निर्माण कार्य र सुरक्षा प्रत्याभूति
केही दिन अघिमात्र दैलेख र अछाम जिल्लाबीच कर्णाली नदीमा रहेको झोलुङ्गेपुलमा सामान लादिएका चौधवटा खच्चड पुल तर्न लाग्दा पुलको लठ्ठा चुंडिएर खच्चड पुलमा फँसेका थिए । उद्धारको क्रममा दुइवटा खच्चड मरेका थिए । केही दिन अघि कावसोतीमा नगरपालिकाले डुवानबाट जोगाउन नाला खन्ने क्रममा नालाछेउको माटाको ढिस्को खसेर तीन जना कामदारको मृत्यु भयो ।
त्यस्तै, केही महिना अघि जाजरकोटको दुर्गम गाउँमा आधाभन्दा बढी स्टील डेक नभएको झोलुङ्गेपुलमा काठ र बाँस हालेर काम चलाउँदा एकजना होनहार भलिबल खेलाडी खसेर मरेका थिए । केही वर्षअघि सीतापाइलामा मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने कामका लागि नाली खन्दा छेउको माटो खसेर पुरिदा ३ जना कामदारको तत्काल मृत्यु भयो । उक्त खानेपानी योजनाको परीक्षण सञ्चालन गर्दा बाँधको गेट फुटेर मुहानमा निरीक्षण गर्न गएका इन्जिनियर र सबइन्जिनियरलाई बगाएको थियो ।
यस्तै, केही बर्ष अघि हावाहुरी सहितको बर्षा हुँदा पोखराको मणिपाल शिक्षण अस्पतालको ट्रसको छाना खसेर १२ जनाको मृत्यु भयो । कतै निर्माण कार्य जारी हुँदाहुँदै स्काफोल्डिङ -टेको)ले भार थाम्न नसकेर सडकपुल भाँचिएर कामदारको मृत्यु भएको हामीले सुनिराखेका छौँ । कतै चार्डपर्व र जात्राको अवसरमा मानिसको भीड हुँदा पुरानो झोलुङ्गेपुल भात्किएर मानिसहरु मरेको समाचार पनि हामीले सुनिरहेका छौं ।
हरेक निर्माण कार्यमा निर्माण हुँदाको बखतमा काम शुरु गर्नु अघि डिजाइन इष्टिमेट त्रुटीपूर्ण छ छैन, सो को राम्ररी जाँचबुझ हुनु जरुरी छ । निर्माण कार्य जारी हुँदा सुरक्षा अधिकृतले सुरक्षा व्यवस्था ठिक छ छैन भनी चेकजाँच गर्नु जरुरी हुन्छ । त्यस्तै साइट इन्चार्जले पनि काम कार्वाही डिजाइन स्टिमेट अनुसार भए नभएको र जोखिमयुक्त परिस्थिति आए नआएको कुरा राम्ररी नियाल्नुपर्ने हुन आउँछ । साथै जोखिमपूर्ण काममा खटिने मजदूरहरूको बीमा गरिनु पर्छ ।
निर्माण कार्यमा संग्लन कामदारले कामको प्रकृतिअनुसार आवश्यक पिपिइ अर्थात व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोग अनिवार्यरूपमा गर्नुपर्छ । कामदारले आवश्यक उपकरण प्रयोग गरे/नगरेको निरीक्षण स्वास्थ्य सुरक्षा अधिकारीले गर्नुपर्छ । सेफ्टी हेल्मेट, निर्माणपन्जा, बुट, निर्माण चश्मा, मास्क, ध्वनि नियन्त्रक हेड्फोन, रातमा टल्किने ज्याकेट वा बस्त्र, जस्ता सुरक्षाका न्यूनतम उपकरण निर्माण कम्पनीले कामदारलाई अनिवार्य उपलब्ध गराउनुपर्छ । कामको प्रकृति अनुसार आवश्यक उपकरण पहिरिन अनिवार्य गराउनु उक्त अधिकृतको जिम्मेवारी हो । केही प्रतिष्ठित र ठूला निर्माण कम्पनीले सुरक्षा अधिकृत राखेर कामदारलाई पिपिइ उपकरण उपलब्ध गराउँदै काम गराइरहेका पनि छन् तर, अधिकांश निर्माण कम्पनीले यो प्रक्रियालाई बेवास्ता गरिरहेका देखिन्छ । निश्चित मापदण्ड बनाएर स्वास्थ्य सुरक्षा अधिकृतको निगरानीमा प्रत्येक कामदारले पिपिइ उपकरण प्रयोग नगरी कार्यक्षेत्रमा प्रवेश गर्न नपाउने कडा प्रावधान नराख्ने हो भने अहिलेको अवस्थामा सुधार हुने देखिन्न ।
निर्माणाधीन र निर्माण सम्पन्न भएका भौतिक पूर्वधारका संरचनमहरुको कूल भारवहन क्षमता -लोड बेरिङ क्यापासिटी) को सदैव ख्याल गरिनु जरुरी हुन आउँछ। संरचनाको आफ्नो तौल -डेड लोड) कति छ र त्यसले धान्न सक्ने बाहृय तौल -लाइभ लोड) कति हो भन्ने कुरा निर्माण भएका संरचनामा उल्लेख गरिनु पर्छ । साथै लाइभ लोड क्षमताभन्दा बढी नहुने गरी आवागमनको व्यवस्था मिलाइनु पर्छ । निर्माण कार्य प्राकृतिक प्रकोप -हुरी बतास, बाढी पहिरो, भूकम्प आदि)बाट बचन सक्ने खालको हुनु जरुरी छ। कुनै दुर्घटना हुन पुगेमा के कति कारणले दर्ुघटना हुन गएको हो, सोको छानबिन गरी सम्बन्धित व्यक्तिले जिम्मेवारी स्वीकार गर्नुपर्ने हुन्छ । निर्माणपूर्वका सुरक्षा व्यवस्थादेखि लिएर निर्माणपश्चातका सुरक्षा व्यवस्थामा समेत जिम्मेवार व्यक्ति वा निकायले सधैं ध्यान दिनुपर्ने हुन्छ ।
भौतिक पूर्वाधारका संरचना निर्माण गर्दा मात्र होइन, उद्योग कलकारखानामा काम गर्दा र निर्माण सम्पन्न संरचनाको उपयोग र प्रयोग गर्दा समेत सुरक्षा स्थिति र सम्भाव्य दुर्घटनाबारे चासो राख्नु जरुरी हुन आउँछ । भारबहन क्षमता कम भएका संरचनाहरुमा भीडभाड हुनबाट जोगाउनु पर्छ । रोगको उपचार गर्नुभन्दा रोगको बाटो छेक्नु जाती भनेझैं प्राविधिक र ठेकेदार दुवै पक्ष यसमा सजग हुनु जरुरी हुन आउँछ।