कृषक र उपभोक्तालाई जोड्दै आँवुखैरेनीको “कृषि हाटबजार”

रैथाने बालीको प्रवद्र्धन गर्दै उत्पादित केही कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने योजनामा गाउँपालिका

  • नारायण खड्का/आँवुखैरेनी
ग्रामीण क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषउपजलाई सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउने गरी तनहुँको आँवुखैरेनी गाउँपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले प्रत्येक हप्ता शुक्रबारका दिन सञ्चालन गर्दै आएको हाटबजारमा स्थानीय स्तरमा उत्पादित वस्तुलाई एकीकृत ढंगले बिक्री वितरण गरी आर्थिक उपार्जन गर्ने थलो बन्दै गएको छ ।
आँवुखैरेनी गाउँपालिकाको वडा नं. ५ र ६ को ग्रामीण गाउँबस्तिमा उत्पादित कृषि उपजहरु हाटबजारबाट राम्रो मूल्यमा बिक्री हुने गरेका छन् । यहाँका कृषकहरुले आफ्नो खेतबारीमा उब्जाएको उपज उपभोग गर्न नसके पशुवस्तुलाई खुवाउने तथा त्यतिकै खेरा जाने गरेको थियो, अहिले हाटबजार सञ्चालन गरी ढुवानीको व्यवस्था समेत भएपछि गाउँको उत्पादन बजारमा राम्रो मूल्यमा बिक्री हुन थालेको आँवुखैरेनी–५ छिम्केश्वरीकी दत्तु माया गुरुङ बताउँछिन् ।
छिम्केश्वरीबाट साग बिक्रीका लागि हाटबजार आइपुगेकी गुरुङले गाउँमा उत्पादित साग बिक्री गर्न सहज भएको बताइन । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ ।
गाउँमा छिम्केश्वरी महिला विकास समुह गठन गरी समुहमा आवद्ध अधिकांश महिलाहरुले मौसमी तथा वेमौसमी तरकारी, फलफूल खेती गर्न लागिएको वडा नं. ५ की संगिता गुरुङले बताइन। उनले भनिन्, ‘पहिला हामी आफ्नो लागि मात्र करेशाबारीमा तरकारी फलाउँथ्यौं । उत्पादित तरकारी तथा अन्य वस्तु खाएर नसकिए पशुवस्तुलाई खुवाउने तथा त्यतिकै खेरा जाने गथ्र्यो । अहिले हाटबजारमा ल्याएपछि सबै बिक्री हुने गरेको छ ।’
गाउँमा उत्पादन भएको साग लगायतका वस्तु बजार माग बढी हुँदा मागअनुसार पु¥याउन कठिन हुन थालेको उनले सुनाइन । शुक्रबार करिब एक सय मुठा साग लिएर आएका दत्तुमाया र संगिताले प्रति मुठा साग पचास रुपैयाँमा बिक्री गरेका थिए । हाटबजार सञ्चालनमा ल्याएपछि हामी जस्ता साना कृषकलाई कृषि उपजहरु बजारीकरण गर्न सजिलो भएको आँवुखैरेनी–३ की रनमाया गुरुङले बताइन् ।
हाटबजारमा आफुले तयार गरेको झिलिङ्गा, पिडालु तथा फर्सी बिक्रीका लागि ल्याएकी रनमायाले भनिन्, ‘आफ्नो लागि मात्र झिलिङ्गा बनाउने गरेको थिए, कतैबाट माग आएमा मात्र थप बनाउथे। अहिले हाटबजारले गर्दा बिक्री वितरणका लागि सहज भएकाले फुर्सदको समयलाई सदुपयोग गरी झिलिंगा उत्पादन गर्दै आएको छु ।’
गाउँपालिकाले करिब ४० लाख रुपैयाँको लागतमा वार्षिक दुई लाख ५० हजार रुपैयाँ भाडा बुझाउने गरी जग्गा भाडामा लिएर बिगत दुई वर्षदेखि हाटबजार सञ्चालन गर्दै आएको छ । उक्त हाटबजारमा अहिले स्थानीय स्तरमा उत्पादित कृषि, पशु, बाँसजन्य सामाग्रि, मह, घ्यू, दही, पनिर, बेसार, अदुवा, मकै, भटमास, तरकारी लगायतका उपजहरु बिक्रीवतरणमा सहज भएको आँवुखैरेनी–१ वरादीका कृषक अच्युत प्रसाद वाग्लेले बताए ।
समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाईमा अवस्थित छिम्केश्वरी क्षेत्रमा उत्पादित साग, मह, गुन्द्रक, दलहन, पिडालु, फर्सि, वनजन्य जडिबुटी हाटबजारमा राम्रो मूल्यमा बिक्री वितरण हुँदै आएको छ । विशेष गरी घरको चुलोचौकोमा र जिविकोपार्जनका लागि मात्रै उत्पादनमा अल्झिरहेका महिलाहरु अहिले हाटबजारमा आफ्नो उत्पादन बिक्री गर्न आउने गरेका छन् ।
हाटबजारमा स्थानीय स्तरमै उत्पादिन खसीबोकाका मासुदेखि सेलरोटी लगायतका खाजासमेत तयार गरी बिक्री वितरण गर्ने गरिएको छ । आँवुखैरेनी–३ की लक्ष्मी गुरुङले हाटबजारमा सेलरोटी, पकौडा जस्ता खाजाका परिकार तयार गरी बिक्री गर्दा राम्रै आम्दानी हुन थालेको बताइन् ।
‘पहिलो घरमा त्यतिकै बसिन्थ्यो । दुईचार पैसाका लागि पनि के गर्ने कसोगर्ने भन्ने भइरहेको थियो । अहिले त्यो समस्या टरेको छ’, उनले भनिन्, ‘हप्ताको एक दिन लाग्ने हाटबजारमा आउने कृषक तथा उपभोक्ताहरुलाई लक्षित गरी खाजा तयार गरी बिक्री गर्दा व्यवसायी बन्न पाएको छु अनि आर्थिक उपार्जनको माध्यम पनि बनेको छ ।’
हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम गाउँपालिकाले अगुवा कृषक, बुद्विजीवी, वडाका प्रतिनिधि, उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइ प्रतिनिधि, व्यवासासी लगायतको कार्यसमिति गठन गरी हाटबजार सञ्चालन गरिएको छ ।
कृषक र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने र बिचौलियाको अन्त्य गर्ने मुख्य उद्देश्यका साथ गाउँपालिकाले हाटबजार सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘कृषकले उत्पादन गरेका सामग्रीले बजार नपाउने समस्या देखिएपछि हाटबजारबाट विक्री गर्दा बजार र मूल्य दुबै पाउने अपेक्षाका साथ अगाडि बढिएको र यो कार्य प्रभावकारी बन्दै गएको छ ।’
‘करेशाबारीबाट व्यवसायमा उठ्न चाहने कृषकलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हाटबजार सञ्चालन गरेको गाउँपालिकाले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको वस्तुलाई ढुवानीको व्यवस्था समेत गरेको छ’, अध्यक्ष चुमानले भने, ‘उत्पादनमा आधारित अनुदन कार्यक्रम समेत अगाडि बढाएका छौ । बिक्री नभई फाल्नुपर्ने अवस्था आएमा कृषकलाई क्षतिपूर्ति समेत दिने व्यवस्था मिलाएका छौ ।’
अर्गानिक र रैथाने बाली प्रवद्र्धनलाई प्राथमिकता दिंदै आएको गाउँपालिकाले स्कुस, अकबरेखुर्सानी, मह, सयपत्री फूल लगायतका वस्तुहरु अन्तर्राष्ट्रिय बजार कतारमा निर्यात गर्ने समेत तयारी गरिरहेको अध्यक्ष चुमानले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker