भूम्या पर्व, पर्यटन र मगर जातीको सँस्कृति

के.बी. मसाल

साँस्कृतिक र प्राकृतिक महत्वले गर्दा आजभोली ग्रामीण पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । प्राकृतिक दृष्यावलोकन मात्र होइन गाउँमा पुग्ने पर्यटकहरु चाड पर्व र सँस्कृतिमा रमाउन खोज्दछन् । नेपालीहरुको धर्म सँस्कृति र चाड पर्व प्रकृतिसंग जोडिएको छ । प्राय चाड पर्वहरु प्रकृतिसंग नजिक छन् । साँस्कृतिक इतिहास बोकेका खाम मगर बस्तिहरु पर्यटकहरुको लागि गन्तब्य बन्दै गएका छन । पूर्वी रुकुमको भूगोलमा तकसेरा, हुकाम, मैकोट, कोल, काक्री, भूमे, लुकुम, महत र यसैसंग जोडिएको रोल्पाको जलजला, थबाङ र जेलबाङ जस्ता मगर बस्तिहरुमा आजभोली भुम्या पर्व सुरु भएको छ । भुम्या पर्व अध्ययन अवलोकन गर्नका लागि यो समयमा खाम मगर बस्तीहरुमा ग्रामीण पर्यटकहरु पुग्ने गर्दछन् ।

लुम्विनी प्रदेशको पूर्वी रुकुम र रोल्पाका खाम बस्तिहरु झट्ट हेर्दा धवलागिरी हिम श्रृंखलामा पर्ने चुरेन, पुथा, दोगरी सिस्ने हिमचुचुराहरुको काखमा रहेको पर्यटकहरुलाई भान हुन्छ । हिमालको काखमा पुग्न नसके पनि खाम मगरबस्तिमा घुमफिर गर्दा पर्यटकहरुले हिम श्रृंखलाको पनि अवलोकन गर्न सक्दछन् । खाम मगर जातीहरुमा भेषभूषा, भाषा, संस्कृति, चार्डपर्व विविधता रहेको छ । प्राकृतिक र सांस्कृतिक हिसाबले पूर्वी रुकुम र रोल्पा भू-स्वर्ग मात्र होइन प्राकृतिक सौन्दर्यको पनि धनि छ । दुर्गम, बिकट, हिमाली, लेकाली भूगोलमा रहेको खाम मगर बस्ती पहाडी भूगोलमा पर्दछ । खाम मगर जातीको बाहुल्य रहेको बस्ती पर्यटकहरुका लागि खाम भाषा, सँस्कृतीको अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण भूगोल मानिन्छ ।

असार महिनाको १ गतेदेखि मगर जातिको भूम्या पर्व सुरुहुन्छ । परापूर्वकाल देखिनै प्रकृतिलाई पुजा गर्दै आएका मगर समुदायको विशेष महत्व बोकेको भुम्या पर्व रोकब्याधी नलागोस, दैवीप्रकोपबाट बचियोस र राम्रो अन्नबाली फलोस भन्ने कामनाका साथ मनाउने गर्दछन । भुम्या पर्व मानव जातिको विकाससंगै उत्पत्ति भएको एक प्राचिन मानव सभ्यता र साँस्कृतिक सभ्यताको रुपमा लिने गरिन्छ । तर यो पर्व कहिलेदेखि मनाउन सुरुवात भयो भन्ने कुरा खोजकै विषय बन्ने गरेको छ । तर पनि भूम्या पर्व भूमि देउताहरुको श्रद्धा गर्नु हो । भूम्या पर्वले स्थानीय परम्परागत कला संस्कृतिको पहिचान, मौलिक संस्कृति संरक्षण हुने गरेको छ । भूम्या पर्व रोल्पा रुकुमको मगर जातीहरुको बस्ति भएको सबै गाउँमा मनाउने गर्दछन । भुम्या पर्वमा असार १ गते भूमे पूजा गरिन्छ भने २ गतेदेखि ५ गतेसम्म भुम्या नाचँ र नचारु नाच नाच्ने चलन रहेको छ । भूम्या नाचको नामलाई गाउँ अनुसारका नाम हुन्छ। बल्क, झयामकुटरी, नाम्को जस्ता नामले स्थानीय भाषामा नाम राखेको पाइन्छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने भूम्या पर्वमा पूजापाठसँगै २२ चालमा नाचिन्छ ।

भुम्या पर्वको बेला युवक-युवती बुकी फूल टिप्न अग्ला पहाडको बुकी पाटनमा जान्छन्न् । बुकी पाटनबाट ल्याएको रंगीविरंगी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशिर्वाद थाप्छन्। उनीहरुले ल्याएको बुकी फूल गाउँको सबै घरमा पुर्‍याइन्छ । लेकबाट पूजापात गरेर झरेपछि गाउँमा महिलाहरुले ध्वाँसो, खरानी, दशैंमा ढोकामा राखिएको टीका-जमरा जस्ता घर लिपपोत गरेर निस्किएको फोहारलाई घर बाहिर फाल्छन्। त्यसपछि विधिगत रुपमा बल पूजा अर्थात भूम्या पर्व सुरु भएको अगुवाले बताउँछन् । बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने विश्वास छ । भुम्या देवतालाई बली चढाएपछि अनिष्ट नहुने, वालिनाली सप्रिने खाम मगर समुदायमा जनविश्वास रही आएको छ । प्रकृतिको पूजा गर्ने चलन अठार मगरात क्षेत्रमा बसोबास गर्ने मगरहरुको प्रचलन छ । मगरहरुले परम्परागत प्राकृतिक पूजा गरेपछि उनीहरुको नाचगान र खानपिन गर्दछन । विदेशमा बस्नेहरु पनि भूम्या पूजाको समयमा गाउँमा र्फकन्छन् ।

भूम्या पर्वमा आफ्नो भेषभुषामा सजिएर युवायुवती, बूढापाकाहरु आपसमा मिलेर बिभिन्न बाजागाजा, जस्तै दमाहा, टेम्पो, ढोल, झर्रा, सनाई र झयालीको तालमा दिनभरि नाच्ने गर्छन् । अठार मगरात क्षेत्रमा भूम्याजस्तै नचारु, सिंगारु, मयुर, टप्पा समेतको नाच पनि देखाइन्छ । भूम्या पर्वलाईनै लक्षित गरी प्रत्यक वर्ष विभिन्न जिल्लाबाट ग्रामीण पर्यटकहरु पुग्ने गर्दछन् । पूर्वी रुकुम र रोल्पा खाम भाषीहरुको साँस्कृतिक पहिचान भएका गाउँ र रमणीय बस्तिहरु, ऐतिहासिक र प्राकृतिक छटाले श्रृंगारिएको भूगोल हो । जुन भूगोल मगर खाम समुदायको आदिम सांस्कृतिक थलोको रुपमा चिनिन्छ । मगर खाम समुदायको जीवनशैली देख्दा पर्यटकहरु दंग पर्दछन । पुर्वी रुकुम र रोल्पाका गाउँहरुमा पर्यटकहरु रमाउने भनेकै मगर खाम भाषाको अध्ययन, मौलिक सस्कृति, वनस्पती, वन जंगल, पाटन, नदीनाला, तालतलैया र वन्यजन्तुहरु पर्दछन ।

खाम मगर गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकता बिना मगर खामहरु आफ्नो अस्तित्व स्वीकार नगर्ने सँस्कार छ । मगर खामहरुको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन । गाउँमा उनिहरुले खेतीपातीमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा कायम राख्दछन । यो नै खाम मगर जातीको सामाजिक विशेषता हो । जुन कुराले ग्रामीण पर्यटकहरु आकर्षित हुने गर्दछन् । नेपालमा तीन किसिमको मगर भाषा छ । डोल्पाका मगरले काइके भाषा बोल्दछन । रुकुम र रोल्पाका मगरहरु खाम (अठार मगराती) भाषा बोल्छन् भने, पाल्पा, स्याङजा, तनहुँ र नवलपरासीका मगर ढुट (बाह्र मगराती) भाषा बोल्छन् । भाषा, संस्कृति, परम्पराले मगर जाती धनी मानिन्छ । मगर जाति एक जाति बहुभाषा भएको समुदाय हो । धार्मिक र सांस्कृतिकरुपले मगरहरु हिन्दू धर्मबाट बढी प्रभावित देखिए पनि जातीय धर्मको रुपमा बौद्ध धर्मसंग पनि नजिक छन् ।

मगर जातिहरुले मौलिक परम्परागत संस्कारहरुलाई निरन्तरता दिइरहेका छन्। मगर समुदायमा प्रकृतिसँग जोडिएका चाड पर्व भूम्या, माघे र चण्डिपूर्णे प्रचलनमा छन् । आफ्नै मौलिक संस्कार संस्कृति रहेका मगर जातिको अन्य जातिको भन्दा फरक प्रकृति संस्कार र संस्कृति रहेको छ । अन्य जातजातिको तुलनामा धेरै थर, उपथर रहेको मगर जातिको आफ्नै भाषा, धर्म, संस्कार रहेको छ । मगरजातीको शारीरिक बनोटदेखि रिति, रिवाज, रहनसहन, चालचलनमा छुट्टै खालको रहेको हुन्छ । मगर जातीको संस्कृतिमा पनि छुट्टै खालको मौलिक पहिचान पाइन्छ । मगर जातीमा बहुल भाषा, संस्कृति, परम्परा र चार्डपर्वहरु रहेका छन् । विविध संस्कृति, चार्डपर्वको कुरा गर्दा अठार मगराँत क्षेत्रका मगरहरुले मनाउने संस्कृतिको प्रमुख चाडमा भूम्या -नोगोबाङ्गे) पर्वलाई लिने गरिन्छ । खाम भाषामा बाङ भनेको चउर हो र लोकोबाङ भनेको नाच्ने चउर हो । कतै नोकोबाङ पनि भन्ने गर्दछन ।

भूम्या नाँच नाच्न महिला एक लाइन र पुरुष एक लाइन गरी दुइ लाइनमा हुन्छन । पुरुष भित्रपट्टी र महिला दाहिने पंक्तिमा सजिएका हुन्छन । भुम्या थानमा देवतालाई बलि दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने प्रचलन रहेको छ । भूम्या नाचमा खाम मगर समुदायमा प्रचलित भेषभूषामा महिलाले गुन्यू, चोली, पछयाउरी, गाडा, गरगहनामा र पुरुषले धाका टोपी, गाडा, पटुका, चौवबन्दी लगायत परमपरागत पोसाकमा सजिएर पहिलो घेरामा पुरुष र पछिल्लो घेरामा महिलाको लामबद्ध तरिकामा नाच्ने गर्दछन् । गाउँभरिका सम्पूर्ण महिला, पुरुष, केटाकेटी, युवायुवती, बुढाबुढी सबै भूम्या नाच्ने ठाउँमा जम्मा हुन्छन । अनि पाँच दिनसम्म दमाहा, झयाली, सहनाई लगायतका बाजाको तालमा भूमि देवतालाई पुज्दै नाच्ने गर्दछन । भूम्या पर्वमा शुरुमा उठाउने चालाबाट नाचको शुरुवात गर्ने गरिन्छ । यस नाच नाच्ने क्रममा उठाउने चालाबाट शुरु गरिएको नाचमा बाछापिने चाला, साङलबाटे चाला, ढल्कनी चाला, दोसरे बटवा चाला गरी विभिन्न २२ चालामा नाच नाचिन्छ । यसैगरी भूमे नाच्ने क्रममा स्थान अनुसार फरक फरक चालमा पनि नाच्ने गरिन्छ । जस्तै रुकुम तकसेरामा नाच्ने नाचलाई तकसेरा चाला लुकुममा नाच्ने चालालाई लुगुम्याल चाला पनि भन्ने गरिन्छ ।

भूम्या पर्वमा गाउँका प्रत्येकलाई अनिवार्यरुपमा उपस्थित हुनुपर्ने हुन्छ । महिलाहरुले समातेको पछयौरा एउटा हातको काँधको माथिबाट र अर्को हातको तलबाट भिरेर हातमा समात्ने गरिएको हुन्छ । नाच्ने क्रममा महिलाहरुले दुइ हातमा विभिन्न रंगका पछयौराद्वारा बाजाको तालमा भूमितिर पछयौरा फर्काउँदै विभिन्न तालमा नाच्ने गरिन्छ । खासगरी भूम्या पर्व गाउँ अनुसार केही रुपमा फरक हुन्छ । रुकुम जिल्लाको महत, क्याङसी सिमा लगायतको स्थानमा भूम्या थानमा सुंगुरको बलि दिने चलन रहेको छ । यसैगरी रुकुमकै लुकुम, कांक्री, तकसेरा, कोल लगायतका स्थानमा भेंडाको बलि दिइन्छ भने रोल्पाको थवाङ, मिरुल लगायतका ठाउँमा बोकाको बलि दिने गरिन्छ । यसैगरी रोल्पाकै अन्य केही ठाउँहरुमा कुखुराको बलि दिने चलन पनि रहेको छ ।

खाम मगरको सांस्कृतिक नृत्यहरु सबै सामूहिक हुन्छन । लहरै पैसेरी, भूम्या, डिग्रे, झोल्हा नाचहरु मगर खाम बस्तीका परम्परागत सामूहिक नाच हुन् । भूम्या नाचमा पुरुषको गोलबद्ध लहरलाई महिलाले घेरिएको हुन्छ भने पुरुषहरु खुकरी भिरेर नाच्छन् । अगुवालाई पछ्याएर गोलबन्द भई नाच्नु भूम्या नाचको विशेषता हो । पाका र ज्येष्ठतालाई प्राथमिकता दिइने यो नाचमा युवायुवतीहरु पनि सामेल हुन्छन । भूम्या नाचले मुख्यगरि एकता, भातृत्व र सामूहिकताको भावना प्रवर्द्धनसँगै सामाजिक सम्बन्ध विस्तार गर्ने सन्देश प्रवाह गर्छ । पछिल्लो समय भुम्या पर्व रुकुम र रोल्पाका मगरहरु खाम (अठार मगराती) भाषा बोल्ने मगरहरु जहाँ पुगेका छन् ती ठाउँमा पनि भुम्या पर्वलाई उत्सवको रुपमा मनाउने गर्दछन । दाङको घोराही, तुलसीपुर र काठमाडौंमा पनि रोल्पा रुकुमका गाउँमा जस्तै गरी भूम्या नाच नाच्ने गर्दछन । भूम्या पर्व बिदेशमा रहेका खाम मगरहरुले पनि मनाउने गर्दछन । जुन कारणले खाम मगर सस्कृतिको प्रचार पनि भएको छ ।

खाम भाषा रोल्पा र रुकुमको भूगोलमा गाउँ अनुसार फरक हुन्छ। कुनै शब्दनै फरक हुन्छ भने धेरै बोल्ने शब्दहरुमा उच्चारण फरक पाइन्छ। रोल्पा रुकुमका गाउँहरुमा भुम्या पर्वलाई खाम मगर भाषामा नोकोवाङ्गे भनिन्छ भने बाग्लुङका गाउँहरुमा यस पर्वलाई नाम पुजा भन्ने गरिन्छ । खस भाषा अर्थात नेपाली भाषामा यस पर्वलाई बल पुजा, भुम्या पुजा भन्ने गरेको पाइन्छ । तर आजभोलि प्राय भुमे भूम्या पुजा भन्ने गरिएको छ । वास्तवमा यस पर्वको नाम खाम मगरले नाम पुजा भन्दछन् भने नेपाली भाषामा भूमि पुजा हो ।

भूम्या पर्वसंग सामाजिक, भाषिक, साँस्कृतिक, राजनीतिक र आर्थिक महत्वहरु जोडिएका छन । भूम्या पर्व बेला घरदेखि टाढा टाढा गएका आफन्तहरु फर्केर घरमा आउने गर्दछन । आफ्ना सुख दुःखका कुराहरु गर्ने नयाँ कपडाहरु लगाउने मिठा मिठा परिकार बनाएर खाने गर्दछन । भूम्या पर्वकै बेला युवायुवतीहरुले आफुलाई मन परेको ब्यक्तिलाई प्रेम प्रस्ताव राख्नुका साथै कुनैले घरजम समेत गर्ने गर्दछन । यो पर्वलाई वास्तवमा पारिवारिक सम्बन्ध जोडने अवसरको रुपमा पनि मनाउने गरिन्छ ।

आजभोली पूर्वी रुकुम र रोल्पाको थवाङ पुग्ने धेरै बाटोहरु छन । बाटोमा खाना बस्नको लागि कुनै समस्या पर्दैन । अहिले गाउँघरमा पनि कतै होमस्टे सञ्चालनमा छन भने साना तिना होटलहरु भेटिन्छन । रोल्पा रुकुम जानको लागि सार्वजनिक बस भन्दा बलेरो र स्कारपिओ जस्ता साधन भयो भने यात्रा सहज हुन्छ । युवाहरुको लागि त मोटर ब्याग भयो भने झनै सजिलो हुन्छ । थवाङमा जान अहिले दाङ घोराही र रोल्पाको लिवाङदेखि सडक सञ्जाल जोडिएको छ । अर्को तर्फ पूर्वी रुकुमको मध्यपहाडी राजमार्ग देखि महत गाउँ हुदै थवाङ गाउँ पनि सडक सञ्जालमा जोडिएको छ । घोराहीबाट होलेरी, दहवन नुवागाउँ हुँदै शहीद मार्गबाट दारबोट, कोर्चावाङ, घर्तीगाउँ ओवाङ दुइखोली, कुरेलीको खरिबोट, मिरुलको टुटूबजार र छेर्वाङ हुँदै १३४ किलो मिटरको यात्रामा थवाङ पुगिन्छ । लिवाङदेखि घर्तीगाउँ हुँदै ७४ कि.मि.को कच्ची सडक यात्रामा पनि थबाङ पुग्न सकिन्छ । अर्को मार्ग हो सुलिचौर-फुलिवन, उवा हुदै थवाङ ५७ किलो मिटरको दुरी । बुटवल तिरबाट आउने पर्यटकहरुको लागि थवाङ र जलजला पुग्नको लागि छोटो दुरी पर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker