संसदीय अभ्यासका विविध पक्षका बारेमा अध्ययन गर्दैछु : सांसद परियार 

प्रगति ढकाल

म चार महिनाअघि विसं २०८० फागुनदेखि राष्ट्रिय सभाको सदस्यका रुपमा पहिलो पटक संसदीय अभ्यासमा प्रवेश गरेको हुँ । त्यसअघि संसदीय अभ्यास के कसो होला भन्ने कौतुहल भइरहन्थ्यो । सांसद बन्नुअघि हामीले जति बोले पनि सुनुवाइ हुँदैनथ्यो ।
अहिले राष्ट्रियसभाको सदस्यका रुपमा मुलुकको समृद्धिको पक्षमा, दलित तथा पछाडि परेका, अल्पसङ्ख्यकका मुद्दाहरुमा आवाज उठाउन पाएको छु । सांसद भइसकेपछि हामीले नीति निर्माणमा सहभागी हुन पाउने भएकाले पनि आफ्ना मुद्दाहरु उठाउन र समावेश गराउन सहज हुने रहेछ ।
संसदीय अभ्यासमा प्रवेश गरिसकेपछि चुनौती नहुने होइनन् । कतिपय चुनौतीहरुका बीच पनि मलाई रमाइलो लागिरहेको छ । सांसदको कार्यभार समालिसकेपछि मुलुकको ऐन कानुन निर्माण गर्ने स्थानमा पुगेको छु । यसले मलाई धेरै कुराहरु सिकाएको छ । अझै कतिपय कुराहरु सिक्न बाँकी छन् ।
राष्ट्रियसभामा म नयाँ भएर पनि होला संसदीय अभ्यास, प्रक्रिया, नीतिनियमका बारेमा बुझ्न केही समय लाग्यो । अझै कतिपय कुराहरु बुझ्न बाँकी छन् । नजानेका कुरामा अन्य सांसदसँग सोध्न मलाई कुनै अप्ठ्यारो लाग्दैन । संसदीय अभ्यासका बारेमा अहिले म पढाइका साथै धेरैभन्दा धेरै समाचार सुन्न, पढ्न लागेको छु ।
संसदीय अभ्यासमा सबैभन्दा महत्वपूर्ण कुरा सम्पर्क विस्तार रहेछ । नयाँ भएकाले जनसम्पर्क स्थापना गर्न सञ्चार विस्तार गर्न धेरै समय खर्चिनु परिरहेको छ । अझै थुप्रैसँग राम्रो चिनजान र सम्पर्क, सम्बन्ध बनाइसकेको छैन । संसदीय अभ्यास बाहिर देखेको र सांसद नै भएपछिको भोगाइ फरक पाटो हुन्छ । जे हामीले बाहिरबाट देख्छौँ, संसद्भित्र त्योभन्दा फरक पाएँ । फरक फरक राजनीतिक दलको प्रतिनिधित्व गर्ने सांसदहरुबीच कुराहरु नमिलेको झैँ देखिन्छ । तर त्यस्तो हुँदो रहेनछ । राजनीतिक आस्था फरक भए पनि कतिपय कुराहरुमा एकैखालको सहमति हुने रहेछ । बाहिर निस्केपछि उही मिलाप हुन्छ । त्यसैले त भनिन्छ नि राजनीतिमा दुश्मन भन्ने हुँदैन भनेर ।
सदन सञ्चालन भइरहँदा कहिलेकाहीँ विधेयकहरुमा दफाबार छलफल पनि हुने गर्छ । योसँगै अन्य प्रतिवेदन तथा देशको समसामयिक र राजनीतिक विषयवस्तुमा छलफल हुन्छ । छलफल हुने विषयवस्तुको बारेमा आफू जानकार हुन जरुरी छ । जानकारीसहित प्रस्तुति दिएमा उक्त विषयवस्तुमा राम्रो प्रतिक्रिया दिन सक्छौँ । तसर्थ म संसद्भित्र जानुअघि छलफलका लागि निर्धारित विषयवस्तुबारे जानकारी लिने गर्छु । कतिपय कुराहरु आफैँ पढ्छु ।
प्राविधिक विषयवस्तुका बारेमा ज्ञान भएका मानिस वा आफ्नो सम्पर्कमा भएकाहरुसँग परामर्श लिन सहज हुन्छ । कहिलेकाहीँ सम्पर्कमा नहुँदा विषयवस्तु बुझ्न गाह्रो पनि परिरहेको हुन्छ । यस्ता प्राविधिक विषयमा हुने कुनै पनि विधेयकको छलफलमा जाँदा कतिपय विषयवस्तु हामीलाई थाहा नै नहुने रहेछ । कहिलेकाहीँ त जे जति ज्ञान छ, त्यसैको आधारमा मात्रै संसद्मा प्रस्तुत हुनुपर्दा निकै गाह्रो अनुभव हुन्छ ।
यससँगै म आबद्ध राजनीतिक दललाई पनि समय दिने गरेको छु । पार्टीको हितका लागि कसरी काम गर्ने ? पार्टीको मर्म र उद्देश्यअनुसार कसरी अगाडि बढ्ने भन्नेमा पनि ध्यान दिइरहेको हुन्छु । यति हुँदाहुँदै पनि चुनौती बढिरहेछ । समाज जस्तो छ नि त्यस्तै दृश्य पनि सिंहदरबारमा देखिए । कतिपय समयमा त धेरैले मलाई सांसद हो भनेर पनि पत्याउनुहुन्न । लोगो लगाएर नगए त कसैले सांसद भनेर पत्याउँदैनन् मलाई ।
संसद्भित्र अलि पुराना र वरिष्ठ सांसदहरुले पनि अलि हेप्नु हुँदो रहेछ । यो कुरामा पहिला पहिला मलाई अलि असहज महसुस हुन्थ्यो, पछि विस्तारै बानी पर्दै जाने रहेछ । सांसद भनेपछि बुढो हुनुपर्छ, कपाल फुलेकै हुनुपर्छ भन्ने मानसिकताको अन्त्य हुँदै गएको छ । युवाले पनि मुलुकको निर्णयक तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरा धेरै युवा सांसदले प्रस्तुत गरिरहनुभएको छ । यस विषयमा उहाँहरुलाई हामीले सम्मानका साथ सम्झाउने काम गरिरहेका हुन्छौँ । अहिले भने त्यस किसिमको महसुस भएको छैन । मैले पनि संसदीय अभ्यास बुझ्दै जान थालेँ । संसद्मा प्रस्तुत हुने कुनै पनि विषयवस्तुमा आफ्नो धारणा राख्न पछि हटेको छैन ।
केही गर्न भनेर नै सङ्घीय संसद सदस्यको रुपमा संसदीय अभ्यासमा प्रवेश गरेको छु । म अपाङ्ग र दलित समुदायको व्यक्ति पनि हुँ । तसर्थ अपाङ्ग र अल्पसङ्ख्यकको प्रतिनिधित्व गरेर सांसद्मा आएको हुँ । अपाङ्गमैत्री नीति प्रवर्द्धनका लागि सांसदको रुपमा आवाज उठाउने गरेको छु । अपाङ्ग र अल्पसङ्ख्यकका आवाजलाई संसद्मा पुर्‍याउने गरेको छु । अपाङ्ग र अल्पसङ्ख्यक समुदायले भोग्नुपरेका विविध समस्यालाई समाधान गर्न भूमिका खेल्नेछु । यी समुदायको आवाजको प्रतिनिधित्व हुने नीति निर्माणमा योगदान पुर्‍याउने छु ।
नेपाली जनतामा परिवर्तन ल्याउने कुरामा, पार्टीमा युवालाई नेतृत्व तहमा कसरी ल्याउन सकिन्छ ? भनेर लागिपर्नेछु । यसैगरी संसद्मा सक्रिय र महत्वपूर्ण भूमिका निर्वाह गरी काम अगाडि बढाउने छु । जनताका समस्यालाई सरकारसँग जोड्न काम गर्नेछु । उहाँहरुको माग सम्बोधनका लागि राज्य र नीति निर्माण  तहलाई झक्झक्याउनेछु । जनतालाई सरकारसँग जोडिदिने काम पनि जनप्रतिनिधिहरुको हो । विकासको कुरामा स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई जोड्ने कुरामा पनि भूमिका खेल्नेछु । अल्पसङ्ख्यक, दलित समुदायका समस्याहरु नजिकबाट नियालेकाले ती समस्या समाधानका लागि सक्दो पहल गर्नेछु ।

सांसद पदम परियारको परिचय

राष्ट्रियसभा सदस्य पदम परियार विसं २०३८ मा तनहुँको दलित परिवारमा जन्मिनुभएको हो । उहाँ पोलियोका कारण सहज रुपमा हिँड्डुल गर्न सक्नु हुदैन । राष्ट्रियसभा सदस्य निर्वाचित भएर उहाँ अहिले संसदीय अभ्यासमा हुनुहुन्छ । उहाँ अपाङ्ग अधिकारका क्षेत्रमा क्रियाशील रहँदै दलित तथा अल्पसङ्ख्यक समुदायको पक्षमा आवाज उठाउँदै आउनुभएको छ ।
प्रियार २०५१ सालदेखि नै नेविसङ्घमार्फत नेपाली कांग्रेसको राजनीतिमा जोडिनुभएको थियो । लोकतान्त्रिक अपाङ्ग सङ्घदेखि पार्टीको तनहु, व्यास नगर समिति, क्षेत्रीय समिति तथा सम्पर्क मञ्चमा रहेर काम गरिराख्नुभएको छ ।
(‘सांसदसँग रासस संवाद’का लागि राष्ट्रियसभा सदस्य पदम परियारसँग राससका उप–समाचारदाता प्रगति ढकालले गर्नुभएको कुराकानीको सम्पादित अंश ।)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker