साउन महिना, शिव पुराण र श्रृंगारिक आरती

के.बि. मसाल

नेपालमा धार्मिक पर्यटनको महत्व छुट्टै छ । धार्मिक पर्यटन अर्थात तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिन्छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन र उनीहरु तीर्थाटन पर्यटनका लागि बिभिन्न धार्मिकस्थहरुमा पुग्ने गर्दछन । पौराणिक मान्यता अनुसार साउन महिना देवताका पनि देवता शिवको महिना मानिन्छ । साउन महिनामा शिव मन्दिरहरुमा शिव महापुुराण सत्संग ज्ञान महायज्ञ र श्रृंगारिक महाआरती हुने गर्दछ। साउनमा बिशेष गरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर शिवजीको मन्दिरमा तीर्थाटन गर्न जाने प्रचलन छ ।
साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। जुन कारणले तीर्थाटनका पर्यटकहरु आफुलाई पाएक पर्ने ठाउमा शिव महापुुराण श्रवर्ण गर्नका लागि शिव मन्दिरमा पुग्ने गर्दछन । विशेष गरी साउनको सोमबार शिवजीको व्रत बस्ने महिलाहरु धेरै हुन्छन। पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको भन्ने लोक कथाले महिला तीर्थाटनका पर्यटकहरुले बढी महत्व दिएको पाइन्छ । हिन्दु शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात सबैभन्दा उत्तम महिना र पवित्र मानिन्छ । हरिशयनी अर्थात आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ। साउनको सुरुको दिन अर्थात संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ । साउन संक्रान्तिदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुने गर्दछ । जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउनको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ ।
हिन्दु धर्ममा आरती पूजा अर्चनाको एउटा विधि हो । आरतीमा बलिरहेको दिपक वा आरतीको थाली आराध्य समक्ष एक विशेष विधिले घुमाउने गरिन्छ । आरती सामान्यतः पूजाको अन्तिम समयमा गर्ने गरिन्छ । आरती खासगरी मंगल आरती, पूजा आरती, श्रृंगार आरती, भोग आरती, धूप आरती, संध्या आरती र शयन अरती समेत आठ किसिमका आरती हुन्छन। यी मध्य श्रृगार अर्थात श्रृंगारिक आरतीको बिशेष महत्व मानिन्छ । श्रृंगारिक आरती नेपालको मठ मन्दिरमा गर्ने मौलिक आरती भने होइन। श्रृंगारिक आरती भारतीय संस्कृतिको आरती हो । यो आरतीलाई केही वर्ष अगाडीदेखि पशुपतीनाथको मन्दिरमा गर्ने गरिएको छ । आजभोली श्रृंगारिक आरती उपत्यका बाहिर पनि बिशेष पर्वमा मन्दिरहरुमा गरिदै आएको छ । श्रृंगारिक आरती भनेको इश्वरप्रति गरिने प्रेम अर्थात भावनात्मक आस्था हो । श्रृंगारिक आरती गर्दा धेरै बत्ती एउटै आरतीमा राखी साजसज्जा गरेर आकर्षक तरिकाले भक्तिभाव दर्शाइन्छ । आरती गर्ने बटुकहरुको पोशाक पनि एउटै हुन्छ । विशेष गरी तीर्थाटनका पर्यटकहरु आरतीको समयमा खुशि हुन्छन । कोही आरतीको भजनमा स्वर मिलाउदै नाच्न थाल्दछन ।
