बाँझिएको पाखोबारीमा सामुहिक रुपमा सयपत्री फूलखेती, लाखौ रुपैयाँ आम्दानी

उत्पादित फूल अन्तर्राष्ट्रिय बजारसम्म पुगेपछि उत्साहित कृषकहरु फूलखेतीको क्षेत्रफल बढाउँदै

  • नारायण खड्का/तनहुँ

गाउँमा युवा नहुँदा र बसाईसराई जस्ता कारणले दुई दशकदेखि बाँझिदै गएको पाखोबारीमा अहिले सयपत्री फूल ढकमक्क फूलेका छन् । तनहुँको आँवुखैरेनी गाउँपालिका–१ याञ्चोकटारका महिला दिदीबहिनीहरु समुहमा आवद्ध भई बाँझिएको पाखोबारीमा सयपत्री फूलखेती गरी गाउँको परिचय समेत बदलन पुगेका छन् ।
बाउबाजेले कोदो, मकै, घैय्या, भट्टामास, पिडालु, तोरी जस्ता खाद्यबाली उत्पादन गरी जिविकोपार्जन गरेका खेतबारी अहिले बाँझिएको छ । रोजगारी तथा सुविधाको खोजीमा बसाई सर्ने क्रम बढेपछि ग्रामीण क्षेत्रका उर्वर भूमि बाँझिने र गाउँबस्ति उजाड बन्दै गएका छन् ।
आँवुखैरेनी गाउँपालिका–१ याञ्चोकटारका दुई वटा आमासमुहले गत वर्षदेखि सामुहिक रुपमा सयपत्री फूलखेती गरी राम्रो आम्दानी लिन सफल भएका छन्। अन्य खेती भन्दा फूलखेतीबाट राम्रो आम्दानी भएको र गाउँपालिकाले फूलखेती प्रवद्र्धनमा सघाएपछि यहाँका कृषकहरुले यस वर्ष ४० रोपनी क्षेत्रफलमा खेती विस्तार गरेको आँधिमुल आमा समुहकी अध्यक्ष ललिता मगर बताउँछिन् ।
‘फूलका विरुवा, औषधिउपचार, गोडमेल तथा उत्पादित फूलको बजारीकरण, गुणस्तरीय फूलको छनोट, माल निर्माण जस्ता कार्यमा गाउँपालिकाले सहयोग गरेपछि फूलखेतीमा उत्साहित भएर लागिपरेका छौ’, उनले भनिन्, ‘दुईवटा आमा समुहका ७० जना महिलाहरुले सामुहिक रुपमा उत्पादन गरेको फूल स्थानीय बजार तथा कतारमा समेत निर्यात भएको छ । बिक्री नभएको फूलबाट धुपबत्ति तयार गरी आम्दानी लिने गरिएको छ ।’
यहाँका कृषकहरुले गतवर्ष २० रोपनी क्षेत्रफलमा फूलखेती गरी करिब ४ लाख रुपैयाँ आम्दानी लिन सफल भएको याञ्चोक आमा समुहकी सदस्य समेत रहेकी कृषक सुन्तली गुरुङले बताइन् । उनले भनिन्, ‘फूलखेती राम्रो भएपछि गाउँपालिकाले पनि खेती विस्तारमा सहयोग गरेकाले हामीले यस वर्ष ४० रोपनीमा फूलखेती विस्तार गरेका छौं । १० हजार माला बिक्री गरी करिब १० लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य राखिएको छ ।’
बाँझिएको पाखोबारीमा कम लागतमा छोटो समयमा राम्रो प्रतिफल लिने गरी गाउँपालिकाले कृषकहरुलाई समुहमा आवद्ध गराई विभिन्न कार्यक्रम अगाडि बढाएको गाउँपालिकाका कृषि अधिकृत सन्तोष केसीले बताए । उनले भने, ‘उत्पादित उपजको बजारीकरणमा समेत गाउँपालिकाले योजनवद्ध रुपमा कार्यक्रम अगाडि बढाएको छ । यस वर्षपनि उच्च गुणस्तरका दुई सयवटा सयपत्री फूलका माला अन्तर्राष्ट्रिय बजारमा पठाइएको छ ।’
तनहुँका कृषकहरुले यस वर्ष करिब १७० रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा सयपत्री फूलखेती गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने बताउँछन् । उनले भने, ‘मखमली तथा कर्मा र डेनिस जातका सयपत्री फूलका लागि तनहुँको वातावरण अनुकूल रहेको छ । जिल्लामा उत्पादित फूलले स्थानीय माग धान्न नसकिरहेको र आवश्यक विऊविजन, सीपमुलक तालिम, सिंचाई तथा उत्पादित उपजको बजारीकरणको व्यवस्था मिलाउन सकिए फूलबाट राम्रो प्रतिफल लिन सकिन्छ ।’
यस्तै, तनहुँको आँवुखैरेनी, बन्दीपुर, म्याग्दे गाउँपालिका, व्यास, शुक्लागण्डकी र भिमाद नगरपालिकाका केही युवाहरुले व्यवसायिक रुपमा सयपत्री फूलखेती गरेका छन् । विशेष गरी तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने विभिन्न धार्मिक तथा अन्य कार्यक्रमहरुमा सयपत्री फूलको माग बढेपछि तनहुँमा व्यवसायिक रुपमा फूलखेती गर्ने क्रमपनि बढ्दै गएको छ ।
यस्तै, तनहुँको म्याग्देका तीन जना युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका छन् । म्याग्दे गाउँपालिका–६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवा अक्षय श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती गरेका छन् ।
म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक सयपत्री फूलखेती सुरु गरिएको अक्षयले बताए । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ । उनले भने, ‘तिहारका बेला फूल बाहिरबाट ल्याउन नपरोस् भनेर हामी तीन जना युवा मिलेर पहिलोपटक सयपत्री फूलखेती गरेका हौँ ।’
यहाँ लगाइएको फूल उत्पादन हुन सुरु गरिसकेको छ । ‘दुई हजार पाँच सय फूल लगाइएको थियो’, उनले भने, “तिहारका बेला स्थानीयस्तरमै फूलको माग हुन्छ। पोखरामा पनि सम्पर्क भइरहेको छ ।”
यस्तै, शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मञ्जु श्रेष्ठले पनि विगत दुई वर्षदेखि फूलखेती गर्दै आएका छन् । गत वर्ष कलकत्ते प्रजातिका फूल लगाएका उनले यस वर्ष टिटी जातको फूलखेती गरेका छन् ।
उनले गत वर्षको तिहार र एकादशीमा रु एक लाख बराबरको सयपत्री बिक्री गरेका थिए । दुई वर्षदेखि फूलखेतीमा आबद्ध श्रेष्ठले मागअनुसारको फूल पु¥याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेका हुन् ।
उनले भने, “पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पु¥याउन सकिन, तिहारका बेला फूलको धेरै माग हुन्छ । अहिले दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको छु ।”
विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताए। श्रेष्ठले भने, ‘हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो। नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।’
गाउँघरमा जग्गा बाँझै रहेकाले त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ प्रोत्साहन गर्न सरकारले सघाउनुपर्ने उनको भनाइ छ । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै आएको उनले बताए ।

प्लास्टिकका फूल र माला बिक्रीमा पूर्ण प्रतिबन्ध

आँबुखैरेनी गाउँपालिकाले प्लास्टिकका फूल र माला बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको छ । प्लास्टिकजन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनाका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले प्रतिबन्ध लगाइएको हो ।
स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा प्लास्टिकजन्य फूल खरिद गर्दा ठूलो धनराशि बाहिरिने भएकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध लगाइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिका फूलमा आत्मनिर्भर रहेको भन्दै किसानले उत्पादन गरेका प्राकृतिक पूmलमाला मात्र प्रयोग गर्न पनि उनले आग्रह गरे ।
कृषललाई प्रोत्साहन गर्न फूलखेतीमा अनुदानको व्यवस्था गर्नाका साथै पालिकाका कार्यक्रममा स्थानीय माला प्रयोग गर्न थालिएको अध्यक्ष चुमानले बताए । स्थानीय उत्पादनको प्रवद्र्धन गर्नाका साथै वातावरण प्रदूषण रोक्न, मानव स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिकजन्य फूल तथा माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको उनले बताए ।
अध्यक्ष चुमानले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिकका सामग्रीलाई निरुत्साहित गर्न प्लास्टिकका माला प्रयोग नगरी सहयोग गर्न आमनागरिकलाई आह्वान गरे ।
प्लास्टिकका फूल र माला प्रयोगमा प्रतिबन्ध फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित निःशुल्क प्राविधिक ज्ञान, तालिम र ८५  प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको पालिकाले जनाएको छ ।
प्रत्येक वर्ष भारतबाट फूल आयात हुँदै आएकामा गत वर्षदेखि स्थानीय स्तरमा उत्पादन हुन थालेपछि आत्मनिर्भर हुनाका साथै कतार निर्यात गर्न सफल भएको चुमानले जानकारी दिए । ‘फूल निर्यात गरी महिलाको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेका छौँ । फूलखेतीमा महिला बढी सहभागी हुनुभएकाले उहाँहरूलाई आर्थिक रूपमा सक्षम बनाउने योजनासहित पालिकाले आवश्यक समन्वय र सहयोग गरिरहेको छ ।’
गत वर्ष सयपत्री फूलको खेतीबाट उत्साहित भएका किसानले यस वर्ष पनि निरन्तरता दिएका अध्यक्ष चुमानले बताए । उनले भने, ‘गत वर्ष यहाँ उत्पादित फूल कतार निर्यात गरेका थियौँ । राम्रो मूल्य पाएपछि किसान उत्साहित हुँदै यसवर्ष पनि खेती गरेका छन् ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker