अषाढ १५ दहि च्युरा खाने संस्कृति

हाम्रो समाज सस्कृतिमा हुर्केको समाज हो । घरद्वार निर्माण देखि लिएर खेतीपाती गर्दा पनि हामी नेपालीहरुको आ–आफ्नै सस्कृति रहेका छन । आषाढ १५ मा दही चिउरा खाने साउनमा खिर खाने प्रचलन पनि हाम्रो सस्कृति भित्र कै हो । खेत रोपाई गर्दा असारे भाकाको सुरीलो स्वरमा बाजागाजाका साथ गित गाउँदै, हातको विउ हिलो माटोमा छुपु, छुपुको आवाज संगै रोपाराहरुले रोप्ने पनि सस्कृति नै हो । आषाढ १५ हामी नेपाली किसानहरुको दही चिउरा खाने संस्कृति अथवा चाड पनि हो । आषाढ १५ लाई कृषकहरुले मौलीक चाडको रुपमा पनि हिलो खेल्ने, दही र चिउरा खाने परपमंपरा छ । बुढापाकाहरुले अषाढ १५को दिनलाई मानो खाएर मुरी उब्जाउने दिनको रुपमा पनि लिने गर्दछन ।
तर अहिले यो संस्कृति पनि हराउँदै जान थालेको छ । शहरी क्षेत्रमा बसाइ सराइको बढ्दो क्रम, कृषि व्यवसायमा कम रुचि, जागिरे मनस्थितीमा युवाहरुको सोच र यस्तै अन्य कारणले गर्दा खेती योग्य जमिनहरु बाँझो हुन थालेको छ । शहरी क्षेत्र र शहर उन्मूख क्षेत्रमा प्लटिङ व्यवसायीहरुले कृषि योग्य जमिनहरुमा खोलाका ग्रेग्रान माटो थुपारेका छन् । हिजोको समयमा धान झुल्ने खेतहरु आज त्यहाँ महल ठडिएका छन् । बढदो शहरीकरणले गर्दा कृषि क्षेत्रमा क्रमिक रुपले मानिसहरुको रुचि कम हुँदै गएको छ । कृषि क्षेत्रलाई क्रमिक रुपले जलवायु परिवर्तनले समेत ठूलो नोक्सानी पु¥याउँदै आएको छ । समयमा पानी नपर्ने, प¥यो भने त्यसले बिनास गर्ने, बेमौसमी पानी र हुरीबतासले समेत कृषकहरु मारमा पर्दै आएका छन् ।
अहिले बढ्दो जनसंख्या एउटा गम्भीर समस्या बनेको छ । बढदो जनसंख्याका लागि खाद्यान्न आपूर्ति गर्न मानिसले बिभिन्न प्रकारका रासायनिक मलहरु तथा विषालु किटनाशकहरुको उपयोग गरिरहेको छ । राज्यले पनि त्यसको प्रचार प्रसार गर्दै आएको छ । रासायनिक मल तथा कीटनाशाकले प्रकृतिका जैविक र अजैविक पदार्थहरु बीच हुने आदान–प्रदानको चक्र इकोलोजी सिस्टमलाई प्रभावित पारेको छ । जसले गर्दा जमिनको उर्वरा शक्ति बिनास भएको छ । वातावरण प्रदूषित भएको छ, र मानिसको स्वास्थ्यमा समेत नराम्रो असर पुगेको छ । यस किसिमको कुराहरुलाई कृषि क्षेत्रमा लाग्ने कृषकहरुले ख्याल गरेको पाइन्न । त्यसैगरी राज्यले समेत यस्ता कुरामा ख्याल गरेको देखिदैन । जुन कारणले आज मुलुकभरका कृषकहरु रासायनिक मलको भरमा खेती गर्न बाध्य भएका छन् ।
जैविक खेतीको विधि रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन दिन्छ अर्थात जैविक खेतीले कृषकहरुको उत्पादन बढाउँछ । जैविक खेतीको विधि पनि अधिक लाभदायक छ । जैविक विधि द्वारा खेती गर्नको लागि उत्पादनको लागत त कम हुन्छ नैं यसका साथै कृषकहरुलाई आय आर्जनमा फाइदा पुग्छ । जसको फलस्वरुप सामान्य उत्पादनको अपेक्षामा कृषकहरु अधिक लाभ प्राप्त गर्न सक्छन्। । बढदो जनसंख्या, पर्यावरण प्रदुषण र जमिनको उर्वरा शक्तिको संरक्षण एवं मानव स्वास्थ्यका लागि जैविक खेती अत्यन्त लाभदायक छ । तर यो कुरा सबै क्षेत्रका कृषकहरुलाई कृषि क्षेत्रका बिज्ञहरुले र राज्यले बुझाउन नसकेको अवस्था छ ।
जैविक खेती प्रणाली प्राचिन काल संग जोडिएको छ । प्राचीन कालमा मानव स्वास्थ्य अनुकूल हुने तथा प्राकृतिक वातावरण अनुरुप खेती गरिएको थियो । यसबाट जैविक र अजैविक पदार्थहरुका बीच आदान–प्रदानको चक्र निरन्तर चलिरहेको थियो । जुन कारणले जल, भूमि, वायु तथा वातावरण प्रदुषित हुँदैन थियो । कृषि क्षेत्रमा गाईभैसी पाल्ने प्रचलन पनि हाम्रो समाजमा प्राचिन कालदेखि हुँदै आएको हो । जसका प्रमाण हाम्रो इतिहासमा उल्लेखित गोपाल र महिषपालहरु हुन् । कृषि एवं पशुपालन र वातावरणका लागि जैविक खेती प्रणाली अत्यन्त उपयोगी हुन्छ । आजभोली कृषि क्षेत्रमा रासायनिक मल र कीटनाशकहरुको प्रयोग हुँदैछ । जसको फलस्वरुप जैविक र अजैविक पदार्थहरुका चक्रको सन्तुलन बिग्रदैं गइरहेछ, र वातावरण प्रदुषित भएर, मानव जातिका स्वास्थ्यलाई प्रभावित गर्दैछ । अब हामी रासायनिक मलहरु, विषालु कीटनाशकहरुका उपयोगका स्थानमा, जैविक मलहरु उपयोग गरेर, अधिकभन्दा अधिक उत्पादन प्राप्त गर्ने तर्फ हाम्रो सोचको बिकास हुन जरुरी छ ।
हाम्रो ग्रामीण अर्थव्यवस्थाको मुख्य आधार कृषि छ र कृषकहरुको मुख्य आयको साधन पनि खेती हो । हरित क्रान्तिका समयदेखि बढ्दो जनसंख्यालाई हेर्दा एवं आयको दृष्टिले उत्पादन बढाउनु आवश्यक छ । अधिक उत्पादनका लागि खेतीमा अधिक मात्रामा रासायनिक उर्वरको एवं कीटनाशकको उपयोग गरी राखेका छौ । जसले गर्दा साना कृषकहरुलाई कृषिमा अत्यधिक लागत लाग्ने गरेको छ । त्यतिमात्र होइन जल, भूमि, वायु र वातावरण पनि प्रदुषित भएको छ । साथै कृषिबाट उत्पादन पदार्थ पनि विषालु भइरहेका छन । जुन खाद्य पदार्थ हामीहरुले खादै आएका छौ । पछिल्लो समय हामी कहाँ व्यवसायिक खेतीको लहर सुरु भएको छ । यो राम्रो संकेत हो, शिक्षित युवाहरु, जागीरबाट रिटायर्ड भएकाहरु मात्र होइन, विदेशबाट अनुभव हाँसिल गरेर फर्केकाहरु समेत व्यवसायिक खेतीतर्फ आकर्षित भइरहेका छन् । विभिन्न गैरसरकारी संस्थाको पहलमा गठन भएका विपन्न तथा महिला कृषक समूहहरुले समेत व्यवसायिक कृषिको लहर ल्याएका छन् । यसबाट गाउँघरमै स्वरोजगारको सिर्जना भइरहेको छ । कृषि प्रधान मुलुक भइकन पनि तरकारी र फलफूलमाथि समेत आयात गर्नुपर्ने विडम्बनापूर्ण बाँध्यता कम हुँदै गइरहेको छ । साथै, थोरै भए पनि स्वदेशी मुद्रा विदेशिनबाट रोकिएको छ ।
तर जति पनि खेती भइरहेका छन्, परम्परागत रुपमा मात्र भइरहेका छन् । जिल्लामा भएका कृषि ज्ञान केन्द्र तथा कृषि सेवा केन्द्रहरुमा कृषि प्राविधिकहरुको उपलब्धता कमी भएको र भएकाहरुले समेत समर्पित भएर सेवा दिन नसकेको अवस्था छ । कृषि क्षेत्रमा सरकारको ठोस् नीतिको अभावमा उत्पादन हुन छाडेपछि आजभोली कृषकहरुलाई, कृषि श्रमिकहरुलाई ज्याला दिएर खेत रोपाई गर्न नसक्ने अवस्थामा कृषकहरु पुगेका छन् । वैदेशिक रोजगारको लागि युवाहरु विदेश पलायन हुने क्रक बढ्दो छ । काम गर्ने युवा शक्ति गाउँघरमा नहुनाले ज्याला दिएर पनि कृषि मजदुर पाउन मुस्किल परेको छ कृषकहरुलाई । भरपर्दो विउ र मल समयमा नपाउने र उत्पादन भएको खाद्यान्नले उचित मुल्य पाउन नसक्दा कतिपय कृषकहरु कृषि पेशा बाट नै पलायन हुँदै गएका छन् । युवाहरुमा कृषि कार्यलाई कामनै हैन भन्नेको संख्या बढ्दै गएको छ । जसले गर्दा नेपालमा गरिवी न्युनिकरण गर्न चुनौतीपूर्ण कार्य भएको छ ।
प्रकृतीको धनी नेपाल आफैमा सवल हुँदाहुँदै पनि यहाको शासकहरुको दुरदर्शी निति नवन्दा कृषि क्षेत्रमा आश्रीत हुने मानिसहरु झन्–झन् गरिव बन्दै गएका छन । नयाँ प्रविधिको कृषि प्रणालीबाट उत्पादन लिन नसक्दा अहिले अधिकाशं आफुलाई वेराजगार भन्ने युवाहरु विदेशि भूमिमा कामको लागि जान परेको छ । हामी नेपाली कृषि प्रदान देशका धनि भन्दछौ । सरकारी तथ्यांकले पनि नेपालमा ६५ प्रतिशत नेपालीको मुख्य पेशा कृषिलाई देखाउँछ । नेपालको यो तथ्यांक हेर्दा र हाम्रो अहिलेको कृषि प्रणाली र त्यसमा आश्रीत मानिसको अवस्था हेर्दा त्यो तथ्यांकनै झुटो सावित भएको छ । कृषिको आधारमा जीवन चलाउने मानिसहरुको लागि यो पेशाबाट जीवन धान्न मुस्किल भएको छ । राज्यको दिघ्रकालिन भू–नीति बन्न नसक्दा हजारौ हेक्टर जमिन प्लटिङ भएका छन् । शहरी क्षेत्रका मात्र नभएर ग्रामिण बस्तकिा खेतीयोग्य जनिमा प्लटिङ हुँदै सडक खुलेका छन् । बालुवा र गिट्टी बिछाइएका छन् । बाढी, पहिरोबाट बर्षेनी हजारौ हेक्टर जमिन वगरमा परिणत भएको छ । राष्ट्रिय निकुञ्ज क्षेत्र वरपरका कृषकले प्रत्येक बर्ष उत्पादित खाद्यान्न वन्य जन्तुहरुले नोक्सानी बनाई दिएको छ । चितवन, झापा र वर्दियामा हात्ती एवं बाघले कृषकहरुको ज्यानै लिने गरेको छ । बर्षैदेखि कृषकहरुले यसबारे आवाज उठाउँदै आउँदा पनि राज्यले सुनुवाई गरी उनिहरुको उचित प्रवन्ध मिलाउन सकेको छैन ।
खेतीगर्ने कृषकले राज्यबाट पाउनु पर्ने सुबिधा पाएका छैनन् । कृषिका लागि आवस्यक पूर्वाधारहरु सिचाई, आधुनिक प्रविधिको सहयोग, मल, विउ, किटनासक औषधी समयमा पाउन सकेका छैनन् । खेतीको सिजनमा बल र विउको सधै हाहाकार हुन्छ । खास कृषकसंग खेतीगर्ने जमिन छैन । भूमिहिन, मुक्तकमैया र सुकुम्वासीहरुले जमिन पाउन सकेका छैनन् । जो कृषक होइन उसैको नाममा जमिन छ । टाठो बाठो जमिन्दारले अझैपनि जमिन कागजी रुपमा आफना नातेदारहरुको नाममा राख्दै आएका छन् । भूमि सम्बन्धी द्धैत स्वामित्वको कानुनले पनि ती वर्गहरुलाई छुन सकेको छैन । यस्तो अवस्थामा राज्यले अषाढ महिनामा धान दिवस मनाउने गरेको छ । यस्तो अबस्थामा हामी संस्कृति बचाउन भन्दै शहरका महलमा बसेर दही र चिउरा खाएर १५ असार महिनाको संस्कृति जोगाउन खाजेका छौ । कागजी योजना कृषकहरुलाई देखाएर अझैपनि सोझा कृषकहरुलाई सरकारले ढाटने र छल्ने काम गर्दै आएको छ ।
सरकारी तथ्यांक अनुसार मुलुकको झन्डै १४ लाख हेक्टर जमीनमा धान खेती हुँदै आएको छ । तर के गर्ने यो लकडाउनको समयमा मात्र पाँच अर्व भन्दा धेरै रकमको खाद्यान्न मुलुकमा आयात भएको छ । नेपाल कृषि प्रधान देश हो तर हामीले केरा कहाँको खाएका छौ ? अरु त के कुरा खुर्सानी, कागती पनि हामीले भारतबाट आयत गरेका छौ । खेतीयोग्य जमिन बाँझो छ खाद्यान्न परनिर्भर छ तर हामी कहाँ युवा वेरोजगारी छन् । कृषिको तथ्यांक लिने हो भने कुल ३९ लाख हेक्टर खेतियोग्य जमिनमध्ये १३ लाख हेक्टर बाँझो भएको छ । ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देशमा ३३ प्रतिशतमा झरेको छ । जमिन बाँझो राखेर हामी खाद्यान्नमा समेत परनिर्भतामा गएका छौ । आज हामी तरकारी, फलफुल, खाद्यान्न लगायत जीविको पार्जनका अधिकांश वस्तुको लागि छिमेकि देशमा निर्भर भएका छौ ।
कृषि पेशामा लागेका कृषकहरुको कृषि पेशामा रुचि देखिदैन । यो पेशालाई बाँध्यात्मक पेशा मान्दछन् । जमिनमा स्वामित्व हुनेहरु खेती गरेर लगानी नउठने देखेर खेती गर्न छोडेका छन् भने जमिन नहुनेहरु अरुको जमिनमा खेती गरी उत्पादनमा दुई तिहाई जग्गा धनीलाई बुझाउन बाँध्य छन् । कृषि औजारको नाममा कृषकसँग हलो, कोदालो र हँसिया मात्र छ । बर्षमा १० दिन जोत्न ३६५ दिन गोरु पाल्नु पर्ने बाँध्यता छ । सिंचाई छैन, लगानी गर्ने पैसा छैन । उन्नत बिउ, मल छैन । कृषकलाई प्रविधि सिकाउने प्राविधिक छैनन् । बेच्ने बजार छैन तर किन्ने बजार छ । कृषि कार्यालयमा अत्यन्त सिमित किसानको मात्र पहुँच छ । कृषिले दिने अनुदान खेतीकिसान नगर्ने मानिसको हातमा पर्ने गरेको छ । कृषिको अनुदान सबै पहुँचमा बितरण हुने गरेको छ । कस्तो सम्म पनि देखिएको छ भने जस्को जमिन छ तर ऊ खेती गर्दैन शहर बजारमा बस्दछ । कृषिले किसानलाई अनुदानमा टेक्ट्रर दिने कार्यक्रम भयो भने पहुँचको भरमा उसले टेक्ट्रर पाउछ र अरुलाई बेच्दछ । कृषिको अहिलेको यो अबस्था सुधार गर्नु पर्दछ ।
कृषिलाई आधुनि प्रणालीमा लैजाने नीति लिएर राज्यले कृषि विकासको कार्यालय प्रत्येक जिल्लामा स्थापना गर्दै कृषिको छुट्टै मन्त्रालय समेत बनायो । कृषिको क्षेत्रमा अहिले सम्मको खर्चको हिसाव गर्ने हो भने खरवौ रुपैयाँ भन्दा पनि बढि खर्च भै सकेको छ । गाउँपालिकादेखि प्रदेश हुँदै मन्त्रालयसम्म दशौ हजार कर्मचारी कृषि क्षेत्रको उत्थान गर्न राज्यले लगानी गरेको छ । खै त कृषिको प्रणालीमा सुधार हुन सकेको ? अहिले सम्म के ग¥यो कृषि विकासका निकायले यसको जवाफ राज्यसंग छैन । उन्नत विउ विजनको नाममा स्थानीय विउ, विजन पाइन छाडेको छ । रासायनिक मलले माटोमा अम्लीयपन श्रृजना भएको छ । माटोकै कारण दुर दराजको कृषकले स्थानीय विउबाट खेती ग¥यो भने उसको उत्पादन हुदैन । उत्पादन नभए पछि बाँध्य भएर उसले उन्नत विउको खोजि गर्दै एग्रोभेट खोज्दै हिडन पर्ने भएको छ । अनि हुन्छ कृषिको बिकास ?