तीर्थाटन पर्यटन भनेको कुनै मठ मन्दिर अथवा धार्मिकस्थल सम्मको यात्रा हो । तीर्थयात्रालाई सर्मपणको यात्रा पनि भनिन्छ। तीर्थाटनको यात्रा लामो वा छोटो समयको पनि हुन्छ। साउन महिनाको बिशेष गरी सोमवार विवाहित महिलाहरु पतिको दीर्घायुको कामना र अविवाहित नारीहरु सुयोग्य बर मिलोस भन्ने कामनाका साथ शिवको आराधना गर्न शिवालयमा पुग्दछन। शिव मन्दिरमा जाँदा ॐ नमः शिवायको मन्त्रले शिवमा समर्पित हुन्छन । शैव धर्म मान्नेहरुको ॐ नमः शिवायको मन्त्र अत्यन्त महत्वपूर्ण मानिन्छ । शिव मन्दिरमा शिव महापुुराण सत्संग ज्ञान महायज्ञ र श्रृंगारिक आरतीले तीर्थाटन पर्यटकहरुलाई मनमुग्द गराउछ । पूजाको अन्तिम समयमा गरिने आरती पुजा उपासनाको विधि हो ।
पर्यटकहरु शिव मन्दिरको दर्शनपछि श्रृंगारिक आरतीमा सहभागी हुने गर्छन । अर्को तर्फ संगितमय श्रृंगारिक आरती हेर्न प्रत्येक साँझ शिव मन्दिरमा भेला हुने गर्छन । श्रृंगारिक आरतीको भजनमा कोही नाच्न थाल्दछन, कोही भजनको स्वरमा स्वर थप्दै ताली पिटेर आनन्द लिन्छन । श्रृंगारिक आरतीको भजनले तीर्थाटनमा पुगेका पर्यटकलाई मन देखिनै सकरात्मक भाव जागेर आउछ । आरतीको टुकी घ्यू वा तेलको दियो पनि हुन सक्छ। यसमा वैकल्पिक रुपबाट घ्यू, धूप तथा सुगन्धित पदार्थहरुको पनि मिश्रण गरिएको हुन्छ । तर आजभोली श्रृंगारिक आरतीमा तीर्थाटनका पर्यटकहरुलाई आकर्षण गर्न फस्फोरस जस्ता केमिकल समेत प्रयोगमा ल्याउन थालेको देखिन्छ ।
सनातन परम्परामा भगवान शिवलाई कल्याणकारी देवता मानिन्छ । देवताका पनि देवता भनिने महादेवको पूजा अत्यन्त सरल र शीघ्र फलदायी मानिन्छ । भगवान शिवको पूजा, जप र तपस्याका लागि श्रावण महिना उत्तम मानिन्छ । साउन महिनामा महादेवको आराधना गर्नाले शिवभक्तले मनोकांक्षा प्राप्त गर्ने तीर्थाटनका पर्यटकहरुको विश्वास छ । शिव पुराण हिन्दू धर्मको १८ पुराणहरु मध्यको एक धार्मिक ग्रन्थ हो । यस पुराणमा भगवान शिवको बारेमा उल्लेख गरिएको छ । शिव महापुराणमा मुख्य रुपले शिव शक्ति र शिव महिमाको विशेष रुपमा वर्णन गरिएको छ। पुराणमा शिवलाई त्याग, तपस्या, वात्सल्य र करुणको मूर्तिको रुपमा लिइएको छ । शिव चाँडै सहज रुपमा प्रसन्न हुने र मनोवाञ्छित फल दिने देवता मानिन्छ । शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिशूल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति भएको मानिन्छ ।
शिव भगवानलाई यस्तो रुप दिनुको के अर्थ होला ? तीर्थाटनमा पुग्ने पर्यटकहरुलाई शिवको यस्ता स्वरुप किन भएको होला भन्ने जान्ने उत्सुकता हुन्छ । शिव स्वरुपको रचना अर्थपूर्ण छ। शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगितको प्रतिक मानिएको छ। शिवले कम्मर मुनी बाघको छाला बाँधेका छन । बाघ हिंसाको प्रतिक हो । त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनु पर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ। त्रिशूलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यावरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ ।
अर्को तर्फ साउन महिनामा गेरु बस्त्र धारण गरेर बोलबम अलाप्दै यात्रा गर्ने तीर्थाटनका पर्यटकहरुको पनि लस्कर देखिन्छ। बोलबमको प्रारम्भ साउनको पहिलो सोमबारबाट सुरु हुन्छ । बोलबम यात्रालाई काँवरीया भनिन्छ । बोलबमका तीर्थयात्रीहरुले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ। काँवरको दुई छेउमा घैला झुन्डयाएर त्यसमा पानी भरेर शिवजीको मन्दिरमा चढाइन्छ । मन्दिरमा त्यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल र धतुराको फूलले पूजा गरिन्छ। पछिल्लो समय बोलबमको यात्रा युवा पुस्ताहरुमा पनि आकर्षण हुन थालेको छ। बोलबमको शाब्दिक अर्थ हो, शिवको मन्त्र जप्नु । बोलबमको यात्रामा शिवको मन्त्र उच्चारण गर्दा तीर्थाटनका पर्यटकहरुलाई फाइदा हुन्छ । बोलबमले सात्विक खानपान र उपवास बस्नुपर्ने प्रचलन छ। बोलबममा यात्रा गर्ने तीर्थाटनका पर्यटकहरुले तामासिक जीवनशैली पूर्णत त्याग्नु पर्दछ ।
विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो। वेदको अधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म पनि भनिन्छ । सनातन धर्म सबैभन्दा पुरानो तर वैज्ञानिक धर्म मानिन्छ। सनातन धर्म कसैले चलाएको धर्म भने होइन। सनातन धर्मका प्रवर्तक पनि कोही हुँदैनन । साक्षात इश्वर नै सनातन धर्मका प्रवर्तक हुन भन्ने मान्यता रहेको छ । वैदिक सनातन धर्मलाई नै अचेल हिन्दु धर्म भनिन्छ । हिन्दुधर्म नेपालको आफ्नो मौलिक रैथाने धर्म हो । हिन्दुधर्मको मूल आधार वेद हो । वेदको विस्तार वेदव्यासले गरेका हुन । हिन्दुहरुको मूल ग्रन्थ गीता, महाभारत र पुराण लेख्ने व्यास नेपालकै धर्तीका सत्पुत्र हुन । रामायण लेख्ने वाल्मीकि नेपालकै भूमिमा बस्दथिए । तर नेपालमा हिन्दु धर्म मान्य मानिसहरु मात्र नभएर अन्य दश वटा धार्मिक समुदाय रहेका छन । जसमा हिन्दू, बौद्ध, इस्लाम, किरात, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख रहेका छन । यी सबै धर्महरु मध्य हिन्दू धर्म मान्ने मानिसहरु ८१ प्रतिशत रहेका छन। नेपाली समाजमा सबै धर्म समान छन । हिन्दु हुन वा मुस्लिम, किरात हुन वा बौद्ध आपसी प्रगाढ सम्बन्ध रहेको छ । तीर्थाटन पर्यटनका लागि सबै धर्मका मठ मन्दिर, चर्च र मस्जितहरुमा पर्यटकहरु पुग्ने गर्दछन ।
तर मठ मन्दिरमा पुग्ने पर्यटकहरु सबै धर्मका लागि पुग्दैनन् । धर्म धारणा हो, देखावटी पन होइन । इश्वर प्रति विश्वास भए धर्म मान्ने हो । विश्वास नभए नमान्न पनि सकिन्छ । तर धर्म पालनले धेरै कुरा सिकाउँछ । धर्म कर्तव्य र अनुशासन पनि हो। धर्म भनेको सदभाव पनि हो । सत्विचार पनि हो । सकारात्मक हुनु पनि हो । कृतज्ञ हुनुपनि हो । अर्थात मन शुद्ध हुनु पनि हो । कसैप्रति आग्रह र पूर्वाग्रह नराख्नु धर्म हो । कसैलाई हेला, हेय दृष्टिले हेर्ने, होच्याउने र ढाटछल नगर्नु पनि धर्म हो । अर्को तर्फ कसैको भावनामा चोट न¥पुयाउनु पनि धर्म हो । सधै सन्तुलित, सकारात्मक र सही हुनु पनि धर्म हो । धर्मको नाममा कतिपय मन्दिरहरुमा धर्मको ब्यापार पनि हुने गरेको छ । लिन जान्ने दिन नजान्ने। मन्दिरमा दानदिदा अर्थात भेटी चढाउदा पुण्य कमाइन्छ । भगवानले बरदान दिन्छन जस्ता कुराहरुको विश्वासमा तीर्थयात्रीहरुले दान दिने गर्दछन। कहिले सस्ंथाको नाममा त कहिले सुख शान्तिको नाममा तीर्थयात्रीहरुले लाखौको रकम दान दिने गर्दछन । यसरी जम्मा हुने रकमको न त्यसको हिसाब हुन्छ, न कुनै आयकर हुन्छ, न त राज्यलाई फाईदा । तर मन्दिरमा पुग्ने तीर्थाटनका पर्यटकहरुलाई खानेपानी, शौचालय जस्ता अति आवस्यक कुराहरु पनि हुँदैन ।
पर्यटनको परिभाषा अनुसार व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन सगठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरु उद्देश्यका लागि यात्रामा जाने मानिसहरु पनि पर्यटक हुन । मानिसको पहिचान भनेको धर्म र संस्कृति हो । त्यसैले माानिसहरु तीर्थाटनका लागि यात्रामा निस्कन्छन । पर्यटनको क्षेत्रमा  धार्मीक, ऐतिहासिक र पुरातत्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरु कहिलै पुराना हुँदैनन । तर पनि धेरैले समाजमा पर्यटनको परिभाषानै बुझेका छैनन् भन्दा पनि हुन्छ । मन्दिरमा तीर्थाटनमा जाने सबै माानिसहरुलाई हामी पर्यटक भन्दछौ । मठ मन्दिरमा जाने सबै मानिसहरु पर्यटक हुँदैनन । तर पर्यटक नभए पनि तिनीहरु अवलोकनकर्ता भने हुन्छन । पर्यटनको परिभाषा अनुसार पर्यटक हुनको लागि आफु पुगेको ठाउमा केहि न केही रकम खर्च गर्नु पर्दछ । तीर्थाटन पर्यटक हुनको लागि मन्दिर जादा पनि खर्च गर्न पर्दछ। तर कहा गर्ने के मा गर्ने ? कति गर्ने ? भन्ने कुरा तीर्थाटनमा जाने मानिसमा भर पर्दछ ।
तपाइ पुग्नु भएको कुनै मन्दिर वरपर हेर्नुस त ! त्यहा बिक्रीको लागि राखिएको सामान कहाँबाट ल्याइएको हो ? त्यहा तीर्थाटनका पर्यटकहरुले किनेका बस्तुको पैसा कहाँ जान्छ ? एकै छिन सोच्नुस त? पर्यटन प्रवद्र्धनका लागि गाउँमा उत्पादन हुनु पर्दछ । गाउँको उत्पादन पर्यटकहरुले किन्न सके भने मात्र पर्यटकहरुले गर्ने खर्चको रकम गाउँमा पुग्दछ र पर्यटनको बिकास हुन्छ । तर तीर्थाटन पर्यटकहरुका लागि स्थानीय बस्तु खरिद गर्ने गाउँघरमा स्थानीय उत्पादन भएको छैन । अब तीर्थाटन पर्यटनको विकासका लागि स्थानीय उत्पादन बढाउनु पर्दछ । पर्यटकहरुको पैसा गाउँमा पु¥याउनु पर्दछ। पर्यटन क्षेत्रको विकासका लागि पर्यटकका आधारभूत सुविधा तयार गर्नु जरुरी छ । पर्यटन क्षेत्रको विकासका लागि प्रचुर सम्भावना छ तर यसको सदुपयोग गर्न सकिएको छैन ।
शिवको महिना साउने पर्वलाई क्षणिक आनन्द र रमाइलो पर्वको रुपमा मात्र नहेरी सनातन धर्म भित्र लुकेको सत्यलाई पहिचान गरी रमाउन सिकौँ । अहंकार, घमण्ड र व्यभिचारी भावनालाई परित्याग गरी नैतिकवान र शुद्ध र पवित्र चिन्तनका साथ धर्म र संस्कृतिको संरक्षण गरौँ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker