजिलो निवारण गर्न सकिन्छ । त्यसैले आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुनुपर्दछ । हिमाली क्षेत्रमा हावा चलिरहने भएकाले टाउँको दुख्न सक्दछ । त्यसका लागि सिटामोल लगायतका औषधि बोक्नु पर्दछ । ट्रेकिङ सुज, क्याप, चस्मा, ली, पानीको बोतल, सनब्लक क्रिम, बडीलोसनलगायतका सामान अनिवार्य लानु पर्दछ । यसबाहेक हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक छ । अग्लो तथा चिसो स्थानमा ट्रेकिङ जाँदै हुनुहुन्छ भने डाउन ज्याकेट बोक्नुपर्छ ।

कतिपय ठाउँमा होटेल-रेस्टुरेन्ट उपलब्ध हुँदैनन् । त्यसैले यस्ता ठाउँमा जाँदा आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिर्सनु हुँदैन । त्यस्तै, मौसम परिवर्तन भइरहने भएकाले बिरामी पर्नेसमेत सम्भावना रहन्छ । त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । हाइजेनिक खानेकुरा खाइरहने गर्नुपर्छ । सकेसम्म इनर्जी दिने चकलेटहरु बोक्दा राम्रो हुन्छ । किनभने धेरै भारी पनि हुँदैन, खाँदा पनि इनर्जी दिन्छ । दुधपोखरी र नारदपोखरी मानव बस्ती भन्दा टाढा पर्दछ । गोरखामा हिमश्रृंखला मात्र होइन, डाँडाकाँडा, पहाड पर्वत, उकालीओराली, भञ्ज्याङ चौतारी, नदीनाला, झरना, पोखरी सबै ठाउँ पर्यटकीय दृष्टिकोणले आकर्षक छन । पछिल्लो समय सिरानडाँडा र नम्की गाउँ पर्यटन विकासका लागि पूर्वाधार थपिदै गएका छन ।

सडक यातायातको सुविधाले गर्दा चिसो लेकको हावामा रम्न चाहने पर्यटकहरु सजिलै र चाहेको बेला पुग्न सक्छन । आजभोली गोरखा बजार, पालुङटार, दमौली, डुम्रे, पोखरा, मुग्लिन, नारायणगढ र दमौलीका पर्यटकहरु केही दिन अथवा केही समयका लागि गर्मी छल्ने र परिवारसँग रमाउने गन्तव्यका रुपमा सिरानडाँडा र नम्की गाउँ भएको छ । सिरानडाँडा मुन्तिरको नम्कि गाउँमा होमस्टे र अझै तल भच्चेकमा पर्यटकीय सुविधाका होटलहरु पनि छन । सिरानडाँडामै पनि होटल तथा रिसोर्ट खुलिसकेका छन ।

प्राकृतिक, सांस्कृतिक र भौगोलिक हिसावले अत्यन्तै उर्वर र फराकिलो सम्भावना भएको गोरखाको अजिरकोटका गाउँमा अनेकौं अवसर रहेको छ । मानिसका आ-आफ्नो सौख र रुची हुन्छन । यस्तै सौख मध्ये नयाँनयाँ ठाउँ घुमफिर गरेर विविध पक्षको अवलोकन र अनुभवको आनन्द लिनु पनि मानवीय सौख र रुचिका महत्वपूर्ण पाटो हुन । आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रको विकास रोजगार र आर्थिकसँग जोडिन्छ । विभिन्न जातजाति र भाषाभाषीका मौलिक कुरा जस्तै खाना, भेषभूषा र परम्परालाई व्यावसायिकरण गर्ने हो भने संस्कृतिका माध्यमबाट पनि पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सकिन्छ । कम्तिमा पनि पर्यटकीयस्थलसम्म पुग्नका लागि यातायातको सहज पहुँच हुनुपर्छ । पर्यटकीयस्थलमा बास बस्नका लागि उचित प्रबन्ध हुन आवश्यक छ । पर्यटन क्षेत्रको विकासका लागि सरकारी र निजी दुबैको चासो हुनुपर्छ । पर्यटकीयस्थलको विकासका लागि सरकारले उचित लगानी गर्नुपर्छ भने निजी क्षेत्रले पनि पर्यटकका लागि आवश्यक मागलाई पूरा गर्न लाग्नु पर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker